अप्रिल महिना, हामीकहाँ वसन्त भए पनि त्यहाँ चिसो बतास चलिरहेको थियो । अपराह्न पाँच बजेतिर स्टुटगार्ट (जर्मनीको एउटा सहर) बाट लन्डनतिर उड्न ‘लुफ्थान्सा’ विमान घन्किरहेको हुन्छ र छिनभरमै मलाई समेत लिएर बिस्तारै अकासिँदै बेलायततिर मुख फर्काई उडिरहेको हुन्छ । विमान यात्रीहरूले खचाखच भरिएको छ । एउटा आसन पनि खाली छैन । सबै अपरिचित छन् । धेरै वर्षअघिदेखिको मनको धोको पूरा हुने क्रममा विमान चढिरहन पाउनु नै एउटा ठलो सन्तोष, उल्लास र गौरवको कुरो थियो । विमान बादलभित्रभित्रै उडिरहेको थियो र झ्यालबाट तल आकलझुकल समुद्र (इङ्गलिस च्यानल) मात्र देखिन्थ्यो । विमानभित्रका सबै (यात्रीहरू) मौन थिए, वातावरण शान्त थियो । आफू पनि चुप लागेर केही चिन्तन, केही मनन गर्दै थिएँ, बेलायतको विषयमा अतीतका अनेकौँ कुराहरू मनमा गोता लगाउन थाले । जङ्गबहादुरको बेलायतयात्राको सम्बन्धमा सुनेका केही हाँसोउठ्दा टुक्काहरू सरसरती सम्झने कोसिस गर्दै थिएँ । यत्तिकैमा सम्झेँ– आठौँ कक्षामा पढदा एक दिन अङ्गे्रजी पढाउने शिक्षकले भनेको प्रसङ्ग । प्रसङ्गको विषय अङ्ग्रेजहरूसित सम्बन्धित थियो । अधिकांश हाम्रा स्कूलका मास्टरहरू पाण्डित्य छाँट्न बडा निपुण हुन्थे । गुरुदेवको वाणीलाई अमरवाणी सम्झने बाल्यमस्तिष्कले धारण गरेको बेलायतसम्बन्धी धारणा वायुयानमा बस्दा स्मृतिपटमा यसरी उघ्रन लाग्यो– ‘बुझ्यौ केटाहो, अङ्ग्रेजका चर्पी–पाइखाना हाम्रो पूजाकोठाभन्दा सफासुग्घर हुन्छन्, तिनीहरूका मामुली कोठा पनि हाम्रा राणाबाबूसाहेकका बैठकभन्दा राम्ररी सजाइएका हुन्छन् । फेरि उनीहरूको वेस्ट बास्केट (फ्याँकिने चीजवस्तु राख्ने टोकरी) मा दिनहुँ हामीजस्ता तीन–चार जनालाई पुग्ने मासु, फुल, केक, पाउरोटी आदि खानेकुरा फालाफाल गरिएको हुन्छ ।’
त्यसपछि लगत्तै चार–पाँच दिनअघि मात्र स्टुटगाटको किङ्ग्सबर्ग स्ट्रासेस्थित ब्रिटिस कन्सुलेट कार्यालयमा ‘भिसा’ को निमित्त जाँदा पाएको गोता सम्झेँ । सकेसम्म बेलायतमा मलाई जान दिन नचाहने त्यस कन्सुलेटकी अङ्गे्रज कारिन्दा केटीको ठाडो मिजास देख्दा म छक्क परेको मात्र होइन कि दिक्कसमेत भएको थिएँ । मेमसाहेब ओठ चोसो पार्दै चोरलाई जस्तै मलाई केरकार गर्न लागिथिन्– “तपार्ईं इन्डियन कि पाकिस्तानी ?”
“होइन मेडम, म नेपाली हुँ, हेनुहोस् मेरो पासपोर्ट ।”
“तपाईं पहिले कहिल्यै बेलायत जानुभएको थियो कि ?”
“अहँ, गएको छैन ।”
“तपार्इं किन बेलायत जाँदै हुनुहुन्छ ?”
“त्यसै, बेलायत हेर्ने रहर मेट्न ।”
“त्यहाँ बस्न तपाईंसँग पैसा कति छ ?”
मैले जर्मनीको बैङ्क ब्यालेन्स देखाएँ ।
“त्यहाँ तपाईंको परिचित कोही छन् ?”
“छन्, हडर्सफिल्डमा मेरी बहिनी मुनू राजकर्णिकार र ज्वाइँ नारायणगोविन्द, अनि लन्डनमा एक जना मित्र पुरुषरत्न, अरू अहिले थाहा छैन ।”
“तपाईंका बहिनी र ज्वाइँ लन्डनदेखि निकै टाढा रहेछन्, तर तपाईं भने लन्डन जाने भन्नुहुन्छ ।”
“हो, म त्यहँ पुगेपछि तिनीहरू मलाई भेट्न आउनेछन्, पत्रद्वारा हाम्रो सबै कुराकानी भइसकेको छ ।”

“तपाईं त्यहाँ कति दिन बस्नुहुन्छ ?”
“मैले सात दिनको बिदा लिएको छु, त्योभन्दा बढी बस्दिनँ ।”
यति सुनेपछि ती केटीले मलाई पर्सि आउनू भनिन् । मन ढुक्क गरी म त्यहाँबाट फर्केको हुन्छु र पसिपल्ट फेरि हाजिर हुन पुग्छु । अनि फेरि भोलि आउनू भन्छिन् र भोलिपल्ट जाँदा छ–सात जनाको मात्र घुइँचो हुँदा सबैको काम नसकुन्जेल मैले कुर्नुपर्‍यो । आखिरमा ती कार्यालयकी केटीले मतिर फर्केर भनिन्– “मिस्टर राजकर्णिकार तपाईं भिसा पाउन सक्नुहुन्न, मलाई अफसोस छ ।” यो आदेश सुन्दा मलाई एक पटक झन्न रन्को चढिहाल्यो, तैपनि आफूलाई समाल्दै भनेँ– “किन र ? के मैले केही गल्ती गरेको छु र ? तपाईंलाई विश्वास छैन भने ल मेरा सम्पकअधिकतसँग सोधपुछ गर्नुहोस् ।” यति भनी क्योनिग स्ट्रासेस्थित कार्ल ड्युइसबर्ग इन्दरनेसनलको फोननम्बर भएको नोटबुक यसो अगि सारेको मात्र के थिएँ, खान नपाएको मगन्तेले कप्लक्क खान खोजेझैँ त्यसलाई झम्टेर लिइन् र त्यहाँकी श्रीमती गुन्तुक आइजनमनसँग वार्तालाप गरिन् । लामो कुराकानी गरिसकेपछि मुसुक्क हाँसेझैँ गरी ती केटीले मलाई एउटा फाराम दिइन मैले पनि सबै वृत्तान्त भरेर तुरुन्तै उनलाई दिएँ ।
वी आ सरी फ किपिङ युु लङ जसमा साँच्चै बेलायत घुम्नु निकै गाह्रो रहेछ भन्ने मनमा विचार गर्दै थिएँ, पौने घण्टाको यात्रा सकिन लागेको थियो । लगत्तै लन्डनको ‘हिथ्रो’ विमानस्थलमा आफू चढिरहेको विमान बिस्तारै ओर्लन्छ– कुनै झोक्का वा धक्काको पटक्कै महसुस भएको हुन्न । राम्ररी ओरालेकोमा विमानचालकलाई मनमनै धन्यवाद दिएको हुन्छु । लाम लागेर पङ्क्तिबद्ध बनी ओर्लिरहेका अग्लाअग्ला यात्रीहरूको बीचमा कम उचाइ भएको म त्यसै कतै गुम भएको जस्तो लाग्यो । आफूभन्दा अगाडि परेका यात्रीहरू साबिक विमानस्थलको इमिग्रेसन, हेल्थ, कस्टम आदि काउन्टरबाट एकएक गर्दै फुत्किँदै गइरहेका देखेको हुन्छु । अतः मैले पनि आफ्नो पालोको प्रबल प्रतीक्षा गर्न लागेँ । तर ‘म ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो’ भनेजस्तै हुन गयो । मैले आफ्नो पालोमा पासपोर्ट र एलोकार्ड देखाउनासाथ मलाई अलग्ग अर्को ठाउँमा जाने इसारा गरिन्छ र शिरोपर गर्दै म त्यस पङ्क्तिबाट फुत्त छुटेर जान्छु । त्यहाँ दुई जना प्रहरी अङ्ग्रेजहरू रहेछन्, ती दुवैले मेरो पासपोर्ट मात्र होइन कि ब्रिफकेस, एयरब्याग र सम्पूर्ण शरीरसमेत खोतलेर, टकटक्याएर, कन्याएर, सुमसुम्याएर हेरे । बाँदरले जुम्रा हेरेजस्तै मलाई र मेरा सामानहरूलाई खोतल–खातल गरिसक्दा पनि तिनीहरूको चित्त बुझेनछ । त्यसपछि मप्रति प्रश्नको ओइरो खनिन लाग्यो । धेरै भएपछि चिनी पनि तीतो हुन्छ भनेभैmँ यस कारबाहीले ‘नबिराउनू नडराउनू’ जस्तो दृढ विचारमा पनि खुकुलोपन बढ्दै गएको महसुस हुँदै आयो र त्यसैले आफ्ना दुवै कानमा तापक्रम बढ्दै आएको, चेहरामा रातो रङ्ग चढ्दै आएको र मुटु धडाधड छिटो चल्दै गरेको कटु अनुभव हुँदै गयो । हुँदाहुँदा ती प्रहरीहरूले मेरो अङ्ग्रेजी बोलाइको निपुणतामा समेत शङ्का गर्न थाले । अनि मैले विवश भई आफ्नो देशमा छिमेकी भारतको प्रभावले अङ्ग्रेजी शिक्षा र भाषाको बाहुल्य बढेको बारे विस्ततृ जानकारी दिनै पर्‍यो । आखिरमा ती जवानहरूमध्ये एक जनाले ङिच्च हाँसी मलाई भने– “ओ.के.यू कान गो, वी आ सरी फ किपिङ यू लङ (ठीक छ, तपाईं जान सक्नुहुन्छ, तपाईंलाई यहाँ धेरैबेरसम्म राखेकोमा खेद छ) ।” अनि मैले शिष्टाचार पुर्‍याउन मात्र भनेको हुन्छु– “द्याट्स अल राइट यू डिजर्भ टु डु यो ड्यूटी, थेङ्क यू ! (ठीक छ, तपाईंले आफ्नो ड्युटी गर्नै पर्छ, धन्यवाद !)”
‘हिथ्रो’ विमानस्थलबाट बाहिर निस्कँदा रातको दस बजिसकेको थियो । त्यसै बिचल्लीमा परियो जस्तो भयो । बल्ल एउटा ट्याक्सी फेला पर्छ । ट्याक्सी उन्नाइसाँै शताब्दीको फोर्ड मोटरजस्तै रहेछ । अब केके न होला भन्ने तर्क–वितर्क र आशङ्काले मन मडारिइरहेको थियो । त्यसैले आफूसँग भएको ठेगाना देखाउँदै शाही नेपाली राजदतावासमा पुर्‍याइदिने अनुरोध त्यस ट्याक्सी ड्राइभरसँग गरँे । साँच्चै डुब्न लागेको मानिसलाई परालको त्यान्द्रो पनि ठूलो सहारा भएजस्तै विदेशमा कहीँ–कतै बिचल्लीमा पर्न लागेका यात्रीलाई अन्तिम शरण आफ्नै देशको दूतावास हुँदोरहेछ । त्यो रातमा त्यो ट्याक्सीवालाले बाटो घुमाएर लग्यो–लगेन थाहा भएन र यसमा मैले चिन्ता पनि गरिनँ । तर मुख्य कुरो आफ्नो मातृभूमिको दूतावासअगाडि लगी मलाई पुर्‍याइदिएको नै अँध्यारोमा बत्ती बलेको जस्तो हुन पुग्यो ।
यस्तो रातमा म आएको देख्दा शाही नेपाली राजदूतावासका द्वारपालजस्ता दुई जना नेपाली युवाहरू आश्चर्यचकित भए । जुन कुरा पनि ‘भोलि’ भन्न सिपालु भएका हामी नेपालीको बानीलाई तिनीहरूले लगत्तै मुखरित गरिहाले । तैपनि बाध्यतावश आफ्नो बेथाको सानो अंश सुनाउन मलाई करै लाग्यो, एम्बेसडरसाहेब वा सेक्रेटरीज्यूसँग नै कुराकानी गर्ने इच्छा व्यक्त गरेँ । ती दुईमध्ये एक जना यसो भित्र पस्यो– सायद फोन गरी सोधपुछ गर्न गएको थियो क्यारे ! छिनभरमै आएर नकारात्मक उत्तर दिन लाग्यो । मैले आफ्नो जिद्दी छोडिनँ र त्यसैले होला एक जनाले अर्कोलाई “ए, खदरसाहेब (खरदारसाहेब) काँ लग्नोस्” भनेको रहेछ क्यारे, मैले त एम्बेसडरसाहेब… भनेको जस्तो सुन्न पुगेँ र मनमनै खुसी भएँ । मलाई त्यस भवनमा तिनीहरूले जुन बाटोबाट लगे, त्यो देख्दा आश्चर्यचकित हुनुपर्‍यो– जताततै अनावश्यक फोहोरमैलाको थुप्रो, ठाउँठाउँमा भित्ताका कुनामा माकुराको घरसंसार तथा एक कुनामा पुरानो कलाकृतियुक्त थोत्रो भाँच्चिएको कवच उदाङ्गिएको देखेँ । मैले मनमनै एम्बेसडर भन्ठानेको खरदारसाहेब त लथालिङ्ग भएको एउटा कोठामा आफ्नी हस्तिनीजस्ती श्रीमतीसँग बसी एउटा थोत्रो टेलिभिजनमा फुलटबल खेल पो हेर्न लागेका रहेछन् । ‘तँ, तिमी, तपाईं, हजुर’ मध्ये सबभन्दा उच्च शिष्टाचारयुक्त शब्दको बारम्बार प्रयोग गर्दै मैले त्यस व्यक्तिलाई हुनसम्म इज्जत गरेँ । तर जति मान्यो उति मनाउनुपर्ने हाम्रो नेपाली बुद्धि त्यस खरदारसाहेबको शिरमा पनि खचाखच भरिएको रहेछ । यहाँसम्म कि मेरो रामकहानीमा सहानुभूतिका दुई शब्दसम्म नबोली त्यसै टारेको देख्दा आतिथ्य सत्कारमा राम्रो स्थान ओगटेको हाम्रो राष्ट्रिय गौरवलाई समेत ती खरदारजस्ता विदेशमा प्रतिनिधित्व गरेर बसेका व्यक्तिहरूले धूमिल नपार्लान् भनेर कसरी विश्वस्त हुने ? भन्ने मनमा लाग्न गयो ।
अन्ततोगत्वा मेरो उपस्थिति खरदारजीलाई बोझिलो हुन गएको जस्तो मलाई लाग्यो । आत्मसम्मानप्रति मेरो पनि आफ्नै परिवेश हुने हुँदा जस्तोसुकै अवस्थामा पनि यसलाई सङ्कुचित नपारी प्रस्फुरित पार्न मेरो आफ्नै बानी छ । यसैले एम्बेसडरसाहेब भनी ठानेको त्यस खरदारसाहेबबाट जति सक्यो चाँडो अलग्गिनु नै उचित ठानेँ । अतः त्यहाँबाट फुत्किनु नजिकैको होटेलमा एउटा कोठाका लागि व्यवस्था गर्न लगाई छिटोछरितोसँग खरदारजीसँग बिदाबारी भएर गएँ ।

पर्यटकीय कटु अनुभव
होटेलमा पुग्दा रातको अन्दाजी साढे बाह्र–एक बजेको थियो होला । पेटमा चुइँ…य, चुइँ…य मुसो कराएको हुन्छ । तर खाना भने ठप्प । लौ, आजको रातभर विवश भई उपवास गर्न पर्‍यो भन्ने अठोटले धूवाँ मात्र कोठाभरि फ्याँकिरहेका हुन्छु । निद्रादेवीको प्रतीक्षा गर्दागर्दै जाग्राम बस्नुपर्‍यो । यस अवधिमा कहिले भर्खरै अघि एक नेपालीले अर्को नेपालीलाई नचिनेको जस्तो गरेको व्यवहारले मानसपटमा चोट लागेको अनुभव हुन्थ्यो त कहिले स्टुटगार्टमा भिसा लिँदा झन्झट भएको सम्झना हुन्थ्यो र फेरि कहिले ‘हिथ्रो’ विमानस्थलमा पासपोर्ट देखाउँदा झन्झटको गोता खाएको घटनाले शिरमा फन्का माथ्र्यो । साँच्चै, यसो सोचेर हेर्दा छद्मवेशी लुच्चा व्यक्तिहरूको धूर्त करामतले गर्दा सोझा–निमुखा पर्यटक यात्रीसमेत झोजझमेलामा फस्नुपर्ने स्थितिको सिर्जना वस्तुतः विमानस्थल कायालयको कच्चा व्यवस्थापन नै हो भन्नुपर्छ । नत्रभने ‘खाइ न पाइ छालाको टोपी लाइ’ भनेजस्तो मन मर्ने कटु अनुभव किन हुन जान्थ्यो र ! अब त साँच्चै कुनै देश वा मुलुक यसरी प्रवर्तक बनेर आउनुपरेको छ जहाँ पर्यटक यात्रीहरूले पासपोर्ट, भिसा, कस्टम, इमिग्रेसनजस्ता पट्ट्यारलाग्दो जन्जालमा अनायास होमिन नपरोस् । किनभने ईश्वरको अनुकम्पाले संरचना भएको यो विश्वब्रह्माण्डको कुनै पनि भाग कुनै पनि जातिको पुख्र्यौली पैतृक सम्पत्ति होइन । आजको विकसित नैतिक धरातल यही हुन आउँछ कि विश्वको कुनै पनि भागमा जोकोही व्यक्तिलाई सुगमतासाथ घुमफिर र आवागमन गर्न पाउने मानवअधिकार उपलब्ध हुनुपर्छ । स्वतन्त्र विश्वरचनाका सहभागी बेलायतजस्ता ठाउँमा केही दिनका निमित्त घुम्न खोज्दा भुस्याहा कुकुरले नवागन्तुकलाई ह्वाङह्वाङ र ङ्यार्र… ङुर… गरेझैँको कटु अनुभव आफूलाई भयो ।

कल्पनाविपरीतको सहर
लन्डन पुग्दा पाएको गोता र मानसिक ताडना तथा होटेलमा रातभरिको जाग्रामले बिहान उठ्नसमेत अबेर हुन गयो । तर पेटभरि ‘ब्रेकफास्ट’ लप्काउन पाएकाले बल्ल रमाइलो अनुभव गरेँ । अपराह्नतिर मात्र लन्डनमा अध्ययन गरिरहेको मित्रसँग भेट गर्ने पूर्वयोजना हुँदा ‘ब्रेकफास्ट’ खाई होटेलबाट बाहिर निस्की यताउता एक्लै चहार्न थालेँ । संसारप्रसिद्ध संयुक्त अधिराज्यको राजधानी तथा राणाकालीन नेपालमा आफू सानो नानी छँदा धेरै पटक सुनेको सहर लन्डन । भारततिर पहिलोपल्ट जाँदा वीरगन्ज पुग्दा त्यहाँ नै रमाइलो अनुभव गर्ने मैले लन्डन सहरलाई देख्दा नाक बिगार्नुपर्‍यो । वस्तुतः केही अरू अन्तर्राष्ट्रिय आधुनिक सहरहरू हेरिसकेको तथा जर्मनीमा महिनौँअघिदेखि बसिरहेको हुँदा लन्डन सहर आफ्नो कल्पनाविपरीत अँध्यारो, निन्याउरो तथा पुरानोजस्तो लाग्यो । साँच्चै जिज्यूबाजेहरूको पालामा बनेको लन्डन सहरका ती पुराना भवनहरू आधुनिकतामा तगारो बनी तेर्सिरहेका जस्ता थिए । एउटा कुराले भने मलाई लन्डनमा बडो रमाइलो लाग्यो । जर्ननीमा हुँदा कामचलाउ भाषाको मात्र अनुशीलन हुँदा बेलाबखत अरूले भनेको नबुझ्ने तथा आफूले अरूलाई बुझ्ने गरी प्रस्ट बोल्न नसक्ने जस्ता समस्याले मनमा खिन्नता हुन्थ्यो । तर लन्डनमा भने त्यो समस्या रहेन । अरूले भनेको पनि बुझ्ने, आफूले पनि बुझाउन सक्ने दोहोरो भाषाविज्ञ हँुदा कान हलुङ्गो तथा मुख छरितो हुन पुग्यो र आफूलाई सुरिलो भाषा मीठो अङ्ग्रेजी हुन गयो । साँच्चै, मलाई त मामाघरमा जाँदा उच्छृङ्खलतासाथ बोलाइमा अनियन्त्रित भएजस्तै लन्डनमा हुन गयो ।

यही हो र वेस्टमिन्स्टर ब्रिज ?
त्यसपछि दिउँसो करिब एक–दुई बजेतिर सोधपुछ गर्दै लोकल ट्रेन (ट्युबट्रेन, जमिनमुनि गुड्ने रेल) चढी मित्र महोदयलाई भेट्न ग्रिनफोर्डस्थित ११३ ह्विटन एभिन्युमा पुगेँ । उनी लन्डनमा अङ्ग्रेजी भाषाको अध्यापनप्रणाली विषयमा तालिम लिइरहेका थिए । हुन पनि अङग्रेजी भाषा सिक्ने वा सिकाउने तरिकामा समयअनुसार सुधार नहुँदा यसले विकृत रूप लिँदै गइरहेको छ भन्नुपर्छ । मित्रसँग एकछिन उनले लिइरहेको तालिमविषयमा कुरा हुँदा अङ्ग्रेजी भाषाको बनावट (संरचना) मा मोटामोटी पच्चीस थरीका भर्ब प्याटर्न (क्रियारूप) को राम्ररी प्रयोग गर्न जानेमा राम्रो आधुनिक अङ्ग्रेजी लेखनशैली बन्ने तथा यो तालिममा सिकाइने अरू विषयहरूको अध्ययनपछि हामीले आफ्नो अङ्ग्रेजी भाषाको ज्ञानमा एउटा नौलो, सुगम तथा छरितो क्षितिजभित्र पसेको अनुभव हुन जाँदोरहेछ भन्ने सुन्दा मलाई पनि यस तालिमप्रति चाख लाग्न गयो । तर यता बेलायततिर तालिम लिइरहेका शिक्षार्थीहरूलाई दिने वृत्ति (स्टाइपेन्ड) रकमबाट भने हातमुख जोर्न धौधौ पन रहेछ । मित्रसँगको मिलनको रमाइलो क्षणमा परदेशमा पाइने दुःखसुखका घटनापूर्ण कुराकानी हुँदै थिए । बीचैमा मैले हतारिँदै भनिहालेँ– “लौ छिटो बाहिर गइहालौँ, लन्डन सहर हेरिहालौँ ।” लगत्तै मित्रसँग घुम्न बाहिर निस्केँ । मित्र बाटोमा देखिएका ठाउँहरूको टुटफुट–फाटफुट वर्णन पनि गर्दै थिए । साथै आफ्नाआफ्ना समस्याहरूको पनि आदानप्रदान हुँदै थियो । त्यत्तिकैमा मित्रले भने– “हेर, लन्डनमा हेर्नुपर्ने, घुम्नुपर्ने ठाउँहरू असङ्ख्य छन्, त्यसैले पहिले कहाँ जाने ?” मैले पनि सहमति जनाउँदै भनिहालेँ– “ठीक छ, त्यसो भए वेस्टमिन्स्टर ब्रिज (पुल) तिर पहिले जाऔँ ।” मित्र मुसुक्क हाँसे र मतिर फर्केर चोर आँैला ठड्याएर भने– “म त छक्क पर्छु, लन्डनमा आउने दुई–चार जना नेपालीलाई घुमाउँदा तिनीहरूले पनि तिमीले जस्तै भौँतारिँदै पहिले वेस्टमिन्स्टर ब्रिज देखाइदे भनेका थिए तर त्यहाँ…।” अनि मैले त्यतिखेरै भनेँ– “ठीकै त हो नि, तिमीजस्तो यहाँ वर्षौं बस्नेलाई पो केही नहोला, तर मजस्तो नवागन्तुक नेपालीलाई यहाँका अरू स्थानहरू थाहा नभए पनि विश्वप्रसिद्ध कवि वर्डस्वर्थले रचेको ‘कम्पोज्द अपअन् वेस्टमिन्स्टर ब्रिज’ कविता कलेजमा घोटेर पढेको सम्झना भइहाल्छ ।” मित्रचाहिँ मुसुमुसु हाँस्दै मुन्टो मात्र हल्लाउँदै थिए, म भने त्यो ‘वेस्टमिन्स्टर ब्रिज’ नामक पढेको कविताको प्रशंसा गर्दै मित्रसँग हिँड्दै थिएँ । यत्तिकैमा वेस्टमिन्स्टर ब्रिजनिर पुग्यौँ, तर मलाई भने यसको अत्तोपत्तो नै हुन्न । अनि मित्रले मलाई भनिहाल्छन्– “ठीक छ, वर्डस्वर्थको वेस्टमिनस्टर ब्रिज कविता मलाई भन्दा तिमीलाई बढ्ता सम्झना रहेछ, ल तिम्रो मन पर्ने वेस्टमिन्स्टर ब्रिज यही हो ।” यति भनी मलाई सङ्केत गरे । मेरो मुखबाट फुत्किहाल्यो– “हो र ! यही हो र ! सत्य होे ? यही हो वेस्टमिन्स्टर ब्रिज ? धत्तेरी म त कस्तो काल्पनिक संसारमा रहेछु, केके न होला भन्ठानेको त !” निश्चय नै मलाई त यो केवल एउटा साधारण ठाउँ लाग्यो तर वर्डस्वर्थ यसको विषयमा यसरी प्रस्फुटित हुन्छन्–
पृथ्वीसँग योभन्दा राम्रो देखाउने कुरा अरू केही छैन;
जो आफ्नो भव्यतामा यस्तो हृदयग्राही भएको दृश्यलाई
वास्ता नगरी हिँड्न सक्छ त्यो आत्माको मरेको हुनुपर्छ;
यो सहरले बिहानको सौन्दर्यलाई पोसाकजस्तै गरी लगाएको छ;
शान्त, नङ्गा जहाजहरू
बुर्जाहरू, गुम्बाहरू, नाचघरहरू तथा मन्दिरहरू पडिरहेका छन् जमिनमाथि र आकाश ताकी;
सारा चहकिला र टलक्क टल्केका धूवाँ नभएको हावामा…
वस्तुतः वर्डस्वर्थले त्यस वेस्टमिन्स्टर ब्रिजबाट जे देखे त्यसको मैले अनुभव गर्न सकिनँ । त्यसैले त्यो प्रसिद्ध कविता मेरा लागि झ्याउरे गीतजस्तै हुन गयो । यतिन्जेल मेरो मन भँगालाले खाएको जस्तो भइसकेको थियो । कस्तो न होला भन्ठानेको वेस्टमिन्स्टर ब्रिज, हात्ती आयो, हात्ती आयो फुस्साझैँ भयो ।

साधारण जीवन, उच्च विचार
त्यतैबाट बिगबेन (घण्टाघर) र पार्लियामेन्ट हाउस (संसद्भवन) देखेँ, त्यतैतिर मन आकर्षित भयो । यो भव्य पार्लियामेन्ट हाउसतिरका माथि लामा चोसाचोसा पर्दै गएका छानाहरू भने निकै आकर्षक–मनमोहक लाग्यो । भनिन्छ कि एघारौँ शताब्दीदेखि देशको महत्त्वपूर्ण सरकारी कार्यालय भएको यो पार्लियामेन्ट हाउसमा शाही राजकीय बैठक, पाँच सय कोठाहरू, हाउस अफ् कमन्सको ग्यालरी, हाउस अफ् लर्ड्सको ग्यालरी, महारानी सवारी भएर राज हुने बैठक इत्यादि ऐतिहासिक कोठाहरू हेर्न लायकका छन् । त्यसपछि लन्डनको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एब्बेको बाहिरबाटै दर्शन गर्‍यौँ । यो त्यही गिर्जाघर हो जहाँ बेलायतका राजारानीलाई राज्याभिषेक गर्दा धर्मगुरुले राजमुकुट पहिराइदिँदा रहेछन् । यो त्यही गिर्जाघर हो जहाँ बेलायतका सबैजसो राजाहरू एवं प्रसिद्ध व्यक्तिहरूलाई समाधिस्थ गराइन्छ र सन् ८०० मा निर्मित यो गिर्जाघरका उत्कृष्ट कालिगडीले हाम्रो कृष्णमन्दिरले भैmँ बेलायतको अतीतको सभ्यतालाई छर्लङ्ग्याएको छ भन्नै पर्छ । त्यसपछि केहीबेरको हिँडाइमा हामी पुग्छौँ नं. १० डाउनिङ स्ट्रिट जहाँ बेलायतको प्रधानमन्त्री बस्ने भवन देख्दा म छक्क पर्छु । यस भवनभित्र कस्तो थियो त्यो त थाहा पाइनँ तर सहरबीचमै यस्तो साधारण भवनमा प्रधानमन्त्रीको आवास देख्दा एकातिर बेलायतका प्रधानमन्त्रीले महात्मा गान्धीको ‘साधारण जीवन, उच्च विचार’लाई नै कार्यान्वयन गरिरहेको जस्तो लाग्यो, अर्कोतिर संसारमा सबभन्दा गरिब राष्ट्रमध्ये गनिएको हाम्रो देशका उच्चाधिकारीहरूले यस्तो सादा जीवन कहिले बिताउलान् ? भन्ने तर्कना पनि उठन लाग्यो ।

सुन्दर टेम्स, बग बिस्तारै
टेम्स नदीको छेउछाउतिर डुल्दै गएँ । मानिस अक्सर नदीखोलाका किनारातिर बसोबास गर्न मन पराउँछन् । प्राचीन समयदेखि मानवजातिको उत्थान र विकास पनि अधिकांश नदीकै किनारातिरबाट भएको तथ्य सिन्धु, मिस्र, ह्वाङ्हो, मेसोपोटामिया तथा आफ्नै देशका कोसी, कर्नाली र गण्डकीका बेसीहरूको इतिहासबाट देखिन्छ । यसैले पनि होला हाम्रो वेदमा नदीलाई ‘अथो ब्रह्म’ भनिएको छ । काठमाडौँ सहरलाई पनि पूर्वपट्टि बाग्मतीले र पश्चिमपट्टि विष्णुमतिले अँगालो हाल्न खोजेझैँ घेरा हालेको छ । आफू डुलिरहेको टेम्स नदीको किनारातिर करिब २५०० वर्षअघि सर्वप्रथम रोमनहरूले बस्ती बसाल्न सुरु गरेका यो लन्डन सहर विस्तृत हुँदै हाल सात सय वर्ग माइलको विशाल भूमिमा फैलिएका छ र यहाँ अहिले असी लाखभन्दा बढी मानिसको आबादी छ । लन्डनवासीहरूका निमित्त उहिले टेम्स नदी प्रेरणा र सौन्दर्यको मुहान थियो । सोह्रौँ शताब्दीतिर एडमन्ड स्पेन्सरले भनेका थिए–
‘सुन्दर टेम्स ! बग बिस्तारै जबसम्म म मेरो गीत गाउन नसकूँ ।’

त्यस्तै वेल्सका कवि डाइलन टमसले लेखेका छन्–
यो पहिलो अवसर हो मैले साँच्चै देखेको
लन्डन जसको सुन्दर टेम्स बगिरहन्छ सुस्तरी;
नगरकी ती गीत छर्ने जलपरी त्यो जलप्रवाह
फैलिएको असी लाखको गाउँभरि दन्किएको ।
यो लन्डन हो… ।’

तर अहिले यो टेम्स न त स्नेहपर्ण छ न त सुकुमार नै बरु धेरै व्यस्त बनेको छ, जहाँबाट लाखौँ टन बेलायती वस्तु जहाजहरूमार्फत निर्यात भई यसको बेचबिखनबाट बेलायतले आफ्नो अस्तित्व बचाइराख्न सकेको छ । लन्डनवासीहरूका लागि सुन्दर, शान्त, विशाल भएको त्यो टेम्स नदी अहिले केवल यातायातको एउटा साधन बनेको छ, असङ्ख्य जहाजहरू ओहोरदोहोर हुने मुख्य जलमार्ग बनेको छ ।
विश्वप्रसिद्ध तीन संयुक्त भवनहरू टेम्स नदीको किनारामा अवस्थित तीनओटा ठूलठूला जोडिएका भवनहरूले भने मलाई औधी आकर्षित गरे । वस्तुतः ती भवनका बाहिरी रूपले होइन बरु तीभित्रका कार्यालयहरूका कर्मचारीहरूको सतर्कता तथा कार्यकुशलताका प्रेरणादायक समाचार, वर्णन आदि सुनेका वा पढेकाले मलाई ती भवनहरूप्रति श्रद्धा लागेको हुन्छ । यी त्यही भवनहरू हुन् जुन स्कटल्यान्ड यार्डको नामले् संसारप्रसिद्ध छन् । बेलायतको मुख्य प्रहरी कायालय नै स्कटल्यान्ड यार्ड भनिने गरेको तथ्यमा एउटा रोचक इतिहास नै समावेश भएको रहेछ । भनिन्छ कि पहिले ह्वाइटहल तथा टेम्स नदीबीचको भाग खुला मैदान थियो र यहीँनिर त्यस बेलाको स्वतन्त्र स्कटल्यान्डका राजपरिवारको एउटा भव्य दरबार थियो । त्यसैले यहाँका इलाकालाई स्कटल्यान्ड यार्ड भन्दथे । त्यसपछि आजभन्दा ठीक डेढ सय वर्षअघि अर्थात् इस्वी सन् १८२९ मा सर रबर्ट पीलले जब लन्डन महानगर प्रहरीका स्थापना गरे त्यस बेलादेखि नै ह्वाइटहलको एउटा भवनलाई मुख्य कार्यालय बनाइएको थियो जसलाई त्यही इलाकाको नामकरणले सम्बोधन गर्ने चलन भएछ र त्यसैले स्कटल्यान्ड यार्ड भन्ने नाम रहन पुगेछ । समयको पाङ्ग्रो घुम्दै जाँदा विस्तृत हुँदै गएको यो स्कटल्यान्ड याडमा हाल करिब १८००० पुरुष तथा स्त्री प्रहरी कर्मचारीहरू कार्यरत छन् । देशमा शान्तिसुरक्षाको व्यवस्था तथा सुगमता कायम गर्न रहेका स्कटल्यान्ड यार्डका चार विभिन्न विभागहरूमध्ये सबभन्दा रोचक तथा विश्वप्रसिद्ध विभाग ‘अपराधविभाग’ नै हो । अपराधविज्ञानमा उच्च तालिमप्राप्त विशेषज्ञहरूबाट अपराधसम्बन्धी निरन्तर अन्वेषणात्मक नयाँनयाँ कुरा पत्ता लगाई त्यसको रोकथाममा प्रगतिशील विधिविधानहरू अपनाउने यो अपराधविभागले बलियो जनआस्था प्राप्त गरेको रहेछ । साँच्चै भन्ने हो भने आधुनिक उपकरणले समेत सुसज्जित यो अपराधविभागको कार्यकुशलता तथा कार्यक्षमताको प्रतिफलस्वरूप स्यालभन्दा कैयौँ चंख अपराधीहरू पनि यसका पन्जाबाट उम्किन नसकेका घटनाहरूमध्ये केही आफ्नै देशमा छँदा सुनेको र पढेको थिएँ । डेढ सय वर्षअघि स्थापित लन्डन महानगरको मुख्य प्रहरी कायालय यो स्कटल्यान्ड यार्डको लक्ष्य नै आफूले आर्जन गरेको ख्याति (गुडविल) यथावत् राख्ने प्रयास हो । यसलाई मुक्तकण्ठले प्रशंसा नगरी रहन सकिन्न र भर्खरै विकासको मिरमिरे घाम लागिरहेको आफ्नो देशमा पनि यस किसिमका प्रहरीनिकायहरू भए हुन्थ्यो भन्ने कल्पना मनमा लहराउन थाल्यो ।

भव्य विशाल बजार– डिपार्टमेन्टल स्टोर्स
एक दिन म अपराह्नदेखि लन्डनको मुख्य बजारका सडकहरूमा एक्लै फनफनी फन्को मारिरहेको हुन्छु । मैले चक्कर लगाएका मार्गहरूमध्ये मुख्य अक्सफोर्ड स्ट्रिट, रिजेन्ट स्ट्रिट, पार्कलेन तथा पिकाडिली रहेछन् । विदेशका सहरहरूमा पैदल यात्रा बडो नौलो, रमाइलो, खोजपूर्ण तथा रोमाञ्चकारी हुन्छ । कुनै पनि ठाउँ राम्ररी नियालेर हेर्न पैदल यात्रा नै गनुपर्छ । अक्सफोर्ड स्ट्रिट त लन्डनको मालसामान किनमेल गर्ने मुख्य केन्द्रबिन्दु नै रहेछ । हाम्रो काठमाडौँको नयाँसडकजस्तै अनेक किसिमका आधुनिक सरसामान किन्न पाइने यो अक्सफोड स्ट्रिटका दायाँबायाँका थरीथरीका राम्राराम्रा पसलहरूले कुनै पनि ग्राहक वा पर्यटकलाई आकर्षित नगरी नछोड्ने रहेछ । लन्डन महानगरका चारओटा प्रसिद्ध भव्य डिपार्टमेन्टल स्टोर्स (हाम्रो विशाल बजारजस्तै)– सेल फ्रिजेज, जोन लिविस, डी.एच्.इभान्स र डेवेनहाम्स पनि यही स्ट्रिटमा अवस्थित रहेछन् । त्यस्तै रिजेन्ट स्ट्रिटमा रहेको ह्मामलेज् ट्वाई सपले पनि मलाई चकित तुल्यायो ।
साना नानीहरूलाई नै पहिले खेलौनाहरू किनमेल गर्नुपर्‍यो भन्ने धारणाले त्यस खेलौनापसलमा पसेको थिएँ । त्यहाँको आठ–दस तलाका सबै ठाउँमा आकषर्क तरिकाले सजाएर राखिएका बच्चाहरूका खेलौनैखेलौना मात्र हेर्दै जाँदा कुन किन्न हो निर्णय नै गर्न नसक्दा एक घण्टाभन्दा बढी समय बितेको चालै पाइनँ ।

पार्कलेन क्यासिनोमा एक क्षण
विशाल खुला मैदान तथा ठाउँठाउँमा ठूलठूला रुखहरूले शोभायमान हाइडपाकमा लन्डनवासीहरू घुम्न तथा घाम ताप्न जाँदा रहेछन् । त्यहीँ एक ठाउँमा पाँच–छ जना अङ्ग्रेज ठिटाहरू घाम ताप्दै गफसफ गद कुन्नि के हो एक–एकओटा मुखमा कुपुकुपु हाल्दै खाइरहेको देख्दा मलाई आफ्नै साथीहरूसँग जाडोको मौसमतिर रत्नपाक टुँडिखेलतिर घाम ताप्दै बदाम छोडाउँदै कुटुकुट खाँदै ख्यालठट्टा गरेर बिताएका दिनहरूको सम्झना भयो । हाइडपार्कमा यसो विहङ्गमदृष्टि दिइसकेपछि यसैको सामुन्ने रहेको पार्कलेनको बाटो समात्दै थिएँ । यत्तिकैमा अचानक एक जना पूर्वपरिचित नेपालीसँग बाटैमा जम्काभेट भयो । दुवैमा आश्चर्यमिश्रित उल्लासपर्ण भावनाहरूको प्रस्फुरण भयो । उनी काठमाडौँबाट आफ्ना ‘साहेब’ सँग बेलायत आएर बन्दोबस्त मिलेपछि दुई वर्षअघि मात्र आफ्ना श्रीमती र एक छोरा दुई छोरीसमेत बेलायतमा नै झिकाई बसोबास गरिरहेका रहेछन् । कुरा गर्दै हामी अघि बढ्दै थियौँ, नजिकको हर्डफोर्ड स्ट्रिटको पार्कलेन क्यासिनोलाई आफ्नो कार्यालय भनी उनले मलाई भने । तर त्यहाँ साधारण तल्लो तहको मात्र काम गर्ने भए तापनि महर्जनले निकै ठूलठूला कुरा गर्ने गरेको मलाई अहिले पनि झलझली सम्झना हुन्छ । उनी कहिले राजनैतिक कुरा गर्थे त कहिले आर्थिक विकासमा आफ्नो मन्तव्य व्यक्त गर्दथे । त्यस्तै कहिले धार्मिक प्रसङ्गमा आफू क्रिस्चियन भएको दाबा गर्दथे । उनले आफ्नो कार्यालय देखाउन मलाई त्यहाँ लगे । पार्कलेन क्यासिनो भन्ने नामैले जुवा खेल्ने ठाउँ भन्ने प्रस्टिएकाले यो कार्यालय कुन किसिमको हो भन्ने प्रश्न मैले गर्नै परेन । हरेक दिन दिउँसो दुई बजेदेखि मात्र खुल्ने यो क्यासिनोमा बिहान चार बजेसम्म विविध किसिमका जुवाहरू खेलहरू चालू हँुदा रहेछन् । त्यहाँभित्र पस्दा सलक्क परेका बनावटी मुस्कान मुस्काउन सिपालु भएका लहलहाउँदा सुनौलो केशहरू भएका अधिकांश अर्धनग्न ठिटीहरूको हँसिलो व्यवहारले नवागन्तुक व्यक्तिहरूलाई पहिले त भ्रममा नै पार्दो रहेछ । आफ्नो भाग्य सपानमा व्यस्त जुवाडे महाशयहरूको छेउछाउमा ती केटीहरू यदाकदा यसो सुरुक्क खुरुक्क गई चुरोट दिँदै लाइटर बालिदिने वा अँगालो हाल्दै एक–एक चुस्को म्वाइँको आदानप्रदान गर्नु–गराउनुका साथै एक–दुई टुक्का ठट्टाका कुराहरू बीचबीचमा गरिदिने गर्दा रहेछन् । त्यहाँ एक फन्को लगाउँदा मैले देखेँ– कुनै महाशयहरू ब्ल्याक ज्याक खेलिरहेका थिए त कुनै अमेरिकन रौलेटमा व्यस्त । त्यस्तै फेरि कुनै पुन्टोबान्को खेल्नमा मस्त थिए । वस्तुतः त्यहाँ मलाई खास रमाइलो लागेन । काठमाडौँको सोल्टी होटेलको क्यासिनोमा यस्ता खेलहरू खेलिएको देखिसकेको थिएँ र कैयौँ नेपालीहरू त्यहाँको खेलबाट टाट पल्टिसकेका छन् भन्ने पनि सुनेको थिएँ । विदेशी पयटकको मनोरञ्जनार्थ खोलिएको सोल्टीको त्यो क्यासिनोका ग्राहकहरूमा नेपाली जुवाडेहरू नै बढी हुन्छन् भन्थे । साँच्चै हाम्रो अति गरिब देशमा पश्चिमेली सम्पन्न मुलुकमा खेलिने क्यासिनोजस्ता जुवाका खालहरूबाट पुँजीपतिहरूलाई पथभ्रष्ट तुल्याउनु स्वाभाविकै हो । सौभाग्यले अब उक्त क्यासिनोमा नेपालीहरूका लागि प्रवेश निषेध भएछ ।

भारतीय रेस्टुराँको रमाइलो वातावरण
लन्डन पुगेको चौथो दिनमा पनि मैले मित्रसँग सहर डुल्ने विचार गरेको थिएँ तर उनको त्रैमासिक परीक्षा नजिक आइसकेको हुँदा त्यस दिन साँझतिर मात्र भेटघाट भयो । हामी किङ्ग स्ट्रिटतिर एउटा इन्डियन रेष्टुराँमा चमेना गर्न पस्यौँ । यतैतिर लाइट अफ् नेपाल नामक राम्रो रेष्टुराँ पनि छ भन्ने थाहा पाएँ । लन्डन महानगरमा दुई दिन घुम्दा नै त्यहाँ धेरै भारतीयहरू र इन्डियन रेस्टुराँहरू देखेको हुन्छु । साँच्चै भारतीयहरू नपुगेको र नबसेको ठाउँ नै छैन जस्तो छ । संसारको जुनसुकै भागमा पनि यिनीहरू चलअचल सम्पत्तिमध्ये एक वा दुवैको हकदार बनेका छन् । यिनीहको विषयमा एक जनाले छेड हान्दै ठट्टा गरेको सम्झना हुन्छ । उनको भनाइअनुसा अधिकांश भारतीयहरू आफ्नो काम निब्ट्याउन ज्यादै सिपालु हुन्छन् । कुनै ठाउँमा कामकुरोले घुस्दा तिनीहरू साधु बिरालोझैँ ङ्याउँ गरेर घुस्छन्, त्यसपछि तिनीहरू त्यहाँ बस्दाबस्दै आफ्नो ठाउँ ओगट्दै चंख फ्याउरो बन्न सकेका हुन्छन् अरे । हुन पनि काठमाडौँको व्यापारव्यवसायमा भारतबाट आएकाहरूको बाहुल्य छ । काठमाडौँलेहरूको आमधारणा यहीछ कि तिनीह आउँदा लोटा मात्र लिएर आउँछन् तर पछि झोलाभरि पैसा बटुलेर राजसी ठाँटमा बस्छन् वा जान्छन् । हुन पनि नेपाल आएर लखपति पुँजीपति बनेका सबैजसो भारतीय व्यापारीहरूलाई नेपालले नै हुर्काएको हो, तिनीहरू नेपाल आएर नै सप्रिएका हुन् । भारतमा नै सप्रिएर उँभो लागेका भारतीय पुँजीपति नेपालमा कार्यरत भएको पाउन गाह्रै होला र पाइएमा पनि औँलामा गन्न सकिने सङख्यामा मात्र होलान् । म त्यहाँ यस्तै केके सोचिरहेको हुन्छु र लन्डनको त्यस भारतीय रेस्टुराँमा मलाई रमाइलै अनुभव हुन्छ । एक त आफूलाई रुचि लाग्ने ‘इन्डियन खाना’, दोस्रो त्यहाँका अपरिचित भारतीयहरूसँग छिनभरिमै भएका रमाइलो वार्तालाप बिर्सनै नसकिने थियो भने त्यहाँको वातावरणमा भइरहेका हिन्दी फिल्मका पुराना उच्चस्तरीय गीतहरूको गुञ्जायमान साँच्चै अविस्मरणीय थियो । कहिले किशोरकुमारको उरन्ठ्याउलो गीत हुन्थ्यो त कहिले लताका सुरिला र आशाका मर्मस्पर्शी गीतहरू पनि बजेकै हुन्थे । त्यस्तै रफी, महेन्द्र कपुरका मुटु छुने गीत पनि सुन्न पाइन्थ्यो । वस्तुतः त्यस इन्डियन रेष्टुराँमा सुरिला गीतहरू सुन्न पाई भोक र मानसिक थकाइ पनि मेट्न पाएँ । त्यहाँबाट निक्ली मित्रसँग बजार घुमेको हुन्छु । त्यतातिर म कहाँ, कुन ठाउँमा थिएँ अत्तोपत्तो नै भएन । पहिलोपल्ट काठमाडौँ आएको मानिस असन, इन्द्रचोकतिर रुमलिरहेजस्तै मलाई पनि त्यतातिर भयो । झमक्क साँझ परिसकेपछि मित्रसँग फेरि अर्को दिन भेट्ने प्रोग्राम मिलाएर त्यहाँबाट म आफ्नो होटेलतिर लागेँ र मित्रचाहिँ बस चढ्न दौडे ।

बेलायती बगलीमारा
पेरिसमा जस्तै लन्डनमा पनि सहरमुनिबाट गुड्ने रेलको राम्रो व्यवस्था छ । सहरका विभिन्न ठाउँमा सोझै छिटोछरितो पुगिने यो ‘ट्युब’ भनिने यातायातको साधन यात्रीका लागि कम खचिलो पनि रहेछ । म बसेको गाडीको डब्बामा एक जमात हुल्याहाजस्ता ठिटाहरू पनि थिए, अधिकांश तिनीहरू कुनै कराउँदै थिए त कुनै एकले अर्कोलाई गिज्याउँदै थिए । यस्ता अल्लारे उरन्ठ्याउला युवकहरूबाट सोझानिमुखा यात्रीहरूलाई नचाहिँदा झन्झट हुने रहेछ । भारततिरको रेलयात्रामा पनि अक्सर यस्तै कटु अनुभव हुन्छ । आफू ओर्लने निर्दिष्ट स्थानमा ट्रेन रोकिँदा ती हुल्याहा ठिटाहरू मेरा अगाडि पनि थिए र पछाडि पनि । तिनीहरूको घचेटोमा परी ट्रेनबाट आफू स्वतः बाहिर पुगेँ र पछि एक्लै फुक्का भइसक्दा मात्र तिनीहरूलाई यसो पछाडि हेरी खिस्स हाँसी फटाफट अघि बढेँ । आफू होटेल पुग्दा मात्र थाहा भयो, आफ्नो प्यान्टको पछिल्लो खल्तीमा रहेको मनीब्याज जसमा करिब एक सय साठी पाउन्ड (अङग्रेजी रुपियाँ हालको दरले ने.रु. २१,२१७ बराबर हुन्छ) र जर्मनीमा आफ्ना सामानहरू नासो राख्दाको रसिद–भौचरसमेत एकैसाथ गुम भइसकेको रहेछ । यताउता छाम्दा पनि नपाउँदा छानाबाट खसेझैँ भएँ । केटाकेटीमा सभ्य मानिसको मात्र बास भएको भन्ठानेको लन्डनमा लुटाहा–बगलीमाराको यस्ता कुकृत्यले मेरो बेलायतयात्राको त्यत्रो चाँजोपाँजोलाई भताभुङ्ग लथालिङ्ग पारिदियो । लन्डन हेर्न भनी पन्छाएर ल्याएका सबैजसो रकम हातबाट गुम भइदिँदा मेरो मानसपटमा गहिरो चोट पुग्छ अनि तुरुन्तै समालिएर आफूले आफैँलाई सान्त्वना दिँदै भनेँ– ‘अब यहाँ नबस्, परदेशमा पैसाका निमित्त अरूको मुख ताक्नु हुन्न । बिचल्लीमा पर्लास् । फर्की जर्मनीमा, नत्र नासो राखेको श्रीसम्पत्ति सबै हजम होला ।’ भोलिपल्ट बिहानै होटेल छाडी तुरुन्तै ‘हिथ्रो’ विमानस्थल गई आफ्नो रिटर्न टिकटद्वारा दिउँसो एक बजेको ब्रिटिस एयरवेजको सानो विमानद्वारा स्टुटगार्ट फर्किहालेँ । विमान चढिरहँदा मेरो मनस्थिति त्यस बेला त्यो सैन्यको जस्तो थियो जो लडाइँमा हार खाई रणक्षेत्रबाट भागिरहेको हुन्छ । आठ–दस दिनसम्म खूब घुमुँला, हेरुँला भन्ठानेको त टपरटुइँयाले आफ्नो बगलीको पैसा सफाचट गरिदिँदा रुखबाट खसेको बाँदरझैँ लुरुक्क परी खुरुक्क जर्मनी फर्कनुपर्‍यो । यसै बेलातिर सम्झेको हुन्छु कविताको एक टुक्रा–
सङ्कट पर्दछ मानिसलाई, ढुङ्गालार्ई के पर्छ ।
असिना आर्ई फूलबारीकै फूलहरू पहिले झार्छ ।।
जसको छाती जति विशााल त्यति नै सङ्कट उसलार्ई ।
गोली लाग्दछ बापुमा नै केही हुँदैन अरूलार्ई ।।