१. पहिलो लघुकथा

(चामलिङ भाषाको पहिलो लघुकथा)

समय

श्रीराम राई

अरूको कुरा सुनेर नौमतिले आफ्नी सासू नखतेम्माको दुःखमा रमिता हेर्न थालिन् । सासू नखतेम्मा सत्तरी वर्षतिर पाइला टेक्दै थिइन् । धेरैले भन्थे– नखतेम्मा भोग्न जन्मेकी छोरी रैछिन् । कहिल्यै सासै फेर्न पाउँदिनन् । खेपेकी खेप्यै छिन् पीडाहरू ।

नखतेम्माले सकुञ्जेल आफ्नो गाउँ बनाइन् । गाउँले बनाइन् । गर्दागर्दा भोगाइले पाकेकी नखतेम्मा बुहारीहरूको पेट फुल्दै गर्दादेखि नै खूब ख्याल गर्थिन् । न्वारान गर्थिन् र फुलोस् – फलोस् भन्दै आसिक दिन्थिन् ।

अरूलाई तमासा देखाउनु हुँदैन । अर्काले चाटेको आफ्नाले काटेको भन्दै घरपरिवारमा सल्लाहले काम गर्न सुझाव दिन्थिन् । कमाउने छोराहरूबाट बल्लैले पाएको पैसाले घरगाउँका नातिनातिनीहरूलाई फलफूल किनेर दिन्थिन् । यसरी उनी धन नहुनेको मन हुन्छ भनेझैँ माया बाँडिरहन्थिन् सधैँ ।

जन्मघर हुँदा इज्जतमै बसेर तरुनी भइन् । एक मुठी सुठुनीको बेलोमा नबिक्ने घरमा सह भित्र्याइन् । गर्दागर्दै बिहे भयो । जञ्जाले परिवारमा सासूससुरा र अरू सबैको तापमा बुहार्तन खेपिन् र लालाबाला हुर्काइन्।

यतिखेर दमले ओछयानमा छिन् नखतेम्मा । आमाको मर्म बुझ्ने छोरीहरू जुवाइँको घर लागे । बुढेसकालमा सुख दिनुपर्ने छोराहरू आकाशबाट झरेको बर्स्यौलाझैँ गर्न थाले ।

###
(राई जातिहरू भित्रको धेरै उपजातहरूमघ्ये चामलिङ उपजात पनि एक हो । यो उपजात अल्पसंख्यामा रहेता पनि चामलिङहरूको आफ्नै भाषा छ र मौलिकता रहेको छ ।

लघुकथाकार श्रीराम राई चामलिङ हुन् । उनको २०७२ सालमा गोरखापत्रमा चामलिङ भाषामा “डुङ” नामक लघुकथा प्रकाशित भएको पाइन्छ । चामलिङ भाषामा प्रकाशित भएको यो नै पहिलो लघुकथा हो ।
श्रीराम राई क्रियाशील लघुकथाकार हुन् । लघुकथाको फराकिलो फाँटमा लघुकथाकारहरूलाई फलाउन/फुलाउन उनले सत्प्रयासहरू गरिरहेका छन् । लघुकथा समाज, नेपालको खोटाङ शाखा अध्यक्ष श्रीराम राई नागरिक दैनिकसँग पनि सम्बन्धित छन् । उनी ग्रामीण विषय र पीडाबोधका लघुकथाहरू मन छुने पारामा लेख्छन् । पछिल्लो समय “लघुकथा सौन्दर्य” फेसबुक पेजमा पनि उनको क्रियाशीलता देख्न पाइन्छ ।
प्रस्तुत “डुङ” लघुकथा नेपाली भाषामा अनुवाद हुँदा “समय” बनेको छ । कथाले चामलिङ जनजीवनलाई स्पर्श गर्दै बूढेसकालको पीडा, रहर र बाध्यतालाई उजिल्याएको छ ।)

 

२) सक्रियकालीन लघुकथा

सम्झनामा बा

डा. पुष्करराज भट्ट

कुनै समय थियो, उसलाई आफ्ना बा मन पर्दैनथ्यो ।

ऊ आफ्नो कमजोर अवस्था हुनुमा बालाई दोष दिन्थ्यो ।

“बाले मलाई बोर्डिङमा पढाएनन् । मेरो अंग्रेजी कमजोर भयो । मैले सोचे जस्तो प्रगति गर्न सकेन ।”

“बाले इमान्दारी र आदर्शको नाममा आफू पनि विपन्नतामा बाँचे र हामीलाई पनि विपन्न बनाए ।”

“बाले राम्रो घर बनाएनन् ।”

“बाले धेरै धनसम्पति जोडेनन् ।”

“बा जीवनभर धार्मिक संस्थामा लागिरहे, परिवारप्रति कुनै ध्यान दिएनन् ।”

ऊ बाका असफलताका अनेक उदाहरण प्रस्तुत गरिरहन्थ्यो । मानौं बाले नै सबथोक गर्नुपर्दथ्यो र उसले त्यसको उपभोग गर्नुपर्दथ्यो ।

आज उसले हेरिरहेको छ–

“ऊ बाले बनाएको घरमा बसेको छ ।”

“ऊ बाले किनिदिएको लुगा लगाइरहेको छ ।”

“बाले जोडेको अन्नबाट गुजारा चलाइरहेको छ ।”

“उसको विवाह पनि त बा ले गरिदिएका थिए ।”

एक विपन्न परिवारमा जन्मेर सामान्य शिक्षा पाएका बाले उसका लागि के कति गरे ? आज उसलाई अनुभव भइरहेछ । उच्चशिक्षा पाएर पनि बेरोजगार जीवनबाँच्नु कति कष्टकर हुन्छ, बोध गरिरहेछ आज ।

बाको अनुपस्थितिमा धेरै सम्झना आइरहेछ उसलाई ।

उसलाई आजकल बा मन पर्न थालेको छ ।

###
(नेपाली लघुकथा लेखनमा ५० को दशकलाई सक्रियकाल मानिन्छ । यसै सक्रियकालका एक कृयाशील हस्तीको रुपमा लघुकथाकार डाक्टर पुष्करराज भट्टको नाम आउँछ । उनी लघुकथा लेखनको अलावा लघुकथा सम्पादन, लघुकथाको खोज र अनुसन्धानमा पनि सक्रिय छन् । पछिल्ला केही वर्षदेखि नेपाली लघुकथाकारहरूलाई सामाजिक सञ्जालमार्फत एकीकृत गरी लघुकथा लेखनमा थप अभिरुचि जगाउनका लागि “आधुनिक नेपाली लघुकथा” नामक फेसबुक ग्रुप पेज पनि खोलेका छन् ।

डा. पुष्करराज भट्ट नेपाली नेपाली लघुकथामा विद्यावारिधि गर्ने पहिलो व्यक्ति हुन् । नेपाली लघुकथाहरूलाई भारतीय भाषामा अनुवाद गरी नेपाली लघुकथाको भारतीय पाठक बढाउने कामको जश पनि डाक्टर भट्टलाई जानु पर्छ । लघुकथा समाज, नेपालको सक्रिय सदस्य रहेका डाक्टर पुष्करराज भट्ट नेपाली लघुकथाको उन्नयनको लागि निरन्तर समर्पित नाम हो ।

प्रस्तुत लघुकथा “सम्झनामा बा”ले अनुभूतिजञ्य लेखनको धार समातेको छ । यस्तो लेखनलाई “सिमाहीन लेखन” भनिन्छ । नेपाली पाठकहरूले मात्र हैन विश्वका जुनसुकै पाठकहरूले यो कथालाई पढ्दा पनि मेरै कथा भन्ने अनुभूति हुनेछ । यो नै लघुकथाको साँचो सफलता हो ।)

 

३. मलाई मन परेको लघुकथा

मैदान

डा. विदुर चालिसे

–“तपाईं को पर्छ ?”
–“म मै पर्छ !”
–“त्यस्तो भनेको हैन के ?”

युवतीले लाडे पल्टी । उसको मनको अभ्यन्तरको उत्तर आएन । उसले फेरि सोधी ।

–“तपाईं को पर्छ भन्नू न ?”

–“को पर्नु नि अब ! कोपर्दिन भयो !”

जब मनका आकासका वायुहरू छचल्किएर तितरवितर भयो तब स्वप्नील जीवनले उनीहरूलाई हाँक दिन थाल्यो ।

–“प्रेम युध्द हो !”

परस्पर रहेका विचारहरू थिए । जहर पग्लिरहेको थियो । रहर उम्लिरहेको थियो । युवतीले छटपटाएर भनी ।

–“लडाईं सुरू गर्न सजिलो छ तर अन्त्य गर्न गाह्रो !”

युवतीको नशा-नशामा फैलिएका चुम्बकीय तरङ्गमा कठोरतम ताना थियो । युवकको नशामा विकर्षणको पोयो । उसले कथा सुनाउँथ्यो ।

–“लडाईं सुरू गर्न गाह्रो तर अन्त्य गर्न सजिलो ।”

एकदिन अदालत परिसरमा हात हालाहाल भयो । भए जति सरम निख्रियो । उनीहरूले एकले अर्कालाई दोष लगाएर भने ।

–“को पर्दोरहेछ बुझिस् ?”

–“बुझेँ, आफैँ कोपर्दोरहेछ !”

###
(डाक्टर विदुर चालिसे नेपाली साहित्यको विविध विधामा कलम चलाउने स्रष्टा हुन् । प्रखर वक्ता र खरा समालोचक डाक्टर चालिसे लघुकथा लेखनमा विविध विषय र अनेक प्रस्तुतिहरूलाई सजाउँछन् । त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापक रहेका उनी निरन्तर लेखनमा सक्रिय छन् ।

प्रस्तुत लघुकथा “मैदान” अनेक पटक सुनेको, देखेको र पढेको विषय हुँदाहुँदै पनि कथाकारले शब्द र प्रस्तुतिमा बेजोड तालमेल मिलाउँदा कथा आरम्भदेखि नै अनौठो बनेको छ । चुड्किलाबाट परै बसेर पनि यो लघुकथाले हरेक पाठकलाई अन्त्यमा हाँस्न बाध्य बनाएछ । हाँसो नै यो लघुकथाको मुख्य सौन्दर्य हो ।)