माटाका गाग्रीमा सपनाहरू भरेर
पङ्क्तिबद्ध युवतीहरू कम्मर मर्काउदै
घरतिर प्रस्थान गर्दा
बालबालिकाहरू उफ्रिउफ्रि खेलिरहँदा आँगनमा
तन्नेरीहरू मस्तसित बैंशका गीत गाइरहदा
बुढापाकाहरू मख्ख भई भजन किर्तनमा डुबिरहदा
खुशीका वर्णमालाहरू फक्रेझैँ लाग्दथ्यो
उहिले –उहिले मेरो गाउँमा ।
समयभन्दा अगावै
हाँसोहरू गुनासा पोख्छन् आँखामा
खाडीमा खसमको पसिनाले सिँचेको रेमिटान्सको
कुहिरो उघिँरहेको छ अचेल गाउँमा
लोककथामा हुर्केका नायकहरूको सट्टा
टि.भि को पर्दामा सलबलाउने महानायकहरू
मोबाइलको रिङ्टोनमा सुनिने गायकहरू
विलासिताका प्रशाधन भएका छन्
गाउँ हराएको छ अचेल गाउँमा ।
बिहानै पाटी र बोरा बोकेर
पढ्न जानु पर्ने लक्षे, माधव र जमुनियाहरू
सजिएका भेटिन्छन् टाइ र पैन्टमा अचेल गाउँमा
लोकभाकाको सट्टा फिल्मी गीत गुनगुनाउछनदै मस्किन्छन्
सुन्तली, जया र मायाहरू उछृङ्खलताको आवेगमा
गाउँ हराएको छ अचेल गाउँमा ।
बयलगाडा, टायरगाडा र साइकलको सट्टा
ट्याक्टर, टेम्पो र मोटरसाइकलको धुँवामा रूमलिएको छ
सन्ते, अलिम र उमाशंकरहरू विगत कल्पन्छन्
‘जता गुलियो उतै वाहुन भुल्यो” झैँ
जाँड, रक्सीको तालमा युवाहरू
बेमतलव मातेर
बेरोजगारीका धुन गुनगुनाउछन् चोक–चोकमा
शियाशरण, मोसलिम र रामएकवालहरू
धुलौटे सडकलाई विकासे पिचमा बदलिरहेका छन्
भुकभुके हराएर विद्युतीय मील चलेको छ
सिकलिया, राधा र समिनाहरू
प्राकृतिक सौन्दर्यमाथिे क्रिम दल्दा अविश्वासको
कृत्रिम आभुषण अेइरिएका छन्
गाउँ हराएको छ अचेल गाउँमा ।
अभिशप्त जिजीविषा सल्काउँदै छातीमा
असन्तुष्टिको मुस्कान खेलाउँदैै सपनामा
घरिघरि कुहिरोबाट चियाउने गरेको सूर्य छ यहाँ
बादलको घुम्टो ओढेर निदाउने गरेको चन्द्रमा पनि छ
बिद्रोह उमालेर ‘गुइठा’ को रापमा
थर्थरी कापिरहेको भविष्य छ आँखाका फूलदानीहरूमा
आशाको ज्योति खोज्दै
सुसुकाउँदो साँझ ओर्लन्छ अगेनीमा
डोकोभरि कुटो र कोदालो बोकेर
पिलपिलाउँदो उषा झुल्कन्छ गोरेटाहरूमा
गाउँ हराएको छ अचेल गाउँमा ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।