अहिले मामाघर टाढाजस्तो लाग्छ । उहिले नजिकै लाग्थ्यो । बाटोघाटो, पुलपुलेसा केही नबन्दा र पैदल यात्राको विकल्प नहुँदा पनि मामाघर टाढा थिएन । अहिले दुई÷चार वर्षमा गइने मामाघर उतिबेला वर्षमै कैयौँपटक गइन्थ्यो ।
कुनैबेला एकमात्र जाने ठाउँ थियो मामाघर । चाड–पर्व, पूजा–आजा, बिहे–बटुलो मात्र होइन, स्कुलका दुई÷चार दिनका छुट्टीसमेत मामाघरमै बित्थे ।

धेरैसँग मामाघरका अनेकौँ संस्मरण होलान् । मेरा पनि मामाघरका थुप्रै संस्मरण छन् । तिनैमध्ये एउटा बाल्यकालीन संस्मरण हो यो ।

जेठको महिना । स्कुल एक हप्ताका लागि बिदा थियो । एक हप्ता लामो बिदा भनेको मामाघरका लागि बाटो खुल्नु हो ।

‘आमा ! बिदामा म मामाकाँ जान्चु,’ मैले स्कुल बिदाको दोस्रो दिन आमासँग भने । ‘बिदाका बेलाँ यसो हाम्लाई हातेसारो अर्ला भनेको यो त मामाकाँ जान्चु पो भन्च,’ आमाले भन्नुभयो, ‘म त केई जान्दिनँ, तेरा बालाई सोध ।’

भान्छामा भएका आमाछोराका गफ उतापट्टिको कोठामा बा सुनिरहनुभएको रहेछ । ‘जान्च भने जान दे न त,’ बाले भन्नुभयो, ‘दुई÷चार दिन मामाकाँ बसेर आउँच ।’

‘अँ.., बर्खा आउनलायो,’ आमा कराउनुभयो, ‘यल्लाई पु¥याउन को जानी, फेरि लिन को जानी ?’

म एक्लै मामाघर जान–आउन सक्दिनथँे । दश वर्षको थिएँ । कक्षा पाँचमा पढ्थेँ । मामाघर जान जङ्गलको बाटो बाह्र÷पन्ध्र किलोमिटरजति पैदल यात्रा गर्नुपथ्र्यो ।

मेरो मामाघर यात्रा रहर मात्र हुनेभो ।

सनत सापकोटा

भोलिपल्ट बिहान माइला अंकल ‘टिरिङ–टिरिङ’ साइकलको घन्टी बजाउँदै हाम्रो घर आउनुभयो । अंकलले नयाँ कपडा र जुत्ता लगाउनुभएको थियो । सामान्यतया घर बस्दा वा गाउँघरमा डुल्दा लगाउने लुगाभन्दा फरक ।
‘टाढैको साइत हो कि क्या हो बाबू,’ं आमाले अंकलको पहिरन देखेर सोध्नुभयो । ‘अँ, तमौलीपुरतिर हिनेको,’ अंकलले भन्नुभयो, ‘स्यानो काम प¥यो ।’

सुनेर मेरा कान ठाडा भए । भित्र थिएँ, बाहिर आएँ ।

‘यो पनि मामाकाँ जान्चु भनेर हत्ते ग¥यो छ,’ आमाले मतिर हेर्दै भन्नुभयो, ‘तपैँ उतै जानिभ’सी यल्लाई नि लैदिनोस् ।’ मेरो मावली र अंकलको ससुराली एउटै गाउँमा पथ्र्यो, दुई÷चार घर वरपर ।

‘यस्तै तालले मामाकाँ जानिहोस् ?’ अंकलले मलाई जिस्काउनुभयो, ‘अनि तँलाई कल्ले ल्याइदिन्च नि ! म त आजै फर्किनी हुम् ।’ मेरो अनुहार लत्रियो ।

‘लैदिनोस् केरे,’ आमाले भन्नुभयो, ‘फर्किनी बेलाँ उता’ट कसैसँ पठाउलान् नि !’ आमाले त्यसो भनेपछि म ढुक्क भएँ ।
‘त्यसो भए छिटो कपडा ला,’ अंकल मतिर फर्किनुभयो, ‘फेरि मलाई फर्किन ढिलो हुन्च ।’

‘यस्तो राउसे र फाउसे छ,’ आमाले भन्नुभयो, ‘जा धाराँ ग’र राम्रोसँ हातमुख धोर आइजा ।’

मैले धारामा गएर मिचिमिची हातगोडा धोएँ ।

आमाले मेरा कपडा निकालिदिनुभयो । मैले हतार–हतार कपडा लगाएँ । म अंकलसँग साइकलको क्यारिअरमा बसेर मामाघरतिर लागेँ ।

हामी मामाघर पुग्दा खाना खाने बेला भइसकेको थियो । एकछिन माामा–माइजू र अंकलबीच कुशलक्षम भए । अंकल मलाई मेरो मामाघर छोडेर आफ्नो ससुराली फर्किनुभयो ।

मामाघरमा एक हप्ता बितेको पत्तै भएन । आज–आज, भोलि–भोलि गर्दागर्दै उता मेरो स्कुल पनि सुरु भयो । यता मलाई पु¥याइदिने फुर्सद मामाहरूलाई भएन ।

‘अब पख भान्जा,’ माइला मामाले एउटा जुक्ति निकाल्नुभयो, ‘भोलि शनिबार छ । तिम्रो गाउँतिरका मान्छे ’नि शनिबार बलैबजार आउँचन्, तिनोरुसँ तिम्लाई पठाइदिम्ला ।’

हुन पनि हाम्रातिरका अधिकांश मानिसको स्थानीय बजारजस्तै थियो भारतीय बजार बलैगाउँ । प्रत्येक हप्ताको शनिबार र मंगलबार बलैगाउँमा हाट लाग्थ्यो ।

नुन, तेल, चिनी, चियापत्ति, साबुन सरफजस्ता अत्यावश्य घरायसी सामान केही सस्तोमा यो बजारमा पाइन्थ्यो । मान्छेहरू दुई पैसा सस्तोका कारण टाढा–टाढादेखि यो बजार आउँथे ।

भोलिपल्ट बिहान अलि चाँडै गरेर माइजूले भात पकाउनुभयो । भात खाएर मामा र म बलैबजारतिर लाग्यौँ । बाटामा मामाका चिनारुहरू भेटिन्थे । मामा कसैसँग हिँड्दाहिँड्दै, कसैसँग साइकल रोकेरै गफिनुहुन्थ्यो । मलाई भने कतिबेला बलैगाउँ पुगौँ भन्ने छटपटी भइरहेको थियो ।

हामी बलैबजार पुग्यौँ । बजार पनि के भन्ने ! साना–साना झुप्रा । तिनै झुप्राका अगाडि बाटोमै हाट लाग्थ्यो । सिमानाको गाउँ भएकाले त्यसले बजारको रूप लिएको थियो ।

मामा र म बजारको एउटा लाइनबाट छि¥यौँं । ‘भान्जा हेर्दै अर है, तिम्ले चिनेका कोई मान्छे देखिन्चन् कि,’ मामाले साइकल चलाउँदै मसँग भन्नुभयो, ‘तिम्रोतिरका मान्छे मैले चिन्न सक्दिनँ ।’ म चनाखो भएर दायाँ–बायाँ हेरिरहेको थिएँ ।

हामी त्यो लाइनको पुछारसम्म पुग्यौँ । तर चिनेका कोही देखिएनन् । साइकल रोकेर मामाले एउटा चुुरोट सल्काउनुभयो । ‘भान्जा के खान्चौ ?’ मामाले सोध्नुभयो ।

मलाई केही खान मन थिएन । ‘केई खान्नँ,’ मैले भनेँ । एकछिन हामी त्यहीँ अल्मलियौँ । यताउता हे¥यौँ । बजारमा अघिपछिजस्तो खासै चहलपहल पनि थिएन ।

हामी जहाँ कुर्दै थियौँ त्यो बजारबाट हाम्रो गाउँतिर फर्किने एकमात्र नाका थियो । समय अझै बाँकी रहेकाले बजार गर्न आएकाहरू फर्किने बेला हँुदै थियो ।

‘बजारतिर पो छन् कि,’ मामाले चुरोटको ठुटो निभाउँदै भन्नुभयो, ‘हिँड एकफेर बजारतिर जाम् ।’ हामी अर्को लाइनबाट फेरि फर्कियौँ । बजार जम्मा दुईलैनी थियो ।

म दायाँ–बायाँका पसलमा चनाखा आँखाले हेरिरहेको थिएँ । तर मेरो गाउँका त छोडौँ मैले चिनेका वल्लो–पल्लो गाउँका मानिससमेत कोही देखापरिरहेका थिएनन् ।

मामाले र मैले साइकलमा दुवै लाइनबाट चार÷पाँच चक्कर ओहोर–दोहोर ग¥यौँ । ‘खोइ आज कोई भेटिएलानजस्तो छैन,’ मामाले ओठ लेप्र्याउँदै भन्नुभयो । म केही बोलिनँ । मलाई स्कुल छुटेकोमा चिन्ता लागिरहेको थियो ।
हामी निराश भयौँ । अब त बजारको चक्कर काट्दाकाट्दै थाकिसकेका थियौँ ।

हामी फेरि अघिकै ठाउँ (बजारको पुछार)तिर आयौँ । मामाले एउटा चिया पसलअगाडि साइकल रोक्नुभयो । ‘भान्जा केई खान्चौ ?’ मामाले फेरि सोध्नुभयो, ‘अब त भोक पनि लायो होला ।’

मामाले फेरि चुरोट सल्काउनुभयो । र, दुई कप चिया अर्डर गर्नुभयो । पसले बाहिर ठूलो कराहीमा समोसा तार्दै थियो । ‘समोसा खान्चौ ?’ मामाले मतिर फर्केर भन्नुभयो । मलाई पनि तात्तातो समोसा देख्दा खाउँखाउँ लाग्यो । ‘हुन्च,’ मैले भनेँ ।

मामाले एक प्लेट छोला समोसा अर्डर गर्नुभयो । हामी पसल अगाडि राखेको बेन्चमा बसेर बजारतिर आउने–जाने मान्छेका अनुहार हेरिरहेका थियौँ । चिनेका अनुहार कुनै देखिँदैनथे ।

दिउँसोको २ बज्न थालिसकेको थियो । ‘आज तिम्रोतिरका मान्छे बलैबजार आएनन् कि क्या हो,’ मामाको स्वर सुकेको थियो, ‘कोई देखिन्नन् त ।’

बजारतिरबाट तीन जना मान्छे हामी बसिरहेको पसलछेउ आए । तीन जनामा एक जना महिला थिइन् । उनीहरूले टाउकोमा नाम्लो लाएर भारी बोकेझैं एक÷एकवटा झोला बोकेका थिए ।

त्यही पसलमा आएर तिनीहरूले खाजा अर्डर गरे । मामा उनीहरूलाई ध्यानपूर्वक हेरी÷सुनिरहनुभएको थियो । ‘दाइहरू काँसम्म जानी हो ?’ मामाले उनीहरूसँग सोध्नुभयो । उनीहरूले मामातिर पुलुक्क हेरे ।

‘ककौरासम्म जान पर्नी….,’ जवाफ महिलाचाहिँले दिइन् । वाक्य पूरा नगरी उनले पनि मामाको मुखतिर हेरिन् ।

तिनै जना पाका उमेरका थिए । तीमध्ये एक जना अझ बूढा थिए । मामा उनीहरूसँग कुरा गर्न थाल्नुभयो ।

पहाडघरदेखिका कुरा भए । उनीहरू पनि हाम्रै पहाडतिरका मान्छे रहेछन् ।

‘भान्जालाई माछागढसँ पठाउन पर्नी,’ मामाले भन्नुभयो, ‘त्यतातिरका कोई मान्छे आज भेटिएनन् ।’

‘ए… हामी त ककौरा जानी हुम्,’ उनीमध्ये सबैभन्दा पाका उमेरका मानिसले भने, ‘माछागढ ककौरा’ट त्यति टाढा त होइन ।’ उनले मतिर फर्किदै सोधे, ‘बाबू ककौरा’ट माछागढ जान सक्नुहुन्च त ?’ हजुरबा उमेरका उनले मलाई ‘तपाईं’ भनेको सुनेर मलाई लाज लाग्यो ।

‘सक्चु,’ मैले भनेँ । मलाई अब घर पुग्न हतार भइरहेको थियो ।

‘ककौरा स्कुलदेखि कतापट्टि ?’ मैले उत्सुकता देखाएँ । ‘ककौरा स्कुलनिरै हो,’ बूढाले भने, ‘बाबूलाई ककौरा स्कुल था’छ ?’

ककौरा स्कुल मेरा लागि नौलो थिएन । कान्छा र काइँला अंकल ककौरा स्कुलमै पढ्थे । म उनीहरूसँग दुई÷तीनपल्ट ककौरा स्कुल गएको थिएँ । अर्को वर्षदेखि मलाई पनि पढ्न त्यहीँ जानु थियो ।

ककौरा स्कुलबाट घर जाने बाटो मलाई राम्रै थाहा थियो । ककौराबाट त साँझ परे पनि घर पुग्न सक्छु भन्ने हिम्मत थियो किनकि त्यो बाटोमा खासै जङ्गल पर्दैनथ्यो ।

‘ए… त्यसो भा त बाबू गइहाल्नुन्च नि,’ बूढाले भने, ‘ककौरासँ हाम्ले लैदिन्चम् ।’

‘ककौरा’ट घर जान सक्चौ त भान्जा ?’ मामाले मसँग सोध्नुभो, ‘सक्तैनौ भने बस, एक÷दुई दिनपछि पु¥याइदिम्ला ।’

‘सक्चु, सक्चु,’ मैले भनेँ, ‘मलाई बाटो था’छ ।’

उनीहरू खाजा भ्याएर हिँड्ने तरखरमा लागे । मलाई मामाले निमकिन र तात्तातो जुलेबी किनिदिनुभयो । खल्तीबाट दुई रुपियाँको नोट झिकेर मलाई दिँदै भन्नुभयो, ‘लौ यो राख ।’

‘ल त नि भान्जालाई राम्रोसँ पु¥याइदिनुहोला,’ मामाले मेरो टाउको मुसार्दै भन्नुभयो, ‘ल भान्जा जाउ है त ।’

दिउँसोको साढे दुई बजे हामी बाटो लाग्यौँ । उनीहरू अघिअघि, म पछिपछि । अल्लि पर पुगेर मैले पछाडि फर्किएर हेरेँ, मामा त्यहीँ उभिएर हामीतिरै हेरिरहनुभएको थियो ।

बाटोमा खेतैखेतको लामो फाँट थियो । उनीहरू आपसमा गफ गरिरहेका थिए । म भने चुपचाप उनीहरूका पछि हिँडिरहेको थिए ।

‘ककौरासम्म पुग्न बढीमा तीन घन्टा, ककौराबाट घर पुग्न एक घन्टा,’ म मनमनमा समयको हिसाब निकालिरहेको थिएँ,

‘साढे ६ या ७ बजेसम्म त म घर पुगिहाल्छु ।’ लामा दिन थिए । साढे ७ बजेसम्म उज्यालै हुन्थ्यो ।

हामीले फाँट पार ग¥यौँ । एउटा सानो गाउँ आयो ।

ती बूढाचाहिँ मामा र अर्का अधबैंसे पुरुष भान्जा रहेछन् । उनीहरूका कुरा खुब मिल्थे । ‘मामा एकछिन थकइ मार्नी हो कि !’ अधबंैसे पुरुषले भने । ‘थकइ मार्नी ठाम छ कि छैन !’ मामाले भने ।

‘अब केको थकइ मार्नी हो !’ महिला च्याठ्ठिएझैं बोलिन् । ‘एकैछिन… !’ भन्दै मामा–भान्जा गाउँको एउटा घरभित्र पसे । ती महिला र म बाटामै कुरेर बस्यौँ ।

करिब २० मिनेटजति पछि मामा–भान्जा निस्किए । ‘अब कतै थकइ–सकइ मार्नी होइन,’ ती महिला बोलिन, ‘अब खुरुखुरु हिँड्नी, नत्र बाबूलाई ढिलो हुन्च ।’

महिलालाई अधबैंसे पुरुष फुपू भन्थे भने बूढालाई ती महिला दाइ भन्थिन् । त्यो कस्तो नातो थियो मैले केही मेसो पाइनँ ।

‘बाबू के थरी पर्नुभो,’ बूढाले मसँग सोधे । बूढा मलाई अझै ‘तपाईं’ नै लगाइरहेका थिए । ‘सापकोटा.,’ मैले भनें ।

मसँग उनीहरूको कुरा कमै हुन्थ्यो । सोधेको कुरा जवाफ दिन्थेँ नत्र लुरुलुरु उनीहरूका पछि हिँड्थें । उनीहरू भने आपसमा निकै बात मारिरहेका थिए । उनीहरूका खट्टुा कम, मुख बढी चलिरहेका थिए ।

आफूलाई भने खट्टुा छिटो चालिदिए हुन्थ्यो जस्तो लागिरहेको थियो ।

हामी मैनापोखर पुग्यौँ । खलवा गाउँ पुगेपछि मामा–भान्जा पल्याकपुलुक यताउता हेर्दै हिँडिरहेका थिए । हुलाकी सडक पार गरेर उचवा गाउँ पस्नेबित्तिकै मामाचाहिँले मुख खोले, ‘भान्जा बेस्सरी थाकियो । एकछिन थकइ मार्न प¥यो ।’

थारू गाउँ सुरु हुनेबित्तिकै मामा–भान्जा घरी वल्लो घर पस्थे, घरी पल्लो घर । एउटा थारूको घरको आँगनमा तिनीहरूले झोला बिसाए ।

‘बाबू पनि थाक्नु भ’होला, एकछिन बिसाइ मार्नोस्,’ बूढाले भने, ‘हामी यसो अलिकति खाजा खान्चम् ।’ फुपूले आँखा तरिन् । मामा–भान्जा घरभित्र पसे ।

हामी बाहिर कुरिरह्यौँ । घाम पश्चिमतिर ओरालो झर्दै थिए । निकैबेर भइसकेको थियो । भान्जाचाहिँ बाहिर निस्के । ‘कत्ति बेर ला’को ?’ उनलाई देखेर फुपू कराइन् । ‘ल ल फुपू अब एकैछिन,’ भन्दै उनी घरपछाडि गए ।

निस्के भन्ठानेको त उनी पिसाब फेर्न पो निस्केका रहेछन् । फेरि भित्रै पसे । ‘बाबूलाई ढिलो हुनीभओ,’ उनले भनिन्, ‘यस्ता विभरका मुन्छेका पछिलार के हुन्तो ।’

निकैबेरपछि दुवैजना बाहिर निस्किए । दुवै जनाका खुट्टा ठाउँमा टेकिरहेका थिएनन् । ‘ल अब जाम् जाम्,’ मामाचाहिँले भने, ‘फेरि ढिलो हुन्च ।’ उनको बोली पनि लरबरिएको थियो ।

‘अँ, बल्ल बेला याद आयो,’ फुपूले व्यंग्य कसिन् ।

मलाई अब अत्यास लाग्न थालेको थियो । बेलामा घर पुगिँदैन भन्ने कुराले मन पोेलिरहेको थियो ।

हामी हिँड्यौँ । तर, हिँडाइ पहिलाको भन्दा पनि सुस्त हुन थाल्यो । एकछिन हिँड्थे, एउटाले उछिन्थ्यो अनि अघिल्लोले पछि परेकोलाई कुथ्र्यो । फेरि हिँड्थे फेरि त्यही ताल ।

बल्लबल्ल दमौली पुग्यौँ । घाम राता–राता हुन थालिसकेका थिए । मामा–भान्जा फेरि खस्याकखुसुक गर्न थाले । फुपू कराइन्, ‘आज तिमोरु घर जानी होइन ? बाबूलाई ह्वाँ काँ पुग्न पर्नी छ ।’

मलाई अब रिस उठ्न थालेको थियो । तर उठेर के गर्नु । चुपचाप उनीहरूका चर्तिकला हेर्नुबाहेक म के नै गर्न सक्थेँ र !
‘नआत्तिनोस् बाबू पुइन्च,’ बूढाले मलाई सान्त्वना दिए । उनीहरू फेरि एउटा घरको पिँढीमा बसे ।

अब मलाई के गर्ने भन्ने चिन्ताले सताउन थाल्यो । अब ककौरा पुगेर ककौराबाट घर जानु मेरा लागि सम्भव थिएन ।
साँझ पर्न थालिसकेको थियो ।

‘हेइँ यसबेला भइसक्यो,’ रुन्चे आवाजमा मैले भनेँ, ‘अब म घर कसरी जानी !’

‘चिन्ता नलिनोस् बाबू,’ बूढाले लर्बरिएको आवाजमा सोधे, ‘ककौरामा कोही तपैँका आफन्त छन् ?’ ककौरामा हाम्रा कोही आफन्त थिएनन् । ‘छैनन्,’ मेरो बोली बसेको थियो ।

‘आजको रात हाम्रै घर बस्न हुन्त्यो,’ उनले भने, ‘तर हामी तल्लो जातका परेम् । जानीजानी पाप के बोक्नु । बाबूलाई अब के ख्वाउनी, काँ सुताउनी होला त !’

एकछिन उनी चुपचाप हिँडे । अब मलाई माछागढ पु¥याउनु सम्भव छैन भन्ने कुरामा उनी पनि ढुक्क थिए ।

‘ककौरामा तपैँले कसैलाई चिन्नुभ’छ,’ उनले सोधे । मैले सम्झिने कोसिस गरेँ । ‘पुण्यप्रसाद सरलाई चिन्छु,’ मैले भनेँ ।

अंकलहरूसँग ककौरा स्कुल जाँदा पुण्य सरलाई मैले देखेको थिएँ । नाम पनि सुनिरहेको थिएँ ।

‘ए त्यसो भा आजको रात बाबू त्यैँ बस्नोस्, भोलि ब्यानै जानुहोला,’ उनले भने, ‘हाम्रो घरनिरै हो, बाबूलाई म पु¥याइदिन्चु ।’

‘नमस्कार ! यो रेडियो नेपाल हो । अहिले बेलुकीको ७ बजेको छ । अब प्रवीण गिरीबाट समाचार सुन्नुहोस्,’ दमौली गाउँको पुछारतिर पुग्दा बाटाछेउको एउटा घरमा रेडियो बजिरहेको थियो ।

एकातिर रक्सीको ताल अर्कोतिर लामो बाटोको हिँडाइले होला उनीहरूको हिँडाइ झन्–झन् सुस्त हुँदै गएको थियो । उनीहरूले बोकेका झोला पनि गहु्रंगै थिए ।

ककौरा गाउँ पुग्दा करिब साढे ८ भइसकेको थियो । ‘ल म बाबूलाई पु¥यार आउँचु तिमेरु घरतिर जाँदै गर,’ बूढाले मतिर हेरेर भने, ‘ल डिन्नोस् बाबू ।’

‘बज्यै ! ए बज्यै !!,’ बूढा तगाराबाटै कराए, ‘घराँ को हुनुहुन्च ?’

‘को हो ?,’ एकजना अधबैँसे महिला पानस बत्ती बोकेर ढोका बाहिर आइन् । ‘म क्या म, पल्लो घरको मास्टर,’ बूढाले भने, ‘सर घर हुनुन्न ?’ मास्टर त मास्टर, उनी लुगा सिउने मास्टर रहेछन् ।

उनले सबै बेलिबिस्तार लगाए । म चुपचाप उनीसँगै उभिएको थिएँ । ‘एकछिनमा पुण्य सर पनि बाहिर आए । मैले दुवै हात जोडेर नमस्कार गरेँ ।

आँगनमा भएका कुरा पुण्य सरले भित्रैबाट सुनिरहेका रहेछन् । ‘अनि माछागढ बाबू कसका छोरा नि,’ उनले सोधे । ‘टीकाराम सापकोटा..,’ मैले भनेँ । उनले बालाई नचिन्ने कुरै थिएन ।

‘बाबू भोकाए होलान्,’ घरबेटी महिलाले भनिन्, ‘हामीले त भात खाइवरी जुठोभाँडो नि अरिसकेम् । अब सुत्न ला’थेम ।’
बूूढा मलाई त्यहीँ छोडेर घरतिर हिँडे । म उनीहरूका पछिपछि घरभित्र पसेँ ।

‘भोक त ला छैन, बरु…,’ मैले वाक्य पूरा गर्न सकिनँ । मलाई साँच्चै भोक थिएन । बरु थकाइले म चूर भएको थिएँ । ओछ्यान देखाइदिए म घुप्लुक्क सुत्ने थिएँ ।

‘त्यसो भनेर काँ हुन्च,’ उनले भनिन्, ‘यस्तो बालखा मुन्छे, रातिमा भोकै सुत्न हुन्च !’ उनले भित्रबाट एउटा कटौरामा दही र च्यूरा ल्याइन् । ‘लौ यति खाउ अनि सुतौला,’ उनले भनिन् ।

मैले दही–च्यूरा खाउन्जेल उनले मेरो घर, परिवार, पढाइ इत्यादिका बारेमा जिज्ञासा राखिन् ।

खाइसकेपछि उनले मलाई आँटी (कच्ची घरको माथिल्लो तलो)मा लिएर गइन् । ‘ल बाबू यै खाटमा सुत,’ उनले एउटा खाटतिर औँल्याउँदै भनिन्, ‘डराउन त डराउँदैनौ ? नडराई सुत, हामी तल छम् ।’ उनी काठको लिस्नो झरेर तल ओर्लिन् ।

खाटमा झुल टाँगेको थियो । बिस्तारा पनि हाम्रो घरका भन्दा राम्रै थिए । सोचेँ ‘थकइ पनि ला’छ, आज निन्द्रा राम्रो पर्नी भओ ।’

म कपडा–सपडा नखोली त्यत्तिकै खाटमा पल्टिएँ । एकछिनसम्म म सोचमा परेँ । घर सम्झेँ, मामाघर सम्झे र सम्झे दिउँसोका सारा घटना । सोच्दासोच्दै मेरा आँखा लोलाउन थालेछन् ।

यत्तिकैमा मेरो पिठ्युँमा केहीले छुस्स घोचेजस्तो लाग्यो । कोल्टे फर्किएँ । एकछिपछि फेरि दुई÷तीन ठाउँमा अघिकै जस्तो घोचाइ महसुस भयो । मैले सोचेँ– ‘शरीरका घमौरा चर्केका होलान् ।’

ठाउँ सरेर कोल्टो फेरेँ । फेरि उही ताल । बिस्तारामा केही रहेछ कि भनेर हातले छामछुम पारेँ । केही भेटिएन । उठेर हेर्नलाई अँध्यारो थियो ।

फेरि अर्को कोल्टो फर्किएँ । करिब ३०÷४० सेकेन्डजति आराम हुन्थ्यो । फेरि बिस्तारामा टाँसिएको शरीरको भागमा च्वास्स–च्वास्स घोच्थ्यो, केहीले टोकेजस्तो । म हैरान भएँ ।

यसपटक उठेरै तन्नाको चारैतिर हात घुमाएर छामेँ । एउटा सानो जुम्राजस्तो किरा मेरो हातमा प¥यो । ला ! बिस्तारामा त उडुस पो रहेछन् ।

म रातभरि घरी यो कोल्टो घरी ऊ कोल्टो, घरी घोप्टो घरी उत्तानो गरिरहेँ । निद्रा त कता हरायो कता । जति रात छिप्पिँदै थियो उति मेरो छटपटी पनि बढ्दै थियो ।

म कोल्टो फेर्दा आँटीमा घद्र्याकघुद्रुक आवाज निस्किन्थ्यो । रातिमा आँटीबाट यस्तो आवाज निस्किँदा तलकालाई ‘टिस्टर्ब’ हुन्थ्यो । अर्कोतिर मेरो मनमा– यति राति घद्र्याकघुद््रक गर्दा घरका मान्छेले मलाई चोर पो सम्झन्छन् कि भन्ने चिन्ता थपियो ।

अति भएपछि म उठेर बसेँ । बस्दा पनि उडुसले चाकमा डस्थे । केही उपाय नभएपछि म खाटबाट भुइँमा झरेँ । भुइँमा पनि मच्छडको सास्ती ! केही सीप लागेन ।

मान्छेले घरमा बास दिए पनि उडुस र मच्छडले मलाई बास दिएनन् । रातभरि मेरा आँखा टालिन पाएनन् ।
भाले बास्न थाले । केही समय मच्छडलाई टोकाएर भए पनि म भुइँमै बसँे ।

निकैबेरपछि तल ढोका खोलेको आवाज सुनियो । घरकी बूढीमाउ उठिछन् । मिर्मिरे उज्यालो पनि हुन थालिसकेको रहेछ । म पनि तल झरेँ ।

‘ए.. बाबू कति चाँडै बिउँझियौ त नि,’ बूढीमाउले भनिन् । मलाई के भनौँ के भनौँ भयो । मेरो मुखबाट निस्कियो, ‘आज अलि नराम्रो सपना देखँे, त्यसैले चाँडै बिउँझिएँ ।’

म उनलाई कसरी भनुँ– तपाईंको घरका उडुस र मच्छडले रातभरि सुत्नै दिएनन् । निदाउँदै ननिदाएपछि कसरी बिउँझिनु !

घरका अरू मान्छे उठेकै थिएनन् । म उनीसँग बिदा मागेर घरतिरको बाटो लागेँ ।