१. विषय प्रवेश

बालसाहित्यभित्र कविता, काव्य, कथा, उपन्यास, गजल आदि सबै विधाहरू पर्दछन् । बालबालिकालाई लक्षित गरी लेखिएका कविता नै बालकविता हुन् । सामान्यतः १२ वर्षमुनिकालाई बालबालिका र १६ वर्षमुनिकालाई किशोरकिशोरी भन्ने गरिन्छ तर समग्रमा बालकविताभित्र १२ वर्षमुनिको अनुभूतिको बढी र १६ वर्षमुनिको किशोर अनुभूतिको कम प्रतिनिधित्व भएको पाइन्छ ।

कविता विधा त्यति बेला मात्र सफल हुन्छ, जति बेला त्यसमा सबै उमेरसमूहका विचार, भावना र अभिव्यक्तिहरू फरक फरक सन्दर्भमा समेटिएर आउन थाल्छन् । नेपाली कविता अहिले अन्य सबै कुराले पूर्ण भए पनि यसमा बाल अनुभूति र अभिव्यक्तिको मात्रा जति आउनुपर्ने हो त्यति आएको देखिँदैन । आएका बालकविताहरूमा पनि प्रौढ विचार, चिन्तन र शैलीको बाहुल्य पाइन्छ । यसको कारण उमेरगत सोच, चिन्तन र अनुभूतिको ज्ञान, भाषिक प्रयोग र बालसुलभ लयविधानको ज्ञानको कमी हो । स्रष्टा त्यही उमेरसमूहमा ओर्लन नसकेसम्म बालकविताको सिर्जना असम्भव छ ।

बालसाहित्यको जन्म दुई तरिकाले हुन्छ । एउटा बालकले लेख्ने साहित्य र अर्को बालकका लागि लेखिने साहित्य । बालकले सिर्जना गरेको साहित्यमा उसको उमेर, रुचि, भाषिक क्षमता आदिको अभिव्यक्ति जस्ताको तस्तै हुन्छ भने प्रौढ स्रष्टाले बालकका लागि लेख्ने साहित्यमा स्रष्टा एकपटक त्यही उमेरसमूहमा ओर्लनुपर्छ र तदनुकूल विषय, विम्ब र भाषाको छनोट गरी रचनामा पोखिनुपर्छ । यस कारण बालकले लेख्ने बालसाहित्यभन्दा बालकका लागि लेखिने बालसाहित्यको सिर्जना जटिल कार्य हो । यस लेखमा यी दुवै कुराका केन्द्रीयतामा रहेर केही सान्दर्भिक परिचर्चा गरिएको छ ।

२. नेपाली साहित्यमा बालकविता

नेपाली साहित्यको माध्यमिक कालदेखि नै बालसाहित्यको जन्म र प्रभाव प्रशस्त मात्रामा देखिएको छ । नेपाली साहित्यको इतिहासलाई हेर्ने हो भने बालसाहित्यको जन्म बालकबाट नभएर प्रौढबाट नै भएको पाइन्छ । नेपाली कविताको प्रवर्तन १८२६ बाट र कथाको प्रवर्तन १८२७ बाट भए पनि नेपाली बालसाहित्य लेखनको थालनी वि.सं. १९४९ मा भएको पाइन्छ । गङ्गाधर शास्त्री (द्रविड) द्वारा लिखित ‘गोर्खा पैह्ला किताब’ नै नेपाली बालसाहित्यको पहिलो कृति मानिन्छ तर यो बालकथाको कृति हो । यसमा बाललोककथाका केही बान्कीहरू फेला परेका छन् भने गङ्गाधरकै दोस्रो किताब ‘सर्वसङ्ग्रह’मा उपदेशपरक केही नीतिकथाहरू पाइन्छन् । तर, बालकविताको आगमन देवशमशेरको पाला (१९५८) बाट मात्र भएको पाइन्छ । जयपृथ्वीबहादुर सिंहद्वारा लिखित ‘अक्षराङ्क शिक्षा’ (१९५८) नेपाली बालसाहित्यको प्रथम औपचारिक कृति हो । शैक्षणिक उद्देश्यले तयार पारिएको उक्त पाठ्यपुस्तकभित्र समेटिएका बालकविताहरू स्वतन्त्र नभएर नियोजित रूपमा लेखिएका हुन् । यसरी नै बाल पाठ्यसामग्रीहरू लेख्ने तत्कालीन स्रष्टाहरूमा जयपृथ्वीबहादुर सिंहलगायत गोपाल पाण्डे, नन्दीकेश्वर, डमरुवल्लभ पोखरेल, शिखरनाथ सुवेदी, गङ्गाधर शास्त्री आदिको प्रारम्भिक प्रयास प्रशंसनीय देखिन्छ ।

वि.सं. १९७० मा ‘गोरखा भाषा प्रकाशिनी समिति’को स्थापना भएपछि बाल पाठ्यसामग्रीहरू प्रशस्त लेखिन थाले । १९७२ र १९७३ मा ‘गोरखा शिक्षा’ भाग १ र २ प्रकाशित भएपछि लेखनाथ पौड्याल, चक्रपाणि चालिसे, बदरीनाथ भट्टराई आदि स्रष्टाका बालसिर्जनाहरू अत्यन्त लोकप्रिय बने । लेखनाथका जय जगदीश्वर, दसैँ, तिहार, हिउँदका दिन आदि कविताहरूले तत्कालीन परिवेशमा बालबालिकालाई उपदेश, मनोरञ्जन, नैतिकता र उत्प्रेरणाका लागि एकैपटक महत्त्वपूर्ण शिक्षा दिएको पाइन्छ । यसरी नै नेपालबाहिर दार्जिलिङ क्षेत्रबाट गोठालो र बाघ, पशुपन्छीको युद्ध, सिंह र मुसो, जाली माकुरो, घडीजस्ता उत्कृष्ट कविताहरू लिएर देखापरेका पारसमणि प्रधानले नेपाली बालकविताको विकासमा महत्त्वपूर्ण योगदान दिएको देखिन्छ । यसपछि महाकवि लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, ध्रुव दवाडी, कृष्णप्रसाद पराजुली, दैवज्ञराज न्यौपाने, रामबाबु सुवेदी, बुँद रानाजस्ता स्रष्टाहरूबाट नयाँ नयाँ इँटाहरू थपिँदै जाँदा नेपाली बालकविताले एउटा उच्च धरहंरा निर्माण गरिसकेको छ ।
वर्तमानमा लेखिने बालसाहित्यमा बाल स्रष्टा र प्रौढ स्रष्टा दुवैको उपस्थिति पाइन्छ । समयको गतिसँगै सिर्जनामा परिष्कार आउनु र शिल्प सचेत रचनाको विकास हुनु स्वाभाविक हो । त्यसैले नवीन स्रष्टाहरू रहरमा लेख्छन् भने पुराना स्रष्टाहरू निश्चित उद्देश्यपूर्तिका लागि लेख्छन् । अहिलेको युग प्रतिस्पर्धाको युग हो । समग्र कविताको अवस्थालाई सङ्ख्यात्मक रूपमा हेर्ने हो भने यो निकै समुन्नत, व्यापक र लोकप्रिय देखिन्छ तर गुणात्मकताको भने उपस्थिति अझै पनि सीमित नै देखिन्छ । अन्य प्रतिस्पर्धीहरू नहुँदा स्रष्टा सामान्य लेखनबाट पनि स्थापित हुन सक्छ तर स्रष्टाहरूको ठुलो भिडमा स्थापनाका लागि निकै सङ्घर्ष गर्नुपर्छ ।

३. विषय र अनुभूतिमा उमेरको प्रभाव

सिर्जनामा स्रष्टाको उमेरले प्रभाव पार्नु स्वाभाविक मानिन्छ । सामान्यतः मनोवैज्ञानिक रूपमा हेर्दा स्रष्टाको शाश्वत अनुभूति सिर्जनामा मुखरित भएर आउने हुनाले ऊ बाँचेको युग, जीवन र उमेरगत सोच पनि रचनामा आउनुलाई अनौठो मानिँदैन । ४ देखि १० वर्षसम्मका बालबालिकाले मन पराउने विषय फूल, पुतली, जुनकिरी, जून, घाम, खरायो, चरो, मुसो, बिरालो, कुकुर, पाठो आदि हुन् । उनीहरूलाई केही रचनाहरू सुनाउनुप¥यो भने पनि यस्तै रचनाहरू सुनाउनुपर्छ र केही लेख्न लगाउँदा पनि उनीहरू यिनै विषयमा लेख्न चाहन्छन् । ११ देखि १५ वर्षसम्मका बालबालिकालाई देशभक्तिले अलि बढी प्रभाव पारेको देखिन्छ । उनीहरूलाई केही लेख्न लगायो भने ‘म ठुलो मान्छे बन्छु, देशका लागि केही गर्छु, देशका लागि मर्छु’ जस्ता कुराहरू अभिव्यक्त गर्न थाल्छन् । १६ देखि लगभग ३० वर्षसम्मका युवाहरूलाई प्रेम र जीवनप्रतिको निराशाले बढी प्रभाव पारेको देखिन्छ । उनीहरूले केही लेख्नुप¥यो भने ‘म तिमीबिना मरिहाल्छु, बाँचे पनि तिमीसँगै र मरे पनि तिमीसँगै, यो जिन्दगी बेकार हो, मलाई बाँच्नभन्दा मर्न मन लाग्छ’ जस्ता प्रेम र निराशाका अभिव्यक्तिहरू दिन थालिहाल्छन् । ३१ देखि ६० वर्षसम्मका गृहस्थहरूलाई जीवन भोगाइ, समाज, युग, विश्वपरिवेश, राजनीति, सामाजिक दायित्व आदि कुराले प्रभाव पारेका हुन्छन् । त्यसैले उनीहरूका रचनामा बढीभन्दा बढी त्यस प्रकारका अभिव्यक्तिहरू आउने गर्छन् भने ६० वर्षमाथिका वृद्धहरूमा केही जीवन बोध, केही निराशा, केही संवेदनशीलता र केही जीवन भोगाइसँग जोडिएका उपदेशात्मक पक्षहरू मुख्य रूपमा आउने गर्छन् । त्यसैले एउटै विषयलाई हेर्ने उनीहरूको दृष्टिकोण फरक फरक हुने गर्छ । ‘जून वा चन्द्रमा’लाई देखेपछि विभिन्न उमेरसमूहका स्रष्टाहरूले गर्ने अनुभूति र अभिव्यक्तिलाई यसरी हेर्न सकिन्छ ः

बाल अनुभूति

मलाई पनि आकाशमा लैजाऊ जून मामा
मलाई पनि किनिदेऊ न तारा भा’को नाना !

युवा अनुभूति

खल्लो लाग्न थाल्यो जीवन नुन बनी तिमी आऊ
अँध्यारो छ यो जिन्दगी जून बनी तिमी आऊ ।

गृहस्थ अनुभूति

जूनजस्तै चम्किएर ज्योति छर्न सके
मान्छे अमर हुन्थ्यो होला केही गर्न सके !

वृद्ध अनुभूति

मूल्यहीन भै सड्नुपर्छ एक दिन सुनले पनि
प्रकाशहीन भै झर्नुपर्छ एक दिन जूनले पनि ।

यो उमेरले पार्ने प्रभाव हो तर विचारको प्रभाव छुट्टै हुन्छ जसको सम्बन्ध उमेरसँग हुँदैन । तर उमेरले चाहिँ अनुभूति र अभिव्यक्ति दुवैमा प्रभाव पार्ने हुनाले स्रष्टाले जुन उमेरसमूहका लागि सिर्जना गर्ने हो, त्यही उमेरसमूहमा ओर्लिएर वा उक्लिएर अभिव्यक्ति दिन सक्यो भने मात्र पाठकीय विश्वसनीयता प्राप्त गर्न सकिन्छ । यसका लागि छनोट गरिने विषय, अभिव्यक्ति दिने भाषा, कलात्मक बनाउन प्रयोग गरिने विम्ब, प्रतीक, अलङ्कार र सङ्गीत सिर्जनाका लागि आवश्यक लयविधान आदिमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

४. बालकवितामा प्रयोग हुने भाषा, विम्ब, प्रतीक र अलङ्कार
बालकविता बालकका लागि हो त्यसैले यो नितान्त बालसुलभ हुनुपर्छ । यसमा प्रयोग हुने भाषा अत्यन्त सरल, कोमल र बालबोलीअनुकूल हुनुपर्छ ।

न्वाइन्वाइ गरी तेते लगाई छुनुमुनु गर्छु म त
बुबुमाम हाम्म गरी चाँडै नुनु गर्छु म त ।

यसरी बालकवितामा बालक आफैँले गर्ने क्रियाकलाप र बोल्ने बोलीलाई समेट्न सकियो भने त्यो उसका लागि विश्वसनीय हुन्छ र रचनाप्रतिको उसको मोह पनि बढ्दै जान्छ । हुनत, सिर्जनामा बालबोलीको प्रयोग नगरी बालअनुभूतिको सरल प्रस्तुति हुनुपर्छ भन्ने मान्यता पनि पाइन्छ तर बालबोलीमा आत्मीय भाव पाइने हुनाले कृत्रिमताबाट बचाएर बालबोलीको प्रयोग गर्दा त्यति फरक पर्दैन । बालबालिकाले साहित्यलाई अलौकिक रचना र स्रष्टालाई अलौकिक शक्ति मानेका हुन्छन् । उनीहरूका मनमा यस्तो भावना जागृत हुनुको कारण रचना नबुझ्नु हो । स्रष्टाले उनीहरूलाई थाहै नपाउने गरी सिर्जनात्मक स्वाद चखाइदिन सक्नुपर्छ र ‘यो त मेरो अनुभूति पो हो त’ भन्ने अनुभव बालकले ग-यो भने मात्र उसले त्यस्तो रचनालाई मन पराउँछ । यस अर्थमा स्रष्टा बालरचनामा उपदेशक, शिक्षक होइन, भावनात्मक खेलका लागि साथी बनिदिनुपर्छ ।

बालकविताका विषय, विम्ब र प्रतीकहरू बगैँचा, फूल, पुतली, जुनकिरी, बाल्य खेल, जून, खरायो, चरो, मुसो, बिरालो, कुकुर, पाठो आदि र तिनैसँग सम्बन्धित बाल भावनाअनुकूल उदाहरणहरू हुन सक्छन् तर यी विषय र विम्बहरू मात्र समेट्दा त्यो रचना बालरचना बन्दैन, तदनुकूल भाषाशैलीको समेत अपेक्षा गरिन्छ ।

बगैँचा हो जिन्दगी यो फूल बनी फुल्नुपर्छ
स्वतन्त्रता प्यारो हुन्छ पुतली भई डुल्नुपर्छ ।

यस भनाइमा बगैँचा, पूmल, पुतली जस्ता कुराहरू सान्दर्भिक रूपमा आएका छन् तर यो बालरचना होइन । बालकले बगैँचालाई जिन्दगीसँग जोडेर हेर्न पनि सक्दैन, जीवन पूmल बनेर फुल्नुपर्ने कुराको अर्थ पनि बुभ्mदैन र स्वतन्त्रता भनेको के हो ? किन प्यारो हुन्छ ? र त्यसको पुतलीसँग के सम्बन्ध छ ? भन्ने कुरा पनि बुझ्दैन । बालक पुतली उडेको देखेर मख्ख पर्न जान्दछ, उसलाई समाउन चाहन्छ, उसलाई साथी बनाउन चाहन्छ, ऊसँगै खेल्न चाहन्छ, ऊसँगै डुल्न चाहन्छ, पुतलीका रङ्गीचङ्गी पखेटा बालकलाई मन पर्छन्, ऊ त्यस्तै लुगा लगाउन चाहन्छ, पुतली फूलमा बसेको देख्दा बालक खुसीले नाच्छ । यस्तै यस्तै कुराहरूलाई उमेर र क्षमताअनुकूल भाषाको प्रयोगबाट प्रस्तुत गर्न सकियो भने मात्र त्यो बालकविता बन्छ ।

बालबोलीको स्वाभाविक प्रयोग बालकविताका लागि राम्रो मानिन्छ । बालकले कुन वस्तुलाई के भन्छ ? त्यही शब्द बालबोली हो । यस्ता प्रकारका शब्दहरू शब्दकोशमा पनि बालबोली नै भनेर राखिएका हुन्छन् । बालकविताका स्रष्टालाई यस्ता खाले बालबोलीका बारेमा ज्ञान हुनु आवश्यक छ । बुबु (दुध), माम (भात), नाना (लुगा), चाचा (पैसा÷चुरा), चिची (मासु), पापा (मिठाई), मने (पाठो), भौ–भौ (ठुलो कुकुर), पपी (सानो कुकुर), बब (गाई÷गोरु), सुरी म्याउँ (बिरालो), चीँचीँ (मुसो), हाकी हाकी÷हाकु हाकु (दुवै हात अगाडि सारेर बालकलाई बोलाउनु), फुइ (आगो), पा (पानी), तेते (तेल), न्वाइन्वाइ (नुहाउनु), छुनुमुनु (नाच्नु), नुनु गर्नु (सुत्नु), हाम्म गर्नु (खानु), दादा (दाजु), बुङ्ग हुनु (लड्नु), पाइया (पिटाइ) जस्ता शब्दहरूलाई विषय र सन्दर्भ मिल्ने गरी प्रयोग गर्न सकियो भने त्यो कविता बालकविता बन्छ तर यस्तै यस्ता शब्दहरूको जबर्जस्ती थुप्रो लगाउँदा चाहिँ त्यो बालकविता साँच्चै कृत्रिम बन्ने गर्छ ।

५. बालकवितामा प्रयोग हुने लयहरू

कवितामा प्रयोग हुने छन्द, ताल वा सङ्गीतलाई लय भनिन्छ । लय कविताको एउटा महत्त्वपूर्ण तत्त्व हो । लयविहीन कविता हुने सक्दैन र कवितालाई अन्य विधाबाट अलग गराउने एक मात्र तत्त्व लयविधान नै हो । यो मुक्त र बद्ध जुन पनि हुन सक्छ । प्रौढ सिर्जनामा आन्तरिक सङ्गीत चेतना भएका मुक्त छन्द (गद्य कविता) का कविताहरू पनि शक्तिशाली हुन्छन् तर बालकवितामा बद्ध छन्द नै अत्यावश्यक मानिन्छ । हालसम्म लेखिएका सम्पूर्ण नेपाली कविताहरूलाई हेर्दा जम्मा चार प्रकारका लयको प्रयोग भएको पाइन्छ । ती हुन्:

क) वार्णिक छन्द
ख) मात्रिक छन्द
ग) लोक छन्द
घ) मुक्त छन्द

नेपाली कविता परम्परामा उल्लिखित चार प्रकारका लयहरूको प्रयोग भए पनि ती सबै बालकविताका लागि अनुकूल छैनन् । हुनत, महाकवि देवकोटाको ‘कोपिला’ कविता (नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ) मा प्रमाणिका (वार्णिक) छन्दको र युगकवि सिद्धिचरणको ‘तोरीबारी’ कविता (धर्ती फारी सुन्दर पारी, फुल्दछ कसरी तोरीबारी) मा पादाकुलक (मात्रिक) छन्दको र श्यामप्रसादको ‘जाँच’ कविता (हाम्रो जाँच कक्षामा मात्र होइन, बाटामा पनि हुन्छ, घरमा पनि हुन्छ) मा मुक्त छन्दको सुन्दर प्रयोग गरिएको पाइन्छ । यति हुँदाहुँदै पनि बालकविताका लागि लोकछन्द नै सबैभन्दा उपयुक्त छन्द हो । यसमा लेखन, गायन र नृत्य पनि सँगसँगै गर्न सकिन्छ । जस्तैः

क) लोकछन्द (बालोरी छन्द)
४ + २ = ६ अक्षर
ताराबाजी / लैलै
मामा आए / घोडा
माइजू आइन् / डोली
पापा ल्याइन् / सोली ।
४ + ३ = ७ अक्षर
टालाटुली / बटुली
कति राम्री / पुतली
सानी पनि / छैनन् रे
ठुली पनि / छैनन् रे ।
४ + ३ + ४ + ३ = १४ अक्षर
मेरो गाउँ / ज्यामिरे / जमुनीको / छोरो म
काले भन्छन् / मलाई / तर मान्छे / गोरो म ।

(ख) लोकछन्द (बालगीति छन्द)
४ + ३ + २ + ३= १२ अक्षर
ठुली दिदी / सेनामा / सानी / प्रहरी
कोही पनि / बस्दैनन् / काम / नगरी
म पो डाक्टर/ बन्ने कि/ नर्स / बन्ने हो ?
म त अहिले/ भन्दिनँ/ पछि/ भन्ने हो ।

(ग) लोकछन्द (सवाई)
४ + ४ + ४ + २ = १४ अक्षर
वर्षा याम / एक दिन / ठुलो पानी / प-यो
काला काला / बादलले / सेता गेडी / झा-यो
चुट्नुसम्म / चुट्यो आज / पा-यो चिल्ल/बिल्ल
बतासले / हाँगो झा¥यो / गुँड पुग्यो / तल ।

(घ) लोकछन्द (झ्याउरे) 
३ + २ + ३ + २ + ३ + ३ = १६ अक्षर
सानो छ / खेत / सानो छ / बारी / सानै छ / जहान
नगरी / काम / पुग्दैन / खान / साँझ र / बिहान ।
नेपाली बालकविता परम्परामा यी सर्वाधिक प्रचलित लोकछन्दहरू हुन् । यीमध्ये जुन छन्दमा पनि बालकविता लेख्न सकिन्छ ।

६. बालकविता कसरी लेखिन्छ ?

बालबालिकाहरूको रुचि गद्य अभिव्यक्तिमा भन्दा लयात्मक अभिव्यक्तिमा बढी देखिन्छ । आमाले लोरी गाएर सुताउँदा तिनको मस्तिष्कमा प्रवेश गरेको लयले विद्यालयमा पुग्दा पनि त्यहीअनुसारको अभिव्यक्ति वा संवादको खोजी गरिरहेको हुन्छ । जसका कारण सामान्य कुराहरू पनि लयमा भनिदिँदा उनीहरू खुसी भएर सुन्छन् भने गद्यमा भन्दा त्यत्ति ध्यान दिँदैनन् । त्यसैले बालबालिकालाई कखगघको सिकाइ पनि गीतमा गराइन्छ, कथा पनि लयमा नै सुनाइन्छ र खेलहरू पनि लयमा नै खेलाइन्छन् । यही प्रभावलाई मोडेर सिर्जनामा रूपान्तरण गर्न सकिन्छ ।

बालबालिकाले लेख्ने बालकविता हुन् वा प्रौढहरूले लेख्ने बालकविता हुन् । ती सबैको रचना लयात्मक हुनै पर्छ । यस प्रकारका कविताको रचना गर्न सिक्दा सबैभन्दा पहिला लोकलयबाट प्रवेश गर्नुपर्छ । सुरुमा छोटो लयबाट सुरु गरी बिस्तारै अलि लामो लोकछन्द हुँदै शास्त्रीय छन्दमा पुग्न पनि सकिन्छ । बालकविता लेखनको थालनी यसरी गर्न सकिन्छ—

क) बालोरी छन्दः बालोरी छन्दको प्रयोग (४+२=६) र (४+३=७) दुई तरिकाले गरिन्छ । तीमध्येमा एउटालाई अँगाल्नुपर्छ र तीन चरणमा कविता पूरा हुने गरी यसरी थालनी गर्नुपर्छ—

पहिलो चरणः अक्षर सङ्ख्या मिल्ने गरी सूत्रमा शब्द भर्ने
४ + ३ = ७ अक्षर
फूलबारी हिमाल
रमाइलो सानिमा
खोलानाला किताब
विद्यालय गएर ।
यहाँ चार र तीन अक्षरका शब्दहरू मात्र छन्, तिनमा अर्थको कुनै तालमेल छैन । अब यसलाई दोस्रो चरणमा शब्द र अर्थका बिचमा तालमेल मिलाउनुपर्छ ।

दोस्रो चरणः शब्द र अर्थका बिचमा तालमेल मिलाउने
४ + ३ = ७ अक्षर
फूलबारी राम्रो छ
रमाइलो लाग्दै छ
खोलानाला पनि छन्
विद्यालय यहीँ छन् ।
यहाँ चार र तीन अक्षरका शब्दहरू पनि छन् र भनाइ अर्थपूर्ण पनि छ तर वर्णन मात्र हुनाले यो कविता बनिसकेको छैन । अब यसलाई तेस्रो चरणमा गएर भावको समेत निर्माण गर्नुपर्छ ।

तेस्रो चरणः भाव वा कवित्वको निर्माण
४ + ३ = ७ अक्षर
एउटा फूल किताब
अर्को फूल शिक्षक
फूलबारीमा जाऔँ न
कख पढी आऔँ न !
यस भनाइमा फूललाई किताब र शिक्षकका रूपमा र फूलबारीलाई विद्यालयका रूपमा चित्रण गरिएको छ र त्यहीँ गएर सबै कुरा पढ्न सकिने भाव व्यक्त गरिएको छ । अब मात्र यो कविता बनेको छ । यो त एउटा पद्य मात्र हो, यसरी नै कम्तीमा तीन पद्य निर्माण गरेपछि मात्र त्यो पूर्ण बालकविता बन्ने गर्दछ । यसरी नै चार र तीन अक्षरको संयोजनबाट यस लयमा सुन्दर बालकविता रचना गर्न सकिन्छ । यसरी नै बालोरी छन्दका दुई हरफलाई एक हरफ बनाएर चौध अक्षरमा लेख्दा ‘मेरो गाउँ ज्यामिरे’ जस्तो सुन्दर बालगीतको रचना गर्न सकिन्छ ।

(ख) बालगीति छन्दः  बालगीति छन्दको प्रयोग पनि (४+३+२+३=१२) र (४+४+२+३=१३) दुई तरिकाले गरिन्छ । तीमध्येमा एउटालाई अँगाल्नुपर्छ र अभ्यास गर्दा माथिको जस्तै तीन चरणमा गए पनि हुन्छ र सिधै एकै चरणमा कविता पूरा गरे पनि हुन्छ ।
४ + ४ + २ + ३ = १३ अक्षर
मन्दिर, मस्जिद, चर्च, गुम्बा सबै शून्य छन्
भन्नुस् बाबा, कहाँ बस्छन् हाम्रा भगवान् ?

स्वास्थ्य स्वयंसेविका हुन् देवी–भवानी
स्वास्थ्यचौकी भित्रै बस्छन् शिवपार्वती
अस्पतालमा सेतो लुगा बलाई बस्दछन्
नर्स अनि डाक्टर हुन् हाम्रा भगवान् ।
यसरी एकै पटकमा पनि एउटा गीतको स्थायी र अन्तरा अथवा पूरै बालकविता वा बालगीत तयार गर्न पनि सकिन्छ ।

(ग) सवाई छन्दः यो १४ अक्षरको लोकलय हो । यस छन्दमा बालकविता वा बालगीतहरू यसरी लेख्न सकिन्छ—
४ + ४ + ४ + २ = १४ अक्षर
आमाबाबा फूलबारीमा खेल्न जान्छौँ हामी
पुतली र चरीलाई साथी ठान्छौँ हामी
भँमराले कानमा आई गीत सुनाउँछ
जुनकिरीले अँध्यारोमा बाटो देखाउँछ ।

(घ) झ्याउरे छन्दः यो १६ अक्षरको लोकलय हो । यस छन्दमा पनि बालकविता, बालगीत र बालकाव्यहरू पनि लेख्न सकिन्छ । यसमा कविता लेख्दा तलको सूत्रअनुसार शब्दहरू राख्दै जानुपर्छ—
३ + २ + ३ + २ + ३ + ३ = १६ अक्षर
पहाडमाथि नाचेर हिँड्ने क्या राम्रो बादल
बादलसँगै नाचौँ न साथी बजाऊ मादल
कोइली आई गाउन थाल्यो झ्याउरे भाकामा
ल हेर, खुसी छाउन थाल्यो यी मेरा आँखामा ।
यसरी लोकलयहरूमा राम्ररी खेल्न सक्ने भएपछि बिस्तारै शास्त्रीय छन्दमा प्रवेश गर्नुपर्छ । लोकलयका कवितामा छन्दको सूत्र, अक्षरसङ्ख्या र त्यसअनुसारको शब्दछनोट मात्र जाने पुग्छ तर शास्त्रीय वार्णिक छन्दमा कविता लेख्नका लागि चाहिँ सबैभन्दा पहिले ह्रस्व र दीर्घको नियमलाई पनि जान्नुपर्ने हुन्छ ।

७. निष्कर्ष
बालकविता लेखन हेर्दा सजिलो जस्तो लाग्छ तर निकै कठिन कार्य हो । आफूले कुन उमेरसमूहका लागि कविता सिर्जना गर्न लागेको हो, त्यही उमेरको रुचि, क्षमता र भाषिक सामथ्र्यअनुसारको संरचना भएन भने त्यो बालकविताका नाममा बोझ मात्र हुन जान्छ । पात्र बालक छ र विषय बालरुचिअनुसार नै छ तापनि शब्दविन्यास, भावविन्यास र लयविन्यासमा बालमैत्री स्वरूप देखिएन भने त्यो बालकविता बन्न सक्दैन । त्यसैले स्रष्टाले सिर्जनाका क्रममा आफ्नो उमेर र बौद्धिकतालाई बिर्सेर त्यही उमेरसमूहमा ओर्लनुपर्छ र कविता सिर्जना गर्नुपर्छ । बालकविता जति सरल भयो त्यति सुन्दर मानिन्छ । सुन्दर शब्दसंयोजनमा बालबालिकालाई आकर्षण गर्न सक्ने लयविधान र भावविधान भयो भने त्यो बालकविता अमर हुने गर्दछ ।