म उनीहरु बीचको कुनै पनि सम्वाद लेख्न असमर्थ छु किनकि म उनीहरुले बोल्ने भाषा बुझ्न असमर्थ थिएँ । तर सधैँ अभिव्यत्ति बुझ्न भाषा मात्र चाहिने होइन रहेछ । यो मेरो निजी अनुभूति हो । भाषा र प्रस्तुति कुनै पनि सम्वादका परिपूरक हुन् । मैले उनीहरु बीचको सम्वादलाई प्रस्तुतिका भरमा बुझ्ने प्रयास गरेँ । एउटा कुरा मलाई के चैँ प्रस्ट भयो भने, मारिया जिनारोसँग निकै रिसाएकी छ अनि जिनारोसँग मारियालाई फकाउनयोग्य कुनै अस्त्र छैन । यो लाचारी जिनारोका आँखामा प्रस्ट झल्किन्थ्यो ।

पार्किङ्ग लटमा, मारियाले कारभित्रै बसेर चुरोट झिकी । जिनारोले आफ्नो लाइटर झिकेर उसको चुरोट सल्काइदिन खोज्यो । मानौँ, मारियालाई फकाउन उसले प्रयोग गर्ने हालका लागि एक मात्र उपयुक्त अस्त्र यही थियो । मारियाले फुकेर निभाइ दिई । उसले आफ्नै लाइटर झिकेर चुरोट सल्काई । मारियाले फुकेर निभाएको लाइटर एकछिन हेरेर जिनारो आफैँले पनि चुरोट सल्काएर तान्न थाल्यो ।

उनीहरुबीच यो गतिविधि हुँदा, म मारियाले हाँकेको कारको पछिल्लो सिटमा थिएँ । एकछिन अघिसम्म मसँगै जिनारोको भाइ, टिकोड पनि थियो । ऊ अघि नै ट्रेन स्टेसनमा उत्रिसकेको थियो । टिकोड कारभित्र भइन्जेल उनीहरु कुनै शुक्रबार, कुनै डिस्कोमा भएको पार्टीको गफ गरिरहेका थिए । उनीहरु त्यतिबेला जर्मन भाषामा कुरा गरिरहेका हुनाले हालसम्म सिकिसकेका केही जर्मन शब्दहरुका भरमा मैले अर्थ लगाइरहेको थिएँ । टिकोडलाई ट्रेन स्टेसनमा छाडेपछि उनीहरु आपसमा इटालियन भाषामा कुरा गर्न थाले । अनि मैले बुझ्ने बाँकी केही रहेन । मारियाको आवाज बिस्तारै चर्को र रुन्चे हुँदै गएपछि मात्र मैले के भइराखेको हो, बुझ्ने प्रयास गरेको थिएँ । मैले उनीहरुको भाषा नबुझ्ने भएर होला सायद, उनीहरुको लागि पछिल्लो सिटको मेरो चेतन उपस्थिति र मसँगैको निर्जीव झोला बीचमा केही फरक थिएन ।

अहिले भने, दुवै जना मौन बसेर चुरोट तानिरहेका थिए । मलाई पनि चुरोटको तल तल लाग्यो तर मसँग चुरोट सकिएको थियो । उनीहरु बीचको वातावरण भङ्गगर्दै चुरोट माग्न मन लागेन । पार्किङ गरिसकेको हुनाले कारबाट निस्कन ढोका उघारेँ । जिनारोलाई त्यो असजिलो वातावरणबाट फुत्कने बहाना मिलेछ । मसँगै ‘चुरोट पिउने ?’ भन्दै जिनारो पनि कारबाट निस्कियो ।

चुरोट सकेर जिनारो भित्र पसिसकेको थियो । मारियाले मलाई पछाडि ढिक्कीको सामान झिक्न सहयोग मागी । लिफ्ट चढ्ने बेलामा आँखामा लतपतिएको गाजल मिलाउँदै मारियाले भनी, “म र जिनारो यसरी झगडा गरेको, सेफिनसँग कुरा नगर है !” लिफ्टभित्र हाते झोलामा भएको ऐना झिकेर बाह्रौँ तला नपुगिन्जेल मारियाले लत्पतिएको गाजल मिलाई नै रही ताकि अरु कसैले उनीहरुबीच अघि भएको घटना थाहा नपाऊन् । म भने मेरो उपस्थिति किन चेतन रुपमा उनीहरुको बीचमा अनुपस्थितझैँ भयो भनी गमिरहेँ । सयद म पनि, गोविन्दबहादुर मल्ल ‘गोठाले’को “भाँडो” कथामा भाडोमा रुपान्तरित त्यही भाँडा माझिरहेको पात्र भएको छु । यहाँ वर्ग विभेदभन्दा भाषा विभेदको प्रधानताले मलाई भाँडो बनाइरहेको छ । म अहिले फरक सेटिङमा त्यही कथा चोरिरहेको हुँ ।

कुनै व्यक्तिले आफ्नो मनको कुरा वा अनुभूति अरुलाई किन सुनाउँछ र सुनाइने पात्र निर्धारण गर्ने आधारहरु के के हुन् ? यो पात्र विशेष वा परिवेश वा परिस्थिति विशेष निर्धारण हुन्छ ? म त्यो परिवारमा अचम्मको पात्र बनिरहेको थिएँ । मारिया, जिनारो र सेफिन तिनै जना मारिया र जिनारोको सम्बन्धका बारेमा मसँग गफ गर्छन् । सबै आफैँमा के प्रस्ट छन् भने, मैले सुन्न पर्ने वा मलाई सुनाइन पर्ने बीच, कुनै सम्बन्ध नै छैन । उनीहरुलाई सुनिदिनेको खाँचो छ र सुनिदिनेले उनीहरु गलत छन् भन्ने नठानोस् भन्ने अपेक्षा । सायद, यसो गर्दा उनीहरु आफू पखालिएको अनुभव गर्थे ।

म सेफिनले खोलेको इटालियन रेस्टुरामा पार्ट टाइम काम गर्थें । किचनमा काम गर्ने हामी जम्मा तीन जना थियौँ । म, सेफिन र मारिया । सेफिन इटालियन र जर्मन भाषा मात्र बोल्थी, त्यसैले हाम्रो त्यति कुरा हुन्न थियो । मारिया फ्रेन्च भए पनि थोरबहुत अङ्ग्रेजी बोल्थी, जुन हामी बीचमा कुरा गर्न काफी थियो । समयक्रमसँगै हामी बिस्तारै सहकर्मीबाट साथी भएका थियौँ ।

जिनारो मारियाको प्रेमी । सेफिनको जेठो छोरो । हप्तामा तीन दिन मात्र घरमा हुन्थ्यो । बाहिर बारमा टिकोड सेफिनको कान्छो छोरा, जिनारोको भाइ बस्थ्यो । जिनारो उसको अफिस नगएको बेला बाहिर टिकोडलाई सहयोग गर्थ्यो तर छिनछिनमा भित्र किचनमा मारियासँग जिस्कन आइरहन्थ्यो । बाहिरको काम छाडेर भित्र मारियासँग जिस्कन आएको सेफिन त्यति रुचाउन्न थिई । हुन त जिनारो भएको मलाई पनि त्यति मन पर्दैन थियो किनभने मारिया जिनारोसँग जिस्कन व्यस्त भएपछि मलाई उसको काम पनि थपिन्थ्यो । थप मेरो काम गर्दा बोल्ने साथी पनि हुन्न थियो ।

रेस्टुराँमा परिवार बाहिरको कर्मचारी म मात्र थिएँ । त्यसैले बिस्तारै म पनि त्यही परिवारको सदस्यझैँ घुलमिल भएँ । मारियाको जिनारोसँग छुट्टी मनाउन जाँदा भेट भएको रहेछ । मारिया त्यो बेला केही मोटी थिई रे ! त्योबेला जिनारोले उसको वजनमा असन्तुष्टि जनाएको रहेछ । पछि मारियाले वजन घटाइछ अनि जिनारोसँगै ऊ पनि जर्मनी आएकी हो रे !

उनीहरु प्रेमी-प्रेमिका भएर सँगै बस्न थालेको चार वर्ष भएछ । अब जिनारोले कम्पनीमा काम गर्न थालेको एक वर्ष भइसकेकाले मारिया छिट्टै उनीहरुको विवाह हुन्छ अनि ऊ र जिनारो छुट्टै बस्न थाल्छौँ भन्थी । माथिको घटना भएको केही हप्ताअगाडि उनीहरुको विवाह भएको थियो र त्यसको केही दिनपछाडि बाहिर चुरोट खाँदै गर्दा जिनारो र मेरो कुरा भएको थियो । जिनारो राम्रोसँग अङ्ग्रेजी बोल्दैन थियो । त्यसैले मैलै उसले भनेको सबै कुरा त बुझिनँ तर जिनारोको कुराको सार मैले यसरी लगाएँ– केटीहरु कहिले नरित्तने गुनासाका भाँडा हुन् । माया गर, विवाह गरेन भनेर गुनासो हुन्छ, विवाह गर, माया नगरेको गुनासो हुन्छ ।

हुन त धेरै कुरा मेरो मारियासँग हुन्थ्यो । उसका पनि आफ्नै गुनासाहरु थिए । उसको भनाइलाई पनि सार रुपमा मैले यसरी बुझेको थिएँ– केटाहरु जहिले पनि दुविधामा हुन्छन् । उनीहरु माया गर्न त जान्दछन् र त्यो देखाउन अगाडि पनि हुन्छन् तर त्यसलाई स्वीकार्न वा माया निभाउन सधैँ हिच्किचाउँछन् ।

यी सबै घटनाको अर्को प्रमुख पात्र सेफिनको पनि आफ्नै दृष्टिकोण थियो । म सेफिनको कुरा भाषागत कठिनाइले अरुको भन्दा कम बुझ्थेँ । मैले बुझेको सार यस्तो थियो– जिनारोको आमा सेफिनलाई उसकी प्रेमिका मारिया भएकोमा कुनै गुनासो छैन । गुनासो छ त उसले मारियालाई विवाह गरेकोमा । उसको पछाडि कम्मरको हाडको अप्रेसन गर्नपर्ने छ, त्यसैले पछि मारिया बच्चा जन्माउन सक्दिन कि भन्ने डर छ । मारियाले विवाह अगाडि त्यो कुरा लुकाएको भन्ने आरोप सेफिनको छ अनि जिनारोले यति चाँडो विवाह गरेकोमा गुनासो ।

सबैका गुनासा र आरोपहरुको बीच मैले खोज्नपर्ने अर्थ त केही पनि थिएन र म न्यायाधीश हुनपर्ने आवश्यकता पनि थिएन । हुन त मलाई यो प्रसंगका सबै कोणहरु प्रस्ट पनि थिएनन् तर म नजानिँदो तरिकाले मारियाको कुरामा सहमत थिएँ किनकि मारियासँगको संगतले मलाई उसको बढी ख्याल, सहानुभूति अथवा माया लाग्थ्यो । समानअर्थी लाग्न सक्ने यी तीन शब्द बीचको विभेद मैले छुट्याउन सकेको थिइनँ ।

म सधैँझैँ साँझ काममा थिएँ । काम सकेर निस्कने हतारमा थिएँ म । मारियाले मलाई उसकोबाट केही सामान सार्नु छ मलाई सहयोग गर्छस् भनेकीले म मारियासँग उसको फ्ल्याटमा गएँ । हामी हिँडेरै उसको फ्ल्याटसम्म गयौँ । बाटामा मारियाले जे भनी, सुनेर म छक्क परेँ । जिनारोसँग मारियाले सम्बन्धविच्छेद गर्ने निर्णय गरिछ । उसको बुवा उसलाई लिन आज आउँदै हुनहुन्छ रे ! उसको आमाले अर्कैसँग पुनः विवाह गरेकाले आमासँग उसको त्यति साह्रो सम्पर्क रहेनछ । मैले यति धेरै र यति चाँडो ऊ र जिनारोको सम्बन्धका बारेमा थाह पाएँ कि मैले कुनै धारणा बनाउने मौकै पाइनँ । धारणा बनाउनैपर्ने भन्ने पनि थिएन ।

उसको कोठामा पुगे पछि ऊ रुन थाली । “मैले जिनारोको अनुरोधमा आफ्नो वजन घटाएँ । अधिक व्यायामले मेरो कम्मरमा समस्या आयो । अहिले त्यही निहुँमा सेफिनसँग लागेर जिनारोले मलाई छाड्ने निर्णय गर्यो तर पनि म जिनारोलाई अझै माया गर्छु ।”

उसले एकाध मिनेट लगाएर बोलेको कुराको अर्थ पुग-नपुग यति नै बुझ्दै थिएँ, मारिया मेरो छातिमा टाउको राखेर रुन आइपुगी । म उभिइरहेँ, ऊ त्यही अवस्थामा बसेर रोहिरही । एउटा दुधे बालकलाई रोइरहेकी आफ्नी आमालाई फकाउने अवस्थाझैँ थियो मेरो । मैले पनि उसलाई अँगालोमा लिएर झन् रुने मौका दिएँ ।

मारिया त्यसरी किन रोई ? अरुको अगाडि आँशु झार्दा, के रुनेको दुःख हेर्नेलाई सर्छ ?

मारिया नभएपछि मलाई काममा पनि अल्छी लागिरहेको थियो । मारियाले छाडेपछि रहेक साँझ, सेफिन जिनारोलाई दारी काटेर पब वा डिस्को जा भनेर कर गरिरहेकी हुन्थी । जिनारोसँगै ट्रेन स्टेसनसम्म आउँदा मैले उसलाई मेरो निर्णय सुनाएँ- मेरो परीक्षा आयो, अब म भोलिदेखि काममा आउन सक्दिनँ । जिनारो केही भन्दै थियो तर मैले दुई महिना अगाडि, परीक्षाको निउँमा, किन काम छाडेँ नबुझेर आफैँसँग छक्क थिएँ ।