हिउँफूलको देश अर्थात्‌ नेपालभित्रको एउटा अनुपम क्षेत्र नगरकोटलाई हिउँफूल रानी भन्न मन लाग्छ मलाई | यहाँ हिउँफूलको उच्चतम सुन्दरता, कोमलता, मनोहारिता हरदम, हरपल मुस्कुराइरहेको, झनझनाइरहेको, प्रस्फुटित भइरहेको देखेको छु मैले | शिरको शोभा टोपी भनेझैँ हिउँफूलको सुन्दरतम्‌ टाकुराहरू यहाँ एकपछि अर्को हुनाले नगरकोटले रमणीय शैलीमा आफ्नो शोभा र भव्यता देखाइरहेको साह्रै चित्ताकर्षक छ | यदि म कालिदास भैदिएको भए मैले यहाँ नियात्रा होइन काव्य लेख्थेँ हुँला | तर भाग्यको रेखाले मलाई नियात्राकार बनाइदिएको छ | तर खेद छैन मलाई, यसैमा म रमाइरहेको छु | त्यसैले नगरकोटबारे काव्य होइन नियात्रा लेख्न लायक भएको छु | नियात्रामा नगरकोट मेरो मुटुमा छाएको छ | नगरकोटको नियात्रा लेखेर हिउँफूलको देश मेरी आमा नेपाललाई मैले माया गरेको, स्नेह गरेको, प्रेम गरेको हुनेछ अनि आमालाई शिरमा राखेर छाती फुलाएर हिँडेको हुनेछ । निश्चय नै नियात्रामा म नगरकोट भएको छु किनभने नगरकोट मेरो दिल दिमागमा छाएको छ, झनझनाएको छ ।

नगरकोट अहिले मात्र होइन, धेरैअघिदेखि सुनेको एउटा प्रसिद्ध ठाउँको नाउँ हो | पर्यटकीय दृष्टिकोणले चर्चाको शिखरमा पुगेको यो ठाउँको मुख्य आकर्षण नै यहाँबाट देखिने अनुपम सूर्योदय र अद्वितीय सूर्यास्तको दृश्य अवलोकन गर्नु हो भन्ने कुरा थाहा पाएको थिएँ | संसारका विभिन्न मुलुकबाट लाखाैँ लाख पर्यटक आई यहाँबाट देखिने सूर्योदय र सूर्यास्तका दृश्य अवलोकन गरी अपरिमेय सन्तुष्टि अनुभूत गर्दैआएका छन्‌ । यसै कारणले मलाई पनि बीच बीचमा नगरकोट एकपटक त जानै पर्ने हो जस्तो लागिरहेथ्यो । तैपनि अग्रसर हुन पाइरहेको थिइनँ । त्यहाँ त्यहाँ पुगेर फर्केका साथीभाइले कहिलेकाहीँ त्यहाँको प्राकृतिक सौन्दर्यबारे प्रशंसाको पुल बाँधेको सुन्दा मलाई बराबर अक्क न बक्क हुनुपरेको थियो | यस्तो बेला मलाई एक किसिमको लघुताभासले सताउने गर्थ्यो । तैपनि “जाउँला नि एक दिन’ भनेर सान्त्वना दिँदै मनको कुरा मनमै राखी नगरकोटको अवलोकनबाट आफूलाई टाढै राखिआएको थिएँ । फलतः यौवनावस्थामा नगरकोटमा पाइला हाल्नुबाट वञ्चित हुन पुगेँ |

घनश्याम राजकर्णिकार

मेरा एक जना जर्मनमित्र नेपाल भ्रमणमा आउँदा उनी नगरकोट पनि घुम्न गएका रहेछन्‌ । त्यहाँको सुन्दर प्राकृतिक छटाबाट उनी अत्यन्तै प्रभावित भएका रहेछन्‌ | नगरकोटबारे उनको बखान सुन्दा मैले “हाँ मा हाँ’ बाहेक अरू केही गर्न सकिनँ | वस्तुतः त्यस बेलासम्म पनि म नगरकोट पुगिसकेको थिइनँ । हजारौँ कोस टाढाबाट आएका पर्यटकले चाहिँ लगत्तै पुगी त्यहाँको प्राकृतिक सौन्दर्यको रसास्वादन गर्नु तर काठमाडौँवासी भनेर कहलिएको म चाहिँ त्यहाँ पुग्नबाट वञ्चित भइरहनुलाई आफूनो भाग्यको खेलबाहेक अरू सम्झन सकिरहेको थिइनँ ।

सूर्योदयको अनुपम दृश्य

हिउँदको समयमा नगरकोटमा मैले पहिलो पटक खुट्टा टेक्न पुग्दा र त्यहाँको अनुपम प्राकृतिक छटा देख्ता म यत्तिको मन्त्रमुग्ध र आश्चर्यचकित भएँ कि त्यसलाई शब्दमा उतार्न सक्तिनँ । यति त अवश्य भन्न सक्तछु कि प्राकृतिक सौन्दर्यको पराकाष्ठा ओगटेको नगरकोट वास्तवमा नेपाल र नेपालीको अमूल्य निधि नै हो । आधुनिक सभ्यताको उपज घुँवा, धुलो, दुर्गन्ध जस्ता दूषित वातावरण, सहरीकरण र मानिसको अस्तव्यस्त आवादीबाट त्राण पाउन काठमाडौँ नजिकको कुनै उपयुक्त ठाउँको खोजी गर्ने हो भने नगरकोट नै हुनेछ भन्नेमा म विश्वस्त छु | भक्तपुरको सल्लाघारीबाट २३ किलोमिटर उत्तरपूर्व करिब दुई हजार मिटर अग्लो पहाडी भूभागमा अवस्थित नगरकोट साँच्चै प्रकृतिकी सुन्दर युवती अथवा तरुनी नै ठानेँ | प्रकृतिकी यी तरुनीको रूप, रङ्ग र सौन्दर्य हेर्न विश्वका कुनाकाप्चाबाट पारखीहरू आउँछन्‌ तर अधिकांश काठमाड्यौंली यहाँ पुगेका छैनन्‌ | यसरी हामी आफ्नै अमूल्य निधिबाट अन्जानवश अनभिज्ञ रहेका छौँ |

नगरकोट पुगेको भोलिपल्ट बिहान सबेरै झिसमिसेदेखि नै हामी होटेलका बरन्डामा सूर्योदयको प्रतीक्षामा बसेका थियौँ । यहाँका प्रत्येक होटेल र रिसोर्टमा स्वदेशी तथा विदेशी पर्यटक हामीजस्तै होटलका बरन्डा वा कौसीमा पर्खेर बसेका हुन्छन भन्ने कुरा होटलका बेराबाट थाहा पाएँ । न्यानो ओछ्यान छाडी चिसो चिसो हावामा सलबलाउँदै तातो चियाको चुस्की लिँदै सूर्यदर्शनको उत्सुक प्रतीक्षा साँच्चै बिर्सनै नसकिँदो छ । सूर्यले घुम्टो उघारी आफ्नो चेहरा देखाउनु झन्डै आधा घन्टाअघिदेखि त्यहाँका आकाश, बादल र हिमशृङ्खलाले छिनछिनमा फेर्दै गरेको लालित्य अति मनमोहक तथा अवर्णनीय भएको अनुभूति म गर्दैथिएँ | प्रकृतिको त्यो उच्चतम दृश्यले मेरो मन प्रफुल्ल भइरहेथ्यो । साँच्चै मलाई त्यस बेला अव्यक्त संसारमा डुलिरहेझैँ लाग्यो । मेरो भावुक हृदयले केही खोज्न लागिरहेको हो वा मेरो अन्तरात्मामा सृष्टिको सुन्दर फूल फुल्न लागेको हो कि जस्तो लाग्यो |

प्रकृतिको त्यो सुन्दर तथा पवित्र पृष्ठभूमिले एक किसिमको अपरिमेय शान्तिको अनुभूति पनि हुँदैथियो । त्यसपछि पलभरमै हिमश्वृङ्खलाको कोखबाट मानौँ लाजले आफूनो घुम्टो बिस्तारै उघारेझैँ सूर्यले आफूनो चेहरा अलिअलि गर्दै देखाउँदै जाँदा पर्यटकहरू एकैसाथ हर्षोल्लासले कराउन थाले, पर ताली बजाउन थाले | यस्तो लाग्थ्यो मानौँ सूर्यरूपी नवदुलही भर्खर यस धरतीमा मन्दचालले पाइला टेक्दैछिन्‌ । यसैबेला त्यहाँका हिमाल, बादल र आकाश पनि पलपलमा आफ्नो रूप परिवर्तन गर्दै नवदुलहीको आगमनमा रमाउँदैछन्‌, हर्षोल्लासित हुँदैछन्‌ । हेर्दै रहँदा छिनछिनमा सूर्यले थरिथरिका रङ्गीन प्रकाश फैलाइरहेको हुन्छ । आकाशमा रङ्गीन बादलहरू तैरिरहेका हुन्छन्‌ । हिमशृङ्खलाका टाकुरामा मानौँ सुनौलो जलप लागिरहेको हुन्छ । यस क्षणको अनमोल दृश्यबाट प्रफुल्लित पर्यटकहरूको हर्षोल्लास ध्वनिले नगरकोट केही क्षण गुञ्जायमान भइरहेको थियो |

चिसो चिसो हावामा

बिहानको त्यो क्षण यति सुन्दर, मनमोहक थियो मानौँ परमात्मा आफैँले सिर्जना गरिरहेको हो कि जस्तो लागिरह्यो | सबै अनौठो थियो, अवर्णनीय थियो। चिसो चिसो रमाइलो हावाले एकातिर मनमा स्फुर्ती जागिरहेको थियो भने अर्कातिर थरिथरिका पंक्षीका चिरबिर चिरबिर ध्वनिले प्रकृति रमाइरहेझैँ लाग्यो । सृष्टिको अनुपम लीला हेर्न नगरकोट एक पटक टेक्नै पर्दोहेछ भन्ने भावना मलाइ बारम्बार लागिरह्यो । साँच्चै भनूँ भने त्यसबेला मलाइ नाचुँ कि , गाँउकी जस्ताे भइरह्यो । लगत्तै डेनी डेङ्जोङ्पाले गाएको –

“चिसो चिस्रो हावामा यो मन त्यसै बरालिन्छ
के भो आँघी रातमा यो मन तिमीलाई नै खोज्दछ”

भन्ने गीत सम्झन पुगैँ र यसलाई मोडेर यसरी गाउन मन लाग्यो –

(चिस्रो चिस्रो हावामा यो मन त्यसै फुफुरिन्छ
के भो नगरकोटमा यो मन त्यसै नाच्न खोज्दछ )

साँच्चै जीवनमा पहिले कहीँ कतै अनुभव गर्न नपाएको प्रकृतिको त्यो अलौकिक सौन्दर्य र लालित्यबाट म निकै बेरसम्म भावविभोर भइरहँ | निश्वय नै प्रत्येक बिहान सूर्यको लालीले यहाँका विभिन्न हिमश्ङ्खलामा स्पर्शगर्दै सूर्य भगवानले अपर्भाट “तेज्जु’ गर्ने नियमित आकस्मिकता आफैँमा गहन छ,अतुलनीय छ, अवर्णनीय छ |

अरू विशेषता नगरकोटको

नगरकोटको अर्को विशेषता हो – यहाँबाट सगरमाथालगायत थुप्रै हिम टाकुराहरू जस्तै मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर आदि विभिन्न हिमटाकुरा एकपछि अर्को लहरै देख्न पाइनु । त्यस्तै हिमालयका १३ ओटा शृङखलाहरू मध्ये ८ ओटा शृङ्खलाहरू जस्तै अन्नपूर्ण शृङ्खला, गणेशहिमाल शुङ्खला, मनास्लु शृङ्खला, लाङटाङ शृङ्खला, जुगल शृङ्खला, रोलवालिङ श्रृङ्खला, सगरमाथा शृङ्खला र नुम्बुर श्रृङ्खलाहरू यहीँ नगरकोटबाट देख्न सकिन्छ | काठमाडौँदेखि यति नजिक ठाउँबाट पर्वतराज हिमालयको विहङ्गम दृश्य सजिलैसित अवलोकन गर्न पाइने नगरकोट साँच्चै स्वनामधन्य छ भन्नुपर्छ, तर अपशोच ! यहाँबाट देखिने विभिन्न टाकुराहरू र हिमशृङ्खलाहरू चिनाइदिने मानिस हामीसाथ कोही नहुँदा लाटाले केरा हेरेझौँ केवल हिमशृङ्खलाका विहंगम झलक मात्र अवलोकन गरेर चित्त बुझाउनुपरेको थियो । यस्तो अतुलनीय ठाउँ हाम्रै देशमा हुँदाहुँदै दार्जिलिङ किन घुम्न जानुपन्यो, सिमला किन पुग्नुपन्यो, मसुरी किन धाउनुपन्यो, म आफैँले आफैँलाई प्रश्न गर्दैछु ।

नगकोट साँच्चै बिर्सनै नसकिने स्थल हो । यहाँको दिनभरिको घुमाइबाट मैले धेरै कुरा थाहा पाएँ | थाहा पाएर रमाइलो लाग्ने कुरा पनि धेरै रहेछन्‌ । त्यतैतिर भेट भएका एक परिचित पुरुषले त्यहाँको डाँडाबाट देखिने काठमाडौँ, भक्तपुर, ‘ललितपुर र काभ्रेका भूभाग देखाइदिए । मेरा लागि त्यो अति रोमाञ्चति क्षण थियो । साथै त्यहाँका डाँडाकाँडा, पाखापखेरो, उकालीओराली आदि सुन्दर प्राकृतिक छटाको दिन्दर्शनले मेरो भावुक हृदयमा बारम्बार नूतन भाव छचल्किरहेको थियो । त्यति मात्र होइन, त्यहाँ भएका विभिन्न जातजातका वनस्पति, चराचुरुङ्गी र पुतलीले पृथ्वीलाई नै अविस्मरणीय तथा अतुलनीय खुल्याइरहेको जस्तो मलाई लाग्यो ।

जीर्ण फलामे भ्यु टावर

सूर्यको अग्रिम प्रकाशमा मानौं सुनको जलप लागी टलपल टल्किरहेका हिमृङखला अर्थात्‌ विहङ्गम सुन्दर दृश्य हेर्न मानिसहरू यहाँ एउटा डाँडामा
अवस्थित फलामे टावरमाथि चढ्दा रहेछन्‌ । हामी जहान परिवार पनि त्यतैतिर लाग्यौँ । फलामे ग्रिल एङ्गलले बनाइएको त्यो टावरको मचानबाट हिमसृङ्खलाको दृश्यावलोकन गर्न मानिसहरूको मिड लागिरहेको थियो ।.मलाई भने त्यो टावरको सोको ठाडो भन्याङ चढ्न आँट आएन । एकाएक मलाई जामाचो (नागाजन डाँडा) मा ठड्याइएको यस्तै एउटा फलामे भ्यु टावरको सम्झना भयो | त्यो यसभन्दा भव्य थियो । त्यहाँ अवस्थित प्रसिद्ध बौद्ध चैत्य दर्शन गर्न गएको थिएँ । बालाजुमाथि त्यहाँबाट पनि हिमालयको शृङ्खला हेर्न फलामे एङ्गलको अग्लो फलामे टावर ठड्याइएको छ । अरूको पछि लागी म पनि उक्लिँदै थिएँ । त्यसमा राखिएका खुड्किलाका काठ कतिपय पुराना भई ठाउँठाउँमा भत्किएर भाँचिएका पनि थिए । केही चढेर माथि मात्र के पुगेको मेरो जिउ सिरिङ्ग २ मन भरङ्ग हुन थाल्यो | मलाई उचाइको डर भावनाले समात्यो । मलाई कहाली लाग्यो | केही नराम्रो हुने हो कि भन्ने डरले म अतालिएँ । त्यसैले कसैलाई केही नभनी म खुरुखुरु तल ओर्लिहालेँ । यसरी मैले आफ्नो मनलाइ आतिएको डरबाट बचाएँ । त्यसैले नगरकोटको त्यो अग्लो खुल्ला टावरलाइ देख्नसाथ जामाचोमा भोगेको हविगत सम्झेँ र उक्लने विचारै गरिँन तर मानिसहरू टावरमाथि उक्लन तँछाडमछाड उकिछिरहेको दृश्य भने हेर्न लायकको थियो । मचानमा मानिसहरू टनाटन भरिसकिएका थिए , ‘ ठाउँ छैन अहिले माथि न उक्लनुस’ भनेर माथि मानिसहरू कराइरहेका थिए तर कसलाई क मतलब धमाधम उक्लिरहेकै थीए । यसबाट हामी नेपालीहरू कति अटेरी र ढिड्न्याहा ? रहेछौँ जस्तो मलाई लागिरह्यो । बढी चापले त्यो टावर ढछिहाल्यो वा केही भइहाल्यो भने के हुने हो भन्ने आशङ्काले म भित्रभित्रै खुम्चिरहेँ । अनि त्यो टावर रहेको भू-भागबाटै हिमालय शृङ्खलाको अपरिमेय भव्यता, सुरन्दरता र कोमलताको साक्षात्कार गर्न पाउँदा पुलकित हुँदै फुरफुर हुँदै थिएँ । मैले मनमनै भनेँ- “धन्य नेपाल आमा ! तिम्रो सौन्दर्यमा कस्तो लालित्य ! तिम्रो यो हिसीलाग्दो चेहरा देख्ता म मन्त्रमुग्ध छु आमा ! तिम्रो भव्यता यसरी नै चम्किरहोस्‌ आमा ! आमा, म तिमीलाई म्वाइँ खान्छु, हे मेरी प्यारी हिउँफुलकी रानी नेपाल आमा ! म तिमीलाई शतशः बन्दना गर्दछु |’

प्रसिद्ध पोखरी महादेव पोखरी

त्यसपछि हामी त्यहाँबाट आसपासमा रहेको महादेव पोखरीतिर लाग्यौँ । यो क्षेत्र धार्मिक दृष्टिले प्रसिद्ध रहेछ । यस पोखरीबारे एउटा पौराणिक किंवदन्ती पनि रहेछ । पौराणिक कथनानुसार उहिले सत्य युगमा देवता र दानव मिली समुन्द्र मन्थन गर्दा निस्केको विषलाई भगवान्‌ शिवजीले आफ्नो कण्ठमा राख्नुभएको थियो | देवतालाई बचाउन उहाँले विष आफूनो कण्ठमा राखिराख्दा विषको प्रभावले उहाँ आफैँ छट्पटिनुभयो । त्यसैले शीतलताको खोजीमा उहाँ हिमालयतिर लाग्नुभयो । यही क्रममा उहाँको एक पाइलो यस ठाउँमा पर्न गएछ, फलस्वरूप पोखरी नै बन्न गएछ जसलाई महादेव पोखरी भनियो । किंवदन्ती सुन्दा तथा थाहा पाउँदा मनमा रमाइलो त लाग्छ नै तर हरपल, हरसमय यस्तै कुरामा मात्र रमाउन थाल्यौँ भने हामी वास्तविकताबाट अलगिएर अन्धभक्त र अन्धविश्वासीका हिमायती त बन्दैनौँ ? भन्न सकिन्न ।

नेपाली-नेपाली एक ढिक्का

नगरकोटमा धार्मिक दृष्टिले महत्वपूर्ण ठाउं ओगटेको अर्को स्थल हो महाँकाल मन्दिर । यो मन्दिर बनाउन तल इन्द्रावती नदीका किनारबाट यहाँसम्म मानिसले लाम लागी हातेमालो गरेर ढुङ्गा (दर्शन ढुङ्गा ) अोसारेका थिए भन्ने सुन्दा म छक्क परेँ । जसरी त्यसबेला यो मन्दिर बनाउन त्यहाँका मानिस एक जुट भएका थिए त्यसरी नै अहिले हामी नेपाली एक ढिक्का भई देश बनाउन थाल्यौँ भने आधुनिक संसारमा हामीले आफ्नो अनुपम उदाहरण सजिलैसँग कायम गर्न सक्छौ भन्नेमा म घोत्ठिन थालेँ । यो मन्दिर भएको ठाउँबाट पनि हिमश्रृङ्रखलाका सुन्दर छटा अवलोकन गर्न पाउँदा म गदगद भइरहेँ । विदेशी पर्यटकलाइ पथप्रदर्शन गरिरहेका एकजना भद्द गाइडले मेरो अनुरोधमा मलाई सगमाथा, अन्नपूर्ण, लाङ्टाङ र मनास्लु हिमाल देखाइदिँदा रोमाञ्चित भएँ । साथै त्यहाँबाट मेलम्ची, हेलम्बु, सुन्दरीजल आदि पर्यटकीय ठाउंमा ट्रेकिङ जान सकिने तथ्य पनि उही गाइडबाट थाहा पाएँ ।

चिया चमेना टी-हाउसमा

यहाँका पहाडी भूमागतिर यताउता चहार्दा बहार्दै हामी ‘टी हाउस’ भनिने यतैतिरका एउटा होटलमा चियाचमेनाका लागि पस्यौँ । डाँडाको एक छेउ टुप्पामा अवस्थित यो होटलले पर्यटकलाई राम्ररी आकर्षित गराइरहेको देखेँ। त्यस्तो सुनसान अनकन्टार ठाउँमा रहेको त्यो होटलमा पर्यटक हुलका हुल चलबलाइरहेका थिए, गुनगुनाइरहेका थिए तथा हँसीमजाक गरिरहेका थिए । त्यतैतिर एउटा कुनामा एकजना कुहिरे बूढो र एउटी तरुनी अङ्कमाल गर्द मस्कँदै थिए, बेलाबेला चुम्बन गर्दै थिए । अन्दाजी अस्सी वर्षे बूढो र पच्चीस तीस वर्षीया केटीबीचको त्यो प्रणयलीला हेर्नलायक थियो |

विपश्यना ध्यान केन्द्रको विचार

नगरकोटमा यताउता भौतारिरहँदा मलाई मनमा के लागिरह्यो भने समयमै बुद्दले सिकाउनुभएको चित शुद्ध गरी मनलाई शान्ति तुल्याउने ध्यानभावना विपश्यनाको माध्यमबाट विश्वलाई शान्तिको मार्गमा डोर्याउन नेपाल र नेपालीले ठूलो योगदान गर्न तत्पर हुनुपरेको छ । यसका लागि नगरकोटको सुन्दर शान्त विशाल हिमश्रृङखलाको छत्रछायाँमा एउटा विशाल ‘विपश्यना ध्यान केन्द्र’ को स्थापना हुनुपर्छ भन्ने भावना मलाई आइरह्यो ।

हृदयविदारक घटना नगरकोटमा

प्रकृतिको सौन्दर्यले झकिझकाउ भएको नगरकोटको यात्रा वणर्नन लेख्तै जाँदा आजभन्दा करिब १३ वर्ष पहिले (वि.स. २०६२मा) यहाँ घटेको एउटा हृदयविदारक नरसंहार घटनाले जो कोही नेपालीको मन गर्हुङ्गो हुनु स्वाभाविकै हो । त्यस बेलाको त्यो सनसनीपूर्ण समाचार पत्रपत्रिकामा मैले पढेको यस्तो थियो- नगरकोटको कालीदेवी मन्दिरमा मङ्सिर-पूर्णिमा मेला लाग्दै थियो । त्यसबेला त्यो मेलामा त्यहीँको ब्यारेकका एक सैनिक जवान साधा पोसाकमा आएका मातेका थिए । लगतै त्यो जवान र मेलामा आएका युवाहरुबीच कचमच, ठाकठुक र भनाभन भएछ । कुरा यतिकैमा सकिएन छ | मादक पदार्थले चुर भएका साधा पेसाकका जवानलाई उपस्थित युवाजमातले मारभक्कु पिटिदिएछन्‌ । सैनिक न ठहरियो मर्नु र मार्नुमा माहिर । उसले बदला लिने नियतले सरासर ब्यारेकमा गई आफ्नो मातहतमा भएको गोलीगठ्ठा र बन्दुक लिई फेरि त्यही मेलामा आई नसाको सुरमा अन्धाधुन्ध गोली चलाउँदा १२ जना निहत्था सर्वसाधारण घटनास्थलमै मरे र अरू १९ जना सख्त घाइते भए । उनले गोली हान्दै गरेको नथामेको देख्ता उनलाई पन्छथाउँदै पछिपछि आएको अर्का सैनिकले उनलाई गोली हानी उडाइदिए। नगरकोटको त्यो नरसंहार घटनाले काठमाडौँ निकै तातेको थियो र सैनिकहरू प्रति सर्वसाधारण नेपालीहरू सबै रुष्ट थिए । काठमाडौँमा लगातार विरोध जुलुसहरू उर्लेको थियो । तर गजब ! जनआक्रोसलाई कदर गर्दै समस्याको समाधान गरे । लगतै दिवंगत भएका पीडित परिवार प्रत्येकलाई रु १५०,०००- (एक लाख पचास हजार) का दरले क्षतिपूर्ति र घाइतेहरू सबैलाई निःशुल्क उपचार सरकारबाट गर्ने गराउने व्यवस्था मिलाइदिए र अब उप्रान्त त्यहाँको त्यो ब्यारेकबाट त्यस्तौ त्रुटी हुने छैन भन्ने भरोसा दिलाए । यसरी त्यसबेलाको त्यो नरसंहार घटनाले नगरकोटको स्वच्छ छविलाई केही धमिल्याएको थियो र अहिले त्यो विगतको इतिहासमा विलीन भैसकेको छ ।

हाम्रो सांस्कृतिक वैभव चाँगुनारायण

नेपालमा पहाड, पर्वत, हिमालयतिर ट्रेकिङ गर्ने चलन सुरू भएको २५/२६ वर्ष भयो होला । हाल यसले व्यवसायको रूपमा राम्ररी ठाउँ ओगटी रहेको छ । यहि मेसोमा काठमाडौँको यताउता छोटो दूरीको ट्रकिङ वा हाइकिङ गर्ने चलन पनि राम्ररी भइरहेको छ । साँच्चै भन्ने हो भने हाम्रो देशमा छोटो कामो ट्रेकिङ वा हाइकिङको चलन चल्ती विदेशी पर्यटकहरूको सोच र चाहना अनुरुप भएको हो । काठमाडौंबाट विदेशी पर्यटकहरू हाइकिङ (पैदलयात्रा) गरी नगरकोट पनि जाँदा रहेछन्‌ । मैले सुनेको कुरा – नगरकोटतिर हाइकिङ गरी पर्यटकहरू दुईतिरबाट जाने गर्दा रहेछन्‌ । पहिलो मार्ग काठमाडौँबाट सुन्दरीजल गई त्यहाँबाट साँखु हुँदै नगरकोट पुग्दा रहेछन्‌ भने अर्को बाटो भनेको भक्तपुरबाट चाँगुनारायण हुँदै नगरकोट जाँदा रहेछन्‌ | ट्रेकिङ वा हाइकिङ गरी नगरकोट जाने अधिकांश पर्यटकहरू चाहिं भक्तपुरबाट चाँगुनारायण हुँदै नगरकोट जान रुचाउँछन्‌ भन्ने कुरा एकजना ट्रेकिङ व्यवसायीबाट थाहा भएको कुरा हो । प्राकृतिक वैभव नगरकोट जस्तै हाम्रो संस्कृति तथा सांस्कृतिक वैभव हेर्न, सुँघ्न र थाहा पाउन जिज्ञासु पर्यटकहरूलाई भक्तपुर सहर तथा चाङगुनारायण मन्दिर अद्वितीय भएको तथ्य पनि उनैबाट थाहा पाएँ | विशेषगरी नेवार समुदायको वासस्थान भक्तपुर अर्थात्‌ भादगाउँ अर्थात्‌ ख्वप सहर हालसम्म आधुनिक निर्माणहरूबाट पञ्चित एवं पुरानाहरूलाई संरक्षित प्राचीन सहर हो। प्राचीन कलाकौशलहरू, ऐतिहासिक संरचनाहरू, हस्तकला एवं शिल्पकलाका वस्तुहरु, प्राचीन सुन्दर मन्दिरहरू, सांस्कृतिक उत्सवहरूको लागि भत्तपुर सहर प्रसिद्ध र अदितीय छ । यहाँ प्राचीन तथा अर्वाचीन संरचनाहरूसँग साक्षात्कार गर्न पर्यटकहरू भक्तपुर सहर प्रवेश गर्न लालायित हुँदा रहेछन्‌ । एकथरी पर्यटकहरू चाहिं भक्तपुरबाट हाइकिङ (पैदलयात्रा) गरी ६ किलोमिटर टाढा रहेको नगरकोट पुग्न चाङ्गुनारायण भएर जाने गर्दा रहेछन्‌ । जुन माथि पनि उल्लेख गरी सकेँ । जे होस्‌ नगरकोट जाने वा नजाने पर्यटकहरूमध्ये मनग्य चाँगुनारायण मन्दिर गएरै छाड्छन्‌ । हाम्रो महत्वपूर्ण कलाकृति तथा संस्कृतिको धरोहर चाँगुनारायण बारे केही पढेर केही सुनेर वा अरुले भनेकोबाट थाहा पाइएका केही तथ्यहरू अब यहाँ छोटकरीमा प्रस्तुत गर्नु हिउँफुलको देश नेपाल निवासी म एक नेपालीको स्वधर्म हो भन्ने भन्ठान्छु । काठमाडौँबाट पुर्वतिर १२ किलोमिटर वा भक्तपुरबाट उत्तरतिर ४ किलोमिटर दूरीमा रहेको चाँगुडाँडामा अवस्थित चारौँ शताब्दीमा निर्मित दुई तले छाना भएको चाँगुनारायण मन्दिर नेपालको इतिहासमा सबैभन्दा पुरानो मन्दिर गनिन्छ । यही मन्दिरको |

परिसरमा रहेको गरूडध्वज भन्ने इस्वी संवत् ४६४ मा निर्मित ढुङ्गाको स्तम्भमा लेखिएअनुसार यो मन्दिर लिच्छवीकालीन बर्माले संवत् ३२५ मा निर्माण गरिएको हो | र समय बित्दै जाँदा यहाँ समय समयमा पुनः निर्माणा तथा अरू महत्वपूर्ण निर्माणहरू थपिँदै गएका थिए । यो मन्दिरको हाताभित्र पस्न अघि अघिकांश नेवार समुदायको बस्ती भएको ठाउँमा पर्यटकहरूको आगमनले साना तथा मझौला होटल, रेस्टुराँ तथा कोसेली पसलहरू (गिफ्टसपहरू) पनि ठाउँ-ठाउँमा छन्‌ । पूर्वी प्रवेश्वारबाट चाँगुनारायण मन्दिर हाताभित्र पस्दा त्यहाँ विभिन्न थरिका महत्त्वपूर्ण प्राचीन निर्माणहरू, वस्तुहरू ट्वाक्क भेटिन्छन्‌ । अर्थात्‌ यस मन्दिरतिर रहेका विभिन्न कलाकृतियुक्त ढुङ्गा, काठ, धातुका महत्वपूर्ण वस्तुहरूले त्यसबेलाका उपत्यकाका नेवारहरूको सुन्दरतम शिल्पकारिता एवं कलाकारिता झल्किन्छन्‌ । नेपाली परम्परामा निर्मित यो मन्दिरभित्र रहेको दश टाउको एवं दश हात भएको पूर्णकदको भगवान्‌ विष्णुको ढुङ्गाको सुन्दर प्रतिमाले विशेष महत्त्व राख्दछ | हुन पनि यो मन्दिर वस्तुतः भगवान्‌ विष्णुलाई नै समर्पित गरी बनाइएको हो । अर्को कुरा त्यतैतिर रहेको भगवान्‌ विष्णु आफ्ना बाहन गरुङमा विराजमान भएको सुन्दर मूर्तिले पनि सबैको आँखा तानिहाल्छ । त्यस्तै सातौँ शताब्दीमा निर्मित भगवान्‌ कृष्णको विश्वरूप मूर्ति र भगवान्‌ विष्णुको अर्को रूप नरसिहले आफना भक्त प्रहलादलाई बचाउन दानव राजा हिरण्यकश्यपलाई अन्त्य गर्न प्रहार गरिरहेको मूर्ति पनि कम महत्वका छैनन्‌ । पुड्कोको रूप भगवान्‌, विष्णुले निरंकुश राजा बालीलाई नाश गर्न कुल्चिराखेको मूर्ति पनि आफैँमा स्वनाम धन्य मान्नु पर्छ । संक्षेपमा चाँगुनारायणबारे एकजना सस्कृतिविद्ले भनेका कुरा मनन योग्य छ । उनी भन्छन्‌- “जब तिमीले ज्ञान आर्जन गर्न चाँगुनारायणको निरीक्षण गर्दछौ त त्यसको मतलब तिमीले त्यसबेला अर्थात्‌ आजभन्दा करिब १६०० वर्ष अगाडिको उपत्यकाको सांस्कृतिक वैभवको पूर्ण पाठ पढ्ने छौ ।’ यसरी चाङ्गुनारायण हामी समस्त नेपालीको गहना हो, धरोहर हो, छाती फुलाएर विश्वसामु देखाउने पुर्खाको अमूल्य सम्पत्ति हो । यस्तो अमूल्य नीधिलाई हामीले राम्ररी स्याहार सुसार नगर्नु भनेको हाम्रो नादानी हो । युनेस्कोले विश्वसम्पदा सूचीमा उहिल्यै सगौरव समाविष्ट गरिसक्दा पनि हाम्रो घैँटोमा घाम झुल्कन नसक्नु हाम्रै नामर्दी हो भनेर मैले भनेँ भने के बढ्त बोलेको होला ?

हिउँफूललाई माया गरेँ

एकजना गाइडले नगरकोटबारे भनेका कुराहरू सम्झँदैछु । उनी भन्दै थिए- ‘यदि तपाईँ बिदा मनाउन नगरकोटमा २/३ दिन बस्ने बन्दोवस्त गर्नु हुन्छ भने तपाई प्रकृति रानीसँग राम्ररी घुलमिल गर्नसक्नु हुन्छ । पहिलो कुरा त सहरतिर देख्न नपाइने सल्लाका रुखहरूसँग नगरकोटमा तपाइंको राम्ररी ठाउँ-ठाउँमा जम्कोभेट हुनेछ । चोसो पर्दै गएको सत्लाका रुखहरूले नगरकोटको वनजङ्गल राम्ररी सिंगारिएको तपाईँलाई मनमोहक लाग्ने छ । त्यहाँ चल्ने मन्द हावाको तालमा रुखका पातहरू हल्लिँदा प्रस्फुटित सिरसिर र सुईसुइँका लयबद्र आवाजहरू आफैँमा प्रकृतिका देन हुन्‌ । प्रकृतिका यस्ता लयबद्ध आवाजले तपाइंको भावुक मनलाई प्रफुलित पारी छाड्छ । यहाँका एकान्त ठाउँहरूमा घुमफिर गर्दागर्दै जतागए पनि हिमशृङ्खलाहरूले तपाईंलाई मुसुक्क हाँसी ‘तेजु’ गर्ने नियमित आकस्मिकता आफैँमा गहन छ, रमाइला छन्‌ | यतातिर ख्च्चर चडेर मजा लुट्ने मौका पनि तपाईंलाई मनमोहक लाग्ने नै छ | यहाँका तामाङ बस्तीतिर गएर उनीहरूको जीवनशैलीले तपाईंलाई नूतन ज्ञान हुने नै छ। त्यस्तै विभिन्न थरिका चराचुरूङ्गीका चिंचिं र चुइँचुइँ ध्वनिले जस्तोसुकै कठोर हृदय पनि द्रवीभूत भइछाड्छ । यदि तपाइ ध्यान मा अभ्यस्त हुनुहुन्छ भने नगरकोट तपाईंको लागि उपयुक्त शान्त ठाउँ हो ।” यसरी एकजना अपरिचित गाइड महासयले नगरकोटबारे डिङहाँक्तै गरेको बयानबाट बिदा मनाउन र प्रकृतिरानीको काखमा रमाउन नगरकोट सर्वोत्तम ठाउँ भएको मैले थाहा पाँए । तर अहिलेसम्म उनले भनेर म आफैँ त्यसरी सहभागी हुन नपाउँदा वा हुन नसक्दा ‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ भने जस्तो मलाई हुनु पनि ‘ स्वभाविकै हो । तर जे होस्‌ हिउँ फूलकी रानी नगरकोट आफैँमा सुन्दर, शान्त, विशाल छ भन्ने कुरा त्यहाँ पुगेपछि मलाई अनुभूत हुनु भनेको सत्यम्‌ शिवम्‌ सुन्दरम् भने जस्तै हो भनेर मैले यहा भनिरहनु नपर्ला । सत्य हो हिउँफुलको देश मेरी आमा नेपालको त्यो रुप लावण्य देख्ता मैले हिन्दी फित्म ‘हमराज’ मा दार्जिलिङको हिमश्रृङखलामा दुई प्रेमी प्रेमीकाले गाएको मधुर गीत मेरो मानसपटमा ध्वनित हुन पुग्यो ।

ए!…ए!!…नीले गगनके तले धर्तीका प्यार पले
ऐसिही जगमे, आते हे शुभही ऐसिही साम ढले
यो गीतलाई अनि आफूनै पारामा मलाई यसरी गाउन मन लागिरह्यो-
ए!…ए!!.नीलो आकाश मुनि हिउँफुललाई प्यार गरेँ
यसरी नै जगत्‌मा सूर्योदय र नै सूर्यास्त देखे ।

बोधीसत्व मञ्जुश्रीको पदार्पण

साँच्चै उकाली ओराली हरियाली डाँडैडाँडा, पाखा, पर्वतयुक्त नगरकोट एउटा यस्तो ठाउँ हो, जहाँ पुग्दा प्रकृतिको सुन्दरतम लालित्यले हामीलाई मन सञ्चो, जिउ हलुङ्गो पारिछाड्छ । हिमालय पर्वतराजको विस्तृत शोभा, हरियाली सल्लाघारीका रमाइला दृश्य अनि सूर्योदय र सूर्यास्तका अपरिमेय छटालाई जति वयान गरे पनि कमै हुन्छ । भनिन्छ , बोधीसत्व मञ्जुश्री नेपाल प्रवेश गर्दा सर्वप्रथम नगरकोटमा आइपुग्दा त्यहीँबाट जलमग्न काठमाडौँ उपत्यका दह देख्नुभयो । त्यसपछि उहाँले चोभार डाँडामा आफ्नो खड्ग प्रहार गरी उपत्यका पानी निकास गराइदिए । त्यसपछि देखि मात्र काठमाडौँ उपत्यकामा मानिसको बस्ती शुरू भयो । कालान्तरमा काठमाडौँ उपत्यकामा बाक्लो बस्ती हुँदै विभिन्न ठाउँमा राजा महाराजाहरूले शासन चलाउन थाले । समय बित्दै जाँदा नगरकोट उपादेयतामा कुनै कमी आएन । यहाँको सुन्दर शान्त प्रकृतिको काखमा राजा महाराजाहरू गर्मी छल्न जान्थे र त्यहीँ हप्तौँ हप्ता बस्ने गर्थे । अहिले आएर नगरकोट पर्यटकीय दुष्टिले भूस्वर्ग बनेको छ । यसरी अनादीकाल देखि नगरकोटले बिशिष्ट स्थान औगटेको प्रशंसनीय कुरा हो ।, साँच्चै नगरकोट एउटा यस्तो ठाउँ हाे जहाा सुन्दरता , कोमलता र माधुर्यले परिपूर्णा छ । चालिसको दशकदेखि मात्र पर्यटकीय केन्द् बनेको यस ठाउँमा भौतिक तथा आध्यात्मिक विकास गर्न सकेमा स्वदेशी तथा विदेशी पर्यटकका लागि नगरकोट विश्वको एउटा भूस्वर्ग बन्न सक्नेछ ।

अन्तमा हिउँफुकी रानी नगरकोटबारे यो नियात्रा लेख्तै गर्दा हाम्रो राष्ट्रगानको एक टुत्रा मैले बारम्बार सम्झिँरहेँ ः
ज्ञानभुमि शान्तिभुमि तराई पहाड हिमाल,
अखणड यो प्यारो मातृभुमि नेपाल ।

घनश्याम राजकर्णिकारका “प्रतिनिधि नियात्रा”बाट