‘बुढो माझी’ दश वर्षअघि नेपाली साहित्यमा थपिएको एक पुस्तक रहेछ । त्यसै त बुढो झन् बुढो भएर मेरो हातमा आइपुगेपछि निकै घोरिएर पढेँ, निकै एकोहोरिएर पढेँ, सायद एउटै रचना पटकपटक दोहोरिएर पढियो । अब पाठक हुँ, समीक्षक होइन तसर्थ प्रतिक्रिया नलेखी रहन सकिनँ पढिसकेपछि । पाठकलाई राम्रो लागे किन र नराम्रो लागेको भए किन भनेर कारण दिनुपर्छ । अतः एक असल पाठक बन्ने धुनमा ‘म’ कम र प्रतिक्रियात्मक पङ्तिकार बढी मात्रामा बनिरहेको छु । कवि विष्णु सुवेदीको प्रस्तुत कृति हातमा लिएर पढिसकेकाहरूलाई पुनःस्मरण र पढ्न बाँकी रहेकाहरूलाई हुटहुटी लागोस् भन्ने मनाशयले लेख्न बसेको छु । कविताको माझी न दुःखको सगरमाथा भोगिरहेछ न सुखको मैदान, केबल नियमित आकस्मिकताको जीवन भोगिरहेछ । जीवन नै पानी र पानी नै जीवन बनेर अनि त्यसैको सेरोफेरोमा कवि सुवेदी शब्दचित्र कोर्दैछन् । म त्यही दृश्यात्मक शब्दचित्रको चलचित्र झैँ प्रतीत ‘बूढो माझी’ र ऊजस्तै अनेकौँ दुःख–सागरमाथि तुइनको यात्रा भोगाइलाई नियाल्दै छु ।

को हुन् विष्णु सुवेदी ?

चन्द्र खड्का

कवि हुन्, विष्णु सुवेदी जो कहिले मकै पोल्ने नानीको जीवनलाई मकैका घोगाभरि जीवन भोगाइलाई हार मिलाएर बेचिरहेकी चित्रण गर्दै, कहिले ‘बोक्सी’ मानिएका आमाहरूलाई शब्दका कोर्रा लगाउन बसेका हुन्छन् अनि कहिले रेखा दमाइँसँग अदृश्य संवाद गरिरहेका हुन्छन् तथाकथित आधुनिक समाजसँग । आशाका पोका खोल्छन्, निराशाका पहाडलाई सम्याउँछन्, डोजर नचलाई प्रकृतिको संरक्षणकर्ता झैँ । गुटबन्दी केन्द्रका साहित्यकारका सिन्डिकेट मान्ने र बनाउनेहरूसँग अलिक टाढा रहेर मोफसलमै रमाउन चाहन्छन् । बेलाबखत राजधानी हानिन्छन् अनि के कुरामा चित्त बुझ्दैन । जन्मथलो, कर्मथलो र माटोलाई सम्झँदै धेरैका उत्प्रेरक बनेर रमाइरहन्छन् । व्यक्तिगत जीवन कस्तो बाँच्छन् यो पङ्तिकारलाई थाहा छैन तर साहित्यिक रूपमा उनले दोलखालाई खलोगह्राे झैँ शब्दको दाइँ गरिरहन्छन् र साहित्यिक भोकाहरूलाई निफनिएका सग्ला चामल नरम भात बनाएर पस्कन्छन् । तिनै कवि सुवेदीको ‘बूढो माझी’ कृतिका साक्ष्यमा साहित्यिक लेखनलाई चिरफार गर्न आज बसेको छु । आफूलाई प्रगतिशील कित्तामा रहन रुचाउने लेखकका रूपमा परिचित हुने चाहना र श्रमजीवी तथा सीमान्तकृत वर्गप्रति समर्पित रचना गर्ने अभीष्ट भएका कवि सुवेदी के साँच्चै त्यस कित्तामा उत्कृष्ट दरिएका छन् त ?

लेखन र प्रकाशनका कुरा

कवि विष्णु सुवेदीले ‘बूढो माझी’ दुई कारणले छपाएको बताएका छन् । पहिलो कारण, श्याम बस्नेतको सदाशयता भनेका छन् जसले प्रस्तुत पुस्तक छपाइदिने जिम्मा लिएका थिए । दोस्रो कारण, विप्लव ढकालका कविता र कृतिहरू पढेपछि आफूलाई चुपचाप बसिरहन नसकेर प्रकाशनको जोहो गरेको बताएका छन् । कुनै कृति छपाइहाले पनि भूमिका नलेखाउने सोचमा बसेका बेला साहित्यका श्रीबाबु कार्की ‘उदास’ले कवि ढकालको ‘प्रोफेसर शर्माको डायरी’कृतिको अध्ययनले कवि सुवेदीको सोचलाई परिवर्तन गराएको सन्दर्भ कोट्याएका छन् । यसअघि सुवेदीले तीनओटा कृति नेपाली साहित्यलाई दिइसकेका छन् र चौथो कृतिसम्म आइपुग्दा उनलाई कुनै पनि कृति जन्माउन लेखन जति जटिल छ, त्यसभन्दा जटिल प्रकाशक पाउन वा मनकारी लगानीकर्ता पाउन गाह्रो छ भन्ने थाहा छ । कवि सुवेदीको यस कृतिलाई हेर्दा २०६६ असोज १४ मा विप्लव ढकालको चार पृष्ठको भूमिका र चार पृष्ठको बिर्खक्रान्तिको पूर्वसमीक्षा २०६६ कात्तिक २६ मा लेखिएको कृति २०६८ मा मात्रै प्रकाशित भएको देखिन्छ । यसको अर्थ पुस्तक प्रकाशनमा यति लामो अवधि ढिलाइ हुनुमा पक्कै पनि आर्थिक समस्या परेको हुनसक्छ अन्यथा झन्डै डेढ वर्ष पुस्तक प्रेसमा किन थन्किएर रहन्थ्यो होला र ? यसले सङ्केत गरेको कुरा त्यही हो जो अधिकांश नेपाली साहित्य लेखकलाई कृति प्रकाशनमा अप्ठ्यारो छ, अझ मोफसलमा रहेर !

विप्लव ढकालका दृष्टिमा कवि सुवेदी

कवि विष्णु सुवेदीले ‘बूढो माझी’ प्रकाशनअघि ढकालका रचना श्रवण र पठन गरेर उत्प्रेरित भएको बताएका छन् । आफ्नो पुस्तकमा भूमिका नलेखाउने मनस्थितिबाट भूमिका र पूर्वसमीक्षासहित प्रकाशित गर्नुले लेखनमा कविको परिपक्वपूर्ण सुझबुझ रहेको देखिन्छ । समयानुकूल लेखक वा समीक्षक नहिँड्दा हुनसक्ने सम्भावित दुर्घटनाको डर कविलाई भएको प्रस्ट हुन्छ । कविका अघिल्ला कृतिहरूमा नटेकी भूमिका लेखेका ढकालले लेखेका छन्, ‘कवि विष्णु सुवेदीका कविताहरूमा श्रम गरिरहेका र जीवनलाई कठोर ढङ्गले भोगिरहेका पात्रहरूको सार्थक उपस्थिति छ । उनका कविताका नायक–नायिकाहरू अर्थपूर्ण जीवनको खोजीमा क्रियाशील छन् । उनीहरूको आवाजमा गति छ, उनीहरूले रोएको आँसुमा शक्ति छ र उनीहरूले भोगेको दुःखमा आकर्षण छ । उनले सरल कविताभित्र जीवनका जटिल बिम्बहरूलाई जीवन्त र आकर्षक ढङ्गले सजाएका छन् ।’

कवि हृदयका भूमिका लेखक ढकाल सुवेदीका कविताहरूसँग किताबभरि अनुभूत गरेर दिमागभरि बिम्बका गुजुल्टा बनाएर फुर्सदमा भूमिकाभरि कुरुसले रुमाल बुने झैँ आत्मीय–भाव भूमिकामा पोख्दै थप्छन्, ‘विष्णु सुवेदीका कविताहरूले प्रश्न गर्छन्– आखिर किन प्रत्येक बिहान आदिम समय बोकेर उदाउँछ युवा घाम ? इतिहासमा कसरी पराजित भए आमाहरू ? आस्था र आदर्शका मार्गहरू कहाँ पुरिए ? जीवनको भीरबाट कसरी लडे समयका नायकहरू ?… समय बदल्न हिँडेकाहरू, सहिद बनेका फूलहरू र मरेका ईश्वरहरू मेरो मस्तिष्कभरि फनफनी घुम्न थाल्छन् । … वर्गीयप्रेम र श्रमप्रतिको आस्थाबाट अनुप्राणित छन् उनका कविताहरू ।’

बिर्खक्रान्तिका दृष्टिमा कवि सुवेदी

कवि सुवेदीको ‘बूढो माझी’ प्रकाशनअघि नै पूर्वसमीक्षा समावेश गरी आफ्ना कविता पाठकका नजरमा कस्ता हुनसक्लान् भन्ने अनुमान गरेका छन् । समीक्षा होइन भन्दाभन्दै पनि बिर्खक्रान्तिले महाभारतका पात्रहरूसँग कवि सुवेदीका धेरै पात्रहरूलाई तुलना गर्दै निष्कर्ष दिएका छन् । उनी लेख्छन्,  ‘…बेनाम मान्छेहरू भोकको अन्तर्वार्ता दिइरहेका छन् । सारङ्गीहरू भोककै धुन रेटिरहेका छन् । आमा र नानीहरू भोक नलाग्ने औषधि खोजिरहेछन् । युवाहरू गाउँ नै रित्याएर भोकको औषधि खोज्दै म्लेच्छ राज्यहरूमा पसिरहेका छन् । कुरुक्षेत्रको मैदानमा हिटलर, लादेन र आमाहरू, आगो र पानीको खेल खेलिरहेका छन् । …जीवनको पैह्रोगौँडो हुँदै युद्धमैदानमा उत्रिएका भीष्म पितामह र पुरानो चक बोकेर कालोपाटीको अघि उभिएका गुरु द्रोण । … बूढो माझी माछाको सास बटुल्दै छोराछोरीहरूको आशाको कुन्यु उठाइरहेको छ । उसको भाग्यरेखा माछाको कुन्युजत्रो छ । अभागी रेखाहरू झन् ठूला छन् ।’

पाश्चात्य साहित्य र सिद्धान्तमा रमाइरहेका र त्यसैलाई आधिकारिक दस्तावेज ठान्नेहरूप्रति बिर्खक्रान्ति व्यङ्ग्य गर्दै कवि सुवेदीका रचनामा पाइने मौलिकताप्रति सङ्केत गर्दछन्,  ‘…यदि तपाईंहरूमध्ये कसैले ओथेलो, ओडिसी, सेक्सपियर, क्यान्टबरी टेल्स, डेरिडा वा पोस्टमोर्डनिज्म पढेकै कारणले माथि प्रसङ्ग उठाइएका महाभारत बुझ्न गाह्रो भएको भए अवश्य एकपटक पढ्नुहोला ।’

‘बूढो माझी’ कृतिमा के छ ?

‘बूढा माझीहरू, रेखा दमाईँहरू र आरोपित बोक्सी आमाहरूप्रति समर्पित’ भनी कविले उल्लेख गर्नुले सङ्ग्रहित ३४ थान कविताहरूमध्ये यी शीर्षकलाई प्राथमिकता दिएका हुनसक्छन् वा कविलाई यीचाहिँ बढी सशक्त लागेका हुनसक्छन् । कुनै पाठकले कृतिभित्रका कविता पढिरहँदा कुनै कविता कमजोर लाग्दैनन् । यत्ति हो, मात्रात्मक रूपमा कुनै कविता अलि बढी सशक्त लाग्छन् । कविताहरू सरसर्ती पढिरहँदा अधिकांशमा आमा वा महिला, सीमान्तकृत र श्रमशील पात्रहरूलाई जीवन्त रूपमा मालामा सुन्दर फूलहरूको संयोजन झैँ उनेका छन् । प्रेम छैन भनूँ प्रेमिल शब्दहरू छन् अनि आधुनिकताको बजारमा लिलाममा भेटिनेजस्तो अति सस्तो प्रेम छैन कविताहरूमा । गाउँ रित्तिएकामा चासो र चिन्ता छ अनि पुल, फूल र बाटाका पीडाहरू मानवीकरण गरी संवाद गराइएका छन् । गाउँ छोड्नुअघि र देउरालीमा उमेरहरू चढिरहँदा कवि ईश्वर भ्रमको कुरा गरिरहेका भेटिन्छन् सातदोबाटोमा टाउकाहरूसँग बौलाहा विचारहरू लिएर । टाउकामाथिको जाँतो घुमिरहँदा राजनीतिक विकृतिको झापट हान्छन् । अधिकांश कवितामा कवि शासकप्रति असङ्ख्य गुनासाहरू बोकेर स्वयम् विद्रोह गरुँला झैँ गरिरहन्छन् ।

कवि सुवेदीको कवित्व

निबन्धकार झैँ लाग्ने कवि विष्णु सुवेदीलाई पङ्तिकारले उनको दोस्रो कृति ‘विधवा भाउजूहरूको देश’ कविता सङ्ग्रह प्रकाशन तयारीअघि मात्रै दोलखाली साहित्यको सर्वेक्षण गर्ने क्रममा चिनेको हो । अनुसन्धानका लागि आवश्यक सहयोग गर्ने काममा निकै सक्रियता देखाएपछि सहृदयी कविका रूपमा रचना र व्यवहारका माध्यमले सम्बन्धमा सघनता बढेको हो । निकै नजिकबाट चिनेको र सहृदयी लागेका व्यक्तिको प्रस्तुत कृति ‘बूढो माझी’ एक दशकपछि मात्रै हात पर्नुका पछाडि आफैँ अचम्मित छु । तर कृतिकार सुवेदी पुस्तकमा ‘पाठकहरूको अदालतमा’ शीर्षकको पृष्ठभूमि लेखनलाई हेर्ने हो भने गतिलो निबन्धकार बन्ने सङ्केतले खुसी छु ।

‘फूल र कविता रोज्नुपर्यो भने तपाईं के रोज्नुहुन्छ ? सायद, भन्नुहोला फूलै । तर म फूलहरू रोज्दिनँ । कविता र मान्छे छान्नुपर्यो भने तपाईं के के छान्नुहोला ? सायद छान्नुहोला मान्छे । तर म मान्छेहरू पनि छान्दिनँ । म नदी, पहाड र आकाश केही पनि खोज्दिनँ मेरा लागि । मैले खोजेको तत्त्व भनेकै तिनीहरूमा निहित गुण र सन्देशहरू हुन् र मेरा लेखनका स्रोत पनि तिनैका गुणहरू हुन् । आवरण हैन । मेरा कविताका अनुहारमा फूल, नदी, पहाड र मान्छे निश्चित रूपमा आएका छन् र सँगै समाज, राजनीति, विकृति तथा विसङ्गतिहरू पनि नाङ्गो भएर आएका छन् । …म नदी लेख्दा मान्छेलाई कि बगाएर लेख्छु कि पौडी खेल्न लगाएर । म पहाड लेख्दा कि मान्छेलाई शिखर चढाएर लेख्छु कि पहाड झरिरहेको उभ्याएर । म फूल लेख्छु तर फूलसँगै मान्छेहरू हुनुपर्छ भन्छु । म समाज लेख्छु, राजनीति लेख्छु, विसङ्गति र विकृति लेख्छु तर मान्छेलाई सुम्सुम्याएर, किनकि यो दुनियाँमा आजसम्म गरिएका प्रगति आन्दोलन, स्थापित मूल्य र मान्यताहरू, निर्माण र ध्वंसका शृङ्खलाहरू मान्छेबिना सम्भव नै छैन । …साहित्य पनि मान्छेकै लागि हो ।’ यी हरफले निबन्धकै झल्को दिन्छन् ।

‘बूढो माझी’ कृतिको मूल्याङ्कन

कवि विष्णु सुवेदीको चौथो कृति ‘बूढो माझी’ को ३४ थान कविता पढिसकेपछि हरेक रचनाको सबलता र कमजोरी जोख्ने काम यहाँ गरिएको छैन । एउटा भूमिका र एउटा पूर्वसमीक्षाले धेरै कुरा कविताका बारेमा बोलिसकेपछि उही कुरा दोहोर्याउनुको तुक छैन । प्रस्तुत सङ्ग्रहभित्र कुनै पनि कविता कमजोर छैनन् कवित्वका दृष्टिले तर यसको अर्थ सबै कविता उत्कृष्ट मात्रै छन् भन्ने पक्कै होइन । मोफसलमा बसेर यस तहका कविता रचना गर्नु आफैँमा सबलता हो अनि मूल धारमा रहेर प्रगतिशीलताको चस्मा लगाएकाहरूले अनुकरण गर्न योग्य रचना बन्नु अवश्य उल्लेखनीय पक्ष छ । हरेक कविताले केही न केही सन्देश बोकेका छन् तर सतही रूपमा आएका कुनै कविता छैनन् बरु सबैजसो रचना पूर्ण परिपाकमा पुगेको अनुभूत हुन्छ । कविले जे सन्देश दिन शब्दहरू पोखेका छन् ती सबैले मूर्त आकारका चित्र कोरेका छन् । कुनै अमूर्तताको क्लिष्ट संयोजन गरी जबर्जस्ती अर्थबोध गर्नुपर्ने बाध्यतामा पाठकलाई अलमल्याइएको छैन । कुनै समीक्षकले प्रशंसाको पुल बाँधेर तारिफको महल उभ्याउनुपर्ने रचनाहरूको सङ्ग्रह पनि होइनजस्तो लाग्छ । पाठकको फरक अनुभूति हुनु स्वाभाविक हो सायद ।

टुङ्ग्याउँनी

कवि सुवेदीको चौथो कृति हुनु र मोफसलमा दरिलो अग्रज स्रष्टाको सम्मान बोकिरहेकाले लेखनमा केही सचेतता अपनाउनु उपयुक्त नै होला । प्रस्तुत कृतिमा बारम्बार बिम्बहरू दोहोरिने रोग घातक हुनसक्छ । ३४ थान कवितामा अद्योपान्त हेर्दा आदिम, उँभो, उँभो, पुल, खोला, पानी, आमा, शासक, शोषक, तानाशाह वा बादशाह जस्ता शब्दहरू अनपेक्षित रूपमा उही अर्थमा दोहोरिन आइपुग्छन् । तथापि लयात्मक अनुप्रासीयतामा कवि निकै सचेत हुन खोजेको देखिन्छ, जस्तैः

घरि नाङ्गो घरि उदाङ्गो
कुरूप रूपहरू
कुरूप स्वरूपहरू (पृ.१३–१४),

ढुङ्गाहरूको दया लागेर आउँछ
फूलहरूको माया लागेर आउँछ ! (पृ.३४)

कुनै कविता अपूर्ण नै हो कि भन्ने पनि लाग्ने खालका कविताहरू राखिएका छन् । प्रायः टुङ्याउनीमा कविले छुट्टै बान्की दिन खोजेको जस्तो लागे पनि उपयुक्त शब्दले कविता नटुङ्गिएको हो कि झैँ अलमलमा पाठक रहनसक्ने केही रचना पनि सायद असावधानीवश राखिएका हुन् कि भन्ने लाग्नसक्छ, जस्तैः

ज्ञानको खोला तार्दा–तार्दै
चेतनाको पहाड चढाउँदा चढाउँदै
एउटा बुढो समय, पुरानो पुस्तकसँग
घरि चकले लेखेर
घरी डस्टरले मेटेर ! (पृ.३०)

अपवादरूपी केही यस्ता कविताबाहेक सङ्गृहीत सबैजसो कविता पठनीय छन् । असावधानीवश हुनगएका केही कसरमसर आगामी संस्करण र कृतिहरूमा हट्दै जानेमा विश्वस्त हुने आधारहरू ‘पाठकहरूका अदालतमा’ कविले दिएका छन् । कवि सुवेदीको कलम श्रमजीवीका पक्षमा निरन्तर चलिरहोस् । नेपाली साहित्यलाई गतिला पुस्तक दिइरहन सफलता मिलोस् भन्ने शुभकामना ।