
दिव्याले यसरी आफूले लेखेको कथा सुनाउँन शुरु गरी ।
म बाह्र वर्षको हाराहारीमा उक्लिन लागेकी रहिछु। म आफैँलाई आफ्नो शरीरमा केही परिवर्तन भएझैँ लाग्न थालेको थियो। जसरी आफ्नो बालकपनमा विभिन्न खेलहरु खेलिन्थ्यो। ती खेलहरुको रुचिमा पनि परिवर्तन आउन थाल्यो। आफूले होस् सम्हालेदेखि खेलेको गुडिया, भाँडाकुटी, फुटेका काँचका चुराहरुको टुक्रा, खोप्पी, मान्छे गोल आदि सबै खेलको रुचिमा पनि ह्रास आउँदै गयो।
आफ्नो सोचमा पनि केही भिन्नता आएझैं भान हुन थालेको थियो। कता-कता डर, लाज, अप्ठ्यारोपनले मनमा डेरा बसाउन थालिसकेको थियो।
गाउँघरका ठिटाहरुसँग पनि अप्ठ्यारो महसुस हुन थालिसकेको थियो। एक दिन बिहानको भान्सामा काठको पिरामा बसेर सबैजना खाना खाई रहेका थियौं। मेरैअगाडि बसेकी मेरी दिदीले मलाई ईशारा गर्नु भो र मेरो पिरातिर संकेत गर्नु भो। मैले दिदीको संकेतअनुसार यसो मुन्तिर हेरें । मैले लाएको रातो प्यान्टमा दुई तीन थोपा टाटो देखिएको रहेछ। म जुरुक्क उठेर टोइलेट गएँ र हेरेँ, साँच्चै मेरो अण्डर गार्मेण्ट त रगतको थोपाले लुछुप्पै भएको रहेछ।
यो दृष्यले म किङ्ककर्तव्यविमूढ़ बनेँ। कता कता डर, लाज र अप्ठ्यारोपनले सतायो रुन पनि मन लाग्यो।
उसले बडो भावुक बनेर आफ्नो कथाको हरेक हरफ बडो ध्यानले पढेर मलाई सुनाउँदै गई । त्यो समयमा आजको जस्तो खुल्ला परिस्थिति थिएन। आफ्नो छातीको भागको परिवर्तनले पनि कता-कता लाजको आभास भएको महसुस हुन्थ्यो। आफ्नो समतल छातीमा सानोतिनो थुम्को उठेको प्रष्टै हुँदैथ्यो। लाएको लुगाले छुँदा पनि ती पलाउँदै गरेका मुनाहरु नमिठोसँग दुख्ने गर्थ्यो तर कसैलाई भन्ने हिम्मत पुगिरहेको थिएन।
हो, म बाह्र वर्षदेखि उकालो चढ्दै गएदेखि आफैँलाई भिन्नै रुपमा महसुस गर्न थालिसकेकी थिएँ। जब म कक्षा सात,आठमा पुगिसकेकी थिएँ ।
मलाई महिनैपिच्छे हुने छुईले साह्रै अप्ठ्यारो बनाउँथ्यो। यतिसम्म कि साथीहरुले थाहा पाउलान् कि भनेर ज्यादै त्रसित हुन्थेँ। त्यस अवधिभर आफूलाई भयावह लाजबाट जोगाएर उक्सिन पाउँदा ठूलै जित हात पारेको महसुस हुन्थ्यो।
जब म नौ कक्षामा प्रवेश भएँ, अनि त आफूलाई ठूलै परिवर्तनमा ढाल्न सक्षम भई सकेकी थिएँ। त्यस अवधिभित्रमा आफ्नो विपरीत लिङ्गीमा आकर्षित हुने लक्षण पनि देखा परिसकेको थियो। आफ्ना कक्षामा पढ्ने समकक्षी केटा साथीहरु लगायत अन्य पनि आफूसँग आकर्षित भएको सत्य थाहा पाउन थालेँ अनि आफूलाई पनि कता कता मनमा युवकहरुप्रतिको आकर्षणले घेरे जस्तो लाग्न थाल्यो।
जब चौध/पन्ध्रको संघार टेक्न थालेँ, आफूलाई पनि सौन्दर्य प्रतिको मोहले तान्न थाल्यो। आँखामा गाजल लाउने प्रक्रिया शुरु भयो। यो समय उसै पनि प्रकृतिले नै आफ्नो यौवन र सुन्दरतामा थप सौन्दर्य थपिदिने हुनाले अरु सौन्दर्यका साधनहरु प्रयोग गने जरुरी भने लाग्दैन थियो। जब पन्ध्रको संघार टेक्न थालियो, आफूले पढ्ने स्कुलमा कक्षा आठदेखि अनिवार्य साडी लाउने नियममा परियो। अनि त के चाहियो र ? आफूलाई कलिलो कोपिलाबाट तरुण फूलमा अनुवाद भएझैं भान हुन थाल्यो।
हो, त्यही समयदेखि आफूलाई आफ्नो उचाईको पनि चिन्ता लाग्न थाल्यो। अग्लो हिल भएको जुत्ता लाएर अझ ठूली हुने अभीप्शा जाग्दै आयो। अनि अरु साथीहरुभन्दा अलिक राम्री, आकर्षक बन्ने भोक पनि त्यो समयले निम्त्याएको अनुभव हुन थाल्यो।
म आफू अलिक सानो कद र दुब्ली, पात्ली भएकीले पनि मेरो यौनाङ्गमा अरु केटीहरुको सरह विकास नभएको प्रष्टै थियो। तर म यसैमा खुशी थिएँ, कारण त्यो समयले मनले चाहे पनि कतिपय केटीहरुलाई आफ्नो पुष्ट छाती देखिनुमा अत्ति लज्जास्पद महसुस हुन्थ्यो।
एक दिन मैले मसँगै पढ्ने साथीलाई हाट लागेको बेला एउटा पसलमा ब्रा (बोटिस, त्यो समयको नाम )किन्दै गरेको भेटें। म अत्ति अचम्भित बनें। “अरे ! यस्लाई यसरी खुलेआम यस्तो चिज किन्न कस्तो लाज नलागेको ? कसरी लाउँछे होली ? संकोच पनि लाग्दैन कि क्या हो ?” हुन पनि ऊ मेरो उमेरकै भए पनि उसका वक्षस्थल निक्कै सप्रिएका थिए। उसलाई बोटिस (चेस्टर )लाउनु अपरिहार्य पनि थियो।
उस्ले निसंकोच त्यो चिज किनी र हामी बिदा भयौं। त्यो दिनभरि मलाई कता कता कुरी कुरी लागि रह्यो। सुशीलाले सबैको अगाडि त्यो चिज लाएर कसरी हिँड्छे होली ? उसलाई आफ्ना बुवा, आमा, दाजुभाइको अघि अप्ठ्यारो पनि लाग्दैन कि क्या हो ? एकदिन मैले उसलाई सोधें। -“सुशीला तँलाई त्यो चिज लाउँदा लाज लागेन ? मलाई त सम्झिंदै पनि कस्तो लाज लाग्छ। म त कहिल्यै लाउँदिन होला। ”
मेरो प्रश्नले उस्ले अलिक उत्तेजित हुँदै हाँस्दै भनी। “तैंले त ऐले लाउनु पनि जरुरी छैन। खै! तेरो त ऐलेसम्म भर्खर चिचिलो मात्रै लाग्दैछ जस्तो छ,” यसपछि ऊ खितिती हाँसी। म झन् लाजले रातोपिरो भएँ। अनि फेरि उस्ले अरु कुरा थपी। “के गर्ने ? केटी मान्छेहरुको पनि उमेरले मात्र नहुँदो रहेछ। त्यही उमेरमा कसैको छिट्टै सप्रेर आउने। कसैको उस्तै उमेरमा पनि नदेखिने। खै ! यौनाङ्गमा पनि मल्जल अनुसारको उब्जनी फस्टाउँछ कि क्या हो ?” फेरि हाँसोको फोहोरा फ्याँकी।
म भने भित्रभित्रै अझ शरमले पानी पानी बनिसकेकी थिएँ।
हुन पनि मेरो छातीको थुम्को बढ्न भर्खर तर्खर मात्र हुँदैथियो। मलाई भने बाह्र या तेह्र वर्षमै छुई भइसकेको थियो जतिबेला मैले यस्को महत्त्व,अर्थ बुझ्न सक्षम भइसकेकी थिइनँ। जुनबेला त्यस्तो भएको थियो, मेरा लागि ठूलै पाप भएजस्तो आत्माग्लानिमा पनि डुबेकी थिएँ म।
जब मैले पन्ध्र वर्षको उमेरमा केही युवाहरुको प्रेमप्रस्ताव पाउन थालेँ अनि भने मैले आफूलाई तरुणावस्थामा प्रवेश गरेको महसुस गर्न थालेँ। बल्ल आफूलाई तरुणी अवस्थामा उक्लिँदै रैछु भन्ने महसुस हुन थाल्यो। कता कता मनमा, आँखामा सुन्दर, सुकुमार युवकहरुको तस्बीर सजिन थाल्यो। तरै पनि मनमा सजाउने हिम्मत भने आइसकेको थिएन मभित्र।
एक दिन कोठामा दराजका लुगाहरु निकालेर पट्ट्याउँदै थिएँ। दिदीको सानो भएको ब्रा (बोटिस,चेस्टर )फेला पारेँ। मलाई पनि लाउने इच्छा जाग्यो। त्यतिन्जेल मेरो छातीको नाप पनि अलिक चौडा र उचाई बढेको अनुमान लगाई सकेकी थिएँ। मैले ढोका बन्द गरेँ। आफ्नो माथिको वस्त्र फुकालेँ र त्यो चिज लगाएँ। ऐनामा हेरें साँच्चै मेरो छातीमा परिवर्तन देखेँ। मेरो छातीमा सानो सानो हिमाल ठडिएझैं लाग्यो। निक्कैबेर गमेँ। कताकता काउकुति पनि लागेझैँ भान भयो। ऐनामा वर्किफर्की हेरेँ। आफूलाई आफैँले प्रश्न गरें, “के अब म पनि कलिली युवतीबाट नारीमा परिभाषित हुन पुगेँ त ? के म पनि अब तरुणी भएँ त ?”
यस्तै प्रश्नहरुले मलाई घेरे। लाजले गालाहरुमा रक्तिम लालीमा चढेझैँ अनुभव भयो। त्यही ऐनासँग नै लाज लागेजस्तो भयो।
केहीबेर पश्चात त्यो वस्तु खोलेँ र राखेँ। त्यस दिनभरि मैले आफूले आफैँलाई के के सोचेँ सोचेँ। कता कता मन पनि दुखेझैँ भयो। अहो ! म पनि अब तरुण बनेछु भन्ने पीरले मनमा डेरा पनि जमायो। आफैँलाई आफैँले सम्झाएँ, “हैन मैले यस्तो सोच्नु हुन्न। म मात्र यस्ती भएकी हुँइनँ। अरु केटीहरु पनि त छन् नि, मजस्तै जवानीमा उक्लदै गरेका। फेरि यो प्रकृतिको नियम पनि त हो। मैले किन अप्ठ्यारो मान्नु र लज्जित बन्नु ?” यही प्रश्न तेर्स्याएँ र म फेरि लुगा मिलाउनमा तल्लिन बनेँ।
भोलिपल्ट म स्कुल गएँ। त्यही साथी सुशीलाले मलाई निक्कै नियालेर हेरी तर केही भन्न सकिन। मभने अप्ठ्यारोपनले कता कता गुम्सिई रहेकी थिएँ। बोल्न पनि गाह्रो भइरहेको थियो। सधैँझैँ म खुलेर हिँड्न, कसैसँग बोल्न सकिरहेकी थिइनँ। कता कता अपराधीझैँ आफूलाई महसुस गरिरहेकी थिएँ। आफ्नो छाती र पिठ्युँ साडीको पल्लाले छोप्दाछोप्दा हैरान थिएँ। मलाई कतिबेला स्कुलको समय सकिन्छ र भागूँजस्तो भइरहेको थियो। मैले अप्ठ्यारो महसुस गरेको कुरा सुशीलाले मार्क गरिरहेकी थिई। उस्ले भन्न मात्र सकेकी थिइन।
बल्ल प्रतीक्षाको घडी आयो छुट्टीको घण्टी टङटङ गरेर बज्यो। म हठात एक्लै निस्कन तयार हुँदै थिएँ। सुशीलाले मलाई पछाडिबाट धाप मारी। म झस्किएँ र उस्लाई पुलुक्क हेरें। उस्ले मेरो हेराईको भाव बुझी क्यार। अरु केही नभनी -“जाऊँ” मात्र भनी। मलाई उस्को अघि हिँड्न पनि अप्ठ्यारो लाग्यो र उस्को पछिपछि लागेँ। सबैजना हुल बाँधेर घरतर्फ लाग्दै थिए। सुशीला र म भने निक्कै पछाडि बिस्तारो हिँड्दै थियौँ फेरि सुशीलाले अँगालो मार्ने बहानामा मेरो पछाडि हात राखी। अनि नबुझेझैं गरी मलाई सोध्न थाली, “निशा के भो आज तँलाई ? ठूलै अपराध गरेको अपराधीझैँ भएकी छेस् ? व्हाट्स अ रङ विथ यु ?”
उसको प्रश्नले अझ म शर्मिन्दा बनेँ । अब भने उस्ले कुरा खोली, “ए निशा, मैले तेरो सब मनस्थिति बुझी सकेँ। तैँले आज आफूलाई अलिक तरुणावस्थामा ढालेकी छेस् होइन ? अनि के भो त ? किन यसरी तँ अप्ठ्यारो मान्छेस् ? यो त हामी नारीहरुले आफूलाई समयानुसार ढाल्दै जानु पर्ने हो। आफ्नो शरीरको आवश्यकता र मागअनुसार हामीले त्यसको परिपूर्ति गर्दै जानु पर्छ। मलाई पनि शुरुमा त अत्ति अप्ठ्यारो लागेको थियो बानी परेपछि आफैँ ठीक हुन्छ। यस्तो लज्जित बन्नु पर्दैन।”
उसले यति भनेपछि मलाई केही ढुक्कको अनुभव भयो। अनि मैले जवाफमा भनेँ, “सुशीला मलाई त कस्तो अप्ठ्यारो महसुस भयो। आफूले निक्कै ठूलो गल्ती गरेझैँ लाग्यो। कसरी स्कुलमा साथीहरुसँग सामना गरूँ? जस्तो भएको थियो तर तैँले मलाई आश्वासन दिइस्। अलिक ढुक्क लाग्यो।”
फेरि उसले भनी, “अब हामी नारी जतिले पाएको संस्कार नै हो । जे जस्तो भए पनि, आइलागे पछि सहनै पर्छ । अप्ठ्यारो मानेर, लज्जित बनेर हुँदैन । उहिले उहिले सात/आठ वर्षमै बिवाह हुन्थ्यो । त्यस समय झन् ती नाबालिका केटीहरुले के कस्ता कुराहरु सहनु पर्यो होला ? हाम्रो पालामा त तै बरु हामीले जसरी पनि आफूलाई सुरक्षित गर्न पाएका छौँ । ल ! घर पनि आइपुग्ने बेला भयो । अब छुट्टिऊँ । अब भोलिदेखि चैँ लाज, शरम त्यही तेरो किताब, खाता बोक्ने झोलाभित्र नै राखेर आउनु । सधैँ लाज मानेर हुन्छ लाटी ?”
यति भनेर ऊ आफ्नो बाटो लागी । म आफ्नै सुरमा हिँडिरहेकी थिएँ । परबाट सौरभ आइरहेको देखेर मेरो तरुणीपन फेरि एकपल्ट शर्मायो । लाजले गालाहरु गुलाबी बन्दै ताता भएझैं लाग्यो । म अर्को बाटो छड्किन के आँटेकी थिएँ ।उस्ले आफ्नो पौरषत्व देखाउँदै मेरो बाटो छेक्यो र भन्यो, “ए… निशा खै ! मेरो अस्तिको चिट्ठीको जवाफ ? हैन तिमी केटी मान्छे हौ कि ? ढुङ्गाको मूर्ति ? बरु मूर्ति बोल्छ होला । तिमीलाई कति अप्ठ्यारो र शरम लागेको ? अब त तिमीले पनि यौवनको संघारमा टेक्दैछौ । म पनि सक्षम र जवान युवक भइसकेँ । के अब पनि हामीले एकार्कामा प्रेम गर्न पाप लाग्छ र ? तिमी किन सधैं तर्किएर हिँड्छ्यौ ? आज त तिमीले मलाई जवाफ दिनैपर्छ ।”
यसपछि त उसले मेरो हात समात्यो ।
मैले उसबाट छुट्कारा पाउने कोसिस गरेँ तर एक युवकको बलिष्ठ हातले मेरो पाखुरीलाई अझ मज्बुत तरिकाले समात्यो । त्यो समय मात्र मैले एक पुरुषको पौरषत्वको तागतको अनुभव गरेँ । मैले आफूलाई छुटाउन के खोज्दै थिएँ त्यहीबेला उसले मेरो हात चुम्यो । अहो ! त्यो चुमाईको स्पर्शले मभित्र करेण्टझैँ ऊर्जा सल्बलायो । बल्ल मैले थाहा पाएँ । पुरुषको स्पर्श मात्र पनि कत्ति शक्तिशाली हुँदोरहेछ जसले शरीर मात्र होइन, मनमुटुलाई नै झन्झनाहटमय बनाएर नौलो दुनियाँमा पुर्याउँदोरहेछ ।
मेरो हात चुमेर ऊ सरासर आफ्नो बाटो लाग्यो । अनि म रणभुल्लमा परें । मनमा कता, कता उनीप्रतिको आशक्ति जाग्यो र भन्न मन लाग्यो, “सौरभ प्लिज पर्ख । म पनि तिमीसँगै जान्छु । आऊ अब मलाई अंगाल । म तिम्रो अंगालोमा बाँधिन चाहन्छु ।”
म झसंग निद्राबाट ब्युँझें । मैले त सपनामा उहिल्यैको आफ्नै यौवनावस्थाको कथा नै पो देखिरहेकी रहिछु । यसो उता फर्केर हेरेँ मेरी चौध वर्षीया छोरी मस्त निद्रामा सुतिरहेकी थिई । सम्झेँ, “यसलाई पनि उहिले मलाई भएजस्तै त हुँदो हो नि । तर अहिले समय बद्लिएको छ स्कुलमा नै स्वास्थ्यसम्बन्धी र महिला पुरुषको सम्बन्ध र व्यवहारसम्बन्धी सबै पढाउँछन् रे ! हिजो मात्र उस्ले मलाई के के सोधिरहेकी थिई । अचेलकालाई हामीलाई जस्तो लाज, शरम, अप्ठ्यारो कहाँ हुँदोरहेछ र ? यति सम्झेर म पनि निदाउने प्रयत्नमा जुटेँ ।
अँ… दिव्याले यसरी आफूले लेखेको यौनकथा मलाई सुनाई र कस्तो लाग्यो ? भनेर सोधी । मैले जवाफमा भनेँ । शाश्वत र मिठो छ । आखिर यो शृष्टि नै यसरी भएको छ । नारी अलिक संवेदनशील र लजालु हुनुपर्ने। पुरुष अलिक हठी र आँटी हुनुपर्ने । अनि यी दुवैलाई एकार्काको आवश्यकता र परिपूरकको रुपमा बनाइनु पर्ने । लाग्यो, यो कथा मेरै कथा वा आम युवतीहरुको कथालाई शब्दमा उतारेकी हौ । आखिर हरनारीमा शारीरिक परिवर्तन र मानसिक परिवर्तन हुन्छ नै । अनि एकदिन कुनै पुरुषको अंगालोको चाहनामा हरनारीले मिठो कल्पना सजाउँछन् नै ।
मेरो जवाफले ऊ सन्तुष्ट भई क्यारे ! ल भन्, स्मिता यसको शीर्षक के राखुँ ? मैले जवाफमा भनें – ‘उस्को स्पर्श’ शीर्षक राख। उसले सहमतिमा हुन्छ भनी ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

