साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सरिताको खुर्सानी-स्वाद

Chovar Blues Mobile Size

 

नेपाली चित्रकलाको क्षेत्रमा छुट्टै पहिचान बनाएकी एक स्थापित कलाकारको नाम हो – सरिता डंगोल । अहिले उनै डंगोलको एकल अनलाइन कला प्रदर्शनी चलिरहेछ । उनको यो १३औं एकल कला प्रदर्शनी हो । अनलाइन प्रदर्शनीमा राखिएका उनका चित्रहरुको दृष्य रसोस्वादन क्लासिक ग्यालरीको आधिकारिक यु टयुब च्यानल र अन्य मिडियाबाट लिन सकिन्छ, जसमा उनले विभिन्न भावभंगिमाका खुर्सानी विषयवस्तुलाई क्यानभास र पेपरमा उतारेकी छन् ।

तीर्थ निराैला

उनी भन्छिन्– ‘खुर्सानी एक विषय मात्र होइन, यसमा मेरो बाल्य अवस्था पनि जोडिएको छ । मेरो बाल्य अवस्थामा आमालाई धेरै मन पर्दथ्यो खुर्सानी र मसँग खानामा खुर्सानी राखिदिन भन्नुहुन्थ्यो । र म बारम्बार राखिदिने गर्थें । त्यही“देखि मेरो मनमा खुर्सानी र यसको भावपक्षले प्रभाव पारेको हो । र, अहिले यसलाई विषयको रुपमा एकमुस्ठ रुपमा जनमानसबीच पस्किएको छु ।’

सरिताले विविध आकारका खुर्सानीलाई आफ्नो कलाशैलीमा प्रस्तुत गरेकी छन् । क्यानभासमा प्रस्तुत भएका राता, पहेँला, हरिया, नीला खुर्सानी आकारले आआफ्नै जीवनका तीतामीठा मधुर गीत गुन्गुनाई रहेको आभाष हुन्छ । जीवनको स्वादमा नृत्यमोह प्रज्ज्वलित भएको अनुभूत हुन्छ । सरिताका क्यानभासमा रङको मिठास छ । सुर र तालमा एकत्वको झन्कार छ अर्थात् रङमा हार्मोनी छ ।

sagarmani mobile size

उनका चित्रमा ‘ब्रस स्ट्रोक’ र आवश्यकीय रङ छनौट सुहाउ“दिला पाइन्छन् । अनलाइन प्रदर्शनीमा कलम र मसीले कोरिएका चित्रहरु पनि सजिएका छन् । लयात्मक काला रेखाहरुमा गठिलो सम्बन्ध रहेको छ । प्रदर्शनी दृष्टिगत गर्दा, क्यानभासको चार कुना र सतहका क्षेत्रहरुबाट लयात्मक रुपमा बगेको रेखा र रङको सांकेतिक रोमाञ्चकारी सहचर सरिताको क्यानभास विशेषता बनेको देखिन्छ ।

खासमा प्रतिभाशाली सरिताको कलाकर्मलाई मैले २५ वर्षदेखि देख्दै, अनुभव गर्दै आएको छु । वस्तुवादबाट यथार्थ हुँदै अघि बढेको उनको कलाले विषयभावको बिम्व अंगीकार गर्ने गरेको छ र तिनको मिहिन संवेगका तरङ्गसम्म पुग्ने धृष्टता गरेको भेटिन्छ । ससाना विषयलाई आत्मसात गरेर विषयका गहनतम मूल मिठाससम्म पुग्नु सरिताक्यानभासको मूलमर्म हो । अहिलेको खुर्सानी विषय यसैमा केन्द्रित छ । यो प्रदर्शनी भन्दा अघि बनिएका उनका क्यानभासले रुख र लहरा विषयलाई आत्मसात गर्ने गरेको देखिन्छ । लहरा आफैँमा एक सुन्दर लयात्मक प्राकृत संरचना हो । र, प्रकृतिको मिठासपूर्ण बिम्व पनि । सरिताको क्यानभासले लहराबाट प्रकृतिको जीवन चिहाई रहेको हुन्छ भने अहिलेको खुर्सानी बिम्वले सरिता जीवनको यथार्थिक संगीतमय ध्वनि फुकिरहेको पाइन्छ । समग्रमा सरिताको कलामा प्रकृति, मानव र मानवसमाज बीचको अन्तरसम्बन्ध र निजी भावका पटाक्षेपहरु नै यत्रतत्र छरिएका छन् ।

नेपाली कलाको क्षेत्रमा पुरुष कलाकारहरुको तुलनामा नारी कलाकारहरुको संख्या सानो छ । यो सानो क्षेत्रभित्र तीन दशकदेखिको सरिताको कला उपस्थिति र योगदान उल्लेख्य, मननयोग्य र सम्मानीत छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सरिताले सन् १९९२ देखि निरन्तर कला प्रदर्शनी गर्दै आइरहेकी छन् । र, यसबीच थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान पाएकी छन् । कलामा स्नाकोत्तर गरेकी सरिताको स्वदेशमा गरी १३औं एकल र धेरै सामूहिक प्रदर्शनी भएका छन् । पर्फमेन्स कला, कला क्षेत्रको विकास, विस्तार र सम्वर्धन तथा कलाको शिक्षामा पनि उनको उत्तिकै क्रियाशील देखिन्छ । पछिल्लो समयमा आएर सरिताले क्लासिक ग्यालरी सञ्चालनका साथै क्युरेटरको भूमिका पनि निर्वाह गर्दै आइरहेकी छन् । र, अन्तर्राष्ट्रियस्तरको कला प्रदर्शनीहरु आयोजनाहरु गर्दै आइरहेकी छन् ।

आज हामी उनैका केही चुनिएका कला अवलोकन गर्नेछौँः

लेखक परिचय

तीर्थ निरौला एक सफल चित्रकारका साथै कडा कला समीक्षकका रूपमा समेत चिनिनु हुन्छ । उहाँका चित्रकलाहरू देशमा मात्र नभएर विदेशमा समेत प्रदर्शित छन् ।

प्रतिक्रिया
Loading...