१. पहिलो लघुकथाः “अहिले कहाँ हुनुहुन्छ ?”
रवीन्द्र समीर
“लघुकथा कुनो”मा पोष्ट गरिएको पहिलो लघुकथा
“अहिले हजूर कहाँ होइबक्सिन्छ ? ” दिउँसै भट्टीमा तोङ्बा तानिरहेको भुँडीवालले जवाफ दियो – “प्रज्ञामा !”
म जासूस नभए पनि जासूसकै सरह जुलुसभित्र पसें । “अहिले हजुर कहाँ हुनुहुन्छ ?” मेरो प्रश्नको उत्तरमा जुलुसभित्रको खुङ्खार नेताजस्तो मान्छेको जवाफ थियो – “विद्यालयमा !”
त्यसपछि मैले मखन गल्लीभित्र ख़ासखुस गर्दै नोटका बिटा आदानप्रदान गरिरहेकामध्ये आदान पक्षलाई सोधें – “हजुर अहिले कहाँ हुनुहुन्छ ?” उनले सशंकित पाराले जवाफ दिए- “प्रशासनमा !”
घर फर्किदा रत्नपार्कमा एक जना परिचित चिकित्सकसंग भेट भयो । “अहिले कहाँ हुनुहुन्छ, डाक्टरसाब ?” नर्सिंगहोमबाट क्लिनिक जान हतारिएका चिकित्सकको जवाफ थियो- “जुम्ला अस्पतालमा !”
###
(“लघुकथा कुनो” फेसबुक ग्रुपले नेपाली लघुकथाको विकासमा पुर्याएको योगदान अतुलनीय छ । यसको सदस्य संख्या चौँतीस हजारको आसपास रहेको छ । यो पेज वरिष्ठ लघुकथाकार नारायण तिवारीले सन् २०१२ फेब्रुवरी ११ मा सञ्चालनमा ल्याएका थिए । हाल लघुकथा कुनो फेसबुक ग्रुप लघुकथा लेखन, अध्ययन र अनुसन्धानको लागि स्रोत केन्द्र बनेको छ ।
लघुकथाकार नारायण तिवारीले लघुकथा कुनोमा सन् २०१२ फेब्रुवरी ११ गते लघुकथाकार रवीन्द्र समीरको “अहिले कहाँ हुनुहुन्छ ?” लघुकथालाई पोष्ट गरेको देखिन्छ । यो नै लघुकथा कुनोमा पोष्ट गरिएको पहिलो लघुकथा हो ।
प्रस्तुत लघुकथा “अहिले कहाँ हुनुहुन्छ ?” ले एउटा जटिल तथ्य जन्माएको छ । मान्छेको मन, इच्छा वा ढाँट्ने बानीले गर्दा आफू जहाँ छ ऊ आफूलाई त्यहाँ पाउँदैन । कथा हरेक पाठकको वरिपरि नै नाचेको हुनसक्छ ।)
२. सकृयकालीन लघुकथा: “देउता”
दीपक कथित
उसले सोचेको थियो– ‘यो संसारमा सबैभन्दा ठूलो देउता नै हो । देउतालाई खुसी पारेपछि, आफूले चाहेका सम्पूर्ण इच्छाहरू पूरा हुन्छन्। अरु केही नै गर्नु पर्दैन।’
त्यसपछि उसले देउतालाई खुसी पार्न अनेक कोसिस गर्यो । पूजा गर्यो, प्रार्थना गर्यो, नैवेद्य–भेटी चढायो, भाकल गर्यो । सम्पूर्णमा देउतामै लीन राख्यो आफूलाई। तर पनि उसले चाहेका सबै इच्छाहरु पूरा भएनन्। आफ्नो यत्रो कोसिस, परिश्रम व्यर्थ भएपछि उसलाई देउताप्रति नै अनास्था पैदा भयो। देउतसँग असाध्यै रिस उठ्यो। उसले थुक्यो, गाली गर्यो, भत्कायो देउताको आसनलाई । यति गर्दा पनि देउताले उसलाई केही नराम्रो पनि गरेन ।
यसरी पूजा गर्दा पनि, गाली गर्दा पनि देउताले केही नगरेपछि उसलाई आश्चर्य लाग्यो देउताप्रति । आखिर देउता के हो त ? किन यसले पूजा गर्दा पनि केही गर्दैन ? र गाली गर्दा पनि केही गर्दैन ? यो प्रश्नको समाधान नभेटेर ऊ व्यग्र रह्यो । यताउति भौँतारियो धेरै वर्षसम्म पनि ।
एकदिन उसमा एकाएक देउतालाई चिनेको अनुभूति भयो– ‘यसैले त देउता देउता भयो । यसरी पूजा गर्दैमा खुसी हुने र गाली गर्दैमा रिसाउने भए त देउता र मान्छेबीच फरक नै के रहन्थ्यो र ?’
###
(नेपाली लघुकथामा ५० को दशकलाई सक्रियकालीन समय मानिन्छ । यही समयमा लघुकथाकार दीपक कथित स्तरीय लघुकथाहरू सृजना गर्दै देखापरेका हुन् । उनी मुलत: गीतकार/गजलकार हुन्, तसर्थ पनि उनका प्रायः लघुकथाहरूमा हामी कोमलता र लयात्मकता पाउछौँ ।
प्रस्तुत लघुकथा “देउता” २०५७ को मङ्सिरको गरिमा मासिक पत्रिकाबाट लिइएको हो । लघुकथाले इश्वरको परिभाषामा अल्झिरहने सधैँको उहीँ विवादलाई अत्यन्तै सरल तरिकाबाट टुङ्गाइदिएको छ । कथाको बीज वाक्यले इश्वर र हामीबीचको फरकपनको भेद देखाएर लघुकथा कालजयी बनेको छ ।)
३. मलाई मन परेको लघुकथाः “बिक्रीमा छ”
ऋचा लुइँटेल
एउटा ग्राहकले पसलेलाई सोध्यो – ‘यो पसलमा अलिकति माटो किन्न पाइन्छ ?’
पसलेले नक्सा देखाउँदै जवाफ दियो – ‘हजुर यो सग्लो कित्ताको नाम नेपाल हो । यसलाई कित्ताकाट गरिसकिएको छ । यी हेर्नु त सात कित्ता पो छ त । पूर्वतिरको माटो त पूर्वका रैथाने हुँ भन्नेहरूले किनिसके । अहिले बिक्रीको लागि बीचको भूभाग मात्र बाँकी छ ।’
ग्राहकले फेरि सोध्यो – ‘भो , दिन सकिन्छ भने उता पश्चिमतिरको माटो दिनुहोस् । बीचको माटो त किन्न सजिलै छ जहिले किने पनि हुन्छ ।’
पसलेले भन्यो – ‘अहिले बलबुता पुगेको बेला सित्तैमा र सजिलै पाइएको छ । लानु छ भने लगिहाल्नुस्, पछि त्यही पनि हात नपर्ला ।’
ग्राहक – ‘पश्चिमतिरको माटोको दामचाहिँ कति होला ? जति परे पनि हाल्थेँ ? बरु कमिसन तपाईं पनि राख्नुहोला ।’
पसले – ‘होइन महाशय, तपाईँलाई पश्चिमकै कित्ता किन चाहियो ?’
ग्राहक – ‘चाहिन त सातै टुक्रा चाहिएको हो । पूर्वदेखि पश्चिमसम्मका सातै कित्ता दिनु न त बरु ।’
पसले – ‘सातैवटा किन चाहियो महाशय तपाईँलाई ?’
ग्राहक – ‘पश्चिम गयो, डेउडा खेल्यो मार्सी चामलको भात खायो । पूर्व गयो छ्याङ खायो । चुल्ठे, बासमती, काला जीरा जे मनलाग्छ खान भयो नि त । पानी पनि कोशी, गण्डकी, कर्णाली र महाकालीको फेरि फेरि पिउन पाइन्छ नि त ।’
मौका छोपेर धेरै पैसामा सग्लो नेपाल कित्ता बेच्न पाएकोमा पसले दंग थियो । उसले ग्राहकलाई भन्यो – ‘किन्नु हुन्छ भने म सग्लै बेचिदिन्छु । किन्न त आँट्नु भो महाशय, तर तपाईँलाई भोग गर्न राष्ट्रियता, सार्वभौमसत्ता र स्वतन्त्रताले समस्या पार्लान् । त्यसको जिम्मेवारी पनि तपाईँकै हो ।’
ग्राहकले मुस्कुराउँदै भन्यो – ‘चिन्ता नगर्नुहोस साहुजी, सग्लो कित्ता किन्दा त ती सबै आइहाल्छन् नि । तिनलाई त मैले पहिले नै किनिसकेको छु ।’
###
(ऋचा लुइँटेल पश्चिमकी कथाकार हुन् । पश्चिमका स्रष्टाहरूको सोच्ने विषय अलि फरक लाग्छ मलाई । उनीहरू प्राय: कि स्थानीय कुरा उठाउँछन् कि राष्ट्रिय समस्या पस्किन्छन् । ऋचा पनि यो विषयबाट पृथक छैनन् । उनका लेखनी दृष्टिकोणको हिसाबमा तीखा र प्रष्ट छन् ।
प्रस्तुत लघुकथा “बिक्रीमा छ” ले कथाको उठानदेखि नै राष्ट्रियताको सवाल बोकेको छ । कौतुहलतामा कथा केही गुज्मुज्जिए पनि कथाको समापनले हामी र हाम्रो देशको वास्तविकता बढो मज्जाले बोलेको छ । कथाको पात्र थाहा नपाउने पारामा नेता बनेको छ तर पाठक पनि नेता नै बनिदिए हामी र हाम्रो देशमा केही परिवर्तनहरू देखिन्थ्यो कि ?)
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला