१) तपाईँको पहाड कहाँ हो ? धेरैले मलाई सोध्छन् । पहिलो भेटमा । तर, म जवाफ दिन सक्दिन । मेरा ९४ वर्षका पिताजीलाई पनि थाहा छैन उहाँको पहाड, त्यसैले म जवाफ दिन सक्दिन । तपाई पनि तराईवासी, भनौँ मधेसवासी । यस ‘कथा’को यो पहिलो भेट मानौँ र सोधिहालौँ– तपाईँको पहाड कहाँ हो ?
लामाचौर, पोखराबाट मेरा पितापूर्खा तराईको महोत्तरीमा आएका थिए रे । मेरो जन्म महोत्तरीको औरही गा.वि.स.मा भएको हो ।
२) तराई मधेसका उत्पीडनका धेरै कथाहरू लेख्नुभएको छ । जुन माटोमा जन्मियौँ, हुर्कियौँ, लडिबुडी गर्यौं, माटोलाई दुख्दा आफू दुख्यौँ, त्यस माटोका कथाहरू त लेखिने नै भयो । अहिले नेपालको संविधान–२०७२ निर्माण पश्चात कस्तो देख्नु हुँदैछ त्यो आफ्नो प्यारो माटो ? दुख्छ कि दुख्दैन ? दुख्छ भने के कुराले दुख्छ र दुख्दैन भने के कुराले दुख्दैन ?
अमेरिकाबाट आउनासाथ म औरही सपरिवार गएको थिएँ । त्यहाँ छरछिमेकी र गाउँलेहरूको सद्भावपूर्ण गुनासो थियो— गाऊँ छोडेर नजानूस् । बोडर पारिबाट आउने बदमाससित हमी लड्छौँ । उनीहरूलाई संकटमा पारेर हामी त्यहाँ बस्न चाहेनौँ । फर्कियौँ । उनीहरू दुःखी भए, हामी पनि दुःखी भयौँ ।
मधेसमा खुसी हुनेहरू पनि छन् । हेरौँ, कहिलेसम्म खुसीहुनेहरू खुसी हुन्छन् । खुसी हुनु राम्रो हो कि नराम्रो, मलाई थाहा छैन ।
३) माओवादी सशस्त्र द्वन्द्वका कथाहरू लेख्नु भएको छ । अहिलेको मधेसवासी द्वन्द्वको कथा लेखुँ लेखुँ लाग्दैन ? लेख्नुपर्यो भने वा लेख्नुभयो भने तपाईँको कथामा कुन पक्षलाई जायज र कुन पक्षलाई नाजायज देखाउनु हुन्थ्यो होला ?
अँग्रेजसित हारेपछि खुला बोर्डर नेपालको बाध्यता थियो । अँग्रेजले भारत छोडेपछि नेपालरभारत बोर्डर खुला हुनु राणा, शाहको स्वार्थ थियो, काँग्रेसको नलायकी, स्वतन्त्र भारतको ‘रोटीबेटी’ भन्ने कूटनीति ! अहिले मधेसमा को रैथाने हो, को अंगीकृत हो, को द्वैध नागरिक हो, को आगन्तुक हो, को पक्ष हो, को विपक्ष हो, केही बुझिँदैन । यी कुराहरूको छिनोफानो नभई को जायज र को नाजायज भन्न मिल्छ होला र ? मैले बुझेसम्म मधेसीले चाहेको गुदी कुराचाहिँ आत्मसम्मान हो । तर, आन्दोलनको अहिलेको प्रकृति र प्रवृत्ति देख्दा भविष्यमा मधेसीहरू सम्मानित होलान् ?
आफू परियो काठमाडौँमा मदिसे !
मधेसमा पहडिया !
आफूलाई जतिसुकै नेपाली भने पनि !!
आफूलाई जतिसुकै मनु भने पनि !!!
४) धेरै शक्तिशाली कथाहरू लेख्नुभयो । अहिले पछाडि फर्किएर हेर्दा कस्तो लागिरहेको छ ? मेरो मतलब आफ्नो कथा लेखनबाट सन्तुष्टि र खुसी प्राप्त गरिरहनु भएकै छ नि होइन ?
लेख्न नसक्नुको पीडा र असन्तुष्टिले एकताका विक्षिप्त जस्तै थिएँ । अहिले सानातिना कथारकुथुङ्ग्री लेखेर सन्तुष्ट हुने प्रयत्न गर्दैछु । विगतका असन्तुष्टिहरू ‘कथा’ थिए । वर्तमानका असन्तुष्टिहरू कथाका रूपमा प्रकट हुन नसक्ता बढी असन्तुष्ट र पीडित छु । साना असन्तुष्टिका साना कथाबाट थोरै र साना सन्तुष्टि प्राप्त गर्दैछु ।
५) कति भएछ कथा लेख्न थाल्नु भएको ? आफ्नो कथायात्राबारे केही बताइदिनुहोस् न ।
वि.सं.२०१९ सालदेखि लेख्न थालेँ । कति भयो कुन्नि ? हिसापमा कमजोड छु ।
यात्रा निर्विघ्न भएन, रहेन । विघ्नताले कथात्मकस्वरूप ग्रहण गर्दैरहे ।
६) कथा लेख्न केले प्रेरित गरेको थियो होला ?
कथाले !
बाल्यकाल थपिनी दिदीका कथा सुनेर बित्यो ।
किशोरावस्था र यौवन कथा पढेर बित्यो ।
लभरसभ गर्न भ्याइएन । सपना देखिएन । कल्पना खूप गरियो ।
बरु उमेरअनुसार लभ भयो— कथ लेखनसित !
बिहे भयो— गृहिणी ज्ञानुसित ।
७) किन लेख्नुभएको हो कथा ? अर्थात् तपाईँको कथा साहित्य सृजनाको प्रयोजन के होला ?
सृजना गर्न रमाइलो लाग्यो । अनि सृष्टि नै बाध्यता भयो ।
प्रयोजन—
‘म स्वयं पनि चिन्तनशील हुन तथा पाठकहरूलाई पनि चिन्तनशीलतातर्फ अभिप्रेरित गर्न लेख्छु । उपदेश दिनु मेरो कर्तव्य होइन ।’
८) एकपटक त कम्युनिष्ट बनेर पनि हिँड्नु भयो होइन ? कथा र कम्युनिष्टबीच केही तादात्म्य थियो कि ? अर्थात् समाजवादी ध्येय प्राप्तिका निम्ति पो कथा लेख्न प्रारम्भ गर्नु भएको हो कि ?
यस प्रश्नको उत्तर मैले जगदीश घिमिरेलाई मनपर्ने गरी दिएको थिएँ—
‘एकताका म केटाकेटी पनि थिएँ ।’ साहित्यमा म सृष्टिकर्ता हुँ ।
मेरो सृष्टि व्यक्ति होइन, अभिव्यक्ति हो ! सामाजिक अभिव्यक्ति !
सिंगो मानव समाज एउटा वादभित्र जति कोचे पनि अटाउँदैन ।
९) के अब त्यस विचारबाट मुक्त हुनुभएकै हो ? तपाईँले लेख्ने कथासाहित्यमा पनि यसको छाप परेकै हो नि, होइन ? अर्थात् तपाईँले लेख्नुभएको कथा प्रगतिशीलकथा थियो ? कि, होइन ?
बाल्यावस्थाबाट किशोर, युवा, प्रौढ, बृद्ध हुनु मुक्त हुँदैजानु हो, जीवन मुक्ति बाँकी हुनाले यी मुक्तिहरू भ्रामक हुन् । प्रसंगबद्ध लेखनको सान्दर्भिकता प्रगतिसित सम्बद्ध हुन पनि सक्छ नहुन पनि सक्छ । उक्लिनु भीरबाट झर्नु पनि हो । शिखर सदैव आकाशमा हुँदैन । आफ्नो गतिलाई प्रगति मान्ने प्रचलन प्राचीन हो । पुराण मित्येवन साधु सर्व !
१०) दुई–दुईपटक ‘स्ट्रोक’को आघात झेल्नु भयो, एकपटक यहाँ नेपालमा रहँदा र एकपटक अमेरिकामा । अहिले स्वास्थ्य कस्तो छ ?
अमेरिकाको अधुनातन चिकित्सा पद्धतिद्वारा अहिले स्वास्थ्य बाँच्न योग्य भएको छ ।
११) यहाँ नेपालमा रहँदा र विदेशमा रहँदाको तपाईँले प्राप्त गर्नुभएको औषधी उपचार र सेवामा कस्तो अन्तर पाउनु भयो ?
अतुलनीय कुराको के तुलना गर्नु ? योग्य चिकित्सक यहाँ पनि छन्, तर आविष्कृत नवीनतम् साधन र औषधि उपलब्ध छैनन् ।
१२) तपाईँका कथाका शुभेच्छु पाठकहरू धेरै छन् । उनीहरू तपाईँका कथाहरू अझै पढ्न चाहन्छन् । माओवादी द्वन्द्वकालमा ‘अब तिम्रो पालो हो’ जस्तो कथा लेख्ने मनु ब्राजाकीले अहिले चलिरहेको मधेस आन्दोलनलाई कथामा कसरी प्रस्तुत गर्नुहुने थियो होला, भनेर पढ्न चाहन्छन् । के भन्नुहुन्छ, कथा नलेख्ने कारण स्वास्थ्य नै हो कि केही अरू पनि कारण छन् ?
प्रमुख कारण स्वास्थ्य नै हो । दुईपटकको मस्तिष्क शिराघातले हातका नशानाडी दुर्वल पारेको छ । साथै स्मृति क्षीणताले पनि ठूलो बाधा पुर्याइरहेको छ । अर्को महत्वपूर्ण कुरा, मधेस आन्दोलनको मर्मान्त्य र त्यसका विविध रूपाकार बुझ्न मधेसमा मधेसीहरूबीच बस्न म मधेसमै जन्मिएको तथाकथित मदिसे हो कि पहडिया हो,ले पनि पाउने अवस्था छैन ।
१३) हालै अन्नपूर्ण पोस्ट दैनिकको शनिवारीय ‘फूर्सद’मा एउटा हालै लेख्नुभएको ‘माथि परम्पराले ढपक्क तल आधुनिकताले ह्वाङग’ शीर्षकको कथा प्रकाशित भएको पढ्न पाइयो । यसै गरेर अरू पनि कथाहरू फेरि पढ्न पाइने आशा राख्दा के होला ?
यसपछि साना र छोटा कथा दशैँ अङ्कका लागि भनेर ‘नेपाल साप्ताहिक’मा, ‘गरिमा’मा र ‘रचना मासिक’मा लेखेँ ।
१४) तपाईँले साहित्यमा धेरै विधामा छरिन नचाहनु भएकोजस्तो देखिन्छ । कथा बाहेक काव्य अन्तर्गत गजलमा पनि कलम चलाउन मन गर्नुभयो । किन होला कथापछि यो गजल प्रेम ?
मेरो बाल्यवस्था, किशोरावस्था, यौवनको पूर्वार्ध बनारस, अहिलेको वाराणसीमै वित्यो । मुस्लिम मित्रहरूको संगतले ‘रूबाई’ (मुक्तक) लेख्न थालेँ । पछि–पछि गजल पनि लेख्ने भएँ । नेपाल फर्केपछि नेपालीमा लेख्न थालेँ । पानगोष्ठीमा सुनाउँथेँ, जल्ले माग्यो उसैलाई दिन्थेँ । ध्यान पूर्णतः कथामा केन्द्रित थियो । काठमाडौँ आउँदा ज्ञानुवाकर पौडेलज्यूलाई केही गजलका डायरी दिएपछि उहाँकै कृपाले म पनि गजलकार भइटोपलेँ । तर, म कथाकार नै हुँ ।
१५) कथामा त्यस्तो के छ जसले तपाईँलाई धेरै कथालेख्न हुटहुटी चलायो ?
एउटै घटना, एउटै प्रसंगमा संकेन्द्रित भएर लेखिएको वृतान्तलाई कथा भनिन्थ्यो । मैले त्यसलाई प्रतीक र विम्बद्वारा जीवन र जगतको वैविध्यलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवसम्बन्धित घटनाक्रमसित जोडेर, ‘सम्पूर्णता’को हदसम्म पुगेर, मनको मर्म र मस्तिष्कको चेतनालाई उद्वेलित पार्नसक्छु भनेर कथातिर आकर्षित भएँ । सफलता असफलता पाठकहरूले भन्नु होला !
१६) कथालाई परिभाषित गर्नु पर्यो भने भनिदिनुहोस् त परिभाषामा के हो कथा ?
एउटा प्रचलित परिभाषा भरखरै माथि भनेँ । उसो त कथाका थुप्रा परिभाषाहरू छन् । कथा लेख्न थालेको धेरैपछि कथाका परिभाषाहरू पढ्न थालेँ । सबै परिभाषाहरू लेखकैपिच्छेका अनुभवका आधारमा अथवा चिन्तक र समालोचकका वादअनुरूपका विश्लेषणयुक्त थिए । अहिले मैले माथि भनेका मेरा कथा लेखनको प्रवृत्ति र प्रणाली पनि एकखाले परिभाषा भन्नु भए पनि हुन्छ ।
कथाका परिभाषाहरू पढेर कथा लेख्न थाल्ने हो भने कथा लेखनको आफ्नो मौलिकता केही रहँदैन । विषय र प्रसङ्गअनुसार अभिव्यक्तिका नयाँ शैली खोज्दैजाँदा पुराना परिभाषा भङ्ग हुँदै जान्छन् ।
म प्रत्येक नयाँ कथा लेख्दा अभिव्यक्तिका यस्तै नयाँ बाटो रोज्छु ।
१७) कथा किन पढ्नु पर्छ ? अर्थात् कथा पढेर त्यसबाट प्राप्त गर्न सकिने केही छ कि ?
उत्कृष्ट र उत्तम कथा भनेको कथाकारको अभिनव सृष्टि हो । पाठकले त्यहाँ पुग्नु र रमाउनु भनेको चिन्तनको नयाँ श्रृङ्खला प्राप्त गर्नु हो । यसरी बौद्धिक तुष्टि मात्र हुँदैन स्वनिर्मित भविष्यको दर्शन पनि हुन्छ ।
१८) कथाका समालोचकहरूबारे तपाईँको धारणा ? अर्थात् समालोचकहरूले कथा विधामा प्रशस्त ध्यान दिएका छन् कि छैनन्, कस्तो लाग्छ ? तपाईँको आफ्नै कथामा कतिको कलम चलाएका छन् ?
म कुनै संघरसंस्था, वादरविवादसित सम्बन्धित छैन । कथा लेख्न यिनी नभए पनि हुन्छ ।
समालोचकहरूलाई संघरसंस्था, वादरविवाद चाहिन्छ । अझ विद्यालय, विश्वविद्यालयका पाठ्य–पुस्तकका लागि लेख इत्यादि पनि चाहिन्छ ।
म पाठकहरूको मन र मस्तिष्कमा छु ।
१९) तपाईँका आफ्ना कथाहरूमध्ये आफैँलाई अति मनपरेका केही कथाको नाम उल्लेख गर्न भनियो भने कुन्–कुन् कथाको नाम लिन रूचाउनु हुन्छ ?
यो अप्ठ्यारो र असम्भव काम म विनम्रतापूर्वक पाठकहरूकै जिम्मामा छोड्छु ।
२०) कथा लेखिसकेपछि चरम तृप्ति प्राप्त भएको कथाको नाम उल्लेख गर्नु पर्यो भने ?
कथा लेखिसकेपछि छाप्ने हतार त हँुदैन । सच्याउने जाँगर पनि पलाउँदैन ।
एउटा कथा सच्याएर अझै राम्रो पार्छु भन्दा सच्याउँदा–सच्याउँदै च्यातेर फाल्नुपर्ने भयो । च्यातेर फालेको त्यो कथाबाट चरम आनन्द प्राप्त भयो । अकथाकार भइनँ ।
२१) आफ्ना समकालीन कथाकारहरूका बारेमा पनि केही भन्न चाहनुहुन्छ कि ?
जगदीश घिमिरे र म परस्पर ‘तँ–तँ, म–म’ गर्ने अभिन्न मित्र थियौँ । ऊ जनकपुर छोडेर काठमाडौँ आएपछि हामी भिन्न भयौँ । लेखन पनि हाम्रो भिन्दाभिन्दै थियो । सन्तोष भट्टराई आधुनिक शहरिया मध्यमवर्गीय परिवारका समस्याहरूको कथा लेख्न खप्पिस थियो । अब ऊ पनि मसँग छैन । यी दुईबाहेक मेरा घनिष्ठ मित्र अरू भएनन्, ‘हल्लो, हाय’हरू मध्य ।
म साहित्यकारहरू भन्दा सामान्यजनको मान्छे हुँ ।
जनसामान्यको घुँइचोमा एकलकाँटे !
२२) अहिले कथा लेखिरहेका केही कथाकारहरूको नाम लिनुपर्यो भने कसलाई उधृत गर्न रुचाउनु हुन्छ होला ? अर्थात् कसका कथाहरू स्तरीय र मनपर्ने लागेका छन् ?
यो प्रश्न सचेत र प्रबुद्ध पाठकका लागि औचित्यपूर्ण छ ।
यो प्रश्न कुनै ‘वादी’ समालोचकका लागि महत्वपूर्ण छ ।
मेरो लागि भ्रमपूर्ण छ ।
म कुहिरोको काग हुन चाहन्नँ ।
२३) तपाईँको कथालेखन प्रकृयाका बारे पनि केही बताइदिनुहोस् न । मेरो मतलब कसरी, कहिले, कुनबेला, कति बसाईमा लेख्नुहुन्छ कथा ?
कथा लेखनको भौतिक प्रक्रिया— मनमा कथा बोकेर घरमा बसिराख्न सक्तिनँ । डहर, गल्ली, सडकमा भौँतारिन्छु—निर्जीव पोल र भित्तोसित ठोक्किँदै, सजीव साँढेसित ठोक्किँदै, सम्वेदनशील महिलारपुरुषसित ठोक्किँदै । कथा, पात्रहरूको वार्तालापसहित पूर्ण भएपछि, नियमित विहान उठ्ने बेला, चार बजेदेखि लेख्न थाल्छु नसिध्याएसम्म । दिउँसो पढ्छु । साँझ परेपछि लेखरपढ बन्द ।
राती ९ बजेसम्म सुतिसक्छु ।
२४) कथा लेख्न सुरु गर्दा सम्पूर्ण प्लट यहाँसम्म कि पात्रपात्राका संवाद समेत पहिल्यै सोचिसक्ने कुरा मसित भन्नुभएको थियो । तपाईँका कथाका पाठकहरूलाई पनि बताइदिनुहोस् न यस्तो कसरी सम्भव छ ?
अरूले हिँडेको बाटोमा नहिँड्ने, परम्पराको प्रिय नहुने, प्रचलित कुराहरूको विकल्प खोज्ने बानीले गर्दा कथा लेखनको यो असंभवजस्तो लाग्ने प्रक्रियालाई सम्भव बनाइदियो ।
चिन्तनरमनन र सृजनात्मक कल्पनाको पूर्णताबेगर लेख्नु मेरालागि असम्भव हो ।
२५) कथा लेख्नलाई चाहिने के हो — प्रतिभा, साधना–समर्पण वा अध्ययन ?
प्रतिभा १० प्रतिशत भए पुग्छ । साधना (जस–अन्तर्गत अध्ययन पनि पर्दछ) ९० प्रतिशत चाहिन्छ । तर १० प्रतिशत प्रतिभा छैन भने सृजनात्मक लेखन हुँदैन । सृष्टि हुँदैन । मौलिकता हुँदैन ।
यो कुरा लेखनदासहरू बुझ्दैनन् ।
२६) कथा लेख्नचाहने नयाँ कथाकारलाई कुनै सुझाव दिन भनियो भने कस्तो सुझाव दिन चाहनु हुन्छ ?
लेख्न घच्घच्याउँछ भने लेख्नुस् । तर, के लेख्ने हो त्यसको निक्र्योल गर्नुस् । निक्र्योल गर्नु भनेको आफूभन्दा पूर्ववर्तीहरूका सृजना अध्ययन, चिन्तन, मनन गर्नुहोस् । चित्त बुझे पनि, त्योभन्दा पृथक ढंगले लेख्न सक्ने क्षमता आफूमा विकसित गर्नुहोस् ।
जीवनको एउटै मात्र पाटो छैन ।
घर जाने एउटै मात्र बाटो छैन ।
चोटको एउटै खाले टाटो छैन ।
पृथ्वीमा सर्वत्र एउटै माटो छैन ।
२७) विश्व साहित्यका धेरै कुरा उठ्ने गरेका छन् । के हो यो विश्व साहित्य ? नेपाली कथा विश्व साहित्यमा कहाँ छ ?
‘अन्नपूर्णाको भोज’ कथा मैले लेखक मित्रहरूलाई पात्र बनाएर लेखेँ । ‘एउटा रात थियो’ कथा मैले चेतमानसिंह र मनु ब्राजाकीको चारित्रिक भिन्नताको विश्लेषण गरेर लेखेँ । अमेरिका छँदा २ वर्ष पहिले हेमिङ्गवेलाई पात्र बनाएर लेखेको कथा पढेँ । सम्पादकको टिप्पणीअनुसार कथा अनौठो, विषय र पात्र अनौठो र नयाँरनौलो शैली ठहरियो ।
मेरो कथा नेपाली साहित्य ठहरियो । उसको कथा विश्व साहित्य ठहरियो ।
२८) विश्वकै एक एकाई नेपाल भएकोले यहाँ लेखिने कथालाई स्वतः विश्व कथासाहित्य भन्न नमिल्ने हो ?
‘मिल्दैन, मिल्दैन !’
‘नारायण भाइ, तपाईँसित नेपाल भन्ने ग्रहबाट विश्व–साहित्य भनिने महाग्रहमा प्रवेश गर्ने पञ्जाछाप प्रवेशपत्र छ ? जानुस्, आलू–चनाको पसलबाट प्रवेशपत्र किनेर ल्याउनुस् ।’
२९) नेपाली कथासाहित्यमा तपाईँले पुर्याएको योगदानलाई आफैँे मूल्याङ्कन गर्नुपर्यो भने के भन्नुहुन्छ ? अर्थात् आफ्नो स्थान कहाँनेर राखिनु पर्ने हो भन्ने ठान्नुहुन्छ ?
महल र सिंहासनको लालसा हिजो पनि थिएन आज पनि छैन । बरु आज म घाटछेउ बसेको छु । हेरौँ, डुँगा आउँछ कि मूढो आउँछ । आउँछ भने कहिले आउँछ ?
३०) तपाईँको एउटा प्रकाशोन्मुख कथासङ्ग्रह ‘आमालाई बेच्नु हुँदैन लाटा’ भन्ने थियो क्यार ! यसलाई धेरै अघि ने.प्र.प्रतिष्ठानमा प्रकाशनार्थ बुझाउनु भएकोमा उक्त कथाकृति प्रतिष्ठानले छापेन मात्रै होइन, बेपत्ता नै पारिदियो भन्ने तपाईँको गुनासो छ अरे ! के भएको थियो, यसबारे यथार्थ कुरा बताइदिनुहोस् न ?
संग्रह–प्रवृत्ति ठ्यामै नभएको मजस्तासित ‘आमालाई बेच्नु हुँदैन लाटा !’ भन्ने कथासङ्ग्रह ने.प्र.प्रतिष्ठानमा बुझाएको प्रमाणस्वरूप पत्र रहेछ । वि.सं. २०७० सालमा पहिलोचोटि अमेरिकाबाट फर्केपछि त्यसै पत्रका आधारमा १६ वर्षपछि प्रतिष्ठानमा पुगेँ । कथाकार भाइ सनत रेग्मी सदस्य–सचिव रहेछन् । नछापिएको गुनासो गरेँ र पाण्डुलिपि फिर्ता मागेँ । सनतको भनाई रह्यो, ‘खोज्न लगाउँछु । भेटिएन भने दाइ, माफी माग्नुबाहेक अर्को उपाय छैन ।’ हराएको कुरा नभेटिनु थियो भेटिएन । त्यसपछि म माफी मागेको हेर्न फर्किएर गइनँ । सप्रमाण मुद्दा हाले पनि हराएको पाण्डुलिपि भेट्टाउने सम्भावना थिएन ।
३१) होइन, यसरी एउटा कथासङ्ग्रहको पाण्डुलिपी बेपत्ता पार्दा पनि तपाईँ चुपचाप हुनुहुन्छ ? यसबारे कतै कुनै उजुरवाजुर नलाग्ने नै हो त ? पाण्डुलिपी बुझाएको प्रमाण पनि त होला नि ?
के गरूँ ? गाउँ ? गाउन आउँदैन ।
नाचूँ ? आँगन टेढो छ ।
बलात्कारपछि सप्रमाण बलात्कारी भेटिए पनि के हुन्छ ?
३२) के त्यस कथा कथासङ्ग्रहको अर्को प्रति वा पत्रिकामा प्रकाशित भएकै थिए होलान्, तत् तत् पत्रिकाबाट फेरि प्राप्त गरेर उक्त कथासङ्ग्रह प्रकाशित हुन सक्दैन ? अर्थात् नेपाली कथासाहित्यका पाठकहरूले तपाईँको यस कथासङ्ग्रहलाई पढ्न नपाउने नै हुन् त ?
त्यस घटनापश्चात् म र मेरा कथाहरूको विषयमा निरन्तर अध्ययन, अनुसन्धान गर्ने भाइ विमल अधिकारीको व्यापक खोजमेलद्वारा, पुराना पत्रपत्रिकाहरूबाट जे–जति प्राप्त हुनसकेको छ तिनलाई केही ‘मनु ब्राजाकीका उत्कृष्ट कथाहरूको प्रतिनीधि संकलन’मा समाविष्ट गरेको छु । बाँकी उहाँले खोज्दै हुनुहुन्छ । भेटिए अर्को नयाँ संग्रह पनि तयार हुनेछ ।
३३) आधुनिक कथालेखनमा अत्यधिक चर्चा कमाएर पनि मदन पुरस्कार प्राप्त गर्न सक्नु भएन नि, किन होला ? मदन पुरस्कारले कथाविधालाई हेला गरेको छजस्तो लाग्दैन ?
मदन पुरस्कारले कथा विधालाई हेला गरेको छैन । उदाहरण— ‘नयाँ सडकको गीत’– रमेश विकल ।
३४) मदन पुरस्कारबारे केही थप कुरा भन्न चाहनुहुन्छ कि ? अर्थात् यसको स्तर, पारदर्शिता, मूल्याङ्कन पद्धतिबारे ?
पुरस्कार, पुरस्कार दिने संघरसंस्था मेरो रुचिको क्षेत्र र विषय होइन । चियोचर्चो गर्ने चाहना पनि छैन । तपाईँको यस प्रश्नको आधिकारिक उत्तरदाता म हुँदा पनि होइन ।
३५) चुपचाप लेखिराखेर पनि मदन पुरस्कारबाहेक अन्य प्रतिष्ठित पुरस्कारहरू प्राप्त गर्नु भएकै छ । मैनाली कथा पुरस्कार, साझा पुरस्कार र केही समय अघिमात्र वि.सं. २०७० मा प्रकाशित पुस्तकहरू मध्ये उत्कृष्ट छनौट भई ‘अन्नपूर्णाको भोज’ कथासङ्ग्रहका लागि खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ठूलै राशिको ‘पध्मश्री साहित्य सम्मान’ प्रदान गरेको छ । यसरी सम्मानित भइरहँदा कस्तो लाग्ने गरेको छ, स्तरीय लेख्न सके पुरस्कारका लागि मरिहत्ते गर्नै पर्दैन, हो ?
ज–जसले मलाई पुरस्कृत गरे सबै धन्यवादका पात्र हुन् मेरालागि । मर्नका लागि मरिहत्ते गर्नुभन्दा आफ्नो कत्र्तव्यका लागि बाँचिहत्ते गर्नु राम्रो ।
३६) तपाईँले पछिल्लो कालखण्डमा ‘छोटा कथाहरू’ भनेर कथासङ्ग्रह प्रकाशित भयो । के हो यो छोटा कथाहरू भनेको ? कथाका दुई भेदहरू ‘लघुकथा’ र ‘कथा’ मात्र छन् होइन र ?
अंग्रेजी साहित्यमा ‘सर्ट स्टोरी’ छ, जसलाई हामी ‘कथा’ भन्छौँ । हिन्दी साहित्यमा ‘लघुकथा’ भनिन्छ— ‘एउटा विचार, एउटा प्रसंग, एउटा घटनालाई आठरदस पंक्तिहरू भन्दा नबढाई उच्च कलात्मकतासाथ मार्मिक रूपले टुंग्याउनु ।’
तपाईँहरूले तथा लघुकथा विशेषांक निकाल्नेहरूको सम्पादक मण्डलले हिन्दी साहित्यको ‘लघुकथा’लाई नेपाली साहित्यमा उपविधाको रूपमा कस्तो खालको परिभाषा निर्धारण गर्नुभएको छ, मलाई थहा छैन ।
मेरा ती कथाहरू कलेवरमा साना हुनाले ‘लघुकथा’को हिन्दी परिभाषाअन्तर्गत नपर्ने हुनाले ‘छोटा कथाहरू’ भनेको हुँ ।
३७) आजकाल तपाईँका फाट्टफुट्ट लघुकथा पत्रपत्रिकामा प्रकाशित हुन थालेको देखिन्छ । के लघुकथातर्फको आकर्षण बढेर हो ? वा, अन्य केही कारण छ ? पहिले पनि लघुकथा लेख्नु भएको थियो कि ?
लामा कथा, अर्थात् ‘सर्ट स्टोरी’, लेख्न दुर्वल हात र विस्मरणशील मस्तिष्कले नदिएको हुँदा विचार, प्रसंग र घटनालाई साना–साना र छोटा–छोटा कलेवरमा कलात्मकतासाथ मार्मिक रूपले टुंग्याउन बाध्य छु । कालको औषधि न नेपालमा पाइन्छ न अमेरिकामै पाइन्छ । अमेरिकामा जीवनलाई केही कालसम्म जीवन्त राख्ने औषधि पाइयो । त्यसैको प्रतिफल हुन् यी साना र छोटा कथा ।
३८) ‘डायस्पोरा’लाई यहुदीहरूले फ्यालेको थोत्रो बोरा समेत भन्नुभयो । भन्नुभयो मात्रै होइन यससम्बन्धमा कान्तिपुरको कोसेलीमा लेख नै छपाउनु भयो । वास्तबमा विदेशमा वस्ने नेपालीहरूले आफूले नेपाली भाषामा लेखेको साहित्यलाई ‘डायस्पोरिक साहित्य’ शब्द प्रयोग गरिरहेका छन् । नेपालतिरबाट पनि समालोचकहरू त्यसमै दौडिरहेका छन् । तपाईँको भने फरक मत सहितको आलेख नै आयो । के यो शब्द प्रयोग गलत छ ? गलत छ भने उनीहरूले किन यसरी ‘डायस्पोरा’ वा ‘डायस्पोरिक’ शब्दप्रति मोह राखेका होलान् ? यस सम्बन्धमा विदेशमा बस्ने नेपाली साहित्यकारलाई दिने तपाईँको केही सुझाव छ कि ?
अंग्रेजी भाषामा ‘डायस्पोरा’ शब्दको अर्थ र आशय राम्रो र गर्व गर्न लायकको छैन । ग्रीक मूलको यो शब्दको अर्थ र आशय अँग्रेजीमा पनि मूल थलोबाट, अथवा कुनै स्थान वा स्थानहरूमा, दुखद् एवम् पराजीत अवस्थामा छरिएका मानव समूह भन्ने हुन्छ, जस्तै— ‘ह्युमन डायस्पोरा इन सहारा डेजर्ट’ (पुस्तक) । सुझी–न–बुझी फेसन गर्न र अनुकरण गर्न हामी नेपाली अग्रणी छौँ । आफ्नो परिचय पृथक र टड्कारो देखाउन तदनुकूल कत्र्तव्य गरेर देखाउन सक्नुपर्छ । कुन शब्द कहाँ गलत र कहाँ सही हुन्छ, कहाँ गर्न योग्य र अपमानजनक हुन्छ, यो सुझाउ दिन मात्र सकिन्छ । तर, फेसनमोहीहरूले हिरोको टोपी उल्टो छ कि सुल्टो बुझ्न चाहँदैनन् । सुझाउ दिनु र मान्न लगाउनु एउटै कुरो होइन । मसंग हातमा सुझाउ दिने कलम छ, लौरो छैन ।
३९)प्रसङ्ग बदलौँ । यो परिवर्तित युगले तपाईँहामीलाई यस इन्टरनेटको जमानासम्म ल्याइपुर्यायो । कस्तो अनुभूत गर्दै हुनुहुन्छ ?
२०६६ सालमा अमेरिका पुगेपछि मेरी कान्छी नातिनी रेवाले (छोरीकी छोरी) कम्प्युटर चलाउन र इन्टरनेटसित परिचित गराई, मैले नचाहँदारनचाहँदै पनि । अझै पनि सामाजिक सञ्जाल सञ्चालन गर्न उति साह्रो जानिफकार भइसक्या छैन । विश्वलाई एकाकार गराउन यातायातको विकासले भन्दा पनि सञ्चारको विकासले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । हलो जात्ने हली पनि ‘मोबाइल फोन’बाट विश्वको अर्को कुनासित सम्पर्कित भइरहेको हुन्छ ।
४०) यस फेसबुकमा सारा संसारसित जोडिन मात्रै होइन, आफैँ आफ्ना कथा वा साहित्य सारा संसार समक्ष पुर्यान पनि त सजिलो भयो नि होइन ?
तपाईँहरूको यो प्रयत्न सफल होस्, शुभकामना ! तर, अहिले ‘इन्टरनेट’मा साहित्यभन्दा ‘फाहित्य’ र आत्मप्रचार बढीभन्दा बढी देखिन्छ । गजलभन्दा ‘फजल’को ओइरो लागेको हुन्छ । लेखक-लेखिका हुन् कि हिरो-हिरोइन हुन् छुट्याउन हम्मे परेको छ ।
आगे के हुने हो कुन्नी ?
४१) नेपाली कथा विधाको पठन संस्कृतिका लागि समेत र कथाप्रति आकर्षण बढोस् भन्ने अभिप्रायले सामाजिक सञ्जाल फेसबुकमा खोलिएको ‘कथा’ समुह हेर्ने अवसर पाउनु भएको छ कि छैन ? हेदैँ गर्नु भएको भए यस ‘कथा’काप्रति तपाईँको प्रतिकृया कस्तो छ ?
हेर्दैछु । साहित्यरकलाको क्षेत्रमा मात्रै होइन कि जुनसुकै क्षेत्रमा पनि प्रचाररप्रसारको आत्यन्तिक महत्व हुन्छ । तपाईँको यो प्रयत्न सार्थक होस् निरर्थक नहोस् । पठन संस्कृतिले नेपाली समाज सुसंस्कृत बनोस् । र, फेसबुक यसै गरी साहित्यका लागि फलदायी होस् ।
४२) तपाईँ स्वयं लेखनको प्रारम्भिक कालदेखि सक्रिय लेखनकालसम्म नै सायद मोफसलमा रहेबसेर नै सक्रिय रहनुभयो । पछि, काठमाडौँ प्रवेश गर्नु भयो । कति फरक पाउनु भयो, काठमाडौँ र मोफसलमा ? अर्थात् लेखनको हिसाबले मोफसलमा रहेर गरेको लेखन र काठमाडौँमा रहेबसेर गरेको लेखनमा, केन्द्रबाट दिइने मान्यतामा के साँच्चै फरक नै हुने हो त ?
मैले गाउँबाट पठाएको कुनै कथा पनि काठमाडौँले नछापेको छैन ।
मोफसलवाद र काठमाडौँवादबीचको किचलो पत्र–पत्रिकामा देखापरेपछि थाहा पाएँ म त महोत्तरीको गाउँमा होइन मोफसलमा पो रहेछु । ‘मोफसल’ कुन जातको फल हो थाहा छैन । ‘फल’ पाउन मैले साहित्य लेखेको पनि होइन । पाठकलाई चेतनशील बनाउन लेखेँ । पाठक चेतनशील भएपछि काठमाडौँ पनि चाहिएन मोफसल पनि चाहिएन ।
४३) यो पनि सोध्न मन लाग्यो— तपाईँको वास्तविक नाम वा भनौँ नागरिकतामा उल्लेख भएको नाम त चेतनाथसिंह भण्डारी हो नि । यो मनु ब्राजाकी नामाकरण आफैँले गर्नु भएको हो ? यसका पछाडि पनि केही कारण छन् कि ?
यो नाम आफूलाई आफैँले राखेँ । पहिचानका लागि बाहुनले राखेको जात–थर मनपरेन । न ता ब्रह्मा भन्ने काल्पनिक जन्तुसित आफ्नो कुनै सम्बन्ध साइनो भएजस्तो लाग्यो । विष्णु भन्ने जिवात्को हालत त हालसालै देखियो । अब जातरथर बाँड्ने ब्रह्माको हालत के हुने हो ?
४४) एउटा उपन्यास पनि थियो तपाईँले लेख्नुभएको धारावाहिक प्रकाशित भइरहेको नेपाल समाचारपत्र दैनिकको शनिवारीय साहित्यिक पृष्ठमा । ‘कान्छी बेगम’ शीर्षकमा प्रकाशित हुँदै आएको त्यो उपन्यास अकारण नै प्रकाशित हुन छोडेको हो कि, त्यसका पछाडि केही कारण थिए ? त्यो उपन्यास पूरा पनि गर्नु भएन, किन यस्तो ?
त्यसताका सुविद गुरागाईँ भन्ने एकजना साहित्यकार र पत्रकार भाइ मसंग पेइङ्ग गेस्टका रूपमा बस्थे र नेपाल समाचारपत्रमा काम गर्थे । उनकै करकापले मैले लेख्न थालेको थिएँ । उनले नेपाल समाचारपत्र छोडे । मैले कान्छी बेगमलाई छोडेँ । अकारण होइन, कारण यत्ति हो । कथा भए पूरा गर्ने थिएँ, उपन्यास हुनाले उपन्यासकारहरूकै लागि छाडिदिएँ ।
४५) अब अर्को प्रसङ्ग, तपाईँ ईश्वरवादी कि नास्तिक ? कथा लेखनमा ईश्वरवादी हुनु र नहुनुमा केही फरक पर्ने हो कि ?
मान्छे र मान्छेसित सम्बन्धित विश्व ब्रह्माण्ड छ— अस्ति । अस्तिलाई मान्ने हुँदा म आस्तिक हुँ । ईश्वरको अस्तित्व कहिले पनि थिएन, छैन, हुनेछैन— नास्ति । नभएकोलाई, अर्थात् नास्तिलाई मान्ने नास्तिक हुन् ।
साहित्यमा ‘वादी’ वकवादी हुन्छ । अन्यथा, साहित्यमा भूत, प्रेत, भगवान, धनवान, दरिद्र सबै चाहिन्छ ।
४६) मदिरापानबारे पनि केही सोधौँ । तपाईकोँ मदिरा सेवनका सम्बन्धमा बाहिर निकै टीका टिप्पणी हुने गरेका छन् । हुनत यो नितान्त आफ्नो व्यक्तिगत मामिला होला । तर, तपाईँका पाठकहरूलाई स्वयं तपाईं पो यस सम्बन्धमा केही भन्न चाहनु हुन्छ कि ?
कथा लेख्नुभन्दा पूर्व चिन्तनरमननमा संकेन्द्रित हुन मनुलाई दुईवटा कुरा अभ्यासवश आवश्यकता परेको थियो— मदिरा सेवन गर्नु र निरूद्देश्य भौँतारिनु । अन्यथा, वेश्यालय चाहारे पनि रण्डीबाजी गरेन, तास र कौडा न चिनेकाले जूवा खेलेन, पदरपैसा पाइनँ भनेर कसैको बद्ख्वाईँ गरेन ।अ ब अरू के गरौँ, पाठकबृन्द ? जसको रुचि जेमा छ त्यसैको टीका र टिप्पणी गर्छन्— कथा कि रक्सी !
४७) अरू पनि पाठकहरूले थाहा पाउनै पर्ने तपाईँका विचार–व्यवहारबारे केही भन्न चाहनु हुन्छ कि ?
जीवन र जगतप्रतिको चिन्तनरमननबाट निःसृत केही विचारहरू यहाँ प्रस्तुत छन् ।
—स्रस्टाको सिर्जना सृष्टिको प्रतिविम्ब मात्र होइन, समानान्तर सृष्टि हो ।
—विचारहीन साहित्य र विवेकहीन राजनीति दुवै त्याज्य हो ।
—सृष्टिमा नारीको योगदान ठूलो छ, तर पुरुषसँगै ।
—लिङ्ग पूजनको अभ्यास र योनिशुचिताको महिमागान धर्मको नाउँमा नारी अस्मिताको अवमूल्यन हो ।
—युद्ध, भेदभाव, जातपात र स्वर्गरनर्कको मूल ईश्वरवादी धर्म हो ।
—जो ईश्वरवादी हुन्छ त्यो कदापि मानववादी हुँदैन, मानवता उसको मखुण्डो हो । यसको सटीक उदाहरण हुन् भारतका मोहनदास करमचन्द गान्धी । उनी चतुर र दूरदर्शी रानीतिज्ञ थिए । धर्मभीरू भारतीय जनता र पाश्चात्य शिक्षाप्राप्त भारतीय जमातलाई ईश्वरवादी भएर, मानवताको आडमा अँग्रेजविरूद्ध सबैलाई एकताबद्ध गर्न सके । भारतलाई स्वाधीनता प्रदान गर्न सके । यही उनको महानता हो । उनको यस्तो कूटनीति न ता धर्म हो न ता मानवतावाद हो, यो राजनीति हो, अभूतपूर्व राजनीति— धोती लगाएर लौरौ टेकेको !
—मौलिक विचारले कलात्मक उच्चता प्राप्त गर्नु नै उच्चकोटीको साहित्य हो ।
—हिन्दू ईश्वरवादीहरूको नगरी काशीमा बाल्यकालमा पढेको एउटा कविताको एउटै वाक्यले मलाई ईश्वरतिरबाट मानवतिर फर्काइदियो । त्यो वाक्य थियो, ‘मनुष्य मात्र बन्धु है यही बडा विवेक है ।’ प्रणम्य कविवर मैथिलीशरण गुप्त ।
—मान्छे हुनसकेँ यै मेरो उपलब्धि हो । असल मान्छे हुन जीवनभरि प्रयत्नरत हुनुपर्छ ।
पल्लव साहित्यिक ई-पत्रिका, डिसेम्बर ११ २०१५
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।