दामोदर पौडेल सरले एउटा भेटमा टल्सटयको कथा सुनाउनु भएको थियो । टल्सटयको मृत्यु को दु:खद कथा सुनेर म छ्टपटिएको थिएँ । उहाँले रुसी महाकवि पुस्किन अनि विश्वकै पहिलो अन्तरिक्षयात्री युरी गागरिनको जिन्दगीको अन्त्यको दुखद् किस्सा सुनाउँदा म रनाहामा परेको थिएँ ।

‘यी प्रसङ्गहरु कहाँ पढ्नु भएको सर ?’ मैले चिया पिउँदै सोधेको थिएँ ।

कृष्ण धरावासीको नियात्रा कृति रेड स्क्वायरमा समेटिएका रहेछन् यी सबै कुरा । रेड स्क्वायर रुसको मस्कोमा रहेको ऐतिहासिक महत्व बोकेको स्थान हो जहाँ रुसी महान् राजनीतिज्ञ लेनिनको शव राखिएको छ । पक्कै पनि धरावासीले रुस यात्राको प्रसङ्ग समेटेका होलान्, मैले मनमनै अनुमान गरेँ ।

चिया पिइसकेपछि छुट्टिएर साइकल चलाएर घर आएँ ।

म पनि एउटा नियात्रा कृतिको तयारीमा छु । मैले कृतिको नाम “बलैईगाउँदेखि बाकुसम्म” सोचिसकेको छु । बलैईगाउँ मेरो बाल्यकाल हुर्किएको ककौरादेखि १०/१२ किलोमिटर दक्षिणमा अवस्थित सीमावर्ती भारतीय बजार हो । यो त्योबेलाको कुरा हो जतिबेला ककौरा लगायतका गाउँबस्तीका लागि नुन, तेल, फलाम, चिनी, भेलीलगायतका घरायसी सामान किनमेल गर्ने एकमात्र केन्द्र त्यही बलैईगाउँ थियो । जिन्दगीमा पहिलोपटक त्यतिका पर आमासँग हाट गएको क्षण अहिले पनि मेरो मनमस्तिष्कमा तरोताजा छ । मैले ककौराबाट स्कूले पढाइ सकेर बाँकेको कोहलपुर आएँ र यतै बसेँ । तीन दशक पूरा भैइसक्यो कोहलपुरको बसाई । अध्ययन पूरा गरेपछि यतै कारोबार थालियो र अहिले पनि कारोबारमै छु ।

सागर गैरे

कोहलपुर बसाईमै मैले भारतलगायत केही देशहरुको यात्रा गर्ने मौका पाएँ । त्यसमध्येको एउटा देश अजरबैजानको राजधानी बाकु पनि सामेल थियो । मैले यात्रा गरेको छिमेकी देश भारतको एउटा सामान्य गाउँ बलैइगाउँ र पछिल्लो पटक गएको पश्चिम एशियाको बिल्कुलै बिरानो देश अजरबैजान बाकुलाई एउटा बिम्बको रुपमा समेटेर पुस्तकको  नाम “बलैईगाउँदेखि बाकुसम्म” राख्ने सोच बनाएको हुँ ।

नियात्रा लेख्न नियात्राका पुस्तकहरु पढ्नु पर्छ । झल्याँस्स मेरो मनमा रेड स्क्वायर झुल्कियो । हिजो सत्तरी वर्षसम्म अजरबैजान सोभियत गणराज्यमा समेटियो । जब सोभियत संघ विघटन भयो अनि अजरबैजान पनि स्वतन्त्र भयो । सोभियत संघ र अजरबैजान कुनै समयका एउटै हिस्सा, केही न केही छनक त मिल्छ नि । फेरि धरावासी मलाई मन पर्ने लेखक हुन् । मैले उनको शरणार्थी, आधाबाटो, झोला, टुँडाल, राधा, कागजको मान्छे जस्ता अनेक पुस्तकहरु पढिसकेको छु । मैले थाहा पाएसम्म उनी प्रजातान्त्रिक पद्धतिमा विश्वास गर्ने लेखक हुन् । कुनैबेला विश्व हल्लाएको एउटा साम्यवादी मुलुकलाई उनले कसरी हेरे भन्ने जिज्ञासा त हुने नै भयो । त्यसभन्दा पनि बढी मैले पुस्किन, गोर्की, लेरेमेन्तोभ, टल्सटायको जीवनी पढ्ने उद्द्श्यले अर्को बिहान दामोदर सरलाई फेरि भेटेँ र हामीले चिया पिउँदै रसियाली साहित्यको बारेमा कुराकानी गर्यौ । फर्किँदा धरावासीको रेड स्क्वायर पनि साथमै लिएर आएँ ।

आवरणमा चर्चको तस्बिर रहेछ, जुन मस्कोमा अवस्थित छ । पुस्तक पकेटमा अट्ने आकारको रहेछ ।  ध्यान दिएर पढ्ने हो भने एकरातमै पढिसिध्याउन सकिने खालको । पुस्तक पैरबी प्रकाशनले निकालेको रहेछ । धरावासीका प्रायः पुस्तकहरु पैरबी बुक हाउसबाटै निक्लिएका छन् । सरसर्ती पुस्तक नियालेँ । निकै मन पर्यो पुस्तकको आकारप्रकार, रुप र साजसज्जा । रुसमा कारोबार गर्ने नेपाली उद्यमी जीवा लामिछानेको आमन्त्रणमा उनी रुस पुगेका रहेछन् । हप्तादिनको यात्रालाई उनले पुस्तकको आकार दिन भ्याएका रहेछन् । नेपाली साहित्यमा यस्तै छोटा निबन्धहरु लेख्छन् कवि तथा नियात्राकार भीष्म उप्रेती । यस्ता किताब सबैको आकर्षणमा पर्छ भनिन्छ । किताब राम्रा भएपछि सानो न ठूलो, पाठकको माया नपाउने कुरै हुँदैन ।

कृष्ण धरावासी मलाई मन पर्छन् । उनी जटिल कुराहरु लेख्दैनन् । सामान्य कुराकानीबीच पनि उनी आफूलाई चाहिने गुदी निकाल्ने सामर्थ्य राख्छन् । उनको लेखनी घर, समाज, अफिसभित्रैका हुन्छन् । हेर्दा सामान्य लाग्छ तर अकाट्य तर्क र भावहरुले गर्दा उनको शैली सबैलाई ग्राह्य हुन्छ ।

सबैले स्वीकारेका लेखक हुन् उनी । उनको लेखनीमा बनेको झोला फिल्म नेपाली दर्शकबाट निकै रुचाइएको थियो । उनले राधालाई केन्द्रमा राखेर लेखेकाे राधा उपन्यासलाई मदन पुरस्कार प्राप्त भयो । यी दुई कृतिले नै उनको चर्चा नेपाली जनमानसमा गहिरोसँग भिजेको हो ।

रेड स्क्वायरका पाना पल्टाउनेबित्तिकै विमानस्थलमा अल्मलिएका धरावासी भेटिए । कतै उनीसँगै छटपटिएँ, कतै उनीसँगै निदाएँ । रसियामा उनीसँगै जीवा लामिछानेको घरमा प्रवेश गरेँ । सफल नियात्रा कृति त्यही हो जुन पढ्दा पाठकले आफूलाई समेत यात्रामा सामेल भएको महसुस गर्दछ । यात्रा जहिले पनि हतारमा तय हुन्छन् । अनि हतारमै हतारिँदै निक्लनु पर्ने हुन्छ । अन्तरास्ट्रिय यात्रामा हवाई टिकट मात्र होइन, पासपोर्टमा सम्बन्धित देशको भिसा स्वीकृतिदेखि डलर एक्सचेन्जसम्मका काम हुन्छन् । यात्राका लागि आवश्यक लत्ताकपडा अनि भाषागत ज्ञान झनै महत्वपूर्ण हुन्छ । धरावासी अमेरिकाबाट सिधै रसिया जान्छन् । कुनै समय शीतयुद्वकालका दुई प्रतिस्पर्धि रास्ट्र ।यात्राको चाँजोपाँजो मिलाएका हुन्छन् जीवा लामिछानेले ।

निकै सकसका बीच उनी रुस पुग्छन् र जीवा लामिछानेको कोठामा सकुशल पुगेपछि ढुक्क हुन्छन् र नियात्रा पढिरहेको एउटा पाठक म पनि ढुक्क हुन्छु, कमसेकम अब धरावासीले थप दुःख र झन्झट बेहोर्नु पर्ने छैन ।

मस्कोको पहिलो सूर्योदय हेर्न पाउदैनन् धरावासी । कारण, यात्राको धङधङी र धपेडीले उनी अबेरसम्म सुत्छन् । जब बिउँझन्छन् भेटघाट हुन्छ विभिन्न व्यक्तिसँग ।

उनी भिक्ट्री पार्क पुग्छन् । द्वितीय विश्वयुद्वमा मारिएका रुसी शैनिकहरुको स्मृतिमा बनेको स्मृति पार्क हो भिक्ट्री पार्क । द्वितीय विश्वयुद्वमा सबैभन्दा बढी जनधनको क्षति व्यहोर्ने मुलुक रुस हो । हिट्लरले स्टालिनलाई फोन गरेर हाम्रा शैनिक भोलि बिहानको ब्रेकफास्ट मस्कोमा गर्छन् भनेको कतै पढेको थिएँ । सोच्छु, त्योबेलामा रसिया जर्मनको कब्जामा गएको भए विश्व राजनीति कता मोडिन्थ्यो होला ।

त्यसपछि धरावासी थुप्रै चर्च घुम्छन् । नदीमाथि  बनेको पुलको रेलिङ्गमा युवा युवतीले आफ्नो प्रेम मजबुत बनाउन लगायका तालाहरु नियाल्न पुग्दछन् । मस्को सहरको बिचोबिछ बगेको नदी नियाल्दै काठमाडौँको बाग्मती सम्झिन्छन् । बाग्मतीमा बगेको फोहोरको लेदो सम्झेर उनको अनुहार खुम्चिन्छ ।

रसियामा उनले धेरै व्यापारी राजदूत र विशिष्ठ व्यक्तिहरुसँग भेट्छन् । लेनिनको विशाल शालिक नियाल्छन् र छक्क पर्छन् । नेपालमा प्रायः शालिकहरु साना र फुच्चे हुन्छन् । युरी गागरिनको शालिकमा पुग्छन् । एउटा किशोर गागरिन जो पहिलोपटक अन्तरिक्षको यात्रा गर्दछ र मात्र ३० वर्षको उमेरमा एउटा दुर्घटनामा मारिन्छ । दुर्घटना भवितव्य थियो या नियोजित प्रस्ट छैन तर गागरिनको बढ्दो ख्यातिकै कारण उनको नियोजित हत्या हुनसक्छ भनी प्रश्न खडा छ अझै ।

तत्कालीन सोभियत संघले रादुगा र प्रगति प्रकाशन मस्कोबाट रुसी साहित्यका अनेक किताबहरुलाई अनेक भाषामा उल्था गरेर विश्वव्यापी वितरण गरेको थियो । धरावासी पनि तिनै अनुदित कृति पढेर रुसी इतिहास र संस्कृति बुझेका हुन् । तर प्रत्यक्ष रुपमा रुस पुग्दा भाषा कठिनाईकै कारण जीवा लामिछानेका गाडी चालकसँग सामान्य संवादसमेत गर्न नसक्दा चुकचुकाउँछन् ।

धरावासीलाई गाँस र बासको न्यानो आतिथ्य मात्रै नभएर प्रत्यक्ष आफैँ यात्रामा सामेल भएर जीवा लामिछानेले रुसका अनेक आयामहरुलाई सरल र सहज रुपमा अर्थ्याउँदै प्रस्ट्याउछन् । म छक्क पर्छु, धराबासी नपर्ने त कुरै भएन ।

म सम्झिन्छु, कुनै समय जीवा लामिछानेका पितासँग मैले एउटा सिङ्गो दिन बिताएको थिएँ । मेरो कर्म क्षेत्र बाँकेको कोहलपुर, जीवा लामिछानेको घर चितवन । त्यतिबेला जीवा लामिछानेहरु जर्मनीबाट सामान किनेर रुसमा बेच्ने कर्ममा हुनुहुन्थ्यो । र उहाँका पिता पँजेरो जिपमा आउनु भएको थियो । पँजेरो जिपको बारेमा पनि मदन भण्डारीको मृत्युपछि नै यो महँगो जापानी जिप हो भन्ने कुरा पहिलोपटक थाहा पाएको थिएँ । पँजेरो जिपबाट ओर्लिएका व्यक्ति जीवाको पिता हुनुहुँदो रहेछ खेमराज लामिछाने ।

मेरो कर्मक्षेत्रको सिधा अगाडि राष्ट्रिय बाणिज्य बैँक थियो र मैले उहाँलाई बैँक खाता खोल्नेदेखि रकम जम्मा गर्नेसम्मका काममा सघाएको थिएँ । हामीले सँगै बसेर चिया पिएका थियौँ र उहाँले आफ्ना छोराहरु रुसमा रहेको र उतै कारोबार गर्ने गरेको कुरा सुनाउनु भएको थियो । लगत्तै उहाँले मेरो घर रहेको ककौरामा आफन्तहरुले कर्म गरेर जीविका चलाउन सकून् भनेर सात बिघ्हा जमिन र एउटा ट्रेक्टर किनिदिएको पनि थाहा पाएको हुँ । आज जीवाजीको पिता बितेको पनि सात वर्ष नाघिसकेको छ र उहाँको स्मृतिमा जीवाजीले गर्नु भएका परोपकारका कामहरुको बारेमा म कोहलपुर बसेर सुनिरहेको हुन्छु । स्वयं जीवा लामिछानेको नियात्रा कृति देशदेशावर र सर्सरती संसार पनि पढिसकेको छु । देशकै सफल उद्यमी भएर पनि जीवामा भएको साहित्यप्रतिको गहिरो अभिरुचि देखेर धरावासी छक्क छन् र म पनि अचम्मित छु धरावासी जस्तै ।

लियो टल्सटायको जीवनका अनेक आयामहरु धरावासीकै रेड स्क्वायर पढेपछि थाहा भयो । टल्सटयले ३२ वर्षको उमेरमा सोफिया आन्द्रेईभ्नासँग विवाह गरे । उनी त्यसबेलाकी चर्चित सुन्दरी थिइन् । उनले टल्सटायका लागि दर्जनौँ सन्तान जन्माइदिइन् । उनले आफू अपरिपक्व भए पनि टल्सटायको युद्व र शान्ति उपन्यासलाई सातपटकसम्म साफी गरेकी थिइन् । टल्सटायलाई बनाउन उनको योगदान अतुलनीय रह्यो भनिन्छ । टल्सटाय आफू भने अधिक परस्त्रीगामी, जुवाडे  र सन्काहा अनि जिद्वी स्वभावका थिए । ८२ वर्षको उमेरमा उनले श्रीमतीसँगको झगडामा घर त्यागेर हिँडे । बाहिर हिमपात भैइरहेको थियो, उनलाई अधिक चिसोले गर्दा निमोनिया भैइसकेको रहेछ र उनी बच्न सकेनन् । उनी मरेको पनि ११० वर्ष पुगिसक्यो ।

धरावासी मृत्यु चिन्तन गर्दै भन्छन्, “प्रत्येक मान्छे मर्छ मरेको देखिरहन्छ । मृत्युशोकमा सामेल पनि भैइरहेको हुन्छ तर म पनि यसैगरी मरिहाल्छु जस्तो कहिल्यै लाग्दैन । प्रत्येक क्षणहरु जीवनसँग अत्यन्त घनिष्ठ छन् तर ती हरेक क्षण नै जीवनका अन्तिम पनि हुन सक्छन् भन्ने लाग्दै लाग्दैन ।

धरावासी थुप्रै ठाउँमा पुगेका छन् ।

रेड स्क्वायरमा धरावासी भावुक बनेका छन् । उनी चिहानहरु नियाल्दै लेख्छन् “यी चिहानहरु कम्युनिस्ट पार्टीका ठुल्ठूला नेताका हुन् । पार्टीका पोलिटब्युरो सदस्यहरुलगायत त्यसबेलाका प्रतिष्ठित मानिएका व्यक्तिहरुलाई यहाँ गाडिएको छ । यो रेड क्वायर र क्रेमलिनको परिसरमा चिहान बनिनु भनेको ठूलो सम्मानको कुरो मानिन्थ्यो ।”

निकै रोचक र जानकारीमूलक छ धरावासीको नियात्रा । सोभियत संघको अवसानपछि रुसमा देखिएको आर्थिक संकट र अनिश्चयको माहोललाई धरावासीले जीवा लामिछानेको दृष्टिकोणबाट व्याख्या गरेका छन् । उनी चेखबको शालिकमुनि तस्बिर खिच्छन् । लेनिनको शवलाई नियालेर हेर्छन् ।

रुसी महाकविलाई चर्चित बनाउने काम लेरमेन्तोभले गरे जसरी भानुभक्तलाई मोतिराम भट्टले अमर बनाए । संयोगको कुरा पुस्किन र लेरमेन्तोभ दुवै जना तत्कालीन रुसी समाजमा व्याप्त ड्युअल संस्कृतिको सिकार हुन्छन् । कुरा के भने नि, कसैको श्रीमती अरु कसैसँग गैइन् र विवाद चर्कियो भने ड्युल संस्कृति अनुसार पूर्वपति र नयाँ पतिलाई हातमा पिस्तोल दिएर विपरित दिशातिर उभिने अनि सिठ्ठी बजेपछि एकले अर्कोलाई गोली हानिँदो रहेछ । पुस्किन र लेरमेन्तोभ दुवै जना गोली लागेर मारिएका रहेछन् । कस्तो पीडादायी संस्कृति । मन अमिलो भयो । संसारमा कस्ता कस्ता चलन हुँदा रहेछन् ।

धरावासी प्रेमको मामिलामा गम्भीर बन्छन् र भन्छन्, “जुन दिन जसको जीवनमा प्रेम सफल हुन्छ, त्यही दिन प्रेमको पनि अन्त्य हुन्छ । अनि जहाँबाट प्रेमको अन्त्य हुन्छ, त्यहीँबाट गृहस्थिको प्रारम्भ हुन्छ ।” कस्तो गहन विश्लेषण ।

हप्ता दिनको यात्रामै पनि धराjfसी पिकनिकको आनन्द लिन भ्याउछन् । धरावासीलाई अनेक कोणबाट मानिसले चिन्दछन् । पछिल्लो समय नेपाली साहित्य पनि अनलाइन संस्करणमा जान थालेपछि यसको लाभ सबैलाई भएको छ । भनिन्छ, विश्वभर नेपाली भाषीहरुको उपस्थिति पाँच करोडभन्दा बढी छ । नेपाली साहित्यको पहुँच कसरी बढाउन सकिन्छ भन्ने चिन्तन गरिरहन्छन् धरावासी । त्यतिमात्र होइन, नेपाली साहित्यलाई अनुवाद गरेर अन्तराष्ट्रिय क्षेत्रमा पस्किनु पर्ने आजको प्रमुख आवश्यकतातिर पनि इगित गर्दछन् ।

मस्कोको अन्तिम रात उनी  फेरि छटपटिन्छन् । भन्छन्, यात्रा रमाइलो पनि लाग्छ र यात्रामा प्लेन छुट्ने हो कि केही गडबड भैइहाल्ने पो हो कि भन्ने चिन्ताले ब्याकुल पनि हुन्छन् । अर्को दिन जीवा लामिछाने आफैँ एयरपोर्टमा छोड्न जान्छन् । अनेक उल्झनबीच धरावासी अमेरिकाको लागि विमान चढ्छन् र सकुशल अमेरिका पुग्छन् ।

यता अमर न्यौपाने र जीवा लामिछाने काठमाडौ फर्किन्छन् । काठमाडौँ झरेकै पल जीवाजीको पिताको देहान्त हुन्छ । धरावासीले जीवाजीलाई शोक सन्देश पठाउछन् र नियात्रा सकिन्छ ।

पुस्तक पढिसिध्याएपछि पनि मन अघाउँदैन । रेड स्क्वायरले मनमा अनेक छट्पटीहरु उमार्छ । मैले थाहै नपाएका कैयौँ नयाँ कुराहरुको बारेमा पनि जानकारी दिन्छ र नियात्रा पढ्दा पाइने तृप्तता पनि दिन्छ । एक हप्ते यात्रा न हो, कति मान्छेहरु यात्रा गरिरहन्छन् । तर उनीहरुसँग लेख्ने क्षमता हुँदैन । जब एउटा सर्जक यात्रा गर्छ अनि कति राम्रो कृति जन्मिँदो रहेछ ।

म आफैँ पनि नियात्रा संग्रह प्रकाशित गर्ने ध्याउन्नमा छु । यात्रा संस्मरण त लेख्ने हो तर त्यसलाई कति सम्म नियात्रामा ढाल्न सकिन्छ त्यो महत्वपूर्ण हुँदो रहेछ । धरावासीको नियात्राले गहकिलो पाठ पढाएको महसुस गरेको छु ।