(२०५० सालको शुरूवाती समयमा नेपालका समकालीन कवि, तिनका विचार र कविता समेट्ने सोचका साथ एउटा कार्यक्रम आयोजना गरियो । सो कार्यक्रमको उद्देश्य थियो, त्यस बखतका चर्चित कविहरू मञ्चमा उभियून्, कविताबारेका आफ्ना धारणा राखून् र त्यस बेलाको आफ्नो उत्कृष्ट वा आफूलाई उत्कृष्ट लागेका कविता वाचन गरून् ।
यसका लागि केही कविहरू छानिए, तिनका विचार सुनियो र कविता वाचन पनि भयो । कार्यक्रम सकिएपछि त्यो त्यत्तिकै नहराओस् भनी किताबी रूप दिइयो । कार्यक्रमका संयोजक राजेन्द्र पराजुली कविता/सोचका सम्पादक भए र तयार भयाो, कविता/सोचः समकालीन नेपाली कवि, विचार र कविता । नेपाल साहित्य गुठीको स्थापना साहित्यको उन्नयनका लागि भएको थियो र यस्ता केही सिर्जनशील कार्य पनि गरेको थियो । तिनै अनेकन् कार्यक्रम वा पुस्तकमध्ये यो पनि एउटा हो ।)
कविता निश्चय नै अन्य विधाभन्दा बढी संवेदनशील विधा हो । जसमा सामाजिक, राजनीतिक विकृति तथा प्रेम-घृणाका पक्षाहरूलाई सूक्ष्मतासाथ शब्दमा उन्ने गरिन्छ । त्यसैले नै कविता लोकप्रियताको शिखर छुने गर्दछ । यसै सन्दर्भमा हामीले समकालीन कविका कविता र विचारलाई ‘कविता/सोच’का रूपमा प्रस्तुत गरेका छौँ ।
यस अभियानले नितान्त पृथक् परिचय स्थापना गर्ने चेष्टा गरेको छ र यो यस मानेमा कि कविका काव्य-मान्यतालाई पनि यहाँ प्रस्तुत गरिएको छ । यहाँ सोचको शाब्दिक अर्थ कविको चिन्तन वा विचारका रूपमा रहेको छ । वर्तमान पुस्ताका चर्चित कविहरूका वकिता स्वयं पनि ‘सोच’को परिभाषा दिन सक्षम छन् भने कविता तथा सोचलाई एकै ठाउँमा प्रस्तुत गरिँदा यसमा नौलोपन थपिन गएको छ । यसै कारण यस प्रकाशनले नेपाली कविता जगत्मा निजत्व बोकेको छ । नेपाली कविताका अध्येता तथा पाठकका निम्ति यो पुस्तक अवस्था पनि सहयोगी बन्नेछ भन्ने हामीले विश्वास गरेका छौँ । साथै, यसको स्वागत तमाम पाठक वर्गले गर्ने नै छन् भन्ने कुरामा हामी आशावादी छौँ ।
राजेन्द्र पराजुली
सम्पादक
कविता/सोच
हरेक स्थितिको स्पर्शमा कविता लेख्छु
कणाद महर्षि

कणाद महर्षि
मेरो काव्य रचना नै काव्यगत धारणाको सत्य, सिंगो र सर्वाङ्ग उपस्थिति हो भन्ने सोच राख्छु । यसबाहेक अरू धारणा उत्पन्न गर्न जान्दिनँ ।
रचना रच्छु भने यसरी र यस्ता स्थितिमा-
खुसीले उचाल्दा, अन्यायले आक्रमण गर्दा, मनका घाउहरूमा घोच्चिदा घोत्लिदा, वेदनामा भिज्दा, सामाजिक चेतनाले चेताउँदा… यस्तै विविध रङ र विरङहरूले लतपताएपछि स्पर्श दिएपछि त्यही स्पर्शले सकसकाएको करूणा, क्रोधव्यंग्य, विरोध आदिलाई कविताको माध्यमबाट लयात्मक अभिव्यक्ति दिने प्रयत्न गर्ने गरेको छु ।
म सोचाई राख्दछु फूलको मात्र होइन शूलको पनि सुन्दर कविता बन्न सक्दछ । पानीको पनि पिपको पनि, मायाको पनि घृणाको पनि, तालीको मात्र होइन, गालीको पनि । तालीको मात्र होइन गालीको पनि सशक्त कविता रच्न सकूँ भन्ने लागिरहन्छ त्यसैले कविता लेखिरहन्छु । यत्ति हो, आफ्ना रचनाका प्रस्तुति शैली आफैँ जस्तो भिन्न होस् भन्ने ख्याल गर्छु । म आतंक र आर्तनादको आभासले मन सुम्लिएकत्र बेला कविता लेख्दछु । म पक्षपातलाई पचाउन नसकेर कविता रच्दछु । छेपारोजस्तो रङ बदल्न सक्ने कलात्मक मान्छेको चरित्र देखेर दङ्ग र पक्क भएर पनि काउकुती लाग्दै कविता लेख्दछु ।
म चाप्लुसी र स्तुति गर्न जान्दिनँ, सत्ताको समीप पुग्ने चेपारे पारा मसँग भएन । त्यसैले म त्यस्ता विषयको रचना रच्दिनँ । म बरू अँध्यारो दूलो वा साँघुरो खोपामा थन्किन परोस् तर बडप्पनको आकाशमा अकास्सिन मान्दिनँ ।
कविको स्वभाव नै, कविको विचार, कविको चिन्तन र चेतनाको स्तर, उसको कल्पनाशीलता, उसमा हुने कोमलता, कठोरता, विनम्रता, उदण्डता, आदर्शता, हार्दिकता, आक्रान्त मनस्थिति, अशान्त र अभावका परिस्थिति, तृष्णा-वितृष्णा, सन्तोष-तृप्ति, आक्रोश र वेचैनीका स्वरहरू आदि नै रचनाको माध्यमबाट अभिव्यक्ति नै हुँदा वास्तवमा कविको मान्यता, कविको धारणा भनेको उसको कविता नै हो भन्ने मेरो धारणा हो ।
समकालीन मात्र होइन, सर्वकालीक रचना रच्न नसकुञ्जेल मर्न नपरोस् सोच्दछु ।
कुइकेलको कविता
कणाद महर्षि
महल र मन्दिरको
कविता लेखिरहेको बेला
पुरेत र प्रभुको
कविता लेखिरहेको बेला
सालिक र मालिकको
कविता लेखिरहेको बेला
सत्ता, चाकडी र भत्ता पकौडी बनाउने
कविता सोचिरहेको बेला
अप्रत्यासित !!
कुइकेल आएर मलाई भन्यो-
‘उनको कविता लेख’
लौ अब उनी-
अशक्त भएको बेला
सहयोगको तृष्णा राख्दा
ऊ भिखारिणी भनिएकी थिई रे
अभाव र दरिद्रताका कारण
लगाइएका
फाटिएका, च्यात्तिएका वस्त्रहरूभित्र
कतै कतै
भोकाएर चाउरिएका, खुम्चिएका
शरीरका अंगहरू देखिँदा
ऊ पागल कहलिएकी थिई रे
सरलतामा मान्छेहरूसँग नजिकिँदा
आत्मियता
ऊ बिग्रिएकी आइमाई
फुँडी भनिएकी थिई रे
कुइँकेलले
यसो र त्यसो
अरू र अरूहरू
उनको बारेमा के के भन्यो र भन्दै थियो
तर म
महल र मन्दिरको कविता लेखिरहेको थिएँ
पुरेत र प्रभुको
कविता लेखिरहेको थिएँ
सालिक र मालिकको
कविता लेखिरहेको थिएँ
सत्ता, चाकडी र भत्ता पकौडी बनाउने
कविता सोचिरहेको थिएँ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

