छ महिना अगाडि एकदिन बजारबाट फर्किंदा सौभाग्यवश तिम्री स्वास्नीसित भेट भएको थियो।

त्यसबेला मैले देखेँ— एउटी पच्चीस–छब्बीस वर्षकी युवती काँधमा ह्यान्डब्याग, देब्रे हातमा बट्टाबट्टीले भरिएको नाइलनको तारको झोला र दाहिने हातमा जूटको डेढ हात लामो रङ्गीन झोला झुण्ड्याएर मत्थर गतिले हिँड्दै थिई। यो जूटको रङ्गीन झोला निकै गरूङ्गो प्रतीत हुन्थ्यो किनभने उसको शरीरको अधिकांश भाग त्यतैतिर ढल्किएको थियो।

युवती निकै आकर्षक थिई। निर्मला मबाट गएपछि म आजकाल यस्तै युवतीहरुतर्फ आकर्षित हुन थालेको छु। स्कूल–कलेजका चञ्चल किशोरीहरुभन्दा पच्चीस–छब्बीस वर्षीया यी विवाहित युवतीहरुमा भिन्नै किसिमको मनोहारी आकर्षण हुन्छ। पूर्णरुपेण फक्रेको क्यामेलिया अथवा थुँगु सयपत्रीको फूलजस्तै। मकरन्दपूर्ण उन्माद र पूर्णयौवनको गाम्भीर्यले सिंगारिएको।

अँ, युवती बिचरी बडो सङ्कटमा थिई। उसको अनुहार पसिनाका थोपाहरुले ढाकेको थियो, जसलाई पुछ्न ऊ ह्यान्डब्यागबाट रूमालसम्म झिक्न समर्थ थिइन। गर्मीको मौसम थियो। एकछिन ऊसँगसँगै हिँडेपछि मैले देखेँ अब पसिनाका थोपाहरु धारामा परिणत हुन थालेका छन्। उसको अनुहारको मेकअप पखालिन थालेको छ। मेकअप उत्ताउलो थिएन। गहुँगोरो अनुहारमा मेरो मनपर्ने हल्का गुलाफी रङ्गसित समन्वित ओठको किञ्चित् गाढा गुलाफी रङ्ग। आँखामा गाजल तर नजानिँदो। यस सौम्य र सुरूचिपूर्ण सिंगारले म झन् मुग्ध भएको थिएँ।

म एक्कासि दयार्द्र हुँदै ऊनेर पुगेँ र भनेँ,’कृपया, यो जूटको ठूलो झोला मलाई दिनुस्। म पनि त्यतै जाँदै छु।’

तिम्री स्वास्नीले पुलुक्क मतिर हेरी र आफ्नो असहाय अवस्था र भिजेको अनुहार सम्झेर एकछिन नियास्री भई। अनि आफ्नो श्वास–प्रश्वास नियन्त्रित गर्दै यति नै भनी— ‘धन्यवाद!’

र, उसैगरी झोलाको भारले ढल्केर हिँडिराखी। म पनि उसको आसमानी सारीको सर्‍याक्–सुरूक् सुन्दै पछि लागिराखेँ। एकछिनपछि फेरि मैले मन थाम्न सकिनँ।

‘सुन्नसु् त, नराम्रो नमान्नुहोला। यस्तो अवस्थामा सहयोग गर्नु सबैको कर्तव्य हो, ल्याउनुस् झोला मलाई दिनुस्। म पनि त्यतै जाँदै छु।’ भन्दै मैले उसको हातबाट जूटको ठूलो झोला बलजफ्ती आफ्नो हातमा लिएँ। उसले फेरि पुलुक्क मतिर हेरी र ‘धन्यवाद’ भनी।

उसको दृष्टिमा कृतज्ञताभावभन्दा कुतूहलभाव प्रस्टिएको थियो। तर मेरो सौम्य, गम्भीर र आत्मीय मुखमुद्रा देखेर आश्वस्त भई। अनि एकछिन अडिएर नाइलनको तारको झोला भुईमा राख्दै ह्यान्डब्यागबाट पहेँलो लेडिज रूमाल झिकेर अनुहारको पसिना मेकअप नलत्पतिनेगरी हल्का तवरले पुछ्न थाली। एक्कासि मेरो मुखमुद्रा बदलियो र उसको सुडौल देहयष्टिलाई लोलुप नजरले हेर्न थालेँ, जहाँ कामीको खलाँती झैँ चलेको श्वासप्रश्वासले उसका कलशद्वय उद्वेलित भइराखेका थिए।

‘कस्तो घाम, उफ्!’

‘अँ।’ भन्दै मैले पनि मौसमअनुकूल जवाफ दिएँ।

झोला निकै गरुङ्गो रहेछ। मेरो पनि दाहिने हात तन्केर घुँडा छोला जस्तो गर्‍यो। लाग्यो, झोलामा अन्य चीजबीजहरुभन्दा आलुकै मात्रा बढी छ। स्वास्नीमान्छेहरु जे सस्तो छ र जे सहज प्राप्य छ त्यतैतिर झुम्मिन्छन्। खूबै मोलभाउ गर्छन्, महँगोमा पर्छन्– मीठोमीठो बोलीवचनले गर्दा। यत्रा यातायातका साधनहरु छन् तर वरिपरि नै आधार खोज्छन् सहजप्राप्यले गर्दा निर्मला पनि त यस्तै थिई।

‘तपाईंले मलाई चिन्नुभो र?’ भन्दै उसले मतिर नियालेर हेरी।

‘चिनेर मात्र आफ्नो कर्तव्यपालन गरिन्छ र?’ प्रतिप्रश्न मेरो थियो।

मेरो अनुहार फेरि सौम्य र भद्र भइसकेको थियो। प्रतिप्रश्नले गर्दा ऊ एकछिन चुप लागी र भनी, ‘निकै सहृदयी हुनुहुँदो रै’छ, धन्यवाद!’
उसको शब्द चयनले गर्दा मलाई ऊ सुशिक्षित छे भन्ने लाग्यो।

‘सहृदयता अर्जित गुण हुँदैन, स्वभाव हुन्छ।’

उसले हाँसेर मतिर हेरी र कुनै जवाफ दिइन। मैले उसलाई अघि लगाएँ र आफू उसलाई अन्यथा अनुभव हुन नदिई एक पाइलो पछि परेँ किनभने मलाई उसको टोल र घरबारे केही थाहा थिएन। एकछिनपछि फेरि उसलाई नारीसुलभ वाचालताले घच्घच्यायो र वार्तालाप, पहिलो पटक भेट हुँदा हुने वार्तालाप, मौसम, महँगी हुँदै राजनीतिसम्म पुग्यो। यद्यपि घरेलु नारीको लागि राजनीति उस्तो आकर्षक विषय होइन तापनि शिक्षित छु भन्ने देखाउन अपरिचित अथवा नवपरिचितसित चर्चा गरिन्छ नै। राजनीतिक चर्चामा नारीहरुको विशेष रूचि मूलभूत सैद्धान्तिक विचार–विमर्शमा भन्दा प्रशासनिक चलन–विचलनमा बढी हुन्छ। यहाँ पनि सोही भयो। यसै सन्दर्भमा अन्ततः तिम्री स्वास्नीले तिमी अफिसर भएको र तिम्रो प्रशासनिक भूमिकाबारे चर्चा गरी। मैले समर्थनमा मुन्टो हल्लाउँदै रहेँ किनभने नारीलाई स्नेह र समर्थन चाहिन्छ किनभने म स्वयं पनि अफिसर थिएँ र प्रशासनिक कटुमधुर अनुभव मलाई पनि छ। निक्कै ठूलो रकम कुम्ल्याएर त्यागपत्र दिएँ, अथवा दिनुपर्‍यो र अब ठेक्कापट्टा गर्दै छु।
‘हेर्नुस् न, कस्तो ब्याडलक! ट्याक्सी नै पाइएन आज।’

गल्ली जस्तो सडकबाट निस्केर हामी फाँटमा आइपुग्यौँ। टाढा–टाढासम्म नवनिर्मित घरहरु छरिएका थिए। ऊ एउटा एकतले र सामान्य वास्तुविन्यासयुक्त घरसामु उभिई। घर अपूर्ण थियो। प्लास्टर गरेको थिएन, तर कम्पाउन्डवाल भन्ने थियो। ग्रिल–गेटको सट्टा तगारो थियो। उसले मतिर होइन तिम्रो घरतिर हेर्दै भनी,’यै हो हाम्रो घर।’

‘लौ त, आफ्नो झोला लिनुस्।’

अब त म पनि असिन–पसिन भएर थाकेर चूर भइसक्या थिएँ। अतः झोला उसको हातमा दिएर मैले गोजीबाट रूमाल झिकेँ र पसिना पुछ्न थालेँ। झोला दिँदा फेरि उसका मांसल र कोमल औँलाहरुको स्पर्श पाएँ।

‘धन्यवाद! धेरै–धेरै धन्यवाद! एहे तपाईं त ….’

‘क्यै छैन, क्यै छैन। तपाईंको यति सेवा गर्न पाएर मैले आफूलाई सौभाग्यशाली ठानेको छु।’

‘तपाईंको कुन टोल पर्‍यो?’

‘त्यो त पछि परिसक्यो।’

‘ए’ उसो भए मेरै लागि तपाईंले यति कष्ट …’

‘भैगो केही कष्ट छैन। लौ त अब बिदा दिनोस्।’

अहिले भने उसको आँखामा कृतज्ञता र कताकता किञ्चित् अपनत्वको भाव देखा पर्‍यो। अक्मकाउँदै र यताउति हेर्दै मधुरो स्वरमा भनी, ‘एकछिन पर्खिनुस्।’

‘के यो झोला भित्रसम्म पुर्‍याइदिउँ कि?’ भन्दै उसको हातबाट झोला लिएँ।

‘अँ।’ अन्यमनस्क भएर उसले भनी।

तगारो खोलेर हामी भित्र पस्दा मैले जुन कुरा देखेँ सो देखेर म विस्मयविमुग्ध भएँ। क्यामेलिया! मेरो प्यारो क्यामेलिया फुलेको रहेछ, पूर्ण यौवनसाथ। नौ महिनाको कठिन प्रयासपश्चात् फुल्ने फूल। एक्कासि रवीन्द्रनाथ ठाकुरको प्रसिद्ध कविता ‘क्यामेलिया’को सम्झना आयो। दार्जीलिङको पर्वतीय बाला तनुकाको सन्दर्भसहित यस कवितामा बङ्गाली कविगुरूले भनेका पंक्तिहरु मगजमा सगबगाउन थाले।

तनुका बोलले, ‘दामी दुर्लभ गाछ
ए देशेर माटिते अनेक यतने बाँचे।”
जिगेस करलेम, “नामट की?”
से बोलले, “क्यामेलिया।”

मलाई क्यामेलियातिर टक लगाएर हेरेको देखेर उसले हर्षित हुँदै भनी, ‘कति राम्रो फूल छ हगि? ल्याउनुस् झोला दिनुस्।’

‘अब म बिदा हौँ त?’ झोला दिँदै मैले भनेँ।

‘कहाँ हुन्थ्यो, एक कप चियासम्म खाएर जानुस् न। साह्रै थाक्नुभो।’

जम्मा चारवटा कोठाको एकतले घरमा उसले मलाई ड्रइङ रुममा बसालेर हस्याङ-फस्याङ गर्दे आफू किचेनतिर लागी। बैठक सादा तर सुरूचिपूर्ण थियो। फ्रेन्च विन्डोमा ग्रिल र पर्दा दुवै थियो तर शिशा हालेको थिएन। निर्माणाधीन घरमा यस्तै हुन्छ। निकैबेरपछि ऊ आई— एउटा हातमा चियाको कप–प्लेट र अर्को हातमा अम्लेटको रिकापी लिएर।

‘एकछिन कुर्नुपर्‍यो, हगि?’

‘यत्रो कष्ट किन गर्नुभएको? अनि तपाईंलाई ख्वै त?’

“म आउँछु, तपाईं खाँदै गर्नुस्।”

अतिथिपरायणताको गृहिणीसुलभ उमङ्गले उल्लसित हुँदै ऊ फेरि किचेनतिर हानिई र आफूलाई पनि चिया ल्याई।

‘यी यहाँ मेरो श्रीमान्!’ उसले भित्तातिर औँल्याउँदै भनी।

मैले त्यतै हेरेँ। अफिसियल पार्टी खाँदाखाँदा डम्म परेको अनुहार, घोप्टे जुँघा, ढाकाको टोपी।

‘बडो ह्यान्डसम हुनुहुँदो रहेछ!’

ऊ चोरआँखाले मतिर हेर्दै लजाई र गहुँगोरो अनुहार आरक्त भयो। एकछिन अझैको वार्तालापबाट थाहा पाएँ एउटी छोरी छे ६ वर्षकी, स्कूल जान्छे। एउटा श्रीमान् छन्, जो अफिस जान्छन् र साँझ झमक्क नपारी घर फर्किंदैनन्।

बिदा हुँदा शिष्ट ढङ्गले ठट्टा गरेँ— ‘बाहिर क्यामेलिया फुलेको छ र भित्र तपाईं। अब बिदा दिनुस्।’

फेरि चोरआँखाले मतिर हेरेर हाँसी र भनी— ‘नमस्ते! आउँदै गर्नुहोला है!’

यो नितान्त औपचारिक वाक्य थियो तर यसैलाई मैले सहारा दिनुपर्ने चोरऔँला ठानेर समाएँ।

अनि त तिम्रो स्वास्नीसँगको भेटघाट क्रममा यहाँ आवतजावत निर्वाध चल्यो।

भेटघाट कहिले बजारमा, कहिले घरमा गर्दै दुई महिना बित्यो। आत्मीयता पल्लवित भयो, पुष्पित भयो। अनि कहिलेदेखि हो कुन्नि ‘तपाईं–तपाईं’ को भनाभन ‘तिमी–तिमी’ मा परिणत भयो, दुवैलाई थाहा भएन। एकदिन अकस्मात् तिमी अफिसबाट छिट्टै घर आइपुग्यौ। हामी कुनै अश्लील अवस्थामा थिएनौँ किनभने बल्ल ‘तिमी–तिमी’को स्तरसम्म आत्मीयता पुगेको थियो। मैले चियाको कप सेन्टर टेबुलमा राखेर उठ्दै तिमीलाई नमस्कार गरेँ।
एकछिन बादल लाग्यो। अनि लगत्तै झलमल्ल घाम भयो।

‘यहाँ को हुनुहुन्छ?’ पौरूषको एकाधिकारी सन्देहले जिज्ञासा गर्‍यो।

‘मेरो मीतदाजु हुनुहुन्छ,’ तिम्री स्वास्नीले एकक्षण पनि नबिराएर भनी।

‘यत्रा दिनपछि जेठानसाहेबको सवारी भएछ। के गर्नुहुन्छ?’

‘यसो सानोतिनो ठेक्कापट्टा गर्छु। आज बैनीसित पनि भेटौँ, हजुरको पनि दर्शन गरौँ भनेर आएको।’

‘मसित क्यै काम थियो कि? लौ त आज यहीँ खाएर जाने अब।’

घाम अझै झलमलायमान भयो।

कति छिटो उसले ढाँटेर मलाई ‘मीतदाजु’ बनाई। यो स्वास्नीमान्छेको त्वरित छलबुद्धिको प्रमाण हो। उसले मलाई सहपाठी, छिमेकी, साथी पनि भन्न सक्थी तर भनिन। नारीको पुरूष–मनोविज्ञानको ज्ञान पुरूषको नारी–मनोविज्ञानको ज्ञानभन्दा श्रेष्ठतर हुन्छ— विशेषगरी व्यावहारिक सन्दर्भमा। आफ्नो स्नेहसूत्र कायम राख्न नारीले यस्तै सानासाना झुट बोलेर पुरूषको एकाधिकारी प्रवृत्ति र अहंलाई श्रद्धासुमन चढाइराख्छे। तर पुरूषको लिंडे बलले यसैलाई स्त्रीयाचरित्र भन्छ।

यसैगरी यदाकदा तिमीसित, प्रायःजसो तिम्री स्वास्नीसित भेटघाट गर्दै अझ छ महिना बित्यो। अनि कसरी ड्रइङ रुमको स्नेह र आत्मीयता बेड रुममा गएर टुङ्गियो, सो कुराको ज्ञान न त मलाई नै भयो न त तिम्री स्वास्नीलाई नै। नजीक र आफूभित्र घटित हुने घटनाको प्रभाव त थाहा हुन्छ तर समय–कालको ज्ञान हुँदैन। अनि त सातामा एक–दुईपटक कहिले तिम्री स्वास्नीको आग्रहले र कहिले मेरो आग्रहले आत्मीय बेडरुम कार्यक्रम चल्दै राख्यो। बाहिरको क्यामेलिया आठ महिनापश्चात् हाम्रो हृदयबाटिकामा पूर्णयौवनासाथ फुल्न थाल्यो। मबाट स्नेह र सन्तुष्टिको सहारा पाएर उसले अब तिम्रो अवगुणको पनि आलोचना गर्न थालिसकेकी थिई। तिम्रा गुणहरु गौण हुँदै गएका थिए। बेला–बेलामा मैले ल्याएको स्नेहोपहारले मेरो गुणगरिमा बढाएको थियो। तिमीलाई सन्देह नहोस् भनेर एकदिन मैले तिम्रो लागि पनि एउटा निकै दामी रोलेक्स घडी ल्याएको थिएँ।
‘ज्वाइँसाहेब, यो हजुरको लागि … मेरो एउटा साथी दिल्ली गएको थियो, उसैले ल्याएको।’

‘भैगो राख्नुस्, जेठानसाहेब!’

‘मसित छँदै छ नि।’

‘मसित पनि त छ।’

हामी दुवै हाँस्न थालेका थियौँ। यसैबीच तिम्री स्वास्नीले प्याच्च भनी—

‘तपाईं त साह्रै खर्चालु हुनुहुँदो रै’छ, दाइ!’

‘बैनीलाईभन्दा ज्वाइँलाई खुसी पारे पो त बैनीले सुक्ख पाउली।’

‘ठेक्काको पैसा के छ र?’ भन्दै तिमी हाँस्यौ।

अनि हामी तीनैजना हाँसेका थियौँ।

तिम्रो हाँसोमा अफिसरीय खोक्रो अट्टहास थियो, मेरो हाँसोमा व्यापारिक कुटिलता थियो भने तिम्री स्वास्नीको हाँसोमा ईर्ष्यामिश्रित उपेक्षा थियो।
अनि भोलिपल्टै उसको ईर्ष्यामिश्रित हाँसोलाई साम्य पार्न मैले एउटा गहकिलै स्नेहोपहार लिएर दिउँसो एक बजेतिर उपस्थित भएको थिएँ। उसले मलाई ड्रइङरुममा नबसाएर सोझै बेडरुममा लगी। लगाएर देखाई। अनि लगत्तै हामी बेडरुम कार्यक्रममा व्यस्त भयौँ। त्यस दिन आनन्दातिरेकमा तिम्री स्वास्नीले भनेकी थिई, ‘म त तिम्री हुनुपर्ने हगि?’

मैले निर्मलालाई छोडेदेखि कुनै आफ्नो मनले खाएकी नारीले मलाई यसो भनोस् भन्ने प्रतीक्षामा थिएँ। सहज भएर ड्रइङ रुममा आएपछि चियाको घुट्को निल्दै मैले भनेँ,’यसरी कति दिन चल्ला?’

‘जति दिन चल्ला चल्ला,’ सन्तुष्टिको निस्फिक्रीपनले ऊ हाँसी।

‘के हामी सधैँभरिको लागि एकअर्काको हुन सक्तैनौँ? आऊ जाउँ छोडेर यो दुनियाँ र आफ्नो नयाँ दुनियाँ बसाउँ!’

‘के रे?’ तिम्री स्वास्नी झस्किई र घोरिन थाली।

‘के रे से रे होइन अब म तिमीबिना एकक्षण पनि बाँच्न सक्तिनँ। के मेरो माया लाग्दैन र?’

‘लाग्छ,’ भनेर उसले मतिर चोरआँखाले हेरी र फेरि घोरिन थाली।

निकैबेरसम्म तिम्री स्वास्नी र मेरो गलबद्दी भयो। ऊ अन्कनाउँदै रही म फकाउँदै रहेँ। अन्ततः मलाई रिस उठ्यो र निर्णयात्मक स्वरमा कठोरतापूर्वक भनेँ, ‘म अन्तिम निर्णय चाहन्छु, मसित जाने कि नजाने?’

‘कस्तो अबुझजस्तो कुरा गर्‍या …म आफ्नो लोग्नेलाई कसरी छोड्न सक्छु? तिमी त उसै भेट भएका थियौ।’

‘उसै!’ म अक्मकिएँ।

‘अँ, उसै त हो नि।’ तिम्री स्वास्नी झर्केर शब्द–शब्द अँठ्याएर बोल्दै थिई।

एक्कासि म झल्याँस्स भएँ। यस आकस्मिक, अप्रत्यासित र अकल्पनीय जवाफले गर्दा म ऊतिर एकछिनसम्म घोरिएर हेरिराखेँ। हेरिमात्र राखेँ। तर मगजमा कुनै कुरा फुरेन। ऊ भने मतिर हेर्न नसकेर भित्तातिर हेर्दै थिई जहाँबाट तिम्रो फोटोले उसलाई हेर्दै थियो। क्षुब्ध मनस्थितिमा म त्यहाँबाट हिँड्न जुरूक्क उठेँ। उसले मेरो मनोभाव बुझेर सम्भ्रम चालले उठेर ढोकामा आई र आफ्नो सुडौल पाखुरा पखेटाझैँ फिंजाएर भनी, ‘रिसाएको? लोग्नेमान्छेहरु कति छिटो रिसाउँछन्। अहिले नजाऊ न, म फेरि चिया ल्याउँछु है?’

‘जान देऊ फेरि आउँला।’

‘हेर, शरीर जसलाई सुम्पे पनि मन त तिमीलाई नै सुम्पेकी छु। तापनि तिमी रिसाएर जाँदै छौ पक्का आउँदैराख्ने हो भने मात्र म बाटो दिन्छु। आउँदैराख्छु भन न ल ……. ल ……. ल भन न।’ उसको अनुहारमा आह्वान तीव्रतासाथ टल्किँदै थियो।

म सोच्दै थिएँ निर्मलाले पनि यसै भनेकी थिई, ‘त्यो त उसै भेट भएकी’ अनि तिम्री स्वास्नीले पनि यसै भनी, ‘तिमी त उसै भेट भएको।’

तिम्री स्वास्नी र मेरी स्वास्नी दुवैले दिएको एउटै उत्तरले गर्दा म तुलनात्मक द्विविधामा परेँ। तिम्री स्वास्नीले शरीर तिमीलाई र मन मलाई सुम्पेको कुरा नितान्त तार्किक लाग्यो।

वर्षदिन पूर्व निर्मलाले ‘उसै भेटेको’ लाई शरीर सुम्पिन थाल्दा म टुप्लुक्क आइपुगेको थिएँ। ‘उसै भेटेको’ त उसै बेपत्ता भइहाल्यो फेला परी निर्मला। कुट्नसम्म कुटेँ, ओठ काटिएर रगत पनि बग्यो। ऊ हात जोरेर रूँदै माफी माग्दै रही। उसले प्रतिवाद गर्ने ठाउँ नै थिएन। भ्रमको धमिलो पर्दासम्म पनि भएको भए ऊ मसित उग्ररुपले बाझेर आफूलाई पतिब्रता सिद्ध गर्न खोज्ने थिई। तर प्रत्यक्षरुपमा समातिएपछि ऊ निरुत्तर भई। अझै कुट्ने थिएँ तर पल्लो कोठामा डेढ वर्षे छोरो गोपु बिउँझेर रून थालेको हुँदा कुटाई बन्द गर्नुपर्‍यो।

‘को थियो त्यो?’

बोलिन।

‘को हो भन्या?’

‘मेरो कोही होइन त्यो, उसै भेटिएको थियो, विश्वास गर्नुस्। अब म हजुरको पाउ छोडेर कतै जान्नँ।’

‘कोही होइन। उसै भेटेको रे! तैँले जानैपर्छ। उसै भेटिनेजति सबैलाई ल्याएर मेरो घर होटेल र रण्डीखाना बनाउने?’ मैले जुठा प्लेट र चियाका खाली कपहरुतिर हेर्दै भनेँ।

‘बरू मेरो हातखुट्टा भाँचिदिनुस् तर यो घरबाट ननिकाल्नुस्, मेरो हजुर! म मर्छु। विश्वास गर्नुस् त्यो मेरो …’

‘मलाई छैन विश्वास तँ रण्डीमाथि। जा निस्किहाल् … अहिल्यै। नारायणघाट जाने बस भेट्टाउँछेस्। पैसा–सैसा केही बोकिस् भने काट्छु तँलाई।

ड्राइभर–कन्डक्टर पनि भेटिएलान् उसै। तँमाथि दया गरेको यत्ति हो। निस्किहाल् भन्या… नत्र अहिले चुपी झिकेर छाला तार्छु तेरो।’

अनि ऊ गोपुलाई बोकेर घरबाट निस्किएकी थिई।

छ महिनासम्म प–पन्ध्र दिनमा निर्मलाका अनुनय–विनयपूर्ण चिठ्ठीहरु आउँदै राखे। अनि बन्द भयो।

अहिले तिम्री स्वास्नी आफ्ना सुडौल पाखुराका पखेटा फिँजाएर ढोकामा उभिएकी छ। तिमीलाई थाहा छैन, त्यसो हुनाले ऊ अझै मेरो बाटो छेक्न तत्पर छे। अब यी पाखुरा स्नेहको होइन स्वार्थको भरदिने पाखुरा भएका छन्। स्नेह र स्वार्थको दूरी धेरै त रहेनछ। एउटै दुष्टिकोणको पातलो पर्दाको वरिपरि दुवै बसेका रहेछन्। तिम्री स्वास्नी त तिम्री नै रहिछ, म त उसको रखौटा, नाठो, नटुवामात्र। अतः यी पाखुराहरुले अब मलाई बाँध्न सक्दैनन्। ‘उसै भेटेको’ यी दुई शब्द बीचमा बारम्बार कहिले तिम्रो अनुहार देखापर्थ्यो कहिले गोपुलाई बोकेकी निर्मला देखा पर्थी।

‘आउँछु भन न ल … ल!’

‘ल,’ मुक्त हुन मैले वितृष्णासाथ भने।

उसले मेरो गालामा म्वाइँ खाई र बाटो छोडिदिई। यो म्वाइँले मेरो गालामात्र होइन मनसमेत पोल्यो र सोचेँ, यो मेरो माया होइन। यो त ‘उसै भेटेको’ लालसामात्र हो। केही समयपछि बिर्सिहाल्ने छेस्। अनि फेरि उही दालभात रूच्न थाल्नेछ। बिर्सनसक्ने क्षमता पुरूषमा भन्दा नारीमा बढी हुन्छ। अनि पो त सामान्यतः आत्महत्या गर्नेहरुमा नारीको भन्दा पुरूषको संख्या बढी देखिन्छ।

बाहिर आएँ। क्यामेलियातिर हेरेँ। अब त्यहाँ फूल थिएनन् पातैपात मात्र। रवीन्द्रनाथलाई सम्झेँ गीतैगीत मात्र। त्यहाँबाट म सरासर बस स्ट्यान्डतिर लागेँ।

दुई तीस भएको रहेछ।

‘सिट छ? नारायणघाट।’

‘छ दाइ! कतिवटा?’

‘यताबाट एउटा, उताबाट दुइटा,’ अन्यमनस्क छु।

‘उताबाट उतै किन्नुहोला, दाइ!’

‘ए˜ ल? ठीक छ। कति बजे पुग्ला?’

‘एघार बजे रातिसम्म पुगिहाल्छ नि!’

समय छ।

यसबीच रत्नपार्क, भोटाहिटी, असन, नयाँसडक कताकता डुलेँ, को–कोसँग भेटेँ, के–के कुरा गरेँ, कुन्नि? यो डुलाइभरि म निर्मलालाई भन्न उपयुक्त शब्द खोज्दै थिएँ। साढे छबजे बसमा चढ्दासम्म बल्ल–बल्ल दुईवटा वाक्य बनाएँ।

एघार बजे राति बूढी सासूले भन्दा निर्मलाले नै ढोका उघार्ली अनि भनौँला।

‘निर्मला, म उसै आएँ। भित्र आउन दिन्छ्यौ?’

बस खोक्छ, खकार्छ, अनि चिच्याउँदै गुड्न थाल्छ।

म सिटमा ढल्किनासाथ नारायणघाट पुग्छु र निर्मलाको आँसु पुछ्दै गोपुलाई जिस्क्याउन थाल्छु।

ब्राजाकीको कथा संग्रह ‘तिम्री स्वास्नी र म’बाट