मनु ब्राजाकीसँग भूमिकाका लागि मेरो गजल सङ्ग्रह ‘जीवनपानीका तरङ्गहरू’ को पाण्डुलिपि थियो ।
‘जीवनबाबु, मैले भूमिका लेखिसिध्याएँ, आज फुर्सद छ भने आउनुस् ।’
वि.सं. २०६२, जेठ १३ गते शनिबारको दिन थियो त्यो ‘आज’ । आइतबारदेखि शुक्रबारसम्मका ६ दिन मलाई सम्झिँदा पनि पसिना आउँछ ; असिनपसिन हुँदै, सकिनसकी भारी बोकेर उकालोमा हिडेझैं लाग्छ । यदि शुक्रबारको टुप्पोमा शनिबार नहुँदो हो त, कति दयनीय हुँदो हो जिन्दगी ! त्यसैले शनिबार मलाई हप्ताभरिको यान्त्रिक परिश्रमले भारी भएको शरीरको थकान बिसाउने वरपीपलको शीतल चौतारीझैं लाग्छ ।
बिहानको करिब नौ बजेको थियो । शनिबारको यो मुहूर्तमा ०१–२०४१३३७ नम्बरको यु.टि.एल. फोनबाट आएको उक्त वाक्यांशले मलाई खुशीको धागो फुकाउँदै आनन्दको आकाशमा चङ्गा बनाएर उडायो । भारी शरीर कपास भयो । मन, मौरीले फूलबारी पाएझैं रमायो । त्यसो त, मनु ब्राजाकीले हप्ताको जुनसुकै बार बोलाए पनि फुर्सद छैन नभन्ने मलाई, शनिबारको दिन त्यो पनि भूमिका लिन बोलाउँदा फुर्सद छैन, आउँदिनँ भन्न त म बहुलाउनुपथ्र्यो । मलाई कतिखेर उहाँको निवासमा पुगूँझैं भएको थियो मलाई । मेरो ‘कतिखेर आऊँ सर’ को प्रश्नमा उहाँको जवाफ थियो ‘म त दिनैभर घरैमा हुन्छु, बरु तपाई आफ्नो अनुकूल मिलाएर आउनू ।’
मनु ब्राजाकीलाई भेट्ने मामिलामा मलाई निकै हतार हुन्थ्यो । त्यतिबेला उहाँ बानेश्वरस्थित आलोकनगरमा बस्नुहुन्थ्यो । दिउँसो १२ः४५ बजे म उहाँको निवासमा पुगें । उहाँको निवास मलाई पवित्र मन्दिरजस्तो लाग्थ्यो अनि उहाँलाई भेट्दा ईश्वरलाई नै भेटेझैं हुन्थ्यो । त्यस्तै भाउजूको आतिथ्य सत्कारले ‘अतिथि देवो भवः को आर्य–संस्कृतिलाई सम्झाउँथ्यो ।
उहाँको लेखनयात्राका इतिवृत्ति सुन्ने हुट्हुटीका ज्वार मनमा उठिरहन्थे । यही विषयलाई आजको बसाइमा मौका बनाउने सोच तय गरेको थिएँ मैले । भेटघाटको शिष्टतापछि म उहाँको अनुमतिमा सोफामा बसें । उहाँले ‘छालका उत्ताल तरङ्गहरू’ शीर्षकमा आफ्ना सुन्दर हस्ताक्षरमा लेखिएको लामो भूमिका मलाई दिँदै भन्नुभयो– ‘भूमिका घरैमा लगेर फुर्सदले पढ्नुभएहुन्छ ।’ यति भनेर उहाँले मलाई भूमिकामा नलेखिएका गजल–विषयक केही सान्दर्भिक र मननीय तत्वहरूको जानकारी गराउनुभयो । यही प्रसङ्गमा उहाँले आफ्नो लेखनयात्राको क््रmमलाई जोड्न थाल्नुभयो । यस विषयमा उहाँलाई भेटेदेखि नै सुन्न आतुर थिएँ म । मनमा यिनै कुरा तय हुनु र उहाँ मेरो मनलाई सुनेझैं यस विषयमा आफै प्रवेश गर्नु, यो मेरा लागि अनौठो संयोग थियो । उहाँ सँग यस्ता अचम्म लाग्दा संयोगहरू त्यसपछि पनि घटेका छन् । यो देख्दा मलाई स्वयम् भगवान प्रकट भएर ‘तथास्तु ! भनेझैं भयो । उहाँले ईश्वरीय अस्तित्वलाई विश्वास गर्दिनँ भने पनि मलाई उहाँभित्र अन्तर्यामी ईश्वर भएको विश्वास भयो । जसले आफ्नो अस्तित्वलाई विश्वास गर्दैन र शङ्का गर्छ, शायद ईश्वरलाई आफ्नो ठेगाना लुकाएर तिनैका अन्तर्मनमा रहन सहज र उपयुक्त ठाउँ लाग्दो हो ।
घरमा फुर्सदिलो भनेको उहाँ मात्रै हो । बाँकी सबै आ–आफ्ना काममा व्यस्त हुन्थे । २०६० कार्तिकमा उहाँलाई मस्तिष्कघात भयो । यसपछि परिवारले उहाँलाई एक्लै बाहिर ननिस्कियोस् र निस्के पनि टाढा नजावोस् भन्ने चाहन्थ्यो । उता डाक्टरले खुल्ला ठाउँमा १/२ घण्टा नियमित हिँड्नू तर एक्लै नहिँड्नू भनेका थिए । नियमित हिँड्नु पर्ने, एक्लै हिँड्न नहुने, परिवारका व्यस्त सदस्यसँग उहाँका लागि समय दिन समय नहुने, एक्कासि आएका यस्ता विषम परिस्थितिले उहाँको अभ्यस्त डुलुवा स्वभावमा अचानक रोक लगाइदिएका थिए । धन्न उहाँको मुटु बलियो रहेछ । कमजोर मुटु हुनेका लागि त यो परिस्थिति निकै कहाली लाग्दो अवस्था भन्दाहुन्थ्यो । यसर्थ घरबाट एक्लै बाहिर निस्कँदा उहाँ प्रायः ४/५ मिनेटको दूरीभन्दा टाढा जानुहुन्नथ्यो । अलि टाढा जानुपरे घरमा भेट्न आउने शुभचिन्तकका साथ लाग्नुहुन्नथ्यो । त्यस्तो व्यक्तिको रूपमा आज उहाँसँग म छु ।
उहाँको स्वास्थ्यस्थिति मलाई सबै थाहा थियो । उहाँप्रति मेरो हार्दिक र आत्मीय व्यवहारले त्यो परिवारको नजरमा म विश्वासिलो पात्रको रूपमा परिणत भैसकेको थिएँ । उहाँप्रति मेरो हार्दिक र आत्मीय व्यवहार परिवारलाई राम्ररी थाहा थियो । यसैले उहाँलाई मसँग बाहिर निस्कन परिवारको अनुमति लिनुपर्दैनथ्यो । तैपनि उहाँले बाहिर निस्कने बेलामा भाउजूसँग सधैँ, ‘ज्ञानु, म एकैछिन जीवनबाबुसँग बाहिर खुट्टा तन्काएर आउँछु है’ भनेर मात्रै निस्कनुहुन्थ्यो । त्यो दिन हामी करिब २ बजेतिर घरबाट बाहिर निस्कियौं ।
निवासबाट पाँचैमिनेटमा पुगिने चियानास्ताको पसल थियो । एक्लै खुट्टा तन्काउन निस्किँदा उहाँ प्रायः यहीँ आउनुहुन्थ्यो । उहाँको सहज व्यवहार र नरम बोलीको गुरुत्वमा पसलवाला स्याउ बनिसकेको थियो । तिर्ने पैसा नपुग्दा बाँकी पछि मिलाउनु होला नि अङ्कल’ भन्दै उधारो खातामा टिपिदिन्थ्यो । त्यो दिन हामी सरासर यहीं आयौं । शूरूमा दुई वटा चिया भन्यौं । चियासँगै उहाँले एउटा खुकुरी चुरोट सल्काउनु भयो । चुरोटको धूवाँ उडाउँदै परशुप्रधान, शैलेन्द्र साकार र नकुल सिलवाललाई सम्झनुभयो । ‘उनीहरूको घर यतै हो’ भन्दै खरीबोटतिर औलाले देखाउनुभयो । यसै क्रममा उनीहरूकै छिमेकी स्व. कुमुद देवकोटा आफ्ना निकै सहृदयी मित्र भएको बताउँदै उनीसँगका रोचक प्रसङ्ग झण्डै एकघण्टा जति सुनाउनुभयो । सुनाउँदै गर्दा सम्झेका कुरा बिर्सिन पुग्दा मस्तिष्कघात पछि आफ्नो स्मरण शक्तिमा निकै ह्रास आएको भन्दै चिन्तित हुनुभयो ।
सन् १९६४ मा हजूरबुबाको स्वर्गारोहण हुनुअघिका झण्डै १४ वर्ष उहाँले वनारसमा बिताउनुभएको थियो । यसरी उहाँका बाल्यकाल र किशोरावस्थाका प्रारम्भिक समय बनारसमा बितेको देखिन्छ । उहाँले–‘साहित्यको लागि वनारस मेरो जन्मथलो र नेपाल कर्मथलो’ भन्ने गर्नुहुन्थ्यो ।
यतिखेर उहाँ मलाई वनारसदेखिकै आफ्नो लेखनयात्रालाई क््रmमबद्ध रूपमा सुनाइरहनु भएको छ । यो अवस्था, मलाई ‘म सुन्ने र उहाँ सुनाउने’ को एकाग्रता एकाकार भएझैं हुन्थ्यो । अर्थात् मलाई ‘म अर्जुन हूँ र म भगवान श्रीकृष्णबाट गीताका उपदेश सुनिरहेछुझैं हुन्थ्यो । उहाँ भन्दै हुनुहुन्थ्यो–‘लेख्न त मैले २०१६ देखि कथा लेख्न शुरु गरेको हुँ तर ती कथामा मैले मलाई नपाउँदासम्म लेख्दै, च्यात्दै, फाल्दै गर्थें । आफ्नै शैली, प्रस्तुति र अरुको भन्दा बेग्लै प्रकारले बिम्ब र प्रतीकको प्रयोग भएको आफैलाई मन परेको मेरो पहिलो कथा ‘भ¥याङ्’ हो । यो २०१९ मा अञ्चल–सन्देश पत्रिकामा छापियो । त्यसपछि उहाँले ओ हेनरीको कथा अन्त्य गर्ने शैली निकै मन परेको अनि बङ्गाली लेखक विभूतिभूषण बन्ध्योपाध्यायको उपन्यास ‘पाथेर पाञ्चाली’ पढेपछि एकवर्षसम्म केही लेख्न नसकेको सकस सुनाउनुभयो । आफ्ना कथा लेखनमा उहाँ बारम्बार यी तीन स्रष्टालाई सम्झिरहनुहुन्थ्यो र भन्नुहुन्थ्यो– ‘उनीहरूले जस्तो सूक्ष्म र विशद रूपमा लेख्न नसके पनि पाठकहरूका मनमा चित्रित गर्नका लागि मैले तिनै लामा कुरालाई बिम्ब र प्रतीकको उचित प्रयोग गरेर छोटकरीमा भन्न सक्छु जस्तो लागेपछि बल्ल लेख्न थालेको हुँ ।
सानोमा लोककथाका राजकुमारलाई सुन्दा÷पढ्दाको जस्तो आनन्द आज उहाँलाई सुन्दा भैरहेछ ।
घरबाट दुई बजेतिर निस्केका थियौं । मेरा आँखा अनायास हातको घडीमा पुगे । साढे पाँच बजिसकेको रहेछ । यति चाँडै साढे पाँच त बज्नु नपर्ने हो भन्दै पत्यार नलागेर फेरि दोश्रोचोटि आँखा घडीमा पुगे । साढे पाँच भएकै रहेछ । घडीबाट आँखा उठाएर केही सेकेण्डमै म उहाँमा केन्द्रित भैसकेको थिएँ । भर्खरै अघिको उहाँको चन्द्रमुहारमा ग्रहण लागिसकेको थियो । रोषले सल्किए जस्ता नजरले पुलुक्क मतिर हेर्नुभयो अनि त मेरो सातोपुत्लो दुवै उड्न थाले । उहाँको अचानक यस्तो व्यवहारले मेरो हृदयमा हाइपोसेन्टर बनाएर महाभूकम्प आएझैं भयो । उहाँ केही नबोली जुरुक्क उठ्नुभयो । जान्छु÷जाऊँ केही नभनी फटाफट बाहिर निस्कनुभयो र निवासतिर लाग्नुभयो । के गर्ने ? के नगर्ने ? म रनभुल्लमा परें । उहाँलाई के भएको हो ? मैले केही बुझ्न सकिनँ । घरबाट निस्कने बेलामा भाउजूले ‘बाबु, अहिले फर्किदा दाइलाई घर अगाडिको ओरालोसम्म पु¥याइदिनू है’ भनेको सम्झिएँ । उसो त भाउजूले नभनेको भए पनि मसँग हुँदा म उहाँलाई जहिले पनि घरसम्म पु¥याएर मात्रै फर्किन्थें । पसलवालालाई यतिञ्जेलसम्मको चियानास्ताको पैसा बुझाएर म उहाँलाई भेट्टाउन निस्किएँ । भेट्टाएँ । मलाई आफूसँगै छ भन्ने उहाँलाई थाहा हुँदा पनि उहाँ मतिर न फर्किनुभयो न त मसँग बोल्नु नै भयो । घर अगाडिको ओरालोमा पुगेपछि मैले ‘सर जानु है’ भनें । बिना प्रतिक्रिया ओरालो हुँदै घरभित्र छिर्नुभयो । आत्मघाती गोल हानेर आफ्नो टिमलाई हराउने खेलाडीको अवस्थामा म घरमा आइपुगें । यसबारे घरमा केही कुरै गरिनँ । खाना खाएँ र सुतें । मस्तिष्कले आँखामा रातैभरि घडीको दृष्य निरन्तर पठाइरह्यो । घडी हेर्नु अगाडि उहाँ सामान्य अवस्थामा हुनुहुन्थ्यो । एकाएक उहाँमा आएका यी सम्पूर्ण परिवर्तनका कारण मैले घडीमा हेर्नु नै हो । मेरो बुझाइको आजसम्मको निचोड यही हो । यदि यसको कारण यो बाहेक अरु केही थियो भने त्यो उहाँलाई मात्रै थाहा छ । मलाई सुनाइरहँदा उहाँको अवस्था एक प्रकारको ध्यानजस्तै थियो । जब मेरो नजर घडीमा परे, मेरो विचलनले उहाँको एकाग्रता पूर्णतः भङ्ग भएको र त्यसपछि उहाँ अचानक अस्वभाविक बन्नु भएको मेरा आँखाले छर्लङ्गै देखेका थिए ।
उहाँको यो क्रियाकलापले मलाई एउटा कार्यक्रममा डि.पी. भण्डारीले एक विदेशी विद्वानको भनाइ राख्दै आफ्नो मन्तव्य टुङ्ग्याएको सम्झना भयो । उहाँले भन्नुभएको थियो–‘जब तिम्रा भाषण सुन्ने श्रोताले कान कोट्याउन थाल्छन्, तिमीले भाषण छिटो सक्नतिर लाग । जब हाई गर्न थाल्छन्, तिम्रो भाषण अझ छोट्याऊ तर जब उनीहरूले घडी हेर्छन्, एकछिन् पनि नपर्खी भाषण रोकिहाल । यदि तिमीले अझै भाषण गर्न थाल्यौ भने, उनीहरुले तिमीलाई बहिष्कार गर्छन्’ । ठ्याक्कै यही भयो । मैले घडीमा हेर्नासाथ उहाँले तुरुन्तै आफ्ना कुरा भन्न छाड्नुभयो । त्यसो त घडी हेर्नु अगाडि उहाँलाई सुन्न झञ्झट लागेर मैले कान कोट्याउने, हाइ गर्ने जस्ता अग्रिम सूचना दिएकै थिइँन । अर्थात भयो आजको पुराण यही पूरा गर्नुस्, घण्टी बज्यो पिरियड सकियो, मलाई फेरि अर्काे ड्युटीमा जानु छ, यि कुनै कुराको अपिल मैले गर्न खोजेकै थिइँन । उहाँलाई सुनेर म थाकेकै थिइँन । बरु संभव हुन्थ्यो भने समय रोकेर सुनिरहूँ भएको थियो । यति चाँडो साढे तीन घण्टा बितेकोमा मलाई निकै खेद थियो ।
उहाँको व्यक्तित्वको नशाले, उहाँलाई भेट्नु र सुन्नु मेरो लत बनिसकेको थियो । राजव्यक्तित्वको श्रीपेच लगाएर उहाँलाई हृदयमा सजाइसकेको थिएँ । अचानक उहाँको यस्तो हाउभाउ, मलाई रातैभर हाउगुजी बनिरह्यो । म निदाउनै सकिनँ । मेरो भाग्यले उहाँ मेरो ठूलो कमाइ हो । यसैले म उहाँलाई कुनै पनि हालतमा गुमाउन चाहन्नथें । तर उहाँको त्यस्तो क्रियाकलापले मसँग ‘अब म तँ सँग कहिल्यै बोलिदनँ’ भनेझैं लाग्थ्यो ।
उज्यालो भयो । ब्युँझेर घडीमा टोलाएँ । घडीको सानैदेखि सौखिन म । तर एकाएक घडीको थर्माेमिटरमा मेरो सोखको पारो १००ंC बाट चिस्सिँदै ०ं C मा जम्न पुग्यो किनकि यही घडीले उहाँको मन दुखाएको थियो । यसैले अब कहिल्यै घडी नलगाउने वाचा गरी हातको घडी फुकालेर टेबुलमा राखें । बेचैनका ज्वारले मन अशान्त थियो नै । साँच्चिकै सापेक्षवाद भनेको के हो ? भनेर कसैले सोध्दा आइन्स्टाइनले एकचोटि भनेका थिए–‘जब तिम्री प्रेमिका तिम्रो काखमा घण्टौंसम्म बस्छिन्, तिमीलाई एकमिनेट पनि बितेजस्तो लाग्दैन तर जब तिमी तातो स्टोभमाथि मात्रै एक मिनेट बस्छौ, तिमीलाई त्यो एकमिनेट घण्टौजस्तो लाग्छ ।’ सापेक्षवादको यो दोस्रो अवस्था जस्तै भएको थियो मलाई ।
२१ गते शनिबार थियो । बल्ल आइपुग्यो । मैले आज उहाँलाई भेटेर मन शान्त पार्ने निधो गरें । मुटु काप्न थाल्यो । यसर्थ मुटु सम्हालेर बिहानै ७ बजेतिर उहाँलाई फोन गरें । फोन उहाँकै आवाजमा उठ्यो । फोनमा नमस्कारको आदानप्रदान सकिएपछि मैले ‘आज आऊँ सर ?’ भन्दा उहाँले ‘तँपाईलाई फुर्सद भए आउनुस् म त घरैमा छु’ भन्नुभयो । यो भनाइ १३ गते अघिको भन्दा केही फरक थिएन । ११ः३० बजे, म उहाँको निवासमा पुगें । घरमा उहाँ एक्लै हुनुहुन्थ्यो । उहाँको अनुहारमा पुलुक्क हेरें । हेर्दा अनुहारमा त्यो दिनका भैरवहरू कतै देखिन्नथ्यो । यदि त्यो दिनको महारहस्यको कारण घडी भएको भए, मैले घडी नलगाएको उहाँलाई सजिलै थाहा होस् भनेर मैले छोटो बाहुले कमिज लगाएर गएको थिएँ, ताकि उहाँलाई मैले गल्ती स्वीकारेको जानकारी होस् । तर उहाँलाई देख्दा मलाई यस्तो लाग्यो कि त्यो दिन उहाँलाई के भएको थियो स्वयम उहाँलाई नै थाहा छैन । यस्तो अवस्थामा त्यो दिनको कुरा कोट्याउन मलाई उचित लागेन । शायद उहाँलाई पनि मलाई जस्तै पो भएको थियो कि ? अर्थात् ‘तैं चूप, मैं चूप’ को अवस्था । यसपछि पनि उहाँसँग मेरा कयौं भेटमा यस बारे केही कुरा कहिल्यै भएनन् । कुरा नभए पनि हरेक भेटमा त्यो दिनको घटना झन गाढा भएर सम्झनामा आइरहन्थ्यो । पछिल्ला दिनमा भने उहाँलाई सुनिरहँदा मैले त्यो दिनको गल्ती कहिल्यै दोहो¥याइन । उहाँलाई सुन्दा निकै महत्व दिएर सुन्थें । उहाँसँगका यस्ता सबै लौकिक दर्शन र श्रवणको सिलसिला गत माघ १९ गते देखि अलौकिक बन्न पुगेका छन् । यो सम्झिदा मुटु निचोरिएर आउँछ ।
२०६२ जेठ १३ गते को भोलिपल्ट १४ गते देखि यता २०७४ फागुन ५ गते सम्म मैले हातमा घडी बाँधिनँ । त्यो अवधिभर अरुको हातमा घडी देख्दा मलाई उहाँको याद सम्झनामा अझ घनिष्ठ बनेर आउँथ्यो ।
गत फागुन ५ गतेदेखि फेरि मैले घडी किनेर हातमा बाँध्न थालेको छु ताकि उहाँलाई म फेरि पहिलाजस्तै पलपल सम्झिरहुँ !!
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।