जे कुरा मसँग छैन, छ भनेर देखाएको छैन । जहिले पनि लो प्रोफइलमै हिँड्ने गरेको छु । तर पनि बाहिरबाट हेर्दा के देख्छन् र के सम्झन्छन् कुन्नि ? म नभएको विषयको विज्ञ, नभएको गुण र कला वा कुनै सामानको धनी होला भनेर अनुमान गरिदिन्छन् । अनुमान मात्र गर्दा पनि लौ भइहाल्यो भनौं । मसँग नभएको कुरोको धनी भन्ठानेर त्यो विषय, सेवा वा सामान माग्नसमेत आइपुग्छन् । मसँग नभएको कुरो म दिन सक्दिनँ । त्यसपछि रिसाई पनि हाल्छन् । जीवनभर दागा धर्छन् । के तपाईंलाई पनि त्यस्तो भएको छ ? मलाई त जीवनको विभिन्न मोडमा यस्ता घटनाहरुले सताएको नै छ ।
मैले अभिव्यक्त गरेको कुरो अर्कै किसिमले बुझिन गयो भने मेरो के दोष ? तर व्यवहारमा त्यसो भन्न पाउनु हुन्न । त्यही कारणले तपाईंप्रति बुझ्दै नबुझी अपेक्षा राख्छ र त्यो अपेक्षा नै मनमुटावको कारण बन्छ ।
सामाजिक संजालको समय छ । कुनै मानिस कुनै अवसरमा भेट हुन्छ, फोटो खिचिन्छ र सामाजिक संजालमा पनि राखिन्छ । फोटोले त्यो मानिससँगको सम्बन्धको स्तर स्पष्ट पार्न सक्दैन । तर सामाजिक संजालमा राखेकै कारण फलाना मान्छेसँग फलाना काम गराउनु पर्यो भन्ने अनुरोध वा दबाब आउँछ । आफ्नो स्वभाव एकातिर, सम्बन्धको मजबुती अर्कातिर, ती मान्छेसँग फोटो खिच्नुबाहेक अरु कुनै सम्बन्ध सम्पर्क नै भएको हुँदैन । ठेगाना र फोन नम्बर लिन पनि आवश्यक ठानिएको हुँदैन । तर मानिसहरुलाई सम्बन्धको फाइदा लिन हतार हुन्छ र यो गराउनु पर्यो, त्यो भन्दिनु पर्यो भन्ने माग आउँछ । माग नजिककै मानिसको हुन्छ, माग पूरा गर्न नसकेपछि नजिककै मानिस शत्रु हुन्छ । यो सन्दर्भमा म तपाईंहरुलाई एउटा घटना सुनाउन चाहन्छु ।
…………….
चोर चोर चोर
समात समात समात
चोर चोर चोर

स्नेह सायमि
एक जना मान्छे अगाडि अगाडि त्यसको पछाडि अरु मान्छे कराइरहेका थिए । चोर आरोपित व्यक्ति भने विस्तारै पैदल हिँडिरहेको थियो । एक जनाले समातेर पिट्यो । अर्कोले ढुंगाले हान्यो । दर्शकहरु थिए धेरै, उनीहरु भनिरहेको थिए– मार मार । यो दिउँसै चोर्ने मान्छेलाई बाँकी राख्नु हुँदैन ।
मानौं राति चोर्न बर्जित हुनुहुँदैन ।
केही समयपछि प्रहरी आइपुग्यो । चोर आरोपित व्यक्ति रगताम्य भइसकेको थियो । पुलिसले एक थप्पड हानेर सोध्यो– भन् के चोरिस् ?
उसले हातको इसाराले पानी माग्यो । पानी पिइसकेपछि उसले भन्यो– मैले चोरेको छैन । म पैदल हिँडिरहेको थिएं । दुई चार जनाले मलाई चोर चोर भने । अनि त भीड जम्मा भयो । कसैले पिटे कसैले मार मार भने ।
पुलिसले उसको झोला हेर्यो । केही पुस्तक । कलम कापी र खाजा रहेछ । पुलिसले पिट्नेलाई सोध्यो– के चोर्यो यसले ?
पिट्नेले भन्यो– यो चोर हो ।
चोर त हो तर के चोर्यो भनेको ?
यो चोर भनेपछि चोर हो नि ।
चोर हो भने के चोरेको त भन्नु पर्यो नि !
त्यो त थाहा छैन ।
अनि अर्कोलाई सोध्यो– के चोरेको हो यसले ?
अर्कोलाई पनि थाहा छैन ।
तेस्रो व्यक्तिलाइ सोध्यो– के चोर्यो ?
थाहा छैन ।
भीडतिर फर्केर पुलिसले सोध्यो– यो चोरले के चोरेको हो, थाहा छ कसैलाई ?
भीडबाट एक जनाले भन्यो– थाहा छैन । सबैले चोर चोर भने, चोर भनेपछि पक्कै चोर होला भन्ने लाग्यो । चोर भनेपछि त लखेट्नै पर्यो । मैले चोर चोर भनेर कराएँ । मपछि अरु पनि कराए । हामीले लखेट्यौँ । कसैले पिटे । कसैले ढुंगाले हाने । अनि त चोर भएको झन् पक्काजस्तो देखियो । तर नचोरीकन किन कसैले चोर भन्यो होला ? चोर हो होइन भनेर पत्ता लगाउने काम त तपाईंको पो हो । लैजानुस् थानामा केरकार गर्नुस्, मुद्दा चलाउनुस् चोर हो होइन छुट्याउनुस् ।
पुलिसले त्यो घाइतेलाई अस्पताल लिएर गयो, उपचार गरायो र पछि चौकीमा लगेर केरकार गर्यो– नढाटीकन भन त तैँले के चोरेको थिइस् ?
मैले केही चोरेको थिइनँ । म त पढ्न निस्केको । फलानो कलेजमा पढ्छु ।
कलेजमा पढ्ने के चोर हुँदैनन् ?
त्यो त मलाई थाहा छैन ।
कसरी तिमीलाई चोर भनियो ? कसले चोर भनेर पिट्यो ?
अरु त थाहा छैन, म र मेरा सहपाठी साथीहरुसँगै हिँडिरहेको थियौं । चोर चोर भनेर पहिलो पटक कराउने चैँ मेरै साथी थियो ।
………….
के तपाईंहरुलाई पनि यस्तो भएको छ ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

