साहित्यको मूल धारमा सधैँ बेवास्ता गरिएको सुदूरपश्चिमको आवाजलाई सुनौँ ! इतिहासको किनारामा पारिएका आवाजहरूको शक्ति र सौन्दर्यलाई नजिकबाट चिनौँ ! सुदूरपश्चिमका कविताबारे स्पष्ट बहसको थालनी गरौँ !!

नेपाली छोटा कविताहरूको यस शृङ्खलामा सुदूरपश्चिम प्रदेशका ५ जना शक्तिशाली कविहरू— तीर्थराज भट्ट, राजेन्द्र तारकिणी, कल्पना जोशी, दीपसागर प्यासी र खेम बतासका छोटा कविताहरू समावेश गरिएका छन् । यी कविता पढिसकेपछि तपाईंको आवाज, प्रतिक्रिया र विचार पनि दिनुहोला !)
– डा. विप्लव ढकाल

 

१. आरन

(तीर्थराज भट्ट)

रामबहादुर दाइ,
जीवनभरि चलाएर आरन
बनायौ अनेकौँ औजार फलामका—
हँसिया, कोदालो, घन इत्यादि ।

आफ्नो जिउमा
ध्वाँसो लागे पनि
दियौ अरूलाई
जीवन चम्काउने औजार !

बिडम्बना,
गोसाईले त्यो आरनमा
कहिल्यै बनाउन दिएन
तिम्रो आफ्नै जीवन !!

 

२. दुःखको कला

(राजेन्द्र तारकिणी)

खुसी कति हलुङ्गो चिज हो,
हेर्नुहोस् सिमलको भुवालाई !
दुःख कति गह्रुँङ्गो चिज हो,
हेर्नुहोस फलामको डल्लोलाई !

पट्ट फुट्छ खुसी र उड्छ माथि
तैरिन्छ शून्यको महासागरमुनि !
भुङ्ग्रोमा/ उग्र तापमा जाकिन्छ दुःख
चुटिन्छ, पिटिन्छ, कुच्चिन्छ
र एउटा आकार लिन्छ ।

हो, खुसीले मान्छेलाई
उन्मुक्ति त दिन्छ,
तर दुःखले पो जीवनलाई
आकार दिन्छ !
बाँच्ने कला दिन्छ !

 

३. माफी

(कल्पना जोशी)

पर सरेकी छोरी
भूलबस
मन्दिरदेउ हिँडेपछि,
माफी स्वरुप
बलि चढाउन गएका बालाई
देवीले पर्खाइन् र भनिन्—
रोक !
म पनि चार दिनको भएकी छु,
नुहाएर आउँछु !

 

४. छायाप्रेम

(दीपसागर प्यासी)

हरेक यात्रामा तिमीलाई
घामले पोल्ला कि भनेर
आफ्नो छायाभित्रै पारेर हिँड्थेँ,

लामो सहयात्रापछि म बिस्तारै
आफ्नो छायामा तिम्रो प्रतिबिम्ब देख्न थालेँ
मेरो निम्ति तिमी नै छाया भैदियौ
छाया नै तिमी भैदियो !

अचेल,
छायालाई तिमी नै सम्झेर हिँडिरहन्छु,
दिनदिनभरि
कहिल्यै महसुस भएन
तिम्रो प्रत्यक्ष अनुपस्थितिको !

तर सधैँ सूर्य
साँझमा बिदावारी भएर ढल्किएपछि
जब छोड्छ तिम्रो छायाले पनि
रातरातभरि पोलिरहन्छ—
तिम्रो सम्झनाको सूर्यले !!

 

५. मेरी गर्लफ्रेन्डको दुश्मन

(खेम बतास)

प्रत्येक महिना आउँछ
मेरी गर्लफ्रेन्डको दुश्मन !

खतरनाक छ—
जारी बुझ्न आएको लोग्ने !
दङ्गालो जान नपाएको बहड,
र अधमरो सर्पभन्दा पनि
खतरनाक छ
मेरी गर्लफ्रेन्डको दुश्मन !

मेरी गर्लफ्रेन्डले डर हटाउन
खानुपर्छ गहुँत र गोबरहरू !

उसको दुश्मन
हेर्दा रातो देखिन्छ—
उसैको रगतजस्तो !!