“तपाईंको समाजवाद माथिको त्यो विचार घतपर्दो छ,” मैले भनेँ।

उनको गम्भीर अनुहारमा विचारको पसिना चिटचिट आएको मैले देखेँ।

“समाजवाद, मलाई धेरैले त्यो विचारको लागि तारिफ गरे। किन ? अचम्म लाग्छ।” उनले बिजुलीको खम्बातिर हेर्दै भनेँ।

“तपाईंलाई कसैले प्रशंसा गरेको मन पर्दैन ?” मैले सोधेँ।

“प्रशंसा, म प्रशंसाको निम्ति भोकाएको छुइनँ। मान्छेको जीवन प्रशंसाको निम्ति मात्र होइन । म मान्छेलाई न प्रशंसा गर्छु। न मलाई मान्छेले प्रशंसा गरेको नै मनपराउँछु।”

म एकक्षण छक्क पर्छु ।

उनले त्यो बिजुलीको खम्बालाई देखाउँदै भने, “यी हेर्नोस् न । जहाँनेर राति बिजुलीको उज्यालो हुनैपर्छ, त्यही ठाउँमा बल्ब फुटेको छ । नयाँ बल्ब पर्खेर बसेको धेरै भयो त्यो खम्बाले । ऊ त्यहाँ हेर्नोस् त।” उनले परतिर भएको अर्को बिजुलीको खम्बालाई देखाउँदै भने— “जहाँनेर बिजुलीको आवश्यकता नै छैन, त्यहीँनेर चाहिँ राति उज्यालो हुन्छ । किनभने त्यहाँनेर सत्तारूढ़ दलको राजनेताको घर छ । जहाँ उज्यालोको खाँचो हुन्छ, त्यही अँध्यारो हुन्छ, अनि जहाँ उज्यालोको खाँचो छैन, त्यहाँ चाहिँ उज्यालै उज्यालो । यी दुई बिजुलीका खम्बाले सरकारको रूप दर्शाउँछ । यसैले मैले त्यो आर्टिकलमा यहाँको समाजवादलाई फुटेको बोतलभित्र रहेको गङ्गाजल भनेको छु।”

हामी हिँड्दै छौँ।

“तपाईंले ठीक भन्नुभएको छ । अब ‘स्वतन्त्रता’माथि एउटा आर्टिकल लेख्नुहोस् दाजु,” मैले भनेँ।

उनी एकक्षण अडिन्छन् र मलाई हेरेर फिस्स हाँस्छन्। फेरि अघि बड्छन् अनि भन्छन्, “तपाईंले अपर्झट स्वतन्त्रताबारे लेख्नुहोस् भन्दा मलाई कस्तोकस्तो लाग्यो।”

म झट्ट सोधिपठाउँछु –“किन, कस्तो लाग्यो तपाईंलाई ?”

“स्वतन्त्रताको कुरा निस्किँदा मलाई एकजना साथीले भनेका कुरा याद आयो,” उनले भनेँ ।

“कस्तो कुरा दाजु ?” मेरो सोधाइ ।

“एकदिन उसले मलाई भन्यो (‘डी॰बी॰, मलाई एउटा कुरोको साह्रै दरकार परेको छ।’ मैले कस्तो कुरोको दरकार परेको छ भनी सोध्दा उसले त्यतिबेला जवाफ दियो- ‘स्वतन्त्रताको’ म छक्क परेको थिएँ ।

स्वतन्त्रताको किन दरकार परेको छ भनी सोध्दा उसले भन्यो (‘अरे डी॰बी॰) मेरी श्रीमतीले रातदिन किचकिच गरेर मेरो गिदी खाइसकी। हाम्रो अफिसमा त्यो टाइपिस्ट बहिनी रीता छ नि ? ऊसित आँखा लगाउँदी रहिछ मेरी श्रीमतीले। ‘रीता बहिनीको कुरा निकालेर मेरी श्रीमतीले मलाई
रातदिन कचकच गर्छे।’ मैले त्यसो भए कस्तो स्वतन्त्रता चाहिन्छ तिमीलाई भनी सोध्दा उसले मलाई भनेको थियो, ‘मलाई मेरी श्रीमतीबाट स्वतन्त्रता चाहिन्छ।’

मलाई हाँसो उठेको थियो। छक्क पनि परेको थिएँ उसको कुरा सुनेर। कालान्तरमा बुढ़ियाको गनगनलाई साम्य पार्न उसले अन्य ठाउँमा ट्रान्सफर लिनुपरेको थियो। आज भाइले त्यही कुरा सम्झाउनु भयो।”
मलाई उनका कुरामा मजा लाग्दैछ । हामी दुई अघि बढ्दैछौं । केही पर बाटोबाट एकजना मानिसले बोलाउँछ –“अरे डी॰बी॰ दाजु,आज त अफिसबाट छिटै फिर्नु भयो त ?”
उत्तरमा डी॰बी॰ दाजु बोल्छन्, “भाइ, आज म छुट्टीमा छु । अहिले बजारबाट यी सौदा लिएर आएको। सौदाबिनाको जिन्दगी भोको हुँदोरहेछ भाइ । एकछिन ल भाइ।” यति भनी डी॰बी॰ दाजु त्यो मानिस भएतिर जान्छन् । ‘हुन्छ दाजु’ भनी म उभिरहेको छु।

त्यो मानिसले डी॰बी॰ दाजुलाई भन्दैहुन्छ, “तपाईंको सोसलिज्ममाथिको आर्टिकल साह्रै इम्प्रेसिभ लाग्यो।”

“फेरि तपाईं पनि त्यही सोसलिज्मको कुरा गर्नुहुन्छ, मेरो दिमागमा जे आयो त्यही लेखेँ । मलाई अचम्म केमा लाग्छ भने, जुन आर्टिकल सोची सोची अध्ययन गरेर लेख्छु नि त्यो आर्टिकलबारे कसैले कमेन्ट गर्दैनन्। सायद मन पराउँदैनन् । तर जुन आर्टिकल म धेर नसोची लेख्छु त्यसलाई सबैले वाह वाह गर्छन्,” डी॰बी॰ दाजु बोल्छन् ।

“दाजु, अस्ति इन्सुरेन्सबारेमा गरेको कुरा के कस्तो लाग्यो होला ?” त्यो मानिस बोल्छ ।

“ठीक छ भाइ। तपाईं भोलि आठ बजे बिहान आउनुहोस् न । एउटा सानो गरिदिउँला । भाइलाई नाइँ भन्न पनि सक्दिनँ।”

“हवस दाजु, म भोलि आठ बजे आउने छु,” त्यो मानिस बोल्छ प्रफुल्ल भएर ।उसको अनुहारमा खुसीको छाप स्पष्ट देखिन्छ । म अलिकति खस्छु आशाको डिलबाट ।

“हवस भाइ,” भनी डी॰बी॰दाजु म भएतिर आउँछन् र भन्छन्, “सरी भाइ, तपाईंलाई धेरै पर्खाएँ । हेर्नोस् न बिचरा त्यो भाइले इन्सुरेन्सको एउटा पोलिसी किनिदिनुहोस् न भनेको भनेकै छ । विचरा त्यो भाइ बेकारी भएर डुल्दाडुल्दा बल्ल इन्सुरेन्सको एजेन्सी लिएर केही बसिबियाँलो गर्दैछ। बिहे पनि गरेको छ । यताउता केके गरेर भए पनि जीवन धान्दै छ । सहयोग त गर्नु पर्यो नि । होइन र भाइ ?” डी॰बी॰ दाजु बोल्छन्।

“हो नि दाजु । मैले पनि त इन्सुरेन्सको एजेन्सी लिएको छु नि ?” मेरो जिब्रो चिप्लिहाल्छ ।

“हो र ? अन्त मलाई अस्ति नै किन नभनेको ? ”

“भर्खर त लिएको दाजु । दाजुलाई पनि भनुलाँ भन्दै थिएँ तर …” मेरो कुरा काटेर डी॰बी॰दाजु बोल्छन्, “ये भाइ, भनेको भए त म एउटा सानो त छोराको नाममा गरिदिन्थेँ नि ! मैले त्यो भाइलाई भोलि बोलाइहालेँ । त्यो भाइलाई दिएको वचन तोड्नु पनि भएन । वचन दिएर धोका दिनु उचित हुँदैन। तै पनि भाइलाई पनि एउटा गराइदिन्छु ।”

म दाजुको सान्त्वनाले आश्वस्त हुन्छु ।

“साँच्ची भाइले आकाशवाणीमा उद्घोषकको लागि आवेदन गर्नु भयो ?” प्रसङ्ग बद्लेर डी॰बी॰ दाजु बोल्छन्।

“गरेको छुइनँ दाजु।”
“भाइले गर्नुहोस् । चान्स छ । भाइको आवाज पनि राम्रो छ । साहित्यिक गतिविधि पनि राम्रो छ। भाइले पाउनु सक्नुहुन्छ। फर्म ल्याएर आवेदन पठाइहाल्नुहोस्। चान्स छ, भाइको ।”

“हुन्छ दाजु।”
“अन्य धेरैवटा विभागमा पनि रिक्त पदहरू छन् । त्यहाँ पनि यसो कोशिश गर्नुहोस्।”

“तपाईंलाई त सबै थाहा छ दाजु। सरकारी नोकरी पाउनु साह्रो छ।”
“हुन त हो । नातावाद र कृपावादको जमाना छ । छनछनीको कालखण्डमा छौं हामी । जसले फनफनी घुमाउन सक्छ, छनछनीले उसैको जयजयकार हुन्छ चारैतिर। जे होस् हरेस खानु हुँदैन। कोसिस जारी राख्नुपर्छ। सुकर्मको लागि सुपथमा नै हिँड्नुपर्छ हामीले । सबैले भाग्य बोकेरै आएको हुन्छ तर सुकर्म गर्नु छोड्नु हुन्न । प्रायस् सबै विभागमा रिक्त पदहरू धेरै छन्। नयाँ नियुक्तिको खाँचो छ केही हदसम्म बेकारी समस्याको समाधान गर्न। समयानुकूल सरकारी पाइला चाल्नु उचित छ। तैपनि भाइले पनि यताउता कोशिश चाहिँ गर्नुपर्छ । कोशिश छोड्नु हुन्न। म पनि सकेसम्म सहयोग गरूँला । अनि अर्को कुरो, अध्ययन र लेखनलाई चाहिँ निरन्तरता दिनुपर्छ। भाइले राम्रो लेख्नुहुन्छ।”

डी॰बी॰दाजुका प्रेरणादायक कुरा सुनेर केही प्रोत्साहित हुन्छु, ‘हुन्छ दाजु’ भनिदिन्छु । हामी कुरा गर्दै हिँडिरहेछौँ । छिमेकी रमेश दाजुको घरछेउ आइपुग्दा म बोलिपठाउँछु, “हवस त दाजु, म यहीँसम्म । रमेश दाजुले बोलाउनुभएको छ । हवस म जानुपर्यो।”

“हुन्छ भाइ, भोलि बेलुकी आउनुहोस् है !” भन्दै डी॰बी॰ दाजु उकालो लाग्छन्।

‘हुन्छ’ भनेर म पनि रमेश दाजुको घरतर्फ लाग्छु। त्यहाँ पुगेर ढोका ढकढकाउँछु। भाउजूले ढोका उघार्नुहुन्छ । मलाई भित्र आउने अनुरोध गर्नुहुन्छ । म भित्रिन्छु । भाउजूले बस्ने आग्रह गर्नुहुन्छ ।
म छेवैको सोफामा बस्छु । भाउजूले रमेश दाजुलाई बोलाउनुहुन्छ। दाजु बारीबाटै ‘आउँदैछु’ भन्नुहुन्छ ।

“दाजु आउनु हुँदैछ भाइ । एकक्षण बस्दै गर्नुहोला,” भाउजू भन्नुहुन्छ अनि कोठाभित्र जानुहुन्छ ।
म ‘हुन्छ’ भनेर टेबलमाथि भएको एउटा पुस्तक उठाउँछु। पुस्तकको शीर्षक रहेछ “एशिया महादेशका कविताहरू”। पुस्तकको पन्ना पल्टाउन म हतारिन्छु । कविताहरू पढ्न थाल्छु । केही क्षणमा रमेश दाजु तौलियाले हात पुस्दै आउनुहुन्छ।

“अन्त भाइ, कतिको हुँदैछ कलेक्सन ?” रमेश दाजुले मलाई सोध्नुहुन्छ ।

“अलिअलि हुँदैछ दाजु,” म जवाफ दिन्छु अनि हातको पुस्तक बन्द गरेर टेबलमा राख्छु ।

“मैले कति पो दिनुपर्छ भाइ ?”

“हजार एकहत्तर दाजु ।”

“औ एक छिन यहाँ आऊ त !” रमेश दाजुले भाउजूलाई डाक्नुहुन्छ ।

“किन बोलाउनुभएको ?” भन्दै भाउजू आउनुहुन्छ।

“भाइलाई हिजो भनेको त्यो दिहाल त।”

“कति पो ?”
“हजार एकहत्तर,” दाजु भन्नुहुन्छ । भाउजू भित्र जानुहुन्छ।

केही क्षणमा मेरो हातमा हजार एकहत्तर रुपियाँका नोटहरू हुन्छन् । त्यसपछि वर्तमान राजनीतिक र साहित्यिक कुराकानी रमेश दाजुसित हुन्छ । म चिया र बिस्कुट खाँदै कुरा गर्दैहुन्छु । केही बेरमा रमेश दाजुका सात र दस वर्ष पुगेका छोरीहरू ट्यूसन पढेर घर आइपुग्छन् ।

म धेरै समयसम्म रमेश दाजुको घरमा कुराकानी गरेपछि बाहिरिन्छु । बाहिर झमक्क साँझ परिसकेको हुन्छ। त्यसपछि रूपेश भाइले पनि मलाई बोलाएको हुनाले म रूपेश भाइको घरमा प्रवेशिन्छु । रूपेश भाइसित केहीबेर गाफिएपछि म घरतर्फ लाग्छु। बाटोमा साथी जीवनलाई भेट्छु ।

जीवनले म बोल्नअघि नै भन्छ – “एउटा खबर सुन्यौ ?”

“कस्तो खबर ?” म जिज्ञासु बन्छु ।

“डी॰बी॰ दाजु पनि खसेछ,” जीवनले भन्छ।

“हँ, हन अगि त मसित राम्ररी बात मारेर गएको ! कस्तो अचम्म,” म छाँगोबाट खस्छु ।

“त्यही त, म आफैँ छक्क परिरहेछु । हाइ ब्लड प्रेस्सर रहेछ । घरको सिँढ़ी उक्लिँदा उक्लिँदै रिँगटा लागेर सिँढ़ीबाट लडेर तल सड़कमा पुगेछन् । टाउकोमा साह्रो चोट लागेछ। हतारहतार अस्पताल लगे पनि दाजु बाँचेन रहेछ।”

जीवनले यसरी विवरण दिए तापनि मलाई पत्यार लागेकै छैन। जीवनबाट छुट्टिएर घर आइपुग्दा थाहा पाउँछु डी॰बी॰ दाजु साँच्चै बितेछन् । मलाई भोलि बेलुकी बोलाउने, त्यो मान्छेलाई भोलि बिहान आठ बजे बोलाउने, रेल्वे कार्यालयमा कार्यरत डी॰बी॰दाजु, लब्ध प्रतिष्ठ साहित्यकार डी॰बी॰दाजु साँच्चै अब यस संसारमा छैनन्। समयको सानो फेरमा जिउँदो मान्छे लास हुँदोरहेछ। डी॰बी॰दाजु बोल्दाबोल्दै, हिँड्दाहिँड्दै लास बन्छन् भन्ने सत्य कसले सोचेको थियो होला ? मान्छेको जीवन हिँड्ने क्रममा रहँदारहँदै मृत्युको काखमा पुग्दोरहेछ भन्ने सत्य आज मलाई ज्ञात भयो । म पनि अहिले हिँड्दै छु । हुनसक्छ, यसरी हिँड्ने क्रममा म कहिले हिँड्न नसक्ने पनि हुन सक्छु। मलाई पनि मृत्युले अङ्गाल्न सक्छ हिँड्ने क्रममा। ममा यस्तै दृढ़ विश्वास पलाएको छ ।