“मेरी नातिनी हिरा छे, कसैको आँखा नलागाेस् । ”

“धेरै लखर लखर जङ्गलको बाटो नहिड् है नानी, बाघ भालुको डर हुन्छ । जमाना खराब खराब आ’छन् । चिलबाट चल्ला जोगाउन गाह्रो छ ।”

हजुरआमा गाउँमा हुँदा सधैं यस्तै चिन्ता गर्नु हुन्थ्यो । अहिले हामी सहर बसाइ सरेका छौ र पनि हजुरआमाको चिन्ता उस्तै छ ।

“नानी अमला, धेरै लखर लखर बजार नजा है, बाघ भालुको डर हुन्छ ।”

“ह्या बुढी माऊ पनि के कराई रा होला । नचाहिने नचाहिने । बजारमा पनि कहीँ बाघ भालु होलान् त !”

गाउँमा बाघ भालु भनेपछि डराउने अमला अहिले हाँसो मजाक जस्तै ठानी । हजुरआमाको कुरा पत्याइन । निस्फिक्री बजार जाने आउने गर्न थाली ।

बजारमा रमाइलो मेला लागेको छ । आज ……… हट कलाकारहरुले मेला तताउँदै छन् रे । एफ.एम. रेडियोले फुकिरहेको छ । साँझ पर्दासम्म मेला हेर्न गा”कि अमला घर फर्किन । आमा बालाई साथीसँग आउँदै होला जस्तो लाग्यो । हजुर आमाले चासो राखिन् : “अझसम्म अमला आ”कि छैन ? ख्याल गर है जमाना खराब छन् ।”

“साथीहरुसंग आउँदै होला आमा, ” बुहारी बोली ।

तर अमला आइन । घरमा सबै आत्तिए । सबैतिर फोन गरे । केही पत्तो लागेन । पुलिसमा जानकारी लेखाए ।

बिहान पख बजारको दक्षिणतिरको विश्राम झाडीमा बीभत्स लास भेटियो । यो उही अमलाको लास थियो । नरपिचास सहरिया हिंस्रक बाघ भालुबाट बालात्कार पश्चात् हत्या गरिएकी थिई ।

हजुरआमा अश्रुधारा बगाउँदै चिच्याइन् : “हे भगवान अझै कतिसम्म यी अमला, निर्मला र भागीरथी हरुले यस्तो नियति भोगिरहेने हुन् । हे कलि !”

कोहलपुर