साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

महाश्वेता देवीकोः “अक्लान्त कौरव” शृंखला २

Chovar Blues Mobile Size

००० ०००
द्वैपायन सरकार को हो ?
द्वैपायन सरकार उमेरले अहिले साठी वर्षको छ । हुन त हेर्दा त्यस्तो नलाग्न सक्थ्यो । अग्लो कद, सुडौल शरीर । औसत अनुहार । वर्ण गहुँगोरो, चम्किलो आँखा । जमाना भयो कम्युनिष्ट पार्टीमा लागेको । पार्टीको भागबण्डा (भारतीय कम्युनिस्ट पार्टी सन् १९२०मा स्थापना भएको थियो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा साठीको दशकमा ख्रुश्चेवको उदय भएपछि संशोधनवादको थालनी भयो र संसारकै कम्युनिस्ट पार्टीहरू विभाजित भए । शान्तिपूर्ण संक्रमणका पक्षधर ख्रुश्चेवपन्थीहरू संशोधनवादी वा दक्षिणपन्थी भनिन थालिए भने माक्र्सवादको क्रान्तिकारी धारका पक्षधरहरू क्रान्तिकारी वा माक्र्सवादी भनिन थालिए । भारतको कम्युनिस्ट पार्टीको विभाजन १९६२मा भयो,दक्षिणपन्थ भनिएको धारले राष्ट्रवादको नारा दियो भने क्रान्तिकारी भनिएको धारले अन्तर्राष्ट्रवादको नारा दियो । यो विभाजनका पछाडि चीनसँग भारतको युद्ध पनि एउटा कारण थियो भन्ने गरिन्छ । क्रान्तिकारी धार बोकेको भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादी कम्युनिस्ट पार्टी भनिन थाल्यो । संक्षिप्तमा ती दुई पार्टी भा.क.पा. र भा.क.पा.(माक्र्सवादी ) वा मा.क.पा. भनी चिनिन थाले ।) भएपछि ऊ दाहिनेतिर बस्यो । पार्टीको अहिलेको टुटफुटमा द्वैपायनले यो दक्षिणपन्थी कम्युनिष्ट पार्टीको पनि दक्षिणतम छेउमा मोर्चा कस्ने निर्णय गरेको छ । (पछिल्लो पटक भा.क.पा.चुनावी मोर्चाका लागि मा.क.पा.सँग मिल्नुपर्दछ र मिल्नु हँुदैन भनी विभाजित भयो । एउटा पक्ष मा.क.पा.सँग संयुक्त मोर्चा बनाएर चुनावमा हेलियो भने अर्को पक्ष काङ्ग्रेस आइ.(इन्दिरा गान्धी)सँग चुनावी मोर्चामा गयो ।) यस्तो हुन्छ भन्ने उसलाई थाहा थियो किनकि दिल्लीकै किलोको तागतमा ऊ उफ्रीपाफ्री गर्छ ।
भारत सरकारको आग्रहपूर्ण सहयोग पाएर जुन विदेशी शक्ति लामो समयदेखि यो मुलुकमा उपनिवेश स्थापित गर्दैछ त्यसले सम्झौताको आड लिएर न्यून मूल्यमा भारतीय श्रम र कच्चा पदार्थले बनेको बस्तुमात्र किन्दैन, भारतीयका मस्तिष्कमा उपनिवेश पनि स्थापित गर्दछ । तिनको सहायतामा चलेका शोध प्रतिष्ठानहरूमा देशका युवा बुद्धिजीवीहरूको दल पनि सामेल हुन्छ । अकुत धनराशि, प्रशस्त समय । शोधको विषय पनि राम्रो राम्रो , जस्तै –आदिबासी,गरिब, किसान,कृषि मजदुर, कलाप्रेमी  ग्रामीण काष्ककर्मी, लोक कलाकारहरूको जीवन र कार्य । हिंसाको राजनीतिमा यिनको गहिरो रुचि छ । तर मथिङ्गलमा उपनिवेशको किलो ठोकिएकोले यिनको अनुसन्धानको शोधप्रबन्ध तथा निबन्धहरूमा सङ्ग्रामी भारत, शोषित भारत, मेहनतकश भारतका प्रति सहानुभूतिको गोही आँसु चुहाउने गरिएको हुन्छ र त्यसको पछाडि अर्को उद्देश्य लुकेको रहन्छ । ठूलठूला कुराहरू र भारीभरकम तथ्याङ्कहरूको बोझिलो तालिका आदिमा अङ्कहरूको जोडघटाउ खतरनाक छ । यो जोडघटाउ प्रकटमा यसरी अभिव्यक्त हुन्छ– हे भारतीय मनुवाहरू, आफ्नो अधिकार माग्नका लागि हतियार कदापि नउठाउनू , वर्णाश्रममा आधारित प्राचीन समाज व्यवस्थालाई उल्ट्याउने चाहना कहिल्यै नराख्नू । तल्सिङका स्वामित्वमा रहेको बेनामी जमीन तिनैको नाममा रहन देऊ । कृषिमा तिमी पछाडि परेका छौ । उन्नत तरिकाबाट खेती गर्दैनौ, त्यसैले पछाडि परेका छौ । उद्योगपतिहरूले अझ बढी मुनाफा लुटिरहून् । मजदूरहरूका लागि उन्नत उत्पादन यन्त्रहरू आवश्यक छन् आदि ।
यस्ता तमाम शोधप्रबन्धहरूमा भारतको कृषि तथा उद्योग क्षेत्रहरूमा जहाँ अहिले लाखौँकरोडौँ मानिसहरू दुई हात पाखुरा बजारेर कठोर मेहनत गरी येनकेन प्राण धानिरहेका छन् , ती तमाम क्षेत्रहरूमा मेसिनमाथि निर्भरता ल्याउने कुरो गरिन्छ । तर यसको परिणामस्वरूप लाखौँकरोडौँ भोकाहरू बेरोजगार हुनेछन् चाहिँ भनिदैन । यस मुलुकमा भारतेली मस्तिष्कलाई किनेर त्यसमा यस प्रकारको चिन्तनको बिउ अरु विदेशी शक्तिहरूले पनि छर्ने गर्दछन् । पहिलो दलको तागत निकै बढी छ । तिनीहरू निकै चलाखीपूर्वक चुपचाप काम गर्दछन् । धेरै वर्षदेखिको निरन्तर प्रयासका कारण शिक्षा तथा संस्कृतिको क्षेत्रमा तिनले किनेको शेयर नै धेरै छ । देशभरिको योजनाहरूमा तथा शिक्षा तथा संस्कृतिको क्षेत्रमा तिनैको बर्चस्व छ । यस्ता मान्छेहरूको खुट्टा बाहिर छ । तिनीहरू विपक्षीको पहेँलो पैसा पनि बटुल्दछन् । अमेरिकातिर पनि दौडन्छन् । एउटै व्यक्ति , एउटै संस्था वा एउटै प्रकाशन वा एउटै पत्रिकाले राता–पहेँला रुपियाँ पनि एकैसाथ बटुलिरहेका छन् । यस्ता उदाहरण पनि प्रशस्त छन् ।

द्वैपायन यी सबै बुद्धिजीवीहरूमध्ये पनि कुलीन हुन् । सँधै कम्युनिस्ट रहे । बेलाबेलामा आदिवासीहरूको बारेमा पनि निबन्ध लेखिरहन्छन् । त्यस्तो निबन्ध लेखिदिएवापत युरोपका विभिन्न देशका संस्थाहरूले उनलाई मोटो रकम दिन्छन् । यस्ता कतिपय कुराहरू सुविज्ञ जनतालाई थाहा छैन, त्यसैले कोही सोध्दा पनि सोध्दैनन । यी यावत रकम कसले दिइरहेछ ? कसैले पश्न उठाएका छैनन । इटाली,बेल्जियम वा हल्याण्ड वा पश्चिम जर्मनी वा नर्वे वा स्वेडेन भारतको उराव, निकिर,हो, नागेशिया,कोलताका बारेमा निबन्ध लेखाउनका लागि किन यतिविधि उत्साहित छन् ?

द्वैपायन सन्थालहरूसँग,त्यो पनि खास सम्प्रदायका सन्थालहरूसँग,साक्षात्कार गर्न जागुला आएको हो । ऊ जागुला आउनुको उद्देश्य दीर्घफलकमा फैलिएको छ । सन् अडसठी–उनान्सत्तरीतिर जब ऊ पश्चिम बङ्गालमा आएको थियो त्यसताका कोलकात्ताबाहिर एउटा विश्वविद्यालयमा बसेर अकुत विदेशी रुपियाँ खर्च गरेर सन्थाल ग्रामीण समाजमा विवाह तथा विवाहित जीवनका बारेमा व्यक्ति तथा समाजको दृष्टिकोणका बारेमा एउटा गुढ समीक्षा चलाइरहेको थियो । उसले प्रतिपादन गरेको विषय थियो – सन्थाल समाजमा विवाहको त्यो पवित्रता अब रहेन । तर समयकाल खराब थियो । सन्थालको गाउँगाउँमा त्यसताका अर्कै स्पन्दन जागृत भइरहेको थियो । मादलको घिन्ताङघिन्ताङमा अर्कै धुन थियो । द्वैपायन सन्थालहरूको एउटा विवाह हेर्न भनेर गएको थियो । विवाहको उत्सवमा नाचगान र लडाकु मिजाज देखेर ऊ चकित भयो । उसलाई चकित पार्दै एक जना वृद्ध सन्थालले भने, “फलाना तल्सिङको शिरोच्छेदन गरिदियौँ हामीले , त्यसैले हर्षबढाइँ गरिरहेका छौँ ।”

द्वैपायन मौका छोपेर सुटुक्क भागेको थियो । त्यहाँबाट फर्कनेबित्तिकै एउटा बेनामी चिठ्ठी उसको हातमा परेको थियो । त्यसमा लेखिएको थियो –सन्थाल समाजका बारेमा उसले जस्तो कुत्सित प्रचार चलाइरहेछ, त्यो बन्द गरेर ऊ तुरुन्त यहाँबाट सुइँकुच्चा ठोकोस । अन्यथा उसको पनि शिरोच्छेदन गरिनेछ ।

विश्वविद्यालयमा अधिकारीहरूले आडभरोसा र ढाडस त दिए तर पनि द्वैपायन आश्वस्त हुन सकेन । आफ्नो राजनीतिक पार्टीको अखबारलाई सहयोग गर्ने निहुँ पारेर ऊ दिल्ली गएको थियो । वीरभूम(पश्चिम बङ्गालको उत्तरी क्षेत्रको जिल्ला, नक्सलवादी आन्दोलनको आधार क्षेत्रको रूपमा चिनिएको क्षेत्र)का नक्सलवादीहरूको हिमायती भएको स्वाङ पार्दै आन्ध्रको नक्सलाइटहरूको दमनका विरुद्ध खुब होहल्ला मच्चायो । ‘सन्थाल समाजमा विवाहित जीवन अझ पनि अस्तव्यस्त छ , तिनको समाज मूल्यबोधहीन छ ’ भनी प्रचारप्रसार गर्ने काम चाहिँ अधुरै रह्यो ।
यतिका वर्षपछि फेरि ऊ आफ्नो पुरानो कर्मक्षेत्रमा फर्केर आएको छ । यसरी फर्कनुको खास उद्देश्य छ । यस पटक उसको शोधको विषय यस्तो छ –‘आदिवासीहरूमध्ये सन्थालहरू सबभन्दा काथर छन् ,कम लडाकु छन् । सत्ताले तिनलाई सजिलै तथा सस्तोमा किन्न सक्दछ । तिनीहरूभन्दा त मुण्डा वा नागा वा अन्य आदिवासी उपजातिहरू कता हो कता लडाकु छन् ।’ यी कुराहरू प्रमाणित गर्न ऊ लागिपरेको छ अहिले ।

sagarmani mobile size

बाघमाथि टाग रहन्छ, तिमिमाथि तिमिगिल तथा घोडामाथि घोडसवार । द्वैपायनमाथि छन् सानी बज्रपाणी । सानी पुराना साम्यवादी हुन् । सेतै फुलेको कपाल, पोटिलो शरीर । चीरकालदेखि दिल्लीमा एउटा महँगो संस्थाको सञ्चालक छन् । चौध वर्ष भइसक्यो मोटो शिशाको पर्खालभित्र बसेको । त्यसबेलादेखि सानीको शरीरले घामपानी,झरी बादल झेलेको छैन । सूर्यको उदय र अस्त ,चन्द्रमाको अस्त र उदय,हुरी बतास,अनिकाल–खडेरी, जङ्गल,वृक्ष वनस्पति,बालकहरूको हाँसोरोदन,सुनौलो गहुँको बाली ओसार्दै गरेका उत्तर प्रदेश( पूर्वतिर बिहार ,पश्चिमतिर राजस्थान. र उत्तरतिर उत्तराखण्ड तथा नेपालसँग साँध जोडिएको भारतको राज्य ) का किसान,पश्चिम बङ्गालको मध्यवर्षामा औसधानको शोभा , खानीहरूमा काम गरिरहेका मजदुरहरू,आगलागीमा डढेर खरानी भएको झुप्रोका छेउमा वेदनाले मुक बनेकी सद्य विधवा, हरिजन रमणी आदिजस्ता जरुरी तथ्यजन्य दृश्यहरू सानी बज्रपाणी चलचित्रमा नै हेर्नेगर्छन् । अखबार पढने फुर्सद उनलाई मिल्दैन नै । टेलिभिजनको समाचार उनको स्रोत हो । रङ्गिन टेलिभिजन भारतको जनताको विद्यमान आर्थिक अवस्थामा उनका लागि सबभन्दा आवश्यक बस्तु हो किनकि यसबारेमा उनले एउटा समीक्षा पनि लेखेका छन् ।

सानी बज्रपाणी द्वैपायनको मस्तिष्क नियन्त्रण गर्दछन् । सानीद्वारा सञ्चालित संस्थाको अधीनमा अरु पनि थुप्रै संस्थाहरू छन् । हरेक संस्थाका बारेमा सानीको खुला आदेश छ –संस्था चलाउनका लागि सँधै उग्रवामपन्थी बुद्धिजीवी युवाहरूलाई राख्नुपर्छ । तिनीहरूलाई प्रत्यक्ष सहयोग दिएर राजधानीमा निष्क्रीय बसाएर राख्नु पर्छ । अर्थ न बर्थका काममा पाँच वर्षसम्म अल्झाइराख्नु पर्छ । अनि तिनको उग्रवादी मानसिकता सेलाउँछ । द्वैपायनजस्ता विश्वसनीय व्यक्ति कदापि प्रत्यक्षतः यस्ता संस्थाहरूमा बस्दैनन । यिनीहरू त यताउति देशका विभिन्न विश्वविद्यालयहरूका कलेज–क्याम्पसहरूमा लेखपढको दुनियाँमा छरिएर रहन्छन् र बिचित्रबिचित्रका प्रतिष्ठानहरूको सहयोगले अनौठाअनौठा शिर्षकका विषयहरूमा अनुसन्धान गर्ने गर्दछन ।

“देख्यौ ?” सानीले द्वैपायनसँग भनेका थिए ।

“ के ?”

“पश्चिम बङ्गाल सरकार धुमधामले सन्थाल विद्रोहको एक सय पच्चिसौँ वार्षिकोत्सव मनाइरहेको छ । विभिन्न ढोकाबाट सन्थालहरूलाई किसिम–किसिमको सहयोग दिइरहेको छ ।”

“ अँ ।”

“यही त हो नि मौका ।”

“केका लागि ?”

“यो सब केही होइन, केही हुँदै होइन । सन्थालहरू लाखौँलाख छन् । सरकारी मद्दतले त फगत औँलामा गन्न सकिने व्यक्तिहरूलाई मात्र फाइदा पुग्ने छ । बाँकी अरुहरू जुन अन्धकारमा बाँचिरहेका छन् त्यहीँ निस्सासिइरहने छन । तर पनि मौका यही हो ।”

“केको मौका ,सानी ?”

“एउटा कुरो मेरो मनमा बिझिइरहेको छ –सन्थालहरूलाई माथि उठाउँदा पश्चिम बङ्गालका अरू आदिवासीहरूको उपेक्षा भइरहेको छ । तिनलाई यसबारेमा सचेत पार्नु आवश्यक छ ताकि आदिवासीहरूमा विरोध फैलियोस । आदिवासी समाजहरूमा एकता छ ,त्यसलाई टुक्र्याउनु पर्छ । अरु आदिवासीहरूलाई सम्झाउनु पर्छ कि हेर सरकारले तिमीहरूका लागि केही पनि गरिरहेको छैन , सुविधाजति सन्थालहरूलाई मात्र दिइरहेको छ । यो काम गर्नका लागि विभिन्न आदिवासी क्षेत्रहरूमा किसिमकिसिमका मानिसहरूको आवश्यकता छ ।”

“मैले पहिले यति सुक्ष्म रूपमा बुझेको थिइनँ ।”

“जे होस्, पश्चिम बङ्गाल राजनीतिक रूपले निकै नै जागरुक छ । साँच्चै भन्ने हो भने ,त्यहाँ सन्थालहरू एउटा बलियो शक्ति हुन् । आज यदि उनीहरू आफ्नो अधिकारबारे सजग भएभने त्यसको देखासिकी गर्दै अरू आदिवासी समाज पनि अगाडि बढन सक्दछन् । त्यति मात्र कहाँ हो र , दुनियाँकै मजदुर एक गठ हुन सक्छन् । भारतका आदिवासीहरू एक गठ हुनु निकै नै खतराजनक कुरो हुनेछ ।”

“साँच्चै , हो त ।”

“हुन त एउटा राम्रो कुरो पनि भइरहेको छ । सन्थालहरूलाई जागिरसागिर दिइँदैछ । जसलाई जागिर दिइँदैछ, तिनको वर्ग रूपान्तर हुनेछ । शिक्षा र रोजगारीको मौका पाएर तिनीहरू वर्गीय आधारमा अर्को उपल्लो वर्गमा फड्को मार्नेछन् र आफ्नो समाजको उन्नतिको कुरो सोच्न छाडिदिनेछन ।”

“तर यदि सोचिरहे भने..?”

“यसको पनि बन्दोबस्त मिलाउनु पर्छ । अरे ,केही आदिवासी अफिसर बनून,मन्त्री बनून तर के त्यतिकैले तिनको समाजको भलो हुन्छ ?”

“हो , यहाँले ठिक भन्नुभयो ।”

“सन्थालहरूसँग अन्य आदिवासीहरूको सरसम्पर्क बिगार्नु आवश्यक छ । त्यो काम अरुले नै गरून् । तिमी अर्को काम गर ।”

“ के काम ?”

“तिमी प्रमाणित गर कि सन्थालहरू पटक्कै लडाकु छैनन् । अरु आदिवासीहरू तीभन्दा कता हो कता लडाकु छन् । तमाम आदिवासी समाजभन्दा सन्थाल समाज इमान्दारी, निश्छलता तथा लडाकु स्वभावका लागि विशिष्ट छ । तिमी प्रमाणित गरिदेऊ कि ती कमजोर छन् । तिनको रिढमा मेरुदण्ड छैन । उच्चशिक्षा वा जागिरको लोभमा फकाएर तिनलाई किन्न सकिन्छ ।”

“त्यसले के हुन्छ त ?”

“फुट पारिने छ । भारतीय आदिवासी समाज सबभन्दा बढी पीडित र शोषित भएकोले त्यसमा एकता होइन फुट पार्नुपर्छ । किसान जनताको एकता भयङ्कर डरलाग्दो हुन्छ । सत्तरीको दशकको पीडा (नक्सलवादी विद्रोहतिर सङ्केत गरिएको हो ।)लाई कसरी बिर्सन सकिन्छ र ?”

द्वैपायनका लागि सम्पूर्ण व्यवस्था गरियो र ऊ चुपचाप आफ्नो काम गर्न लाग्यो । लडाकु सन्थालहरूसँग उसको साक्षात्कार हुनु यसैले पनि जरुरी थियो । जुन विश्वविद्यालयमा ऊ थियो त्यहाँको ग्रामीण सन्थाल समाजमा ऊ जान चाँहदैनथ्यो ।

यसै प्रसङ्गमा कलकत्तामा बसेर एकजना पत्रकार मित्रको मुखबाट उसले एउटा बिचित्रको कथा सुन्यो । जागुला शहरको वरपरको गाउँमा बसाई टुडु नाम भएको एक जना सन्थाल चीरकालदेखि सत्तासँग लडेको थियो । पाँच पटक आमुन्नेसामुन्नेको मुठभेडमा लडाइमा बसाई टुडु मृत घोषित गरिएको थियो ।

“पाँच पटक ! ?”

“यो त किम्बदन्ती बनिसक्यो । साँचो कुरो त पछि थाहा भयो कि पहिलो पटक कुनै अर्कै सन्थाल युवक मारिएको थियो । उसैलाई बसाई भनेर सनाखत गरियो । ”

“किन ? ”

“अनुहार लगभग थिएन अर्थात् क्षतविक्षत थियो । सन्थाल नै भएकोले ज्यूडाल तथा वर्णमा समानता त थियो नै ,यसैले गर्दा गल्तीको थालनी भयो । खासमा बसाई त्यसबेला उनीहरूलाई छक्याएर उम्कन सफल भएको थियो । त्यसपछि रामेश्वर नाम गरेको एक जना प्रबल शक्तिशाली भूमिपतिसँगको सङ्घर्षमा लडदालडदै सक्कली बसाई मारिएको थियो । त्यतिञ्जेलसम्म बसाई ती योद्धाहरूका लागि अपरिहार्य बनिसकेको थियो । त्यसपछि बाकुली गाउँमा एक जना अर्को सन्थाल युवकले बसाई टुडुका नामले आन्दोलनको नेतृत्व ग¥यो र मुठभेडमा मारियो । कुरो बुझ्दैछौ ? बसाई टुडु नाम यति महत्वपूर्ण छ कि त्यो नामलाई जोगाएर हिँडनु पर्नेछ । चौथो पटक कदमकुवाँ गाउँको सङ्घर्षमा एक जना युवा सन्थालले बसाई टुडुकै नामले नेतृत्व दियो र मारियो । पाँचौँ पटक पियासोल गाउँको कुख्यात जमिन्दारलाई मार्दा एक जना बिस वर्षीय युवक बसाई टुडु बनेर नेतृत्व दिइरहेको थियो । ऊ घाइते भयो र भाग्दै जङ्गलमा पस्यो र त्यहीँ मर्‍यो । ”

“त्यसपछि ?”

“त्यसपछि धेरै दिनसम्म बसाईको नाम सुनिएन । हुन त अहिलेको स्थिति बेग्लै छ । काली साँतरा छैन । ऊ भएकोभए तिमीलाई सबै कुरो भन्न सक्थ्यो ।”

“को थियो काली साँतरा ?”

“जागुलाको माकपा कार्यकर्ता । ( भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)को संक्षिप्त रूप भाकपा(मा)को बोल्य रूप,यही पार्टीलाई पछि माक्र्सवादी कम्युनिस्ट पार्टी भन्न थालियो र माकपा त्यसको संक्षिप्त रूप बन्यो ।) जिल्ला वार्ता नामको अखबार निकाल्थ्यो । बसाईलाई चिन्दथ्यो । ‘अपरेसन बसाई टुडु’को पाँचौँ चरणमा काली साँतरा लुकीचोरी बसाईलाई भेटन गएको थियो । त्यसपछि उसको केही अत्तोपत्तो छैन । जहाँसम्म लाग्छ ,उसलाई मारे होलान । तर त्यस कुराले सरकारी स्वीकृति पाएन । किन पाएन त्यो त मलाई थाहा छैन ।”

“ अचम्भको कुरो छ !”

“तिमी अचानक लडाकु सन्थाल किसानहरूका बारेमा किन इतिहास लेखिरहेका छौ ? कि भित्रभित्रै अर्थोकै गर्दैछौ ? मलाई पनि छक्याउँदै छौ कि ? तिमी त यार , गहिरो पानीको माछा हौ । के गर्छौ र के गर्दैनौ केही भन्न सकिन्न । सँधै बिदेशै गइरहन्छौ । मास्को मात्रै गएको भए त कुरो बुझ्न सकिने नै हो तर तिमी त जहाँ पनि गइरहेकै छौ । तिमीले राजनीतिबाट आफ्नो खास क्यारियर बनाइसकेका छौ । यस्तो थाहा पाउँदो हँु त म पनि राजनीति नै गर्ने थिएँ नि ।”

“के भन्छौ ? राजनीतिसँग यो क्यारियरको के साइनो ? पत्रकार भएर तिमी के दोयम छौ र ?”

“राजनीति अर्थात् तिमीहरूको राजनीति अचेल क्यारियर हो, मित्र । कार्यकर्ताहरू मरेर खटछन् र तिमीहरू मजा लुटछौ । अनि पत्रकारको रूपमा हरेक अखबारमा आँखाको पुतली बनेका एकदुई जना हिरो शैलीका पत्रकार रहन्छन् । हामी सबै त ऐरेगैरे न हौँ । रुपियाँ पैसा सबैले कहाँ पाउँछन् र ? ”

“त के भन्छौ ? जागुला जाऊँ ?”

“जाऊ न ।”

“सांसद को छ ?”

“अफिसमा आऊ । भनिदिउँला ।”

“बसाई टुडुको यो इतिहास कसरी थाहा पायौ ?”

“त्यो त नसोध । तर थाहा पाइँदो रहेछ ।”

यसपछिमात्र द्वैपायन सरकार जागुला आयो । सामन्तले भनेपछि रामेश्वर भुइँयाले जागुलाको भुइँया भवन खोलिदियो र भन्यो, “ घर तपाईँकै हो । जतिदिन इच्छा हुन्छ, बस्नुस । तर यी तस्वीरहरूचाहिँ नचलाउनु होला ।”
गान्धी, राजेन्द्र प्रसाद, जवाहरलाल नेहरु,इन्दिरा गान्धी आदि सबैको तस्वीरहरूको छेउमा खल्वाटे तथा देदीप्य अनुहारका एकजना हँसिला

व्यक्तिको तस्वीर । रामेश्वरले भन्यो, “अँ , हाम्रो अतुलले लेनिनको फोटो बनाएको थियो । लिइहालेँ एउटा । यिनीहरू सत्ताबाट हटेपछि झिकिदिउँला । कुरो बुझ्नु भयो नि ? रहन्छन् कि जान्छन् ?”

“किन जाने ?”

“अँ , भन्नुस् न , त्यसै भन्नुस । सामन्त हाम्रो नेता हो । कस्तो भाषण दिन्छन् ! सुन्नुभएको छ कहिल्यै ? हामीलाई पनि आनन्द छ । अँ , त्यति नि भएन भने त केको नेता ? यो कुनै काली साँतरा हो र फाटेको चप्पल र खस्रो धोति लगाएर किसानहरूका घरघर चहारोस… ? अँ , मेरो मान्छेले तपाईँको भातभान्सा तयार गरिदिनेछ । चामल,दाल,चिनी,तेल,चिया सबैथोक छ । रामेश्वरले यो सबै घरमै राख्ने गर्‍या छ ,अरु बिग्रने सडने काँचा कुराहरू तपाईँ आफैँ लिएर आउनु होला ।”

“तपाईँ कहाँ बस्नुहुन्छ ?”

“काँकडासोल । भुइँया राजाहरूको वंशका हौँ हामी । काँठदेहातमै बस्छौँ । जागुलामा मन लाग्दैन । बस सर्भिस,जीप ग्यारेजआदिको काम कर्मचारीहरूले नै हेर्छन् । आउनुस् न कुनै दिन ।”

रामेश्वर गयो । त्यसैबेलादेखि द्वैपायन यहाँ छ । जिल्ला वार्ता अखबारको पुरानो फाइलबाट सन्थालहरूको अतीतका कथा हेर्दै उनीहरूको उद्धार गर्दै थियो । त्यसैबेला मातो डुमले उसलाई देखेको थियो ।

क्रमशः

प्रतिक्रिया
Loading...