यो वर्षको फेब्रुअरी १ तारिख विहीबार, राति म काम कामैमा हुन्छु, फोन आउँछ । स्टोरमा फोन उठाउन नमिल्ने रोजगारदाताले तोकेको सर्तको अवज्ञामा म फोन उठाउने जमर्को गर्छु नेपालबाट आएको फोन हुनाले । उठाउने प्रयास गर्छु स्पष्ट आवाज आउँदैन तर पनि कुरा गर्ने प्रयास गर्दछु, बुझिँदैन । मनु ब्राजाकी पुनः आईसीयूमा पुगेको जानकारी जीवनपानीले अगाडि नै मलाई गराइसकेकाले मेरो मनले मनु रहेनन्भन्छ । फोन नबुझिएसँगै जीवनपानी मलाई सन्देश लेख्छन्, “मनु ब्राजाकी रहेनन् ।”
होस् गुम्छ, म रित्तोजस्तै हुन्छु । एक्लै काम गर्नुपर्ने भएकाले सम्हाल्दै रातिको १२ः३० कटाउँछु काममा र फर्कन्छु आवास । सामाजिक सञ्जाल, मुहारपुस्तिकामा पस्छु र भरिएका देख्छु मनु ब्राजाकीका फोटैफोटाले भरिएका भित्ताहरू । निद्रा लाग्दैन । तिनै मोबाइल,फेसबुक, मेसेन्जरमा झुन्डिईरहन्छु तै पोलेको मनमा केही शीतलता मिल्छ कि भनेर ।
शब्दहरूलाई शब्दाञ्जली बनाउन खोज्छु आफ्ना साहित्यिक नायकमा श्रद्धाञ्जलीका शाब्दिक पुष्पार्पण गर्न । मनु ब्राजाकीसँग मागिएको चिठीको याद गर्छु पछुताउँछु । छोरीलाई चिठी नभई नेपाली साहित्यका चिठी मागेको, तर कोलराडो आउने बेलामा लेखाएर लिन नपाएकोमा मनु ब्राजाकीको “छोरीलाई चिठी” लेख अर्थात् हस्तलिखित पत्र गुमाएकोमा थकथक मान्छु । मनु दाइले भगवतीको प्रसाद पिउन छोडेको र किन पुनः पिएको होला भन्दै मनमनै गम्छु, गुम्फन गर्छु तर केही निस्कँदैन फलरूपी विचार । मनमस्तिष्कलेचारैतिर मनु ब्राजाकी मात्रै देखाउँछ । कति बलियो हगि मानिसको मन, यथार्थजति सबै मनुको दिवंगतताको ओझेले ढाकिन्छ ।
वि.सं. २०७४ माघ १९ अर्थात् फ्रेबरी १ तारिख अब मलाई झस्काउने दुखद् तस्बिर बनेर इतिहासको गर्तमा गैसकेको छ । मनुको चाहना अझै बाँच्ने र गतिला–गतिला कृति नेपाली साहित्यका लागि समर्पण गर्ने रहेको थियो भन्ने सम्झनाचाहिँ झनझन टड्कारो हुँदै जान थालेको छ । बगर पत्रिकाले मनु ब्राजाकी बिशेषाङ्क निकालेर मनुलाई जीवितमा हस्तान्तरण गर्ने भन्ने अभियानलाई सम्पादक एवं कवि नकुल सिलवालको आत्महत्याले पूर्णविराम लगाइदिएको तीतो पानो स्मृतिपटलमा फुत्त आइहाल्छ । बगर पनि नकुलसँगै गएको ठानी मनु ब्राजाकीलाई जीवितमै ब्राजाकी बिशेषाङ्क हस्तान्तरण गरी मुस्कान तस्विर लिने र मनुको बिशेषाङ्क अभियानलाई कालले कप्लक्कै निलेर असम्भवको कोटीमा थन्क्याइसक्यो अब । मसँग त छन्केवल स्मृति, पछतो र ग्लानिको पीरो भाव मात्र ।
मैले मनु ब्राजाकीको “भविष्य–यात्रा” कथासङ्ग्रहबारे शोधपत्र तयार गर्ने सोच बनाएँ ।कृतिपरक अध्ययन भए पनि मेरो गुरु रमेश कुमार भट्टराईको निर्देशन बमोजिम जीवनी पाटोलाई पनि अद्यावधिक गर्ने निर्णय गरेँ । एमए का सहपाठी मित्र दिनेश पौडेल‘गरिब’को सहयोगमा म मनु ब्राजाकीलाई भेट्न पुगेँ र कृतिबाट धेरै अगाडि धेरै पटक भेटेका मनु ब्राजाकीलाई प्रत्यक्षमा चाहिँ वि.संं. २०५९ चैत्रको पहिलो हप्ताको शनिवार धोबीघाटमा पहिलो पटक भेटेको थिएँ । दिनेशले श्यामबाबुलाई भेट्न ‘कोसेली’ लिएर जानुपर्छ भनेका थिएँ । धोवीघाट पुगेपछि मिलेका दाँत, हसिलो तर गम्भीर चेतमान अर्थात्श्यामबाबु अर्थात् मनु ब्राजाकीसँग साक्षात्कार गर्न सफल भएको थिएँ म ।
लुङ्गी लगाएको, झुस्स दाह्री पालेको, किसाने चौधरी, किसाने मगर एवं मङ्गोलियन अनुहारका मुसलमानको भेषमा ब्राजाकीलाई देख्दा मलाई अचम्म लागेको थियो । चुरोटको कस बसेको हात, पटपट फुटेका पैताला देख्दा भर्खरै खेतीपातीको काम सकेर आएका जस्तो लाग्थ्यो । मृदुभाषी, सरल र समयनिष्ठ व्यक्तिका रूपमा मैले पहिलो दिन ब्राजाकीको मूल्याङ्कन गरेको थिएँ । देब्रे कान कम सुन्ने ब्राजाकीलाई औपचारिक रूपमा मैले परिचय दिएको थिएँ । औपचारिक रूपमा प्रश्नहरू पनि सोधेँ तर मनुले लिखित प्रश्नमा नै जोड गरेको थिए । साँझ ५ः०० बजे पुगेकाले फर्किन हतारले हामीलाई चेपेको थियो खुबै। थोरै कुराकानी भयो, मनुले सुरुमा आफ्नो बारे शोधपत्र तयार गर्ने कुरा कुरा नपत्याएको जस्तो लाग्यो । हिँड्नेबेलामा मनुले मलाई यसो भनेका थिए ‘अधिकारी बाबु… दिउँसो म घरमा हुन्छु । दिउँसो आउँनुहोला । प्रश्न पनि बनाएर ल्याउनुहोला ।’
पहिलो भेटमा उनको चुरोटको गन्धमय शरीर, झुस्स परेको दाह्री, कस परेको हाल, पटपट फुटेको पैताला, लुङ्गीको वेशभन्दा पनि समयनिष्ठ, इमानदार, मित्रवत्एवं सरल स्वभावबाट म निकै प्रभावित भएँ । परिवारबाट चियापानीले हाम्रो स्वागत गरीएकोमा खुसी लागेको थियो । मूलतः लेखनले नै मलाई प्रभाव पारेर मैले मनु ब्राजाकी छानेको थिएँ । आञ्चलिकताको प्रभाव पनि थियो । मीठो बोली श्यामबाबु अर्थात मनुको बिशेषता नै हो भन्ने ठानेँ । मनु ब्राजाकी कहिलेकाँहीँ आफ्नै अर्थमुक्त कथाको पात्रझैँ यताउति हुलेको पनि पाएँ ।
दोस्रो भेट धोवीघाटमा नै भयो । बागबजारबाट म साइकल चढी, प्रश्नहरूको पोको बोकी धोबीघाट हानिएँ । दिउँसो १२ः०० बजेको थियो होला घरमा मनु मात्र थिएँ । भेटघाटको औपचारिकताको सम्बोधन पछि कोठामा नै बोलाए, एक घण्टा भलाकुसारी गरे, बनाइएका प्रश्न अनुसार प्रश्न सोधेँ । सर १ सर ११ भनी सम्बोधन गर्दा आफू कविकलाकार भएकोले दाई भनी सम्बोधन गर्न आग्रह गरे ।
मनु एक्कासि छट्पटिए र यसो भने‘विमल बाबू… यसो हरियो पत्तो छैन रु हरियो पत्तो क्या । हरियो पत्तो, उनको साहित्यिक भाषा बुझ्नै सकिनँ । पछि आफूसँग रातो पत्तो मात्र भएको जानकारी गराँउदै त्यही टक्य्राएँ ।
साहित्यिक ऊर्जाका लागि भन्दै मलाई बिदा गरे । हरियो पत्तो दिन चाहेर पनि दिन नसकेकोमा पछुतो लाग्यो । अन्तरवार्ता लिइयो भने लेखरचना मागियो भने हरियो पत्तोअर्थात रु १०० जति अपेक्षा गर्दा रहेछन् । बढी माग्ने पनि होइन आफ्नो मनले खानेसँग मात्र माग्दा रहेछन्उनी । पारिश्रमिक स्वरूप माग्दा रहेछन् । त्यसलाई मैले जायज ठानेँ ।
शोधपत्रको क्रममा फोटो आवश्यक पर्यो । म फोटोको लागि जाँदा उनीसँग फोटो रहेनछ । नेपाल समाचारपत्र पत्रिकामा छापिएका कटिङ फोटो दिएर मलाई बिदा गरे । आफ्ना बारे शोधपत्र हुँदा उत्साहित हुनुपर्ने तर उनमा खासै महत्वाकाङ्क्क्षा पाइनँ । त्यसपछि शोधपत्र नगर्ने सोच बनाएको थिएँ मैले । गुरु रमेशकुमारलाई इतिवृत्तान्त सुनाएपछि गुरुले मनुलाई राम्ररी सम्झाइदिनुभयो । मनु ब्राजाकीले पनि गुरुको उद्देश्यलाई मनन गरे । धेरै धाएँ, मनुले मलाई शोधपत्र पूरा गर्ने खाले व्यक्ति भन्दै प्रेरित गर्दै स्यावासी दिए ।
वि.सं. २०६० मङ्सिर २६ शुक्रबारका दिन मैले शोधपत्र पूरा गरे । कतिखेर मनुलाई भेटूँ र शोधपत्र बुझाएर मुस्कान तस्विर लिऊँ… खुसी साटूँ भएको थियो । शोधपत्र बोकेर धोवीघाट पुँगेँ कहाँ डेरा सरेछन मनु, खोज्दा खोज्दा हैरान भएँ तर उहाँ कहाँ सर्नु भएको कसैबाट थाहा पाउन सकिनँ । समय बित्दै गए मनुको नयाँ ठेगाना पत्ता लगाउन प्रायासरत रहेँ । केही समयपश्चात् अचानक मनुकी जेठी बुहारीको सहयोगमा मनुको नयाँ ठेगाना र यूटीएलको नयाँ फोन नं पत्ता लागाएँ । माघको महिना थियो तत्काल फोनमा समय मागेर म बागबजारबाट बस चढी पुगेँ मनुको नयाँ डेरा मीनभवनमा शोधपत्र बुझाउन खुसी साट्न, नयाँ ठाउँ भएकाले अलि अलमल भयो, ढिलो पुगेँ ।
मनु ब्राजाकी २०६० कार्तिकमा बिरामी परेका रहेछन् । उच्च रक्तचाप, शिराघात अनि जन्डिसले पनि सताइएर भर्खर तङ्ग्रिएका रहेछन्।
मेरो उद्देश्य शोधपत्र हस्तान्तरण र मनुको मुस्कानसहितको तस्विर लिने थियो । मनुले पत्नी ज्ञानूलाई यसो भनी घरबाट विदा भएका थिए, ‘ज्ञानूलाई यसो खुट्टा तन्काएर आउछौं… विमल बाबुले फोटो खिच्ने रे… भन्दै बिदा लिएका थिएँ । उनमा घरबाट बाहिर निस्कने बेला भनेर हिँडने बानी रहेको पाएँ । अन्तराष्ट्रिय सम्मेलन केन्द्रको पूर्वपट्टि हिँडदै स्टुडियोमा जाँदै गर्दा विमल बाबु… आज जाडो मनाऔँ… डाक्टरहरूले अलि अलि खानु भनेका छन् भन्दै शोधपत्रको उपलक्ष्यमा भर्जिन र चुरोट खाऔँ भन्दै मलाई सोमरसका लागि अभिप्रेरित गरेका थिएँ । मनु दाइलाई खुसियाली साट्न भनेर कोसेली बोकेको थिएँ । फोटो खिचाइसकेपछि मनु दाइको डेरा तिर फर्कियौं, तर बाटोमा भर्जिन र खुकुरी चुरोट किनी मलाई बिदा गरेर मनु घरतिर लागे । मेरो मनमा द्वन्द्व चल्यो । शोधपत्र उपहार दिँदा पनि खासै चासो नराख्ने ? सोमरसमा नै ध्यान जाने ?
वि. सं. २०६१ असारदेखि मेरो जागिर प्रकाशनगृहमा भयो दिनेशमार्फत् । व्यस्तताले उनीसँग सम्पर्क हुन सकेन । २०६४ को जाडोताका युटीएलमा फोन लगाएँ । मनुको ‘आमालाई बेच्नु हुँदैन, लाटा १’ कृति ने.प्र.प्र.मा थन्किएको बारे चिन्तित बनेँ । ब्राजाकीलाई पुत्रशोक परेको
कुरा थाहा पाएँ । दुःख प्रकट गरे । मनुसँग भेट्न मन लाग्यो, गएँ भैँसेपाटी । प्रकाशनको जागिरले मेरो साहित्यलाई थिचिरहेको थियो । विमल अधिकारी भनेर चिनिनका लागि प्रुफले काम गर्दैन भन्ने ठानेँ र साहित्य–सेवामा थोरबहुत योगदान पु¥याउने सोच बनाएँ । मनुका बारे खासै खोज–अनुसन्धान नभएको बेला मनु ब्राजाकीलाई साहित्यको स्रोत मान्दै लेखनमा रुचि बढाएँ । नकुल सिलवाललाई भेटेँ, नजिकिएँ, बगरमा ठाउँ पाएँ । बगरको संयोजक सम्म बन्न पुगेँ ।
वि.सं.२०६६ सालको जेठको दोस्रो हप्तातिर ब्राजाकी अमेरिका आए । २०७० गर्मी महिनामा नेपाल फर्किए । लापरवाह स्वभावका ब्राजाकीलाई पुस्तक सङ्ग्रह नगरिएकोमा पछुतो रहेछ । यस्ता व्यक्तिलाई सहयोग किन नगर्ने भन्दै आफ्नो काम थाती राखेर पनि लागियो । ‘कान्छी बेगम’ उपन्यास र राजनीति व्यङ्ग्य भएका लेखहरूको पोको मनुले धोवीघाटबाट मीनभवन डेरा सर्दा फ्याँकिदिए या के गरे जति खोज्दा पनि पाइएन । व्यङ्ग्य सङ्ग्रहको सामग्री गायव ब्राजाकी स्वयंले गरे एकेडेमीले मनुको कृति गायब गरीदियो । २०७० मा ‘अन्नपूर्णको भोज’का लागि सामग्री सङ्कलनमा सहयोग गरेँ । मैले ‘भविष्य–यात्रा’ र ‘अन्नपूर्णको भोज’लाई छुट्टाछुट्टै निकाल्न सुझाब दिए पनि मर्ज गरीदिए किशोर पहाडीले । भविष्य–यात्रा कथा सङ्ग्रहको छुट्टै महत्व थियो उनीहरूले बुझेनन् ।
मनुले मलाई विमल बाबु… गाडी भाडा भन्दै धेरै पटक रु.२००।– खल्तीमा सुटुक्क हालिदिएको, जागिरका लागि धेरैसँग अनुरोध गरेको सम्झिन्छु, यहसदीहरूले फ्याँकेको थोत्रो बोरा डायस्पोरा लेख बुझाउन कान्तिपुर राष्ट्रिय दैनिकको कार्यालयमा पुगेको, कान्तिपुरमा पुगेर पत्रकार सुजित महत (गाउँको दाइ) सँग अनुरोध गरी म सानो छँदा पुस्तकवार्तामा अन्र्तवार्ता लिन लगाएको आदि सम्झिन्छु । वि.संं. २०७० को नागपञ्चमीका दिन न्यूज २४ को गाडीमा मनुको अन्र्तवार्ता लिइदिनुहुन भन्ने पत्र दिएको र ‘आमा’ कार्यक्रममा मनुलाई समेट्न सकेको आदि सम्झिन्छु । यी कुराले म सधैं मनुप्रति कृतज्ञ रहेँ रहँदोछु, उनले आफ्नो ‘जनजीवनका जीवनगाथा’ कथासङ्ग्रहको भूमिकामा यसो भनी मलाई सधैभरि साहित्यिक ऊर्जा प्रदान गरेका छन् । मनुले मलाई ‘म कहाँ छु, मेरो कथाकारिता कहाँ छ ? भन्ने बारे मलाई भन्दा बढी विमल अधिकारीलाई थाहा छ । मेरो बारे केही जान्न चाहनेहरूले विमल अधिकारीलाई सोध्नु… भनेर गरेको टिप्पणी मेरा लागि जीवनपर्यन्त उत्प्रेरणस्रोत रहनेछ ।
मनु सन २०१५, बैशाख १२ को महाभूकम्पको सोह्र दिनपछि नेपाल आमा र जन्म दिने आमा बिरामी भएको भन्दै आएको र नफर्किने (कोलोराडो) निर्णय आदिले साहित्यिक सक्रियतामा आफू पनि साथी भएको नकुल सिलवालको आत्महत्या पश्चात मनु परिवारसँग पुस्तक निकाल्ने बारे भएको छलफल, उदासीन व्यवहार, मनुको पुस्तक प्रकाशन प्रतिको तीब्र मोह,सामग्री सङ्कलनका लागि भोगेको तीतामीठा अनुभव अब मनुको सम्झनासँगै मेरा स्मृतिपटलमा घुमिरहने सन्दर्भ भएका छन् । फ्रेबुरीको पहिलो हप्ता सन् २०१७ मा म अमेरिका प्रस्थानका लागि बिदा माग्न जाँदा मनु धेरै चिन्तित भएको, नकुलको मृत्युपश्चात मनु स्वयं किताब निस्कने कुरामा सशंङ्कित भएका कुराले बेलाबेला स्मृतिपटललाई सियाले झै च्वास्स च्वास्स पार्छ ।
मनुसँगको सङ्गतलेमलाई समयनिष्ठ, अध्ययनशील एवं इमानदार बन्नुपर्ने प्रेरणा मिलेको छ । हरियो पर्दा पसल – उनको साहित्यिक ऊर्जा प्राप्त गर्ने ठाउँ रहेको पाएँ । नशाको सुरमा कथानक खोज्दा रहेछन् । भोक्ताले मात्र साहित्यमा जीवन्तता ल्याउँछ, पुस्तकालीय अध्ययन र जनजीवनको अध्ययन नै मेरा विश्वविद्यालय हुन त्यसको ज्ञान मेरो सर्टि्फिकेट हो, विवेकहीन राजनीति र बिचारहीन साहित्य दुबै त्यज्य हुन्… खुट्टा तान्नेले खुट्टा छुनुपर्छ शिर छुन सक्दैन, धर्म भनेको ढोँग र पाखण्ड हो भन्ने मनुको आदर्श वाणीहरूले सधै प्रेरित गरिरहन्छ ।
वि.सं. २०६० पछि मनुको कलमले क्रमशः विश्रान्ति लिए जस्तो लाग्छ र जति पनि लेखिएका छन् ती रचनाहरू कमजोर र दुरूह भएको पाठक महसुस गर्न सक्छन् । संस्मरणतर्फ बेजोड कलम चलाएको भए मनुले उत्कृष्ट संस्मरणात्मक ग्रन्थ नेपाली साहित्यानुरागीलाई नासो छाडिदिन सक्थेतर त्यो पाटो गुल्जार हुन सकेन । जे जति संस्मरण लेखेका छन्ती अब्बल छन् पुरस्कार जित्न सक्ने खाले छन् । आमालाई बेच्नु हुँदैन, लाटा १ –कथासङग्रह, एल्बमको भूत–कथासङग्रह, कान्छी बेगम–उपन्यास, बगर पत्रिकाले निकाल्ने मनु ब्राजाकी बिशेषाङ्क, मनमौजी मनु ब्राजाकीको जिन्दगी, प्रतिनिधि गजलसङग्रह, मेरो चेतनाको यात्रा–आत्मावृत्तान्त प्रयासहरू, अल्वर्ट कामुको सिसिफसको कथा र अर्नेस्ट हेमिङ्ग्वेको एउटा बूढो मान्छे र समुद्रको कथा जस्तै बनेको र बनिरहेको छ । निरर्थकको प्रयास भएको छ अर्थात्सिसिफसको कथा बारम्बार दोहोरिएको छ ।
मनु ब्राजाकी यस संसारमा रहेनन् तर उनका कालजयी रचनाका कारण मर्दै मर्दैनन् उनी । एक अमर शारदापुत्र हुन् ब्राजाकी रहन्छन् । गहिरो अध्ययन गर्ने, साहित्यिक कला भएको व्यङ्ग्य शैलीका, दार्श्निक लेखकको रूपमा चिनिन्छन् उनी । सरल, इमानदार र मित्रवत व्यवहार नै ब्राजाकीको व्यक्तिगत चरित्र हो । चेतमानको जग्गाजमिन एवं सम्पत्ति भएर पनि मनु ब्राजाकी सधैँभरि आर्थिक अभावमा बाँच्न बाध्य भए । अनुत्पादक क्षेत्रमा लागेको, घरव्यवहार नहेर्ने मस्तराम व्यक्तिका रूपमा समेत उनको परिचय बन्यो । पियक्कड स्वभाव भए पनि आफ्नो खान्दानको मात्र होइन, महोत्तरीको नाम राखे । त्यति मात्र होइन, विश्व साहित्य स्तरीय रचना गरेर आफूलाई अब्बल साबित गरे । नेपाली साहित्यको इतिहासले तपाईंलाई सधै उच्च सम्मान गर्नेछ ।
सोमरसलाई सधैँ पचाएर हिँडने मनुले २०७४ मङ्सिरबाट त्यसलाई पचाउन सकेनन्। पाटन हस्पिटल पुर्यायो र समयले पनि साथ दिएन । डि
स्चार्जको तयारीका बेला पुनः आईसीयूमा पुग्नु नै नेपाली साहित्यका लागि क्षति पुग्नु थियो । माघ १९ राजनीतिमा कालो दिन भएझैं २०७४ माघ १९ नेपाली साहित्यका क्षेत्रमा कालो दिन बन्यो । जीवितमै मनु ब्राजाकी बिशेषाङ्क हस्तान्तरण गर्ने हाम्रो मिसन र मनु दाइको पनि मेरो चेतनाको यात्रा पूरा गर्ने सपना अपूरो अधुरो रह्यो । एउटा सत्कार्यको धोको सत्पात्रसँगै कालले खायो, मनु दाइ ! माफ गर्नुहोला । अलबिदा ! मनु दाइ ! अलबिदा !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।