कवि धूमिलको परिचय

सुदामा पाण्डे ‘धूमिल’ (सन् १९५२-१९७५, खेवली, उत्तर प्रदेश) भारतीय कविताका क्षेत्रमा एङ्ग्री योङ्गम्यानका रूपमा चिनिन्छन् । सानै उमेरमा पिताको निधन भएपछि गृहस्थीमा फसेका उनले उच्चशिक्षा हासिल गर्न पाएनन् । फलाम बोक्ने लगायत समिलको सुपरभाइजर भएर उनले कोलकात्ता, मोतीहारी आदि ठाउँहरूमा काम गरे । बिरामी भएका बेला साहुले मोतीहारीबाट गोहाटी पठाउन खोज्दा उनले स्वास्थ्यको कारण देखाई अस्वीकार गरे । घमन्डी मालिकले ‘आई एम पेइङ फर माई वर्क, नट फर योर हेल्थ !’ भन्दा उनको स्वाभिमानमा चोट लाग्यो र उनले पनि मालिकलाई ‘बट आई एम वर्किंग फर माई हेल्थ, नट फर योर वर्क’ भन्ने जवाफ दिएर जागिर छोडेका थिए । पछि उनले वाराणसीबाट विद्युत्‌मा डिप्लोमा हसिल गरी सरकारी जागिर गरे । सन् १९७५ मा ब्रेन ट्युमरका कारण अल्पायुमै उनको दुखद निधन भयो । उनी कति ठुला कवि थिए भन्ने कुरा रेडियोमा उनको मृत्युको खबर आएपछि उनका परिवारजनले थाहा पाएका थिए । उनी यस्तो सामान्य परिवारका व्यक्ति थिए । धूमिल विद्रोही चेतनाका कवि हुन् । उनका निम्न चार कविता सङ्ग्रहहरू प्रकाशित छन्-
• संसद् से सड़क तक (प्रकाशक स्वयं)
• कल सुनना मुझे (सम्पादन – राजशेखर)
• धूमिल की कविताएं (सम्पादन – डा. शुकदेव)
• सुदामा पाण्डे का प्रजातंत्र (संपादन– रत्नशंकर । रत्नशंकर ‘धूमिल’का छोरा हुन्।)

मोचीराम

धूमिल


कर्दबाट उठाएका आँखाले
केही बेर मलाई जोख्यो
त्यसपश्चात्
पत्याएको आवाजमा
हाँस्तै बोल्यो ऊ-
साँच्चै भनूँ विष्ट ! मेरो दृष्टिमा
न कोही सानो छ
न कोही ठुलो
मेरा लागि, हरेक मान्छे एकजोर जुत्ता हुन्
जो मेरा अघि
मर्मतका लागि उभिएका छन्

र, खास कुरा त यो हो-
चाहे जोसुकै होस्
जस्तो होस्, जहाँसुकै होस्
आजभोलि
कोही मानिस बाहिर छैन
जुत्ताको नापभन्दा
र पनि मलाई थाहा छ-
व्यावसायिक हात र फाटेका जुत्ताबिच
कतै न कतै एउटा मान्छे छ
जसमा सियोले टाँका लाउनुपर्छ
जसले जुत्ताबाट हेरिरहेका औँलाको पीडा
छातीमा हतौडाको चोटजसरी सहन्छ

किसिमकिसिमका जुत्ता आउँछन् यहाँ
जसले बताउँछन्
मान्छेका भिन्नभिन्न विशेषता
सबैको आआफ्नै अनुहार छ
आआफ्नै शैली छ
उदाहरणका लागि एउटा जुत्ता छः
जुत्ता के भन्नु- टुक्राटाक्रीको थैलो हो
यसलाई लगाउँछ एउटा अनुहार
जसलाई बिफरले ठुँगेको छ
जसमा आशाको दयालाग्दो हाँसो छ
जस्तो टेलिफोनको खम्बामा
अड्किएको छ कुनै चङ्गा
र फर्फराइरहेछ
‘विष्ट ! यसमा
किन फाल्नुहुन्छ पैसा ?’
भन्न चाहन्छु म
तर बोली लड्खडाइरहेछ मेरो
आफूभित्रैबाट
एउटा आवाज आएको अनुभव गर्छु म-
‘कस्तो मान्छे होस्
आफ्नै जातिमाथि थुक्छस् !’
विश्वास गर्नुस् तपाईँ
त्यति बेला
म छाला सिएजसरी आँखामा टाँका लाउँछु
र, बडो कठिनसित
आफ्नो व्यावसायिक धर्म पूरा गर्छु

एउटा जुत्ता अर्को छ जसलाई नाँघेर
निस्किएको छ एउटा मान्छे
घुम्नलाई
न बुद्धिमान् छ ऊ
न ख्याल गर्छ समयलाई
अँखामा लोभ छ उसको
हातमा घडी
जानु कतै छैन त्यसलाई
अनुहारमा तर
ठुलो हतार छ
ऊ कुनै खुद्रा पसले हो
वा नाङ्ले व्यापारी
तर फुर्ती यस्तो कि हिटलरको नाति होस्
‘यसलाई बाँध्, त्यसलाई काट्, यहाँ ठोक्, यहाँ पिट्
माड्, यसरी चम्का, जुत्तालाई ऐना बना
… उफ् ! कति गर्मी छ’
रुमालले हम्कन्छ हावा
ऋतुका नाममा चिन्ता प्रकट गर्छ
सडकमा ‘आउने-जाने’ युवतीलाई
बाँदरले जसरी हेर्छ
स्वार्थी यस्तो छ- घन्टाभरि काम लाउँछ
तर ज्याला दिने बेलामा
मानौँ चटक देखाउँछ-
‘सज्जनलाई लुट्छस्’ थर्काउँछ
र, फ्याँकेर केही सिक्का
अघि बढ्छ
अचानक झस्केर उफ्रिन्छ बाटोमा
र, उक्लिन्छ पटरीमाथि
चोट जब पेसामाथि लाग्छ
तब कतै न कतै एउटा चोर किला
दबेर बसिरहन्छ
जुन मौका पाउनासाथ बाहिर आउँछ
र, गाडिन्छ औँलामा
तर यसको अर्थ यो होइन
कि मलाई भ्रम छ कुनै
हरेक पल सम्झना रहन्छ मलाई
जुत्ता र व्यवसायका बिच
कतै न कतै एउटा मान्छे छ
जसलाई सिउनुपर्छ
जसले जुत्ताबाट चिहाइरहेका औँलाको चोट
छातीमा
हतौडाजसरी सहिरहन्छ
र, विष्ट ! खास कुरा त यो हो- बाँच्नुका पछाडि
यदि सही तर्क छैन भने
रामनामी बेचेर या वेश्याहरूको दलाली गरेर
दुई छाक जुटाउनुमा
कुनै भिन्नता छैन
र, यही त्यो ठाउँ हो जहाँ प्रत्येक मान्छे
आफ्नो पेसाबाट छुट्टिएर
भिडको भड्किलो अङ्ग बन्दछ
सबै मान्छेलाई जस्तो
भाषाले उसलाई टोक्छ
ऋतुले दु:ख दिन्छ
अब तपाईँ यो वसन्लाई नै लिनुस्,
यसले दिनलाई डोरीजसरी तान्छ
रुखमा राताराता हजारौँ पातहरूका गुच्छा
चर्को घाममा सेकिनका लागि झुन्डिन्छन्

साँच्चै भन्छु- त्यतिबेला
कर्दको बिँड समाल्न पनि
कठिन हुन्छ
आँखा कतै जान्छ
हात अन्तै जान्छ
मन कुनै रिसाएको केटाकेटीजस्तै
काममा फर्किन पटकपटक अस्वीकार गर्छ
लाग्छ- छालाको भलादमीपनका पछाडि
कुनै जङ्गल छ जसले मान्छेमाथि
रुखहरूद्वारा आक्रमण गर्छ
र, यो छक्क पर्ने हैन, सोच्ने कुरा हो
तर, जसले जिन्दगीलाई पुस्तकले तौलिन्छ
जो वास्तविकता र अनुभवका बिच
सामान्य अवस्थामा कुनै हत्या हुँदा पनि काँतर देखिन्छ
उसले सजिलै भन्न सक्छ-
साथी ! तँ मोची हैनस्, कवि होस्
खासमा ऊ एउटा रोचक भ्रमको
सिकार छ
जसले सोच्छ- पेसा एउटा जाति हो
र, भाषामा
मान्छेको हैन, कुनै जातिको अधिकार छ
तर वास्तविकता यो हो- आगोले
सबैलाई जलाउँछ
सत्य सबैमा रहन्छ
कोही छन् जसले शब्द पाइसकेका छन्
कोही छन् जो अक्षरका अगाडि दृष्टिविहीन छन्
ती सहन्छन् हरेक अन्यायलाई चुपचाप
र, पेटको आगोसँग डराउँछन्
तर, मलाई थाहा छ- ‘अस्वीकार भरिएको एउटा चित्कार’
र, ‘एउटा सुझबुझपूर्ण मौनता’
दुवैको अर्थ एउटै हो-
भविष्य कुँद्नका लागि ‘मौनता’ र ‘चित्कार’
आआफ्नो ठाउँमा एकै प्रकारले
आआफ्नो कर्तव्य निर्वाह गर्दछन् ।
***
‘संसद से सडक तक’ बाट