सन १९०७ मा पेरिस स्यालोन द इन्डिपेन्डेन्ट” आर्ट ग्यालरीमा जर्ज बार्कका ६ ओटा चित्रहरु प्रदर्शनमा राखिएका थिए। प्रदर्शनीमा राखिएका पूरै कलाकृति छिनभरमै बिक्री भए। त्यसै वर्ष उनी आर्टका डिलर डिएच कहनवेलरसँग अनुबन्धित भए। उनै डिएच कहनवेलरले ब्राकलाई कवि ग्युलामसँग परिचय गराइदिए । पछि तिनै ग्युलामले उनका साथी पाब्लो पिकासोसँग ब्राकलाई परिचय गराइदिएका थिए।

पाब्लो पिकासोले “अभिगोन” भर्खर सकेका थिए। कानहरले सो चित्र किन्न खोजेका थिए तर पिकासोले बेच्न मानेनन्। पिकासोको यही नै चित्र थियो, जुन ब्राकले पहिलोपल्ट उनको स्टुडियोमा देखेको थिए। सुन्तला र खैरा रङ प्रयोग गरिएको सो चित्रमा पाँच नग्न महिलालाई विभिन्न हाउभाउमा प्रस्तुत गरिएको थियो। सो चित्र हेरेपछि ब्राकको तत्काल प्रतिक्रिया थियो-पेट्रोलियम पदार्थ पिएर आगो उराल्ने अद्भभूत कला’
। धेरैदिनसम्म उनको दिमाग तिरिमिरी भएको थियो ।

यसैगरी ब्राकले “हाउजेज एट एल स्ताक” ज्यामितीय अमूर्त स्थलगत चित्र भर्खर सकेका थिए । उक्त चित्रमा उनले धुमिल रङहरुको प्रयोग र दुरान्तरको पारम्परिक नियमलाई भत्काएका थिए । यसपटक पिकासोको दिमाग हल्लिने पालो थियो। उनी पनि सो चित्र अवलोकन गरेपछि धेरै दिनसम्म तिर्मिराए।

यी दुईको घनिष्ठ मित्रता यही बिन्दुबाट सुरु भएको थियो ।

यसपछि यी दुईको भेटघाट हरेक दिनजसो हुन्थ्यो । हरेक बेलुकी ब्राक पिकासोको स्टुडियोमा पुग्थे । त्यसै गरी पिकासो उनको स्टुडियोमा पुग्थे।

यही मित्रताको परिणामस्वरुप आधुनिक कलाको इतिहासमा नयाँ आयामको शुरुवात भएको थियो । यसले तेस्रो आयामिक कला यानेकी “क्युबिजम” दर्शनलाई जन्म दियो। क्युविजम रुपहरुलाई ज्यामितीय आकारमा ढाल्ने र कुनै पनि वस्तुलाई बहुआयामिक ढंगले पस्कने शैली थियो। जस्ले चित्र हेर्ने पारम्परिक दृष्टिकोणलाई पूरै रुपमा बदलिदियो। अगाडिबाट मात्र देखिने रुप वास्तविक हुँदैन, वास्तविक रुप हेर्न त हरेक कोणबाट अवलोकन गरिनुपर्छ भन्ने दर्शन यस्ले स्थापित गरिदियो।

पिकासो र ब्राकको सम्बन्ध अत्यन्त घनिष्ट थियो तर केही प्रतिस्पर्धा र अन्तहीन यात्रा पनि थियो। यी दुई कलाकारहरू एकअर्काको स्टुडियोमा निरन्तर चुनौती र उत्त्प्रेरणा दिइरहेका थिए र एकअर्कालाई प्रोत्साहित गर्दै एकअर्काको कामको जाँच गरिरहेका थिए।

यी दुई कलाकार यति नजिक भएर काम गरेका थिए कि दुवैको कलाकृति छुट्याउन हम्मेहम्मे पर्थ्यो । यद्यपि यी दुईले फरक सौन्दर्य र पहिचानका लागि प्रयास गरेका थिए। ब्राकले आफ्ना कामलाई आफूजस्तै सन्तुलित राख्ने प्रयास गरेका थिए भने पिकासोले कलाको सन्तुलित नियमलाई पूरै भत्काउने प्रयास गरेका थिए ।

ब्राकको बुबा एक व्यावसायिक चित्रकार र साजसज्जाकार थिए जसले आफ्नो छोराले पनि आफ्नो व्यापार र सीपहरू सिकोस् भन्ने चाहन्थे जबकि पिकासोका बुबा एक प्राज्ञिक चित्रकार थिए, जसले आफ्ना छोरालाई कलाको आधारभूत शिक्षा दिएका थिए।

ब्राक एक अग्लो, व्यवस्थित र सन्तुलित फ्रान्सेली कलाकार थिए। यसविपरीत पिकासो होचा, अहंकारी, स्पेनी थिए, जसले लामो समयसम्म कुनै एक महिला सँगको सम्बन्धमा अडिएनन् न त एक निश्चित चित्रकला शैलीमा नै जमे ।

यद्यपि उनीहरूको भिन्न पृष्ठभूमि र स्वभावका बाबजुद एकअर्कालाई पूरक बनाए र संयुक्त रुपमा क्युबिजम कला शैली र दर्शनको विकास गरे ।

यी दुवै कलाकार पावल सेजान र अफ्रिकी कलाद्वारा प्रभावित भएका थिए।

पावल सेजान खण्डित ठाउँ र अमूर्त ज्यामितीय फर्मको प्रयोग गर्थे भने अफ्रिकी मास्क कलामा मानवका विभिन्न हाउभाउलाई नक्कल उतारिन्थ्यो ।

कलाको आयामलाई पूरै परिवर्तन गरेका यी दुई कलाकारको सम्बन्ध धेरै समय भने रहेन। सन् १९०७ देखि शुरु भएको मित्रता सन् १९१४ मा प्रथम विश्वयुद्ध शुरु भएसँगै दुखद् अन्त्य भयो।

ब्राक फ्रेन्च आर्मीका रिजर्भिस्ट थिए। उनले प्रथम विश्वयुद्ध फ्रन्टलाइनमा लडेका थिए। टाउकामा गम्भीर चोट लागेर महिनौँ अस्पताल बसे उनी । अत्यन्त्यै शिथिल र कमजोर व्यक्तिका रुपमा उनी घर फर्केका थिए।

पिकासो र ब्राकले कहिलेकाहीँ एक अर्काको बारेमा गुप्त टिप्पणी गरे तर एकअर्कालाई चोट पर्ने गरी कहिल्यै टिप्पणी गरेनन् । उनीहरु दुवैको साझा प्रतिबद्धताप्रति सधैँ वफादार रहे।