(२०५० सालको शुरूवाती समयमा नेपालका समकालीन कवि, तिनका विचार र कविता समेट्ने सोचका साथ एउटा कार्यक्रम आयोजना गरियो । सो कार्यक्रमको उद्देश्य थियो, त्यस बखतका चर्चित कविहरू मञ्चमा उभियून्, कविताबारेका आफ्ना धारणा राखून् र त्यस बेलाको आफ्नो उत्कृष्ट वा आफूलाई उत्कृष्ट लागेका कविता वाचन गरून् ।

यसका लागि केही कविहरू छानिए, तिनका विचार सुनियो र कविता वाचन पनि भयो । कार्यक्रम सकिएपछि त्यो त्यत्तिकै नहराओस् भनी किताबी रूप दिइयो । कार्यक्रमका संयोजक राजेन्द्र पराजुली कविता/सोचका सम्पादक भए र तयार भयाो, कविता/सोचः समकालीन नेपाली कवि, विचार र कविता । नेपाल साहित्य गुठीको स्थापना साहित्यको उन्नयनका लागि भएको थियो र यस्ता केही सिर्जनशील कार्य पनि गरेको थियो । तिनै अनेकन् कार्यक्रम वा पुस्तकमध्ये यो पनि एउटा हो ।)

कविता निश्चय नै अन्य विधाभन्दा बढी संवेदनशील विधा हो । जसमा सामाजिक, राजनीतिक विकृति तथा प्रेम-घृणाका पक्षाहरूलाई सूक्ष्मतासाथ शब्दमा उन्ने गरिन्छ । त्यसैले नै कविता लोकप्रियताको शिखर छुने गर्दछ । यसै सन्दर्भमा हामीले समकालीन कविका कविता र विचारलाई ‘कविता/सोच’का रूपमा प्रस्तुत गरेका छौँ ।

यस अभियानले नितान्त पृथक् परिचय स्थापना गर्ने चेष्टा गरेको छ र यो यस मानेमा कि कविका काव्य-मान्यतालाई पनि यहाँ प्रस्तुत गरिएको छ । यहाँ सोचको शाब्दिक अर्थ कविको चिन्तन वा विचारका रूपमा रहेको छ । वर्तमान पुस्ताका चर्चित कविहरूका वकिता स्वयं पनि ‘सोच’को परिभाषा दिन सक्षम छन् भने कविता तथा सोचलाई एकै ठाउँमा प्रस्तुत गरिँदा यसमा नौलोपन थपिन गएको छ । यसै कारण यस प्रकाशनले नेपाली कविता जगत्मा निजत्व बोकेको छ । नेपाली कविताका अध्येता तथा पाठकका निम्ति यो पुस्तक अवस्था पनि सहयोगी बन्नेछ भन्ने हामीले विश्वास गरेका छौँ । साथै, यसको स्वागत तमाम पाठक वर्गले गर्ने नै छन् भन्ने कुरामा हामी आशावादी छौँ ।

राजेन्द्र पराजुली
सम्पादक
कविता/सोच

विचार

राजव

राजव

कविता लेखनको सम्बन्धमा जे जत्ति पुराण छाँटे पनि यसको मूल ध्येय सृजनाको प्रयास र प्रदर्शन भित्रको स्वरूप र त्यो स्वरूपको गर्जन र प्रदर्शन हो । त्यो स्वरूपको गर्जन कस्तो छ भन्ने मात्र कवितामा हेरिन्छ । तर त्यो यस्तै हुनुपर्छ भन्ने धारणा निर्धारण गर्न खोज्नु हुन्न । यस किसिमको खोजको विरोध हुनुपर्छ । बरू निर्धारित नवअवधारणाहरू नाघ्न सक्नुपर्छ । त्यस कारण त्यस्ता सम्पूर्ण निर्धारणहरू नाघेर कविता लेख्ने मेरो सायास वा स्वतस्फुर्त प्रयास रहन्छ ।

कविता कुनै पनि स्वरूपमा लेखियोस्‌ त्यसभित्र निश्चित ध्वनि र ध्येय हुन्छ । किनभने कविता लेखनको प्ररेक तत्त्व र त्यसको मूल स्रोत नै त्यही हो । यसैमा कविको सामयिक सामाजिक, राजनैतिक प्रतिबद्धता र दायित्व प्रकट हुन्छ । एउटा सर्जकको इमान्दारिता पनि यसैमा देखिन्छ ।

कविको राजनैतिक र सामाजिक सम्बद्धता र त्यस प्रतिको प्रतिबद्धता यदि उसको सृजनामा झल्किन्छ र त्यसलाई उसको इमान्दारिता मान्नु पर्छ । यस किसिमको प्रकटीकरण एउटा इमान्दार लेखक, कविको दायित्व पनि हो । त्यस कारण म यो दायित्वलाई पूर्णतः स्वीकारेर कथा कविता लेख्ने गर्छु । तर सृजनाका कला औजारहरूलाई छोडेर होइन । किनभने मूल कुरो म कलाका सम्पूर्ण औजारहरूलाई छोडेर हैन । किनभने मूल कुरो म कलाका सम्पूर्ण औजारहरूलाई मान्छु । अनि मात्र दायित्व र प्रतिवद्धताप्रति सचेत हुन्छु ।

म लेखनसम्बन्धी पुराना र एकदिन अगाडिसम्मका अवधारणाहरूलाई मनन् योग्य मात्र मान्छु । अनुशरणयोग्य मान्दिनँ । ती सब अनुशरणाबाट बचेर लेख्ने गर्छु । यही सचेतता नै मेरो सृजन सचेतता हो ।

त्यस्तै मेरो सम्पूर्णा लेखनको केन्दीय संवेदना समयपीडा हो । त्यो समय संवेदनालाई म कवितामा अझ टड्कारो पार्न चाहन्छु । त्यसकारण मेरो कविताको केन्द्रीयतत्त्व समयपीडा नै हो । त्यो पीडालाई म आफ्नू रचनात्मक समझ र सामाजिक र राजनैतिक प्रतिवद्धताका साथ कवितामा व्यक्त गर्ने प्रयास गर्छु ।

तर कविताको अन्तरवाह्य विधानको आकलन सहज छैन । र, त्यो खतरापूर्ण पनि छ । किनभने आजको रचनात्मक गतिशीलताको अगाडि त्यो पाखण्डयुक्त हुन सक्छ । हास्यास्पद हुनसक्छ । तर त्यसरी हास्यास्पद हुने डरले आफ्नू कविता लेखनप्रतिको धारणा व्यक्त गर्नबाट बच्न पनि सकिन्न । त्यसबाट बच्ने कोसिस गर्नु पनि कायर पाखण्डी हुनु हो ।

 

बर्साती खाँ र सद्दाम हुसैन

राजव

बर्साती खाँ र सद्दाम हुसैनको देश
छुट्टा छुट्टै छ।

फारमहरूमा
तिनीहरूको राष्ट्रियता
नेपाली र इराकी उल्लेख हुन्छ
उल्लेख गर्नु परे ।

मानिस भए पनि
बर्साती खाँ सानो
र सद्दाम हुसेन
ठूलो हो।

दुवैको तीर्थ मक्का मदिना
कावा हो,
दुवै सिया, सुन्नीको भेद छोडर
मुसलमान हुन्‌ ।

तर बर्साती खाँ
मुसलमानमा पनि
आफू पठान भएकोमा अति गर्व गर्छ र
मुखैले भन्छ
हामी पठान हौँ
“खाँ” हौँ

बाँके जिल्लाको एउटा गाउँमा जन्मेको
बर्साती खाँ नेपाली हो
जसलाई साद्दाम हुसैन चिन्दैन । जान्दैन ।

तर बर्साती खाँ
सद्दाम हुसेनलाई चिन्छ
अगाध मान्छ
मुखैले भन्छ
सद्दाम हुसैन बहादुर हो
ऊ जत्ति बलियो र साहसी कोही छैन
अमेरिका संसारको मुसलमानलाई सिध्याउन सक्दैन ।

बर्साती खाँलाई इराक जाउँ जाउँ लागेको छ
सद्दाम हुसैनलाई सघाउन
अमेरिकालाई देखाउन ।

देखोस्‌ अमेरिकाले
बर्साती खाँलाई इराकमा
र जानोस्‌ ।
इराक एक्लो छैन
त्यहाँ नेपाली पनि छ
नेपाल पनि हुन्छ
भारत पनि हुन्छ
पाकिस्तान पनि हुन्छ
बंगलादेश पनि हुन्छ
अरब पनि हुन्छ
इरान पनि हुन्छ
त्यसपछि अरू कुनै देशको नाम लिँदैन बर्साती खाँ
उसलाई संसारमा कत्ति देश छन् भन्ने थाहा छैन
तर एउटा अर्को अमेरिका पनि छ
जसले इराकलाई धेरै सताउँछ
भन्ने थाहा छ उसलाई
त्यसकारण बहिरो कानले पनि ऊ
अमेरिकाको नाम सुन्न चाहँदैन ।

बर्साती खाँ
गाउँको ठूलो मान्छे, धनी मान्छे
जमिन्दार, आदि केही होइन
घरवासको चार कट्ठा घडेरी
र सोमा बनेको खरको छानोको घर
र पक्का दुई बिगाहा जमीनको
मात्र मालिक हो ऊ,
अल्लाले दया गरे
राम्रो मौसम र पानी पुरा दिए भने
त्यत्ति जमीनमा फल्ने धानले
उसको परिवारलाई खान पुग्छ
नत्र पुग्दैन
उसको केही लाग्दैन

र सद्दाम हुसैन जस्तै
उसको गाउँको इकबाल अन्सारीसंग
ऋण माग्नु पर्छ उसले
जसले गर्दा फेरि घट्ने छ
उसको चारदेखि छ कट्ठासम्मको जमीन
किनभने इकबाल अन्सारीको लिएपछि हुने
सावाँ र ब्याजको फेन्टेसीबाट छुट्न
उसले छिटै जग्गा नबेची हुँदैन ।

तर सद्दाम हुसैनको बारेमा
उसको विचार
इकबाल आन्सारीसँग पनि मिल्छ ।

किनभने इकबाल आन्सारी पनि
अमेरिकालाई गाली गर्छ
र सद्दाम हुसैनलाई माया गर्छ ।

त्यसकारण आजकाल
इकबाल आन्सारीसँग
बर्साती खाँको मतभेद समाप्त भएको छ

दुवै एकै घुरको
आगो ताप्छन्‌
र सद्दाम हुसैनप्रति दया वार्ता गर्छन्‌ ।

गजब मानिन्छ सद्दाम हुसैन
इकबाल आन्सारीको घुरमा ।

घुर घुरमा सद्दाम हुसैनको वार्ता हुन्छ
र वार्ता पिच्छेका मुखमा सद्दाम हुसैन पुजिन्छ
सब भन्छन्,
सद्दामले अल्लाको वरदान पाएको छ
त्यसकारण अमेरिका लाख लागे पनि
सद्दाम हार्दैन । थाक्दैन
लडिरहने छ अमेरिकाले आत्था नभनुन्जेल ।

वास्तवमा सद्दाम हुसैन
को हो?
कहाँ को हो?
बर्साती खाँले
इकबाल अन्सारीको घुरबाटै थाहा पाएको हो।

त्यसकारण इकबाल अन्सारीलाई
मान्न थालेको छ बर्साती खाँ ।