एउटा जाबो कुखुराको भालेले हामीलाई चुनौति दियो । शान्ति सुरक्षामा खलल पुर्यायो । अर्को अर्थमा भन्नु पर्दा त्यसले हामीलाई ठाडै हेप्यो । काँधमा सुनौलो रङको फुली भिरेका बहालवाला युवा प्रहरी अधिकृतलाई समेत आच्चो–आच्चो पार्यो । बाटो छेक्ने, बुरुक्क उफ्रेर लात्ताले हान्ने, तिखो ठोँडले ठुँग्ने र नङ्ग्राले चिथोर्ने प्रयास गर्यो । त्यस्तो मूर्ख कुखुरालाई कसरी मामुली कुखुरो भन्नु ? भन्नै लाज !
लामो समयसम्म चलेको माओवादी युद्ध भर्खर साम्य भएको थियो । नेपाली सेनाका ५८ जना अधिकृत तथा जवानहरूको सामूहिक अवसान भएको ठाउँ नजिकै थियो । विगतमा माओवादीहरूलाई छेक्न बिछ्याइएका बमगोलाका अवशेषहरू भेटिदै थिए । शान्ति प्रकृयामा आए पनि उनीहरूलाई हेर्ने सरकारी दृष्टिकोण र उनीहरूले सरकारी कर्मचारीहरूलाई हेर्ने दृष्टिकोण पूर्णतः सहज बनिसकेको थिएन । गाउँमा सानासाना विषयमा पनि निहु खोजेर राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप हुने र त्यसले जिल्लाको शान्तिसुरक्षामा असर पार्ने काम समय समयमा भइरहन्थे । यस्ताखाले घटनाहरू हाम्रा लागि समस्यका विषय बन्थे । समस्या समाधान गर्न निकै कसरत गर्नु पथ्र्यो । यी विषय त छँदै थिए । त्यसमाथि थपियो कुखुरो ! आफैँले पालेका कुखुराले समेत उपद्रो गर्न थालेपछि वातावरण चुनौतिपूर्ण भयो भनेर किन नभन्नु !
पुगनपुग तीन किलाको कुखुराको भालेले सबैलाई आच्चो–आच्चो पारेपछि त्यसबारे गम्भीर भएर सोच्न बाध्य भएँ । बेलुकी पाँच बजेपछिको जमघटमा कुराकानीको प्रमुख विषय त्यही कुखुरो बन्यो ।
अछाम जिल्लामा प्रमुख जिल्ला अधिकारी हुँदाको घटना हो यो । त्योबेला जिल्लामा निकै मिलेको सुरक्षा टिम थियो । नेपाली सेनाका प्रमुख सेनानी किरण के.सी. र प्रहरी नायव उपरीक्षक रविन्द्र के.सी. बडो अनुभवी, हसिला र रसिला साथी थिए । सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार अधिकारी, प्रहरी निरीक्षक भरत थापा मगर तथा तिलक भारती उत्तिकै जोसिला र कर्मठ युवा थिए । साँफेबगर नजिकै रहेको खप्तड सशस्त्र प्रहरी बलका प्रमुख दिपक अधिकारी हाम्रो टिमका अर्का कर्मठ सदस्य थिए ।
जिल्लाभरि कहाँ के भइरहेको छ ? भन्ने खबर अनुसन्धान अधिकृतले ल्याउँथे । जिल्लामा शान्ति सुरक्षासँग सम्बन्धित कुनै समस्या देखिनासाथ तुरुन्त बैठक बस्थ्यौँ, गम्भीर रूपमा छलफल गथ्र्यौँ र ठोस निष्कर्ष निकाल्थ्यौँ ।
जिल्लामा शान्तिसुरक्षा कायम गर्ने, विकास निर्माणका काममा सहजीकरण गर्ने, प्राकृतिक प्रकोप सम्बन्धी काममा व्यवस्थापन गर्ने लगायतका सबै काममा हामी सफल थियौँ । राजनीतिक दलका नेता तथा कार्यकर्ता र अछामेली जनता सबै खुसी थिए । यस्तो अवस्थामा एउटा कुखुराको भालेले हामीलाई चुनौति दियो । उक्त चुनौति न जिल्लाको शान्तिसुरक्षासँग सम्बन्धित थियो न जनतासित । कुनै राजनीतिक दल वा व्यक्तिसँग जोडिएको विषय पनि थिएन । आफैँले पालेको कुखुराको भालेसँग जोडिएको विषय थियो, भन्न लाज लाग्ने तर भन्नै पर्ने विषय !
ठूला–ठूला अक्षरमा लेख्थे होलान् ‘सिडियोका कुखुराको गुण्डागर्दी’ वा ‘शक्तिको आडमा कुखुराको मनपरी’ आदि आदि ।
समस्या सामान्यजस्तो लागे पनि यसको अन्तरमर्म सामान्य थिएन । एउटा सामान्य कुखुराको भालेले प्रहरी अधिकृतलाई बाटो छेक्ने, बुरुक्क उफ्रेर लात्ताले हान्ने, तिखो ठोँडले ठुँग्ने र नङ्ग्राले चिथोर्ने प्रयास गरेको घटना पत्रकार मित्रहरूले थाहा पाएका भए तिललाई पहाड बनाउन सक्थे । ठूला–ठूला अक्षरमा लेख्थे होलान् ‘सिडियोका कुखुराको गुण्डागर्दी’ वा ‘शक्तिको आडमा कुखुराको मनपरी’ आदि आदि । तर त्यो कुरा बाहिर फुत्कन दिएनौँ । भित्रभित्रै थामथुम पार्ने निष्कर्षमा पुग्यौँ ।
कुखुराको कथा यस्तो थियो । अर्थात् भनौँ मेरो निवासमा कुखुराको आगमन यसरी भएको थियो–
एक्लै थिएँ । दिनभरि कामको झ्याउँझ्याउँ भए पनि साँझ बिहान वातावरण शान्त र सुनसान हुन्थ्यो । नेट तथा टिभीको पनि खासै राम्रो सेवा थिएन । कहिलेकाहीँ त नमज्जा लाग्थ्यो । घुम्नु कति घुम्नु ? कता घुम्नु ? एउटै ठाउँ पटक पटक घुम्दा दिक्क लाग्थ्यो ।
बिदाको दिन, निवासबाहिर रहेको गोलघरमा बसेर पुस्तक पढिरहेको थिएँ, त्यस्तैमा भान्से भाइ तेजु के.सी. नजिकै आए र भने, “सर मेरा छिमेकीले लोकल कुखुरो बेच्ने भनेका छन् । राम्रो छ ल्याऊँ ?”
लोकल कुखुरो भन्नेबित्तिकै मुखमा पानी रसायो । लोकल कुखुराको पिरोपिरो झोलसँग कमलो भात मुछेर खाँदा कम मजा आउँछ । थालभरि परपरी भुटेका ठूल्ठूला चोक्टा र कचौारभरि तातोतातो झोल हालेको कल्पना गरेँ । ‘हुन्छ ल्याऊ’ भन्नै लागेको थिएँ, केही दिन पहिलेको एउटा घटना सम्झना भयो ।
त्यो दिन पनि तेजुले त्यसैगरी कानमा फुसफुसाएका थिए– “सर कालिज बेच्ने मान्छे भेटेको छु, ल्या भनौँ ?”
“कालिज !” आश्चर्य लाग्यो र सोधेँ, “काँको मान्छे हो ? कति भन्छ ? हल्ला गर्ने खालको मान्छै हो कि ?”
“माथि ठूलासेनको मान्छे हो । हल्ला गर्ने मान्छे हैन । एक गोटाको चार सय भन्दै छ ।”
कालिज समात्ने, मार्ने, किन्ने, बेच्ने सबै काम गैरकानुनी हुन् । सरकारको जिल्ला स्थित प्रतिनिधिको नाताले मैले जनतासँग सिधै कालिज किनेर खानु हुँदैनथ्यो तर तेजुका मुखबाट कालिजको नाम सुन्दासाथ मुखमा पानी रसायो, विवेकशून्य भयो अनि दायाँबायाँ नसोची भनेँ, “हुन्छ मगाऊ ।”
दुई चार दिन कालिजको मासु स्वाद मानेर खाएँ ।
एक दिन बिहान निवासबाहिरको गोलघरमा बसेर खुट्टा हल्लाउँदै चिया पिउँदै थिएँ, अनुसन्धान कार्यालयका स्टाफ गणेश महर्जन आए र नमस्कार गर्दै नजिकैको कुर्सीमा बसे । उनी समयसमयमा विभिन्नखाले सूचना लिएर आउँथे र खुसुक्क मेरा कानमा फुसफुसाउँथे । अरु दिनका सूचना अरुसँग सम्बन्धित हुन्थे तर त्यो दिनको सूचना मैले खाएका कालिजसँग सम्बन्धित रहेछ । उनले खुसुक्क भने, “सरले माथि ठूलासेनबाट कालिज मगाएर खानुहुँदो रहेछ ।”
उनका कुराले मेरो छाती ढुकढुक गर्यो ।
“त्यो कालिज बेच्ने मान्छेले हजुरको नाम लिएर हल्ला गर्दै छ रे ! अब नमगाउने हो कि ।” उनले सुझाव दिए ।
भएछ के भने, कालिज ल्याउने मानिस व्यवसायिक कालिज सिकारी रहेछ । एकदिन साँझ भट्टीमा बसेको बेला उसको एक जना पुरानो ग्राहकले कालिज छ कि भनेर सोधेछ । उसले भनेछ, ‘कालिजको भाउ बढेर छ सय भएको छ, किन्छस् ?’
‘चार सयको कालिज कसरी छ सय भयो ?’ ग्राहकले सोधेछ ।
सिकारीले भनेछ, ‘चार सयमा त सिडियोले खान्चन् । तलाईँ किन दिन्छु मैले ? तैले खाने भए छ सय ।’
नजिकै एक जना सुलसुले रहेछ, सुनिहालेछ । उक्त कुरो अनुसन्धान कार्यालयसम्म आइपुगेछ ।
त्यो दिनदेखि कालिज खाने काम बन्द भयो ।
कतै कुखुरो किन्दा पनि त्यस्तै हुने हो कि ! मनमा शङ्का उब्जियो । तेजुलाई सोधेँ, “चोरीचकारी वा कुनै लफडाको कुखुरो त हैन नि ?”
“हैन सर ।” तेजुले स्पष्टीकरण दिए ।
“लोग्नेस्वास्नी दुवैको सहमतिले बेच्न लाग्या हुन् ?” मैले सोधेँ ।
“हो सर, केटाकेटीको फिस तिर्न पर्यो भनेर बेच्न लाग्या हुन् । पैसा तिरेर ल्याउँदा केही फरक पर्दैन ।”
“त्यसो भए ल्याउनु ।” मैले अनुमति दिएँ ।
अर्को दिन तेजु कोखिलामुनि कुखुरो च्यापेर आए । कालो र सेतो रङ् मिसिएको भाले कुखुरो औसत कुखुरोभन्दा ठूलो र राम्रो थियो ।
“विकासेको सन्तान हो सर । ठ्याक्कै तीन किलो छ । बजारमा जोखीकन ल्याया हुँ ।” उनले भने ।
“राम्रो कुखुरो रहेछ, यसलाई नकाटौँ, पालौँ ।” मैले भनेँ, “बिहान कुखुरी काँ गर्दै बास्छ, रमाइलो हुन्छ ।”
त्यसको रखवारी गर्ने जिम्मा तेजु र निवासको सुरक्षार्थ खटिएका प्रहरी भाइहरूलाई दिएँ । “स्यालले लैजाला नि, ख्याल गर्नु” सबैलाई सतर्क गराएँ ।
कुखुरो बडो फुर्तिलो थियो । घुमीघुमी चथ्र्यो । बिहान पखेरो थर्कने गरी बास्थ्यो । कुखुरो आएपछि सुनसान निवासमा रमाइलो छरियो ।
कुखुरो ल्याएको तीनचार दिनपछि प्रहरी हवल्दारले मुस्कुराउँदै भने, “सर हजुर, यो कुखुरो निकै छट्टु र सिकारी स्वभावको रहेछ । यसले हाम्रा केटाहरूलाई टोकेर हैरान पार्न थाल्यो ।”
“टोक्यो रे ! किन टोक्यो ? मसँग त राम्रै व्यवहार गर्छ । मलाई टोक्नु त के टोक्न खोजेको पनि छैन त ।” मैले भनेँ ।
“खोरमा थुनेको मन नपर्दोरहेछ । कतै बाहिर जाला कि भनेर केटाहरू खोरमा थुन्न खोज्छन् । यसले टोक्छ, ठुँग्छ र कोपर्छ पनि । बडो रिसाहा रहेछ । बर्दी लगाएको मानिस देख्यो कि जसलाई पनि टोक्न खोज्छ ।”
सुरुमा मैले त्यो कुरालाई हाँसोमा उडाएको थिएँ, पछि हबल्दारले भनेको कुरा सत्य सावित हुँदै गयो । निवासका प्रहरी भाइहरूलाई मात्रै होइन, बर्दी लगाएका अरु प्रहरी भाइहरूलाई पनि झम्टन थाल्यो । टोक्ने कुकुरसँग तर्छेझैँ सबै जना मेरो कुखुरासँग तर्छन थाले । ‘सिडियोसावका कुखुराले प्रहरीहरूलाई देख्नै सहन्न रे !’ भन्ने हल्ला कार्यालयसम्मै पुगेछ, समाचार सुनेका कर्मचारीहरू कुखुरो हेर्न आउन थाले ।
सार्वजनिक बिदाको दिन थियो, म निवासमै थिएँ । जिल्ला प्रहरी कार्यालयमा सुरक्षासँग जोडिएको एउटा गम्भीर विषयमा दुई पक्षका बीच छलफल भइरहेको थियो । प्रहरी प्रमुख रविन्द्र केसी आफैँ बसेर संवाद गराइरहेका थिए । छलफलको प्रगतिबारे रिपोटिङ लिइरहेको थिएँ । त्यो समस्या समाधान गर्नु जरुरी थियो तर लामो समयसम्म पनि छलफल टुङ्गिएको थिएन ।
छलफल सकारात्मक रूपमा नटुङ्गिएला कि भन्नेबारेमा म चिन्तित भइरहको थिएँ । फोनबाट छलफलको प्रगति सोध्दा पनि हुन्थ्यो तर सबै कुरा फोनमा सोध्न उचित थिएन । त्यसैले छलफलबारे जानकारी लिन एक जना प्रहरी अधिकृतलाई बोलाएँ ।
जिल्ला प्रहरी कार्यालय र निवास नजिक नजिक थिए, एउटा ढिस्कोमाथि प्रहरी कार्यालय र ढिस्कोभन्दा तल निवास । म बसेको ठाउँबाट प्रहरी कार्यालय र त्यहाँबाट आउने मानिस सजिलै देखिन्थ्यो ।
प्रहरी अधिकृत हिँडेको देखेको थिएँ । उनलाई म भएको ठाउँमा आउन एक मिनट पनि लाग्दैनथ्यो तर कार्यालयबाट हिँडेको चार/पाँच मिनट भैसक्दा पनि उनी आएनन् । मलाई हतार भइरहेको थियो । त्यसैले आफैँ बाटोसम्म हेर्न गएँ ।
बाटाको दृश्यले मलाई चकित बनायो । आउँदै गरेका प्रहरी अधिकृतलाई कुखुराले बाटो छेकेर अघि बढ्नै दिएको रहेनछ । एक पाइला अघि बढ्न खोज्यो कि उफ्रेर हान्न, चिथोर्न र टोक्न खोज्दो रहेछ । त्यो अवस्था देखेपछि म छक्क परेँ । अरु केही नसोची एउटा लठ्ठी देखाएर त्यसलाई धपाएँ र प्रहरी अधिकृतलाई आफूसँगै ल्याएँ ।
त्यो दिनको छलफल सकारात्मक रूपमा टुङ्गियो । दुवै पक्ष खुसी भएर गए ।
छलफलमा सहभागीहरू खुसी भएर गए पनि मेरो मन खुसी भएन । मैले पालेका कुखुराले उद्दण्ड व्यवहार गरेको देख्दा अचम्म लाग्यो । कुकुरले जस्तै कुखुराले पनि जसलाई देख्यो उसैलाई टोक्न र चिथोर्न थालेपछि मलाई चिन्ता लाग्नु स्वभाविकै थियो ।
नेपाली सेनाको ब्यारेक अल्लिमाथि थियो । प्रायः बेलुकी पाँच बजेपछि सुरक्षासँग सम्बन्धित साथीहरू जम्मा हुन्थ्यौँ । सामान्य घुमफिर तथा समसामयिक विषयमा कुराकानी गथ्र्यौँ ।
त्यो दिन पनि सबै जना जम्मा भयौँ । छलफलको विषय त्यही कुखुरो भयो । एकैछिन् त हाँसो रमाइलो पनि भयो । उसबाट सताइएका व्यक्तिहरूको उजुरी सुन्ने काम पनि भयो । केहीबेरको छलफल र हाँसो रमाइलोपछि त्यस आक्रमणकारी कुखुरालाई भौतिक कारवाही गर्ने सहमति भयो ।
त्यो दिन रविन्द्रजीले अर्कै व्यवस्था गरेका रहेछन् । उनले भने, “भोलि बेलुकी यसको पालो ।”
हामी सबैले सहमति जनायौँ ।
अर्को दिन कार्यालयको काममा व्यस्त थिएँ, दिउँसो तीन बजेतिर तेजुले मेरो कान नजिकै मुख लगेर कान फुके, “सर, कुखुरालाई के भयो भयो । त्यो त बिरामी पर्यो ।”
“बिरामी पर्यो ?”
“हो सर, एक्कासि बिरामी पर्यो ।”
पाँच बजेपछि निवासमा गएँ । हेरेँ, कुखुराको घाँटी बाङ्गो भएको थियो । भुइँमा हेर्न र केही खान सक्दैनथ्यो । हिँड्दा पनि माथि आकासतिर हेरेर हिँड्थ्यो । छटपटाएको र आत्तिएको जस्तो देखिन्थ्यो ।
“के भयो यसलाई ?” प्रहरी भाइहरूलाई सोधेँ । उनीहरूले कुनै जवाफ दिन सकेनन् । डिउटीमा रहका जवानले भने, “बिहान एघार बाह्र बजेसम्म ठीकै थियो । पछि यस्तो भयो । कसरी यस्तो भयो, पत्तै पाउन सकिएन ।”
अघिल्लो दिनको सल्लाह अनुसार त्यसलाई कारवाही गर्ने र सामूहिक भोज गर्ने कार्यक्रम थियो । कुखुराको त्यो अवस्था देखेपछि त्यस विषयमा पुनर्विचार गर्नु पर्ने देखियो ।
बेलुकीको जमघटमा पनि कुराकानीको विषय त्यही कुखुरो बन्यो । साथीहरूले घुमीघुमी कुखुरालाई हेरे, जाँचे तर बिरामीको कारण पत्ता लगाउन सकेनन् । अघिल्लो दिनको सल्लाह अनुसार त्यसलाई कारवाही गर्ने र सामूहिक भोज गर्ने कार्यक्रम थियो । कुखुराको त्यो अवस्था देखेपछि त्यस विषयमा पुनर्विचार गर्नु पर्ने देखियो । के बिमारले त्यस्तो भएको हो भन्ने कुरा पत्तो नलागेसम्म त्यसको मासु खाने आँट आएन । सङ्क्षिप्त विचारविमर्शपछि त्यसको मासु नखाने निष्कर्षमा पुग्यौँ ।
मेरा निजी सुरक्षा गार्ड हबल्दार बडो रमाइला मान्छे थिए, उनले भने, “सरहरूले नखाने भए हामी खान्छौँ । यत्रो कुखुरो कसरी खेर फाल्नु ।”
“यस्तो रोगी कुखुरो कसरी खान्छौ । बिरामी पर्यौ भने ?” मैले भनेँ, “खान्छौ भने पनि डिएसपी साहेबको अनुमति लिएर खाऊ ।”
“हुन्छ सर, खान्छन् भने खाउन् । हामी अर्को मगाएर खाउँला ।” रविन्द्रले तुरुन्तै अनुमति दिए । त्यसपछि हामी घुम्न निस्क्यौँ ।
फर्कदा प्रहरी भाइहरूले कुखुरालाई कारवाही गरिसकेका रहेछन् । हबल्दारले हाँस्दै भने, “घाँटीमा फलामको सानो काँटी अड्केको रहेछ । अरु केही भएको छैन । सरहरूले नै खाने कि !”
“साच्ची !” मैले भनेँ ।
“हो सर, यी यै काँटी हो ।” भित्रबाट एउटा सानो दोब्रिएको काँटी ल्याएर देखाउँदै उनले भने ।
“जेसुकै भए पनि पहिले खाऊ भनेर दिएको कुखुरो फिर्ता लिनु हुँदैन । तिमीहरू नै खाऊ । हाम्रो चिन्ता नगर ।” मैले भनेँ ।
“कस्तो कुखुरो ल्याएको रहेछ तेजुले ! ज्यूँदो हुँदा त हैरान पार्यो पार्यो मरेपछि पनि ताजुव बनायो ।” हाँस्दै रविन्द्रले भने ।
हामी प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका कुरा गर्छौँ । स्वन्तन्त्रता र मानवअधिकारका पक्षमा बोल्छौँ तर यी कुरा प्राप्त गर्नका लागि संघर्ष गर्नुपर्छ र कहिलेकाहीँ ज्यानको बाजी थापेर अगाडि बढ्नुपर्छ भन्ने कुरा सायद बिर्सन्छौँ । हामीलाई स्वतन्त्रताभन्दा ज्यान प्यारो लाग्न सक्छ ।
तर मेरो प्रमुख पात्र कुखुराले त्यो पक्षलाई स्वीकार गरेन । उसले हिम्मत हारेन । आफ्नो ज्यानभन्दा स्वतन्त्रतालाई बढी महत्त्व दियो । आफूलाई बन्दी बनाउन खोज्ने एउटा प्रहरी मात्रै होइन, प्रहरीको बर्दी लगाउने सबैप्रति आक्रोष पोख्यो, विद्रोह गर्यो र आक्रमण गरेर आच्छु आच्छु पार्यो ।
कुखुराको त्यो विद्रोही स्वभाव अहिले पनि मेरा आँखा अगाडि नाचिरहन्छ । मलाई कसैले हेपेको वा मप्रति अन्याय गरेको अनुभूति भयो भने त्यै कुखुरालाई सम्झन्छु । त्यसलाई सम्झँदा मेरो मनमा नयाँ उर्जा थपिन्छ र अन्यायको विरुद्धमा लड्ने शाहस पैदा हुन्छ ।
जिल्लामा बस्दाका घटनाहरू सम्झँदा त्यो घटना अहिले पनि मेरा आँखा अगाडि घुमिरहन्छ । छिर्केमिर्के कुखुरा देख्दा त्यसैको झल्को लाग्छ । सुरुमा हामीलाई अनेक प्रकारले दुःख दिए पनि आफ्नो व्यवहार र विद्रोही स्वभाव देखाएर अन्त्यमा मलाई नयाँ उर्जा, हौसला र सन्देश दिएर जाने कुखुराप्रति श्रद्धासुमन !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।