यही प्रणय दिवसदेखि
प्रणयको सुगन्धले सर्वत्र ढाकोस्
तर त्यो जरुर निस्वार्थ
र केवल प्रणयमय मात्रै बनोस्
प्रणयको रापमा कसैले
प्रेमको हत्या गर्नुनपरोस्
कोही लुछिनु नपरोस्
कोही मिल्किनु नपरोस्
कसैले स्वाभिमानी शिर झुकाउनु नपरोस्
कोही बेवारिसे बन्नु नपरोस्

प्रणयको दायरा खुम्चिएर
झिँगाको पित्त जतिमै पनि
सीमित नहोस्
प्रेमी र प्रेमिकामा मात्रै कसिएर
प्रणयले अर्थिन छाडेपछि
हरेक प्रजातिका धड्कनमा
प्रणयकै प्राणवायु चलोस्

प्रणय गीतमा जितको बाजा बजोस्
विश्वासको लय बनोस्
अस्तित्वको सुमधुर भाकामा
प्रेम चखेवाको नृत्य हेरी
प्रेमामृतको प्याला पिएर
दर्शकका प्रेमिल आत्माले
प्रेमकै सञ्जिवनी पाओस् र
बादलले प्रेम न‌ै वर्षाओस्
अनि
धरती प्रणयले सिञ्चित होस्

ब्रह्म, विष्णु र महेश्वरदेखि
बुद्ध, मोहम्मद र क्राइस्टादिले
प्रेमामृत पोखून् दिव्य पथमा
प्रकृतिका हरेक सिर्जनाले
प्रेमालिङ्गन गर्दै
प्रेमालापले सिँगारेको
प्रेमालयमा प्रेमपूर्वक
प्रेमोत्सर्ग मनाएपछि
सिर्जनाका हाँगाहाँगामा
मुस्कुराऊन् प्रेम फूलहरू
अनि फलून् झुप्पाझुप्पा
रसिला प्रेमफल

दानवता पुच्छर लुकाएर भागोस्
मानवताकै काँध चढेर
प्रेमोत्सवको स्वर्गीय आनन्दमा
सिङ्गो प्रकृति समान अनुभूति साट्दै
सीमा र विभेदका खाडल पुरी
विश्व एकताको प्रेमिल नारा घन्काउँदै
प्रेमवायुकै उपहार साटेर
प्रेमोत्सर्ग मनाओस्
सृष्टि हितमा
यही छ मेरो
प्रणय शुभेच्छा !