पुर्जा निर्मल दिव्य जोश भरिला संकल्प बोकी उठे
चढ्ने स्वप्न लिए विशाल गिरि त्यो आँटे अगाडि जुटे,
शेर्पामित्र मिलेर एक दलको यात्रा शुभारम्भ भो
काराकोरम चुम्न सन्ततिहरू लागे नि नेपालको ।१।
जाडो मौषम काल झैँ पवनको चिस्यान हेमन्तको
साह्रै रौद्र भयानक प्रकृतिको ठन्डी छ यो पौषको
हावा वेग छ तीव्र पर्छ हिमका आँधी तुफानी क्षण
हार्यो मृत्यु अनेकपल्ट तिनको हार्दै नहार्ने गुण ।२।
खेपी लाख कठिन मृत्युमय ती संघर्ष चारैतिर
आस्था एक लिई स्वदेश घरको माया भरोसासित
बाजी जीवनकै लगाउन कहाँ चुक्थे हिमाली जन ?
ल्याए कीर्ति र वीरता जगतमा नेपालको त्यो धन ।३।
यस्तो दुष्कर लक्ष साँध्न कतिले यात्रा गरे साहसी
फर्केनन् कहिल्यै जितेर तिनले यो ध्येय पूरा गरी
हाम्रा वीरहरू यहाँ विजयका झण्डा उठाई फिरे
रातो चन्द्र र सूर्य विश्वभरमा फेरि चिनाइदिए । ४ ।
तिम्रो रक्त सपूतको छ तिनमा बग्छन् हिमाली जल
तिम्रो आँट अनन्तको विजयको संकल्पशाली बल
तिम्रो प्रेम असीम खुल्छ करुणा पस्केर सद्भावले
तिम्रो भक्ति सपूतको छ जननी हाँस्छिन् सधैँ गर्वले ।५।
हाम्रा पूज्य विभूति आज जिउँदा प्यारा उज्याला तिमी
देऊ ज्ञान विवेक सीप पसिना यो मृत्तिकामै तिमी ।
पर्खन्छिन् यस मातृभूमि गतिलो सेवा दिने सन्तति
तिम्रो जीवन मार्गदर्शक बनोस् संसारकै उन्तति ।६।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला