लमजुङ, खुदी ७ काउलेमा जन्मिएका बाबु साइँला उर्फ भीम सुब्बा तामाङ युवापुस्ताका राम्रो सम्भावना बोकेका थोरैमध्ये एक कलाकार हुन्। प्रायः जलरंग र एक्रेलिक माध्यममा काम गर्न रूचाउने उनका कलामा प्रायः प्रकृति र मानवीय संवेदनाका विषयवस्तु समेटिएका हुन्छन्।
कलाका अलावा साहित्यमा पनि उत्तिकै दख्खल राख्ने बाबु साइँलाका चोटिला गजल, कथा, कविताहरू बेलाबेला अनलाइन पोर्टलहरूमा पढ्न सकिन्छ।
करिब एक दर्जन संघसंस्थाबाट सम्मानित भैसकेका कलाकार बाबु साइँलाले नेपाल र कोरियामा गरी दुई पटक एकल कला प्रदर्शनी गरिसकेका छन् भने करिब ४ दर्जन सामूहिक कला प्रदर्शनीमा सहभागिता जनाइसकेका छन्।
कला यात्राको दौरान कोरिया, इन्डोनेसिया, इन्डिया भ्रमण गरिसकेका बाबु साइँला हाल व्यावसायिक कलामा रमिरहेका छन्। आफ्नो पेन्टिङ न्यूनतम ५ हजारदेखि ३० हजारसम्म बिक्री भैरहेको उनले बताए। सन् २०१८ मा अन्तर्राष्ट्रिय जलरंग समाज नेपालको कला महोत्सवमा “अन्तर्राष्ट्रिय युवा प्रोत्साहन अवार्ड”बाट सम्मानित कलाकार बाबु साइँला “साहित्यपोस्ट”का कला स्तम्भकार पनि हुन्।
यसपालि साहित्यपोस्टकै आग्रहमा हामीले उनका मानवीय संवेदना झल्किने केही कलाहरू पस्कने आग्रह गरेका छौं। आउनुहोस्, उनै बाबु साइँलाका कलाहरू अवलोकन गरौंः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

