Chovar Blues Mobile Size

मैतीदेवी चोकमा रङ्गीचङ्गी उपहार सामग्रीहरू बिक्री भइरहेका थिए। युवक-युवतीहरू एक-अर्कालाई पाखा लगाउँदै सामग्री चयनमा व्यस्त थिए। म टक्क उभिन्छु। के मलाई केही लिनुपर्दैन? फेरि आफैँसँग प्रश्न गर्दछु कसका लागि?

साँच्चै, कसका निमित्त! यी सामग्रीहरू कुनै रहरले लिने होइन। मानिस अब आफ्नो चित्तको कुरा झिक्न अवसरको खोजी गर्दछन्, कुनै बहानाको प्रतीक्षा गर्दछन्। त्यो चाहे खानेपिउने होस्, कसैसँग दुश्मनी पोख्न होस् अथवा कुनैवेला कसैद्वारा गरिएको उपकारको बदला चुकाउन होस्। त्यस्तै कसैलाई प्रसन्न पार्न, अझ नजिक पुग्न १४ फरबरीको इन्तजार गर्दछन्, यसै निहुँमा कतै हात लागी हाले भने!

तर मलाई हात लगाउन केही बाँकी छैन। वेला रहँदा त्यतातिर ध्यानै गएन। अहिले नयाँ जमातको जगजगी बढेको देख्दा भित्रभित्रै रोमाञ्चित हुन पुग्दछु। उमेरको पर्वाह नगरी भेलमा समाहित हुन मन लाग्छ।

हैन, घरतिर जाऊँ कि क्या हो। बरु त्यहीँ कुनै पुस्तक अथवा विभागीय कागजहरूमा रमाउँला। बेकारमा यो उपहार अथवा भेटीको चिन्तनमा अड्किरहेको छु। टाउको बटारेर एक-दुई पाइला अगाडि बढ्छु पनि, तर फेरि मनमा कुरा खेल्न थाल्दछ। फर्केर फेरि त्यही तरुनाहरूको भीडमा पस्न चाहन्छु- मेरो लागि पनि केही छ कि!

इच्छा र गोजी अनुसार उपहार सामग्री किनिरहेका हुन्छन्। उनीहरूको अनुहार हेर्छु, उमेर अनुमान गर्छु- सबका सब १५ देखि २० वर्षभित्रका लागिरहेका छन्। मैले कुनै सामग्री किने भने यिनीहरूले दुई वटा लख काट्लान्। पहिलो, घरमा केटाकेटी होलान्। अर्को, बुढेसकालमा अतीतले घचघच्याएको जस्तो छ! साँचो कुरा के छ कि म ती दुवै कुराबाट प्रभावित छुइनँ। आज कसैलाई प्रेम सम्वादको प्रतीक दिउँ भन्ने मात्र हो। मेरो यो सोच बुझदा धेरैको मनमा दया पलाउन सक्दछ। बुढेसकालमा यी के गर्न खोज्दैछन् हँनु  जवानी बरालिँदै बिताए। अब जब कतै केही दिनको लागि स्थिर हुन संयोग जुडेको छ त फेरि मन बरालिन थालेको छ।

रामभरोस कापडि ‘भ्रमर’

बरालिन जो सोच्छन् सोचुन, म त आज केही न केही किन्छु जरुर। साँच्चिकै मलाई आज जबर्जस्ती केही गर्न मन लागेको। भेलेन्टाइन डेको लागि छानिएका सामानहरू माथि आँखा फ्याँक्छु। एक से एक वस्तु छन्। सस्तो-महँगो पनि। म रातो गुलाबको गुच्छा मन पराउँछु।

“साहुजी, यो गुच्छा कतिमा दिनुहुन्छ?”

पसले मलाई राम्ररी नियाल्छ। भन्न सक्दिनँ, उसको मनभित्र के खेलिरहेको छ। “एक सय रुपैयाँ!” अन्तमा संयमित जवाफ फर्काउँछ।

“तीनवटा गुलाबलाई एक सय रुपैयाँ!”

“आफ्नो जमाना सम्झौ । कसैलाई नजिक पार्न दिनुहुन्थ्यो भने यसरी आँखा तर्काउनुहुन्थ्यो?”

केही युवक पसलेको समर्थनमा हाँस्न थाल्दछन्। म साँच्चिकै गलेको महसुस गर्छु। अब त मेरो लागि त्यहाँबाट जान पनि मुश्किल, न लिऊँ भने झन मुश्किल। हत्तपत्त पसलेलाई रु.११० दिएर गुलाब गुच्छा किनिलिन्छु। ताजा गुलाबका पत्तीहरू सुगन्धित पनि थिए। त्यसलाई कलात्मक डालीमा सजाएर राखिएका थिए। गुच्छा हातमा लिएर चोकमा आई विचार गर्न थाल्दछु- म यो गुलाब लिएर घर जान नसकुँला। हातैमा लिएर घुमिरहनु पनि अप्ठ्यारो नै थियो। तब या यसलाई कतै ठाउँमै पुर्‍याउनुपर्‍यो या त कुनै कुनामा सुक्न छाडिदिनु पर्‍यो।

धर्मसङ्कट बढ्दै गइरहेको थियो। गुलाबको गुच्छा कसैको हातमा दिएर आफ्नो प्रेम जताउँ अथवा फालिदिऊँ? अब जे हुन्छ देखा जाला, यो कुनै नयाँ कुरा होइन। समय निकै बितिसक्यो, सबै कुरो ब्ल्याक एण्ड ह्वाइट फिल्म जस्तै धमिलो भइसकेका छन्। टेक्निकलर, हैन मेगाकलर, थ्रीडी, फोरडीको जमाना आइसकेको छ। हामीहरू अगाडिको कुरा मात्र सम्झेर हीनभावना पाल्दै आएका छौं। हैन, प्रेमलाई स्मरण गर्न केको अप्ठ्यारो? आजको दिनको सार्थकता यसैमा हुनेछ।

म गुलाबको गुच्छा हातमा लिएर चाबहिल जाने टेम्पूमा बस्न पुग्दछु। म आफैँ अचम्मित छु। यो टेम्पू मित्रपार्क, चाबहिल, बौद्ध र जोरपाटीसम्म जानेछ। म कता जान लागेको छु? उता को छन् मेरा? गुलाबको फूल बोकेको छु, गन्तव्य भने छैन।

गन्तव्य सम्झँदा हँसी पलाउन थाल्छ, जसलाई म रुमालले छोपेर लुकाउँछु। नेपाल सरकारले २०११ लाई पर्यटन वर्ष घोषित गरेको छ। कति लाख पर्यटक भित्र्याउने रे? ती पर्यटकहरूबाट हुने आयभन्दा बढी खर्च प्रचार-प्रसारमा भइरहेको छ। कहिले समुद्रपार पर्यटनको नाउँमा त कहिले तराई पर्यटनको नाउँमा खुबै मस्ती छ, पर्यटन प्रबर्द्धकहरूको। मलाई भने गन्तव्य शब्दबाटै चिढ भइसकेको छ। हैन, यो शब्द मेरो मनमा आयो कसरी!

आज मेरो कुनै गन्तव्य छैन। टेम्पूमा गइरहनेछु। मेरी आत्मीय यतै कतै छिन्। यो गुलाब उनको हातमा थमाइदिनेछु। म पनि यसै महानगरमा छु भनेर उनी सम्झ्ुन्। यो गुलाब स्मरणाञ्जली बन्ला।

टेम्पू हुँइकिँदैछ। मेरो मस्तिष्कले फन्को मारिरहेको छ। बालसखी मुटु चुँडेर तीस वर्ष अगावै कतै हिँडिहालिन्। जिन्दगीको रुमानी उमेरमा कुनै गीतालाई पनि सजाउन सकिनँ। उनी निराश भएर खुसीको जिन्दगी बाँचिरहेकी छिन्- मभन्दा टाढा बसेर। एउटाको मायाजालबाट बडो मुश्किलले बाहिर उक्लिन भ्याएँ। केही सखी आउँदै, हराउँदै गइन्। एउटी राखी छिन, दिल्लीमा। आक्कल-झुक्कल यहाँ पनि आउँछिन्। यो अवसर परेको भए यही फूल अर्पित गर्थें, उनलाई…!

टेम्पू पुरानोबानेश्वर चोकमा अडिन्छ। तीन जना र्झ्छन्, त्यति नै चढ्छन्। एकजना अधबैंसे छन्, हातमा प्रोफाइल ब्याग बोकेका। एजेन्ट जस्तो लाग्दछ। अर्का जो चढे असल जोडी छन्। भर्खरै बिहे गरेका १८-२० वर्षकी केटी र २४-२५ वर्षको केटो। म अलिपर सरेर उनीहरूलाई ठाउँ दिन्छु। जोडी टेम्पूवालालाई हकार्छ- हिँड् । दुवैलाई हतार थियो।

मेरो चिन्तन भङ्ग भइसकेको थियो। टेम्पूको गतिसँगै फेरि क्रम जुड्न थाल्दछ। अबता जो छन्, यहीं छन्। हो, त्यसलाई त यो दिन सकिन्छ। अनाहक मैले कता-कता के-के सोचें!

फेरि मनमा कुरा खेल्छ- साँच्चिकै उनी यति नजिक थिइन् भने किन सम्झ्न सकिनँ? नत्र, यो फूल उनलाई जिम्मा लगाइसक्थें। मानिसहरू बुझन चाहँदैनन्। समय पदचिन्ह छोड्दै जान्छ, जसको आकृति हुरी, बतासमा खण्डित भइरहन्छ।

सम्बन्ध यति खराब भएको छैन कि गुलाबको फूलसम्म दिन नसकोस्। म निश्चय गरिहाल्छु- यी फूल यहीं दिनु पर्‍यो। मन प्रसन्न हुन्छ, भारी हलुङ्गो हुन्छ। मेरो बरालिने बानीले कतै ठाउँ पायो!

मेरो छेउका जोडी त एकआपसमा समाहित हुने गरी टाँसिएका छन्। उनीहरूको व्यवहारले टेम्पूवासीहरूलाई रोमाञ्चित बनाउन थालेको छ। युवतीको स्वेटरमा गुलाबको फूल रोपिएको छ। यी दुई जना कतैबाट मस्ती मार्न गइरहेका छन् अथवा मस्तीपछि आइरहेका छन्। जे भए पनि भेलेन्टाइन डेको भरपुर आनन्द उठाउन कुनै कसर बाँकी राखेका छैनन्।

टेम्पूलाई मित्रपार्कनिर रोक्छु। एकचोटि गहिरिएर युवतीको स्वेटरको गुलाब र फेरि आफ्नो हातमा जतनले राखेको गुच्छा नियाल्छु। लाग्छ, ती युवतीको गुलाबको अगाडि मेरो गुलाबको सुवास र कान्ति क्षीण हुँदै गइरहेको छ।

टेम्पूबाट र्लेर टेम्पूवालालाई रु.१० भाडा दिन्छु। मित्रपार्कको पूर्वतर्फको ढलानमा आँखा दगुराउँछु। पन्ध्र मिनेटको बाटो, घण्टाको लाग्छ। थाकिसकेको खुट्टाले जबाफ दिइसकेको हुन्छ। गुलाबको गुच्छालाई बीच सडकमा थचारेर म मैतीदेवी जाने टेम्पूमा सवार भइहाल्छु। अब म आफूलाई बढी सहज महसुस गर्न थाल्दछु।

जनकपुरधाम, धनुषा