इटालेली भाषाका पिता तथा डिभाइन कमेडीका सर्जक कवि दाँते एलिघिएरीलाई निन्दाभन्दा माथि राखिन्छ । तर १४ औँ शताब्दीमा एक समय यस्तो पनि थियो, जुन बेला दाँतेले दुई दशकसम्म राजनीतिक कोपभाजन सहनु परेको थियो । जसका कारण उनी देश निकालामा मात्र परेका थिएनन्, उनको नाममा मृत्युदण्डसमेत घोषित गरिएको थियो ।
यस घटनाको सात सय वर्षपछि दाँतेका सन्ततिमध्ये एक देश निकाला घोषणा फुकुवा गर्नुपर्ने माग गरेका छन् । त्यो बेलाको फ्लोरेन्स एउटा स्वतन्त्र राज्य थियो । फ्लोरेन्समा राजनीतिक प्रतिद्वन्द्विताका कारण अप्ठेरो झेलेका उनलाई फ्लोरेन्सबाट निकाला गर्नुका साथै उनलाई मृत्युदण्ड घोषित गरिएको थियो । उनका सन्ततिमध्ये एक यतिबेला फ्लोरेन्सका प्रभावशाली वकिल बन्न पुगेका छन् । आफूले आफ्ना पुर्खालाई त्यो बेलाको अप्ठेरो फुकाउन उनको निधनको सात सय वर्षपछि प्रयास थालेका छन् ।
दाँते सन् १३०२ मा फ्लोरेन्सको नगरराज्यमा रहँदाका बेला वेश्यावृत्तिलाई बढावा दिएको, ठगी गरेको तथा जबरजस्ती असुली, पेडेस्ट्री (पान्डित्य) गरेको तथा आर्थिक घोटाला गरेको आरोप लगाइएको थियो । यी सबैका बीच उनलाई त्यो बेलाको महँगो बिगो दाबी गरिएको थियो भने ५ हजार फ्लोरिन (मुद्रा) तिराइएको थियो । यति मात्र होइन, उनलाई कुनै पनि सार्वजनिक पदका लागि प्रतिबन्ध लगाइएको थियो भने फ्लोरेन्सका सेनाले फेला पारे ज्यूँदै जलाइदिने धम्कीसमेत दिइएको थियो ।
‘जति पनि उनीमाथि आरोप लगाइएका थिए ती सबै राजनीतिक इबी साँध्न लगाइएका थिए,’ स्पेरेलो डि सरेगो एलिघिएरीले भनेका छन्, ‘मेरा प्यारा पुर्खा दाँतेमाथि ठूलो अन्याय भएको थियो । त्यो आरोपबाट यत्तिका वर्षमा पनि मुक्त गराइएको छैन । कानुनले यदि स्वीकृति दिन्छ भने उनीमाथि लगाइएका आरोपलाई खारेज गर्ने बाटो दिइयोस् भन्न चाहन्छु ।’
खगोल वैज्ञानिक समेत रहेका दाँतेलाई उनका आरोपबाट मुक्त गर्नका लागि के गर्न सकिन्छ भनी अर्का कानुनका प्राध्यापक एलेसान्द्रो ट्राभेर्सीले समेत भूमिका खेलिरहेका छन् । उनी भन्छन्, ‘दाँतेमाथि लगाइएका आरोपमा वास्तविकता पनि थियो कि राजनीतिक तिक्तताको परिणति थियो भन्ने अध्ययन जरूरी छ । त्यो बेला पनि कानुन किन्न सकिन्थ्यो र त्यसैले शिकार भएका हुन सक्छन् ।’
यता वरिष्ठ पत्रकार एल्डो काजुलो भने दाँतेजस्ता भाषा पिताका लागि तिनका दरसन्तानले यति दुःख गरिरहन नपर्ने बताउँछन् । ‘यो सबै चर्चामा आउने फन्डा मात्र हो,’ काजुलो भन्छन्, ‘उनी हाम्रा राष्ट्रपिता हुन्, उनका निजी पुर्खा मात्र होइनन् । उनैका कारण हामीले इटालेली भाषा पायौँ, इटालेली हुनुको गर्व पायौँ । त्यसैले उनका बारेमा चिन्ता गर्न सारा जनता छन् ।’
सन् १२६५ मा फ्लोरेन्समा जन्मिएका दाँते १३२१ मा राभेन्नामा निधन भएको थियो । उनको निधनको ७०० औँ स्मृति दिवस यस वर्ष धुमधामका साथ मनाइने सम्भावना छ । उनले लेखेको डिभाइन कमेडी कविताका कारण संसारभर नरकको यात्रालाई लोकप्रिय बनाउन भूमिका खेलेको थियो । नैतिक न्याय कस्तो हुनुपर्छ भनी उनले स्थापना गरेका थिए तर उनी नै अनैतिकताका अनेकन् आरोपमा मुछिन पुगे ।
दाँतेको जीवनीकार तथा इतिहासकार एलेसान्द्रो बार्बेरो भन्छन्, ‘दाँतेको जीवन सम्झौता र विवादको मिलिजुली रूप हो । उनले यति विवाद कमाए कि त्यसलाई सहज बनाउन कयौँ सम्झौता गर्नुपर्यो । उनले कयौँ गलत क्रियाकलापलाई छोप्न अनेकन् हत्कण्डा अपनाए । र, उनले जे छोपछाप पारे, त्यही नै उनको जीवन हो भन्नेमा विश्वास गरिरहे ।’
जीवनीकार बार्बेरो भन्छन्, ‘उनी धनी परिवारमा जन्मिएका थिए । उनले आफूलाई महान् बनाउनका लागि राजनीतिमा घुस्रिएनन् । तर त्यो बेला आफ्नो प्रभाव बढाउनका लागि आफ्ना मान्छे ठीक ठाउँमा राख्ने चलन थियो । कतिपय अवस्थामा तिनले समेत उनलाई धोका दिएका छन् ।’
रोचक त के छ भने दाँतेलाई देश निकालामा पार्ने त्यो बेलाको फ्लोरेन्सका अधिकारी कान्टे डि ग्याब्रिएला डि गुबियोका सन्तति तथा फ्रान्सेली व्यापारी एन्टोनी डि ग्याब्रिएलीसँग मिलेर दाँतेका सन्ततिले उनीमाथिको प्रतिबन्ध हटाउनका लागि अपिल गर्न संयुक्त पत्रकार सम्मेलन गर्ने सम्भावना छ ।
उनको निधनको सात सयौँ वर्षको अवसर पारेर इटालेली सरकारले विभिन्न कार्यक्रमहरू गर्दैछ । तीमध्ये दाँतेका सिर्जनामाथि विज्ञहरूको जूम छलफल, उनका हस्तलिखित पाण्डुलिपिहरूको प्रदर्शनी, उनको प्रख्यात कविता डिभाइन कमेडीका लागि आफैँले कोरेका दुर्लभ चित्रकलाहरूसमेत प्रदर्शनीमा राखिने भएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।