कवि कुँवर नारायणको परिचय
१९ सेप्टेम्बर १९२७ मा हरियाणाको फरिदाबादमा जन्मेका कुँवर नारायण सम्मानित भारतीय कवि/साहित्यकार हुन् । लखनऊ विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा एम.ए. गरेका उनी आरम्भदेखि नै कविताका साथै चिन्तनपरक लेख, साहित्य समीक्षा, कथा लेख्दै आएका हुन् । उनका कविता विश्वका अनेक भाषामा अनुवाद भएका छन् । सन् १९७१ मा हिन्दुस्तानी अकादमी पुरस्कार, १९७३ मा प्रेमचंद पुरस्कार, १९८२ ममा मध्यप्रदेशबाट तुलसी पुरस्कार र केरलबाट कुमारन् पुरस्कार तथा १९८८ मा हिन्दी साहित्यमा विशेष योगदानका लागि हिन्दी संस्थान (उ.प्र.) द्वारा सम्मानित हुने अवसर उनले पाएका छन् । उनका प्रमुख प्रकाशित काव्य कृतिहरू चक्रव्यूह (१९५६), तीसरा सप्तक (१९५९), परिवेश : हम-तुम (१९६१), आत्मजयी / प्रबन्ध काव्य (१९६५), अपने सामने (१९६९) हुन् । अनुवाद तथा साहित्यका अनय विधामा समेत कलम चलाएका नारायणको निधन नेभेम्बर १५ २०१७ मा दिल्लीमा भएको हो । भाषान्तर कविताको यस शृङ्खलामा तीव्र संवेदनाले भरिएका कविता लेख्ने कवि कुँवर नारायणका केही कविताहरू प्रस्तुत गरिएको छ ।
प्रस्थानपछि
कुँवर नारायण
भित्तामा झुन्डिएको घडी
भन्छ- “उठ अब बेला भयो ।”
कुनामा उभिएको लौरो
भन्छ- “हिँड अब, धेरै टाढा जानु छ ।”
गोडामुनि राखेका जुत्ता खुट्टा छुन्छन्
“लगाऊ हामीलाई, बाटो अप्ठेरो छ ।
शून्यता भन्छ- नआत्तिऊ
म तिमीसँगै छु ।”
स्मृतिहरू भन्छन्- बिर्सिदेऊ हामीलाई अब
हाम्रो केही टुङ्गो छैन ।”
सिरानेमा उभिएको अँध्यारोको बर्को
भन्छ- “ओढ मलाई
बाहिर हिउँ पर्दै छ
र हामीले झिसमिसेमै निस्कनु छ… ।”
एउटा बिरामी
ओछ्यानबाट नउठीकनै
घरबाट बाहिर जान्छ ।
बाँकी रहेको संसार
त्यसभन्दापछिको आयोजना हो ।
***
बाँकी कविता
कुँवर नारायण
भिन्न छ- पातहरूमा पानी खस्नुको अर्थ
पानीमा पातहरू खस्नुभन्दा ।
पूर्ण रूपले प्राप्त गर्नु जीवन
र पूर्ण रूपले तिरोहित गर्नुका बिच
एउटा सिङ्गो मृत्युचिह्न छ ।
बाँकी कविता
लेखिँदैन शब्दहरूले,
एउटा विरामजसरी तानेर सम्पूर्ण अस्तित्वलाई
कतै छोडिदिने गरिन्छ… ।
***
खिन्नताका रङहरू
कुँवर नारायण
खिन्नता पनि
एउटा स्थायी रङ हो जीवनको
अनेक रङ हुन्छन् खिन्नताका पनि
जस्तो कि
निश्चिन्त गेरु
पतझड खैरो
फुङ्ग मट्याइलो
आकासे निलो
सुनसान हरियो
हिमाली सेतो
अस्ताउँदा रातो
बिरामी पहेँलो
भ्रम हुन्छ कहिलेकाहीँ
उल्सासका इन्द्रधनुषी रङहरूसँग रमाइरहँदा
कतै खोसिएका त हैनन्
कतै यिनीहरू
कुनै खिन्नताहरूबाटै
खोसिएका रङहरू त होइनन् ?
***
बिपत्ताको हुलिया
कुँवर नारायण
रङ गहुँगोरो छाँटले किसान
निधारमा घाउको खत
उचाइ पाँच फुटभन्दा कम छैन
कुरा यसरी गर्छ- कुनै पीर छैन ।
तोते बोल्छ ।
सोध्यो भने उमेर हजार वर्षभन्दा केही बढी भन्छ ।
हेर्दा सन्काहाजस्तो लाग्छ- तर हैन ।
कैयौँ पटक टुटिफुटिसकेको छ- उचाइबाट खसेर
त्यसैले, हेर्दा जोडिएझैँ देखिन्छ-
हिन्दुस्तानको नक्साजस्तै ।
***
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।