(ऋतुराज वसन्तको आगमन)
बादल ब्युँझिने बेला
धर्तीले घुम्टो खोली
र, मुसुक्क मुस्कुराई
वसन्ती सखार्कोटको उकालोबाट
देवचुलीको आश्रममा टुप्लुक्क झुल्की
प्रकृतिसँग सापटी लिएको
एक बटुका हरियोमा एकचिम्टी रातो
एक–एक चिम्टी नवरङ्गी
आफ्नो यौनाङ्गमा पोतेर
आफू जवान भएको सङ्केत दिई
पत्ता फुकाएर उचाली
कटुवाल चराहरूलाई बोलाएर
कुहुकुहुको निम्तोसँग
अनगिन्ती संगीतज्ञ र वादकहरू
रति–धुनमा उन्मत्त हुन आदेश दिई
उत्तेजक उत्सवको उमङ्गमा
मोहनी वाद्य र सङ्गीतले
प्रेममय आनन्द भर्दाभर्दै
आफ्ना मधुरस र परागले होली खेल्दै
वसन्ती यौन उन्मादमा हराई
घुम्टो खोलेर कामुकतामा लठ्याउँदै पवनलाई
विष्मयपूर्ण उराठ
रोमान्समा बदली
वसन्तीले आलिङ्गन कसी
संसर्ग गर्भाशयसम्म पुग्यो
पवन भित्र–बाहिर गरिरह्यो
वसन्तीले आवाज निकाली
प्रकृति एकछिन लजायो
बटुवाले तमासा देखे
वादकहरू मदहोस झुमे
सपनाको संसार बदलियो
आकाशले परेली झिम्क्यायो
क्षितिजहरू मुस्कुराए
जीवात्माले परिवर्तन स्वीकारे
जूनकीरीको उज्यालो चम्कियो
नयाँ युगको स्वागतमा
गोधूली अझै उज्यालियो
यो तमासा महिनाभर चलिरह्यो
बिस्तारै ऊ मोटाई
उन्माद पातलियो
रङ प्रकाशलाई सापटी दिई
बचेको आनन्द लता–पक्षीलाई दान दिँदै
गाढापन अँधेरी रातबाट लिँदै
पसिनाले निथ्रुक्क भिजेर
लखतरान हुँदै
आफैंभित्र हराएझैँ
बादलको छहारीमा
भविष्यको सङ्गीत गुन्गुनाउँदै
ऊ थकाई मेट्न बसी
जगतलाई जानकारी भयो
वसन्ती गर्भवती भई !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।