भाग १
८
बस्तीको छेउमा रहेको त्यो सानो घरतिर मानिसहरुको ध्यान आकर्षित हुन थाल्यो । दर्जनौं जासुसी आँखाहरु त्यस घरको भित्ता छेडेर भित्र चियाउन चाहन्थे । मानिसहरुले उडाएको त्यो दूषित हल्ला घरवरिपरि मडारिँदै थियो । मान्छेहरु घाँटीमाथि रहेको त्यस घरभित्र जुन रहस्यमय कुरा लुकेर रहेको थियो त्यसलाई कुनै तरिको आतङ्कित गरेर बाहिर निकाल्न चाहन्थे र राती उनीहरु झ्यालभित्र चियाउँथे । कहिलेकाहीँ त झ्यालको ऐना पनि खटखटाउँथे, तर तुरुन्तै भागी पनि हाल्थे ।
एक दिन भट्टीको मालिक बेगुन्चोभले पेलागेया नीलोभ्नालाई बाटामा रोक्यो । त्यो बूढो हेर्दा त निकै असल मान्छेजस्तो देखिन्थ्यो । उसले सधैं बैजनी रङको मखमलको इस्टकोट लगाएको हुन्थ्यो र उसको रातो चाउरे गर्धनमा एउटा कालो रेशमी रुमाल बाँधिएको हुन्थ्यो । यसको चम्किलो चुच्चे नाकमा कछुवाको हाडले बनेका चस्मा हुन्थ्यो, त्यसैले मान्छेहरुले उसको नाम पनि “हाडका आँखा” राखेका थिए ।
उसले उत्तरको प्रतीक्षा नै नगरी एकै सासमा आमामाथि शब्दहरुको वर्षा गर्न थाल्यो –
“पेलागेया नीलोभ्ना, के छ हालखबर ? छोरो के गर्दै छ नि ? उसको बिहे गर्ने विचार छैन कि क्या हो ? केटालाई बिहे गरिदिने बेला भैसक्यो । जति छिटो छोराछोरीको बिहे गरिदिन्छन्, आमाबाबुले त्यत्तिकै छिटो चैन पाउँछन् । मान्छेका लागि गृहस्थी त्यत्तिकै लाभदायक हुन्छ, जति दापभित्र खुकुरी जोगिन्छ । तपाईको ठाउँमा म भएको भए त बिहे गरिदिइसक्थेँ होला उसको । जमानै यस्तो भैसकेको छ, सधैं विचार गर्नुपर्छ को कसरी दिन बिताउँदैछ । मानिसहरु मनपरी तरिकाले बस्न थालेका छन् । उट्पट्याङ कुराहरु सोच्न थालेका छन् र काम पनि त्यस्तै गर्छन् । युवकहरु गिर्जाघर जान छाडे र मानिसहरुको भीडबाट भागीभागी हिँड्न थालेका छन् । अँध्यारा कुनाकाप्चाहरुमा लुकीलुकी आफ्ना रहस्यहरुबारे कानेखुसी गर्छन् । म सोध्छु किन यो खस्याकखुसुक ? किन मानिसहरुबाट भागीभागी हिँड्छन् ? के पो त्यस्तो कुरा हो, जो उनीहरु सबैका अगाडि भट्टीमा भन्न डराउँछन् ? कुनै गोप्य कुरा त होइन ?
गोप्य कुरा बताउने त एउटै मात्र ठाउँ छ, त्यो हो पवित्र गिर्जाघर । यो कुनाकाप्चामा लुकेर खस्याकखुसुक गर्ने बानी त दिमागको खराबी हो । लौ त पेलागेया नीलोभ्ना, तपाईको भलो होस् ।”
उसले आफ्नो टोपी फुकालेर हल्लायो र हिँडी पनि हाल्यो । आमा आश्चर्यचकित भएर त्यहीँ उभिइरहिन् ।
फेरि एकपल्ट यस्तै घटना घट्यो – भ्लासोभ परिवारको छिमेकी मारिया कोर्सुनोभाले, जो एक लोहारकी विधवा थियन् र फैक्ट्रीाको ढोकामा खानेकुरा बेचेर आफ्नो पेट पाल्थिन्, बजारमा पेलागेया नीलोभ्नालाई भेट्टाइन् । उनले भनिन् –
“पेलागेया, आफ्नो छोराको हेरविचार गर्नु है !”
“किन र ?” आमाले सोृधिन् ।
“म त नानाथरीका कुरा सुन्छु है !” मारियाले बडो रहस्यपूर्ण तरिकाले भनिन् । “बडो खराब कुरा सुन्छु, बुझ्यौ आमै ! सुन्छु, ऊ कुनै गोप्य सङ्गठन खडा गर्दै छ, फ्लैगलान्तहरुजस्तो । भन्छन् – उनीहरुले पनि फलैगलान्तहरुले जस्तै एक दोस्राको छाला उखेल्नेछन् ।”
“छोड मारिया, किन व्यर्थको बकवास गछ्र्यो ।”
“बिनाआगो धुवाँ आउँदैन ।” पसल्नीले भनिन् ।
आमाले यी सबै कुरा छोरालाई बताइन्, तर उसले खाली कुम मात्र हल्लायो, उक्राइनि चाहिँ सधैंजस्तो आफ्नो कोमल आवाजमा मस्तसित हाँस्न थाल्यो ।
“केटीहरु पनि खुब रिसाएका छन् तिमीहरुसँग ।” आमाले भनिन् – “तिमीहरुजस्ता केटाहरुसँग बिहे गर्न पाए कुनै पनि केटीहरुले आफूलाई भाग्यमानी ठान्नेछन् । तिमीहरु मेहनती छौ, रक्सी पिउँदैनौं, तर केटीहरुको चाहिँ अलिकति पनि वास्ता गर्दैनौ । मानिसहरु भन्छन्, सहरबाट खराब केटीहरु तिमीहरुसँग भेट्न आउने गर्छन् .. ।”
“लौ भयो अब ।” पाभेलले मुख बिगार्दै भन्यो ।
“धापमा सबै कुरा गन्हाउँछ ।” ऊक्राइनिले लामो सास फेर्दै थियो । “आमै, भनिदिनोस् न यी उल्लू केटीहरुलार्य बिहे गरेपछि के दुर्गति हुन्छ ? नत्र फाँसीमा लट्किन त्यत्ति हतारो गर्दैनथे होलान् .. ।”
“हे भगवान्, उनीहरुलाई सबै कुरा थाहा छ, सबै बुझ्छन् । तर अर्को बाटो नै के छ र ?” आमाले भनिन् ।
“यदि उनीहरुले बुझेका भए अर्को बाटो भेट्टाइहाल्थे नि ।” पाभेलले भन्यो ।
आमाले छोराको गम्भीर अनुहारतिर हेर्दै भनिन् –
“तिमीहरु किन पढाउन्नौ यी केटीहरुलाई ? उनीहरुमध्ये अलि समझदार भएकाहरुलाई यहाँ डाक्ने गर न !”
“बेकार छ ।” छोराले रुख ो स्वरमा जवाफ दियो ।
“कोसिस गरेर हेरे कस्तो होला ?” उक्राइनिले सोध्यो ।
एकछिन चुप लागिसकेपछि पाभेलले जवाफ दियो –
“एक दोस्रासँग घुमफिर गर्न थाल्नेछन् । अनि कसैकसैले बिहे पनि गर्नेछन् । त्यसपछि किस्सा खत्तम भैहाल्छ ।”
आमा सोच्न थालिन् । पाभेलको यो महात्माको जस्तो नीरसताले उनी चिन्तित हुन थालेकी थिइन् । उनी देख्थिन् – उसका सबै साथीहरु, उक्राइनिजस्ता ऊभन्दा बढी उमेर भएका साथीहरु ऊसँग सल्लाह माग्ने गर्थै । उनलाई लाग्थ्यो – सबै उसँग डराउँछन् र उसको यस गम्भीरताले गर्दा कसैले पनि उसलाई मन पराउँदैन ।
एक दिन राती उनी पल्टिसकेकी थिइन्, पाभेल र उक्राइनि अझ पढ्दै थिए, पातलो भित्तापारी उनीहरुले सानो स्वरमा कुरा गरेका सुनिनु् ।
“थाहा छ, मलाई नातासा मन पर्छ ।” अचानक उक्राइनिले भन्यो ।
“मलार्य थाहा छ ।” पाभेलले एकछिनपछि जवाफ दियो ।
आमाले सुनिन्, उक्राइनि बिस्तारै उठेर नाङ्गा खुट्टा कोठामा ओहोरदोहोर गर्दै छ । उसले एकदमै सानो स्वरमा कुनै उदास धुनको सिटी बजाउन थाल्यो, अनि अकस्मात् थामियो र सानो स्वरमा भन्यो –
“उनले चाल पाएकी होली यो कुरा ?”
पाभेल चुप थियो ।
“मस्तो लाग्छ तिमीलार्य ?” आफ्नो स्वर अझ सानो पार्दै उसले सोध्यो ।
“चाल पाएकी छे ।” पाभेलले जवाफ दियो । त्यसैले त यता आउन छाडेकी हो ।”
उक्राइनि बिस्तारै कोठामा घुम्दै थियो र कोठामा फेरि उसको सिटीको हल्का स्वर गुन्जियो ।
“सिधै कुरा गरे कस्तो होला ?” उक्राइनिले बिस्तारै सोध्यो ।
“के भन्ने ?”
“यही कि म उनीसँग – ।” उक्राइनिले अझ सानो स्वरमा भन्यो ।
“के काम ?” पाभेलले उसलाई बीचैमा रोक्दै सोध्यो ।
आमाले अन्दाज लगाइन्, उक्राइनिले ओहोरदोहोर गर्न बन्द ग¥यो र उनलाई लाग्दै थियो, ऊ उभिएर मुस्कुराइरहेको छ ।
“मलाई लाग्छ, यदि कसैले कुनै केटीसँग प्रेम गर्छ भने उसलार्य यो कुरा बताइदिनुपर्छ नत्र यसको कुनै नतिजा निस्कँदैन ।”
पाभेलले जोटले आफ्नो किताब बन्द ग¥यो ।
“त्यसो भए कुन नतिजा तिमी चाहन्छौ ?” उसले सोध्यो ।
दुवै जना धेरै बेरसम्म चुप लागे ।
“भन न ! उक्राइनिले सोृध्यो ।
“आन्द्रेइ, तिमीलाई स्पष्ट रुपमा थाहा हुनुपर्छ, तिमी के चाहन्छौ ?” – पाभेलले बिस्तारै भन्यो । “लौ, मानौं ऊ पनि तिमीलाई प्रेम गर्छे, हुन त यस कुरामा मलाई शङ्कै लाग्छ, तैपनि मानौं यस्तै हो रे – अनि तिमीहरुको बिहे हुनेछ । बडो मजाको जोडी ठहरिनेछ – उनी बुद्धिजीवी र तिमी चाहिँ साधारण मजदुर ! त्यसपछि केटाकेटी जन्मन थाल्नेछन् । परिवारको पेट पाल्न रातदिन रगतपसिना चुहाउनुपर्नेछ । दालभात, कोटाकेटी र डेराको जन्जालमा तिमी कसरी फँस्नेछौ भने हाम्रो उद्देश्यका लागि काम गर्ने कुनै समय तिमीहरुसँग बाँकी रहने छैन र तिमीहरु दुवै जना खत्तम हुनेछौ !”
एकछिन कोठामा कुनै आवाज सुनिएन । फेरि पाभेलको आवाज सुनियो । यसपल्ट उसको आवाज त्यत्ति कठोर थिएन ।
“आन्द्रेइ, छोड तिमी यी सबै कुरा । उनका लागि पनि कठिनाइ पैदा नगर .. ।”
दुवै चुप थिए । घडीको टिकटिक आवाज स्पष्ट सुनिँदै थियो, समय बित्दै थियो ।
उक्राइनिले भन्यो –
“आधा हृदयले प्रेम गर्छ, आधा हृदयले घृणा गर्छ, यस्तो पनि हृदय हुन्छ ?”
किताबको पाना पल्टाएको आवाज सुनियो । आमाले सोचिन्, पाभेल फेरि किताब पढ्न थालेछ । उनी आँखा बद गरेर पल्टेकी थिइन् – सास फेर्नसम्म पनि हिचकिचाउँदै थिइन् । उनी उक्राइनिका लागि दुःखित थिइन्, उनको हृदय रुँदै थियो, तर आफ्नो छोराका लागि बढी चिन्तित थिइन् ।
“बिचरो, मेरो प्यारो छोरो ।” आमा सोच्दै थिइन् ।
“त्यसो भए तिम्रो बिचारमा मैले चुप लागेर बस्नु नै बेस छ ?” – अचानक उक्राइनिले सोध्यो ।
“यो बढी इमान्दारी ठहरिनेछ ।” पाभेलले शान्तिपूर्वक जवाफ दियो ।
“ठीक छ, त्यस्तै गर्नुपर्ला !” उक्राइनिले भन्यो । एकछिनपछि उसले बिस्तारै ठूलो निराशा भरिएको आवाजले भन्यो – “पाभेल, कुनै दिन तिमीमाथि पनि यस्तै आइप¥यो भने थाहा पाउनेछौ कति गाह्रो पर्दो रहेछ .. ।”
“थाहा पाउन थालिसकेको छु .. ।”
घरको भित्तामा हावा ठक्कर खाँदै थियो । घडीको टिकटिक आवाजले समय बितेको सूचना दिँदै थियो ।
“यो कुनै ठट्टा गर्ने कुरा होइन !” उक्राइनिले बिस्तारै भन्यो ।
आमा तकियामा मुख गाडेर चुपचाप रुँदै थिइन् ।
बिहान उनलाई लाग्यो, आन्दे्रइ पहिलेभन्दा होचो देखिन थालेको छ र झन् मायालाग्दो भएको छ । दुब्लो, पातलो पाभेल सधैंजस्तो चुपचाप थियो । आमा उक्राइनिलार्ई सधैं आन्द्रेइ ओनीसिमोभिच भनेर डाक्ने गर्थिन्, तर आज चालै नपाई उनले भनिन् –
“आन्द्रेइ, आफ्नो जुत्ता मर्मत गर्न लाउनू, नत्र बिरामी पर्नेछौ ।”
“तलब पाएपछि नयाँ जुत्ता किन्छु ।” उसले हाँस्दै भन्यो । अनि अकस्मात् आफ्नो लामो हात आमाको काँधमा राख्दै सोध्यो – “तपाई नै मेरी साँच्चीको आमा हुनुपर्छ । तर तपार्य यो कुरा स्वीकार गर्न चाहनुहुन्न । म असाध्यै कुरुप भएकाले त होइन, लौ भन्नोस् त ?”
आमाले चुपचाप उसको हात थपथपाइन् । उनी उसलाई धेरै स्नेहपूर्ण कुराहरु भन्न चाहन्थिन्, तर उनको मुटु वेदनाले भरिएको थियो र मुखबाट शब्द निस्कन सकेन ।
९
बस्तीमा नीलो मसीले लेखिएका पर्चाहरु बाँड्ने समाजवादीहरुबारे चर्चा हुन थाल्यो । यी पर्चाहरुमा फैक्ट्रीका व्यवस्थापकहरुको कडा आलोचना गरिएको हुन्थ्यो, पिटर्सबारे र दक्षिणी रुसमा भएका हड्तालहरुबारे बताइएको हुन्थ्यो र मजदुरहरुलाई आफ्नो हितरक्षाका लागि एकता कायम राख्ने आह्वान गरिएको हुन्थ्यो ।
फैक्ट्रीमा राम्रो तलब पाउने अधबैंसे मानिसहरु धेरै क्रोधित थिए ।
“बेकारमा झगडा गराउन चाहन्छन् ।” उनीहरु भन्थे । “यस्ता मान्छेहरुको दिमाग ठीक पार्नुपर्छ ।” उनीहरु यी पर्चाहरु लगेर आफ्ना मालिकहरुलाई बुझाउँथे ।
युवकहरु ठूलो उत्साहसहित यी पर्चाहरु पढ्थे र भन्ने गर्थे –
“सबै कुरा साँचो हो ।”
अधिकांश मजदुरहरु आफ्नो दैनिक कामले यति थाकेका हुन्थे, सबै कुराप्रति उदासीन हुन्थे र आलस्यपूर्वक भन्थे –
“यी सबै कुराको कुनै फाइदा छैन । के हुन सक्छ र ?”
तर यी पर्चाहरुले मजदुरहरुबीच हलचल पैदा ग¥यो र एक हप्तासम्म पर्चा निस्केन भने मजदुरहरु आपसमा भन्न थाल्थे –
“सायद पर्चा निकाल्न बन्द गरे क्यारे !”
तर अर्को सोमबार फेरि पर्चाहरु देखा परे र फेरि मजदुरहरुबीच कानेखुसी सुरु हुन थाल्यो ।
फैक्ट्री र भट्टीमा अपरिचित मान्छेहरु देखा पर्न थाले । उनीहरु पिछा गर्थे, चारैतिर बडो ध्यान दिएर हेर्थे र मानिसहरुसँग नानाथरीका प्रश्नहरु सोध्ने गर्थे । उनीहरुको अत्यधिक सतर्कता र जे कुरा पनि सोधपुछ गर्ने तौरतरिकाले तुरुन्तै शङ्का लागिहाल्थ्यो ।
आमा बुझ्थिन्, यो सबै हलचल उनकै छोराको कामकोा फल हो । उनी देख्थिन्, कसरी मानिसहरु छोरातिर आकर्षित हुँदै छन् । छोराको भविष्यका लागि चिन्ताको साथसाथै गर्वको भावनाले उनको हृदय आन्दोलित हुन्थ्यो ।
एक दिन साँझ मारिया कोर्सुनोभाले उनीहरुको झ्याल घच्घच्याइन् र आमाले झ्याल खोलपछि कानेखुसी गरेजस्तै गरेर भनिन् –
“पेलागेया सावधान रहनू है ! सबै पोल खुलिसकेको छ । आज तिम्रो घरको खानतलासी लिइँदै छ, माजिन र भेसोभसिकोभको घरको पनि तलासी लिनेछन् .. ।”
मारियाका बाक्ला ओठ छिटोछिटो खुल्थे र बन्द हुन्थे । उनी आफ्नो भ्यात्त पारेको नाकले जोडजोडले सास फेर्दै आँखा झिम्क्याइरहेकी थिइन् । सडकमा कोही आइरहेका त छैन भनेर उनी यताउति हेर्दै थिइन् ।
“ध्यान राख्नु नि मलाई केही थाहा छैन, मैले तिमीलार्य केही भनेकी पनि छैन र आज मेरो तिमीसँग भेट पनि भएको छैन, बुझ्यौ ?” यति भनेर हिँडी पनि हालिन् ।
आमाले झ्याल बन्द गरिन् र बिस्तारै एउटा मेचमा बसिन् । तर छोरालाई खतरा छ भन्ने कुरा सम्झनासाथ उनी जुरुक्क उभिइन्, छिटोछिटो लुगा लगाइन् र टाउकामा रुमाल बाँधिन्, अनि दौडँदै फ्योदोर माजिनको घर पुगिन् । ऊ बिरामी थियो र काममा गएको थिएन । आमा घरभित्र पस्दा ऊ झ्यालअगाडि बसेर एउटा किताब पढ्दै थियो र आफ्नो दाहिने हात सुमसुम्याउँदै थियो । उसको दाहिने हातको बूढीऔंला अलि सुनिएको थियो । आमाबाट यो खबर सुनेर उसको अनुहार फिका भयो र ऊ जुरुक्क उठ्यो ।
“कस्तो विपद् त हँ .. ।” ऊ बड्बडायो ।
“के गर्ने हो, हँ ?” पेलागेया नीलोभ्नाले काँपेको हातले आफ्नो निधारको पसिना पुछ्दै सोधिन् ।
“पर्खनोस्, तपार्य नतर्सनुहोस् ।” – फेयोदरले देब्रे हातले आफ्नो मुद्रा परेको कपाल पछाडि हटाउँदै भन्यो ।
“तपाई आफैं तर्सनुभएको छ ।” – आमाले चर्को स्वरले भनिन् ।
“ म रे ।” ऊ लज्जित भयो र असजिलो मान्दै मुस्कुरायो । “हँ साँच्ची, धत्तेरी ! पाभेललाई खबर गर्नुपर्छ । म अहिल्यै उसकहाँ मान्छे पठाउँछु । तपाई घर जानोस् र कुनै धन्दा नलिनोस् । आखिर पिट्ने हुन् र ?”
घर पुगेर आमाले सबै किताब जम्मा गरिन् । किताबहरु छातीमा टाँसेर कोठामा ओहोरदोहोर गर्न थालिन् । उनले चुल्होभित्र, चुल्होमुनि र पानीको बाल्टिनभित्र समेत चियाइन् । उनले सोचेकी थिइन्, पाभेल फैक्ट्रीबाट दौडँदै आइपुग्नेछ, तर ऊ आएन । अन्त्यमा उनी थाकिन् । भान्साकोठाको बेन्चमा आफूमुनि ती किताबहरु राखेर बसिन् । पाभेल र उक्राइनि घर नफर्कुन्जेल हलचल नगरी डरले थर्कमान भएर त्यत्तिकै बसिरहिन् ।
“थाहा पायौ तिमीहरुले ?” उनले बसेर ठूलो स्वरले सोधिन् ।
“थाहा छ ।” पाभेलले मुस्कुराउँदै भन्यो । “किन र, डर लाग्यो ?”
“हो अचाक्ली !”
“नडराउनोस् !” उक्राइनिले भन्यो – “डराएर कुनै फाइदा हुन्न ।”
“अझसम्म सामोभार पनि बसाल्नुभएको रहेनछ ।” पाभेलले भन्यो ।
“यसैले गर्दा हो ।” आमाले दोषीजस्तो उभिँदै किताबहरुतिर सङ्केत गरिन् । पाभेल र उक्राइनि मस्तसित हाँस्न थाले । यसले आमाको साहस बढ्यो । पाभेलले केही किताब छान्यो र लुकाउन बाहिर लग्यो ।
“आमै, डराउनुपर्ने केही कुरा छैन ।” उक्राइनिले सामोभार बसाल्दै भन्यो ।
“खालि मानिसहरुले यस्तो वाहियात काममा आफ्नो समय खेर फालेको देख्दा दुःख लाग्छ । तलबार लट्काउँदै, जुत्ताको तलुवा कड्कडाउँदै उमेर पुगिसकेका मान्छेहरु यहाँ आउनेछन् र प्रत्येक कुरा ओल्टाउने पल्टाउने छन् । पलङमुनि चुल्होभित्र खोजखाज गर्नेछन्, तहखाना ओर्लनेछन् र बुइँगलमा चढ्नेछन् । उनीहरुका नाकमा माकुराको जालो टाँसिनेछ र उनीहरु झर्किदै नाक फुलाउन थाल्नेछन् । बडो झन्झटिलो काम ाछ यो, उनीहरुलार्य लाज लाग्छ । त्यसैले उनीहरु बडो रिसाएजस्तो नक्कल पार्छन् र हामीलाई हपार्न थाल्छन् । बडो व्यर्थको काम हो, उनीहरु यो कुरा बुझ्छन् । एकपल्ट त मेरा सबै सामानहरु उलटपुलट गरिसकेपछि उनीहरुलाई कति असजिलो लाग्यो भने खानतलासी बीचैमा छाडेर हिँडे । अर्कोपल्ट पनि यस्तै भयो, उनीहरुले मलाई सँगसँगै लिएर गए र चार महिनासम्म जेलमा थुनेर राखे । जेलमा त के र, चुपचाप लागेर बस्नेबाहेक अर्को कामै हुँदैन । केही दिनपछि डाक्छन्, सिपाहीहरु आफ्नो साथ लिएर सडकमा लैजान्छन् र कुनै ठाउँ पु¥याउँछन् । त्यहाँ कुनै ठूलो अफिसरहरुले केही प्रश्नहरु सोध्छन् र त्यसपछि फेरि सिपाहीहरुलाई कैदीलाई जेल पु¥याउने आदेश दिन्छन् । यस्तै किसिमले उनीहरु यता र उता गर्दै समय बिताउँछन् । जे भए पनि आफूले पाएको तलबका लागि केही काम त देखाउनै प¥यो । अन्त्यमा गएर उनीहरु कैदीलाई छाडिदिन्छन् र यत्तिकैमा कथा सकिन्छ ।”
“आन्द्रेइ, तपाई सधैं कति मीठो कुरा गर्नुहुन्छ, हँ ।” – आमाले चकित हुँदै भनिन् ।
ऊ घुँडाले टेकेर चुल्हाको आगो फुक्दै थियो । उसले. आफ्नो रातो अनुहार उठायो र जुँगा मुसार्दै सोध्यो –
“कस्तो मीठो कुरो हो ?”
“यो संसारमा कहिल्यै चित्त नदुःखाएको मान्छे कहीँ भेट्टिन्छ र ?” – उक्राइनि उठ्यो र टाउको हल्लाउँदै मुस्कुरायो । “मलाई कति दुःख् दिइसकेका छन् अब त रिसाउन पनि छाडिसकेँ । के गर्ने यदि मानिसहरु अर्को तरिकाले व्यवहार गर्न सक्दैनन् भने । चित्त दुःखाएर बस्नाले त काममा बाधा मात्र पर्छ । चित्त दुःखाएर बस्नु भनेको व्यर्थमा समय खेर फाल्नु हो । के गर्ने, जिन्दगी भनेकै यस्तो हो ! पहिले म मानिसहरुसँग रिसाउने गर्थेँ, अनि पछि गएर सोच्न थालेँ, के फाइदा र ! हरेक मान्छे डराउँछ कतै छिमेकीले हिर्काउने त होइन, त्यसैले ऊ आफैँ पहिलो हमला गर्न चाहन्छ । के गर्नुहुन्छ आमै, जिन्दगी नै यस्तो छ !”
उसका शब्दहरुको प्रवाह अबाध गतिले अगाडि बढ्दै थियो र उसको कुरा सुनेर खानतलासीबारे आमाको डर घट्दै गयो । उसका ती ठूलठूला आँखाहरु चम्किँदै थिए र आमाले देखिन् – शरीर भद्दा भए पनि ऊ आफू निकै फूर्तिलो थियो ।
आमाले लामो सास फेरिन् ।
“आन्द्रेइ, ईश्वरले तिमीलाई खुसी राखून् ।” उनले आन्तरिक हृदयले आशीर्वाद दिइन् ।
उक्राइनि लामोलामो कदम चाल्दै सामोभारतिर लाग्यो र सामोभारअगाडि फेरि घुँडा टेकेर बस्यो ।
“यदि सुख आफैँ आउँछ भने कहिल्यै अस्वीकार गर्ने छैन ।” उसले बिस्तारै भन्यो । “तर हात फैलाएर सुखका लागि कहिल्यै भीख माग्दिनँ ।”
पाभेल बाहिरबाट आइपुग्यो ।
“अब जिन्दगीभर खोजे पनि भेट्टाउने छैनन् ।” – उसले विश्वाससहित भन्यो र हात धुन थाल्यो । हात पुछ्दै उसले भन्यो –
“आमै, तपाईले आफू तर्सेको देखाउनुभयो भने उनीहरुले सोच्नेछन् अवश्य यो घरमा केही त्यस्तो कुरा छ, जुन उनीहरु भेट्टाउन चाहन्छन् । तपाईलाई थाहा नै छ, हामी कुनै खराब काम गरिरहेका छैनौं र न्याय हाम्रो पक्षमा छ । हामी जिन्दगीभर त्यसैका लागि काम गर्नेछौं – यही हो हाम्रो सम्पूर्ण कसूर ! तब फेरि केका लागि डराउने ?”
“पाभेल, ठीक छ अबदेखि म होसियार रहन्छु ।” उनले आश्वासन दिइन् तर तुरुन्तै वेदनापूर्ण आवाजमा भनिन् – “बरु छिट्टै आइदिए हुन्थ्यो ।”
त्यो रात उनीहरु आएनन् र भोलिपल्ट बिहान केटाहरुले आफ्नै हाँसो नउडाऊन् भनेर उनले आफैंले आफ्नो हाँसो उडाउन थालिन् –
“खतरा आउनुभन्दा अगाडि नै गर्सिसकेँ !!
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।