Chovar Blues Mobile Size

कथा पढ्नुअघि

समय खेर जान नदिन मैले छोटा-लामा रूसी कथा मूल भाषाबाट अनुवाद गरेँ । रूसी भाषाको सन्दर्भमा यहाँ लाटो देशको गाँडो तन्नेरी जो म आफूलाई ठान्छु । यी कथाहरूको छनोटको आधार चाहिँ यिनले दिने सन्देशहरू हुन् । म रूपलाई भन्दा सारलाई अलिकति भए पनि बढी महत्त्व दिनुपर्छ भनी ठान्छु ।

यी अनुवादहरू मूल कथाबाट टाढिएका छैनन् । अनुवादमा मैले मूल कृतिका संरचना र भावलाई सकेसम्म उतार्ने प्रयास गरेको छु । अर्थात् यहाँ भएका कथाहरू अनुवाद हुन्, व्याख्या होइनन् । मूल कृतिलाई व्याख्या गरेर गरिएको अनुवाद, जुन भाव अनुवादले बढी चिनिन्छ, मा लेखकको उपस्थिति कम हुन्छ, अनुवादकको बढी । यो मेरो निजी धारणा हो । रूसीमा यी कथाहरू पढ्दा सरर सर्छन् । यहाँ त्यसो नभएकोमा मेरो कमजोरी हो ।

अगाडि तपाईंले यो कथाको लेखकको नाममा एन्टन चेखभको ठाउँमा आन्तोन छेखफ नाम देख्नुभएर अचम्म मान्नुभयो होला । यसो गर्नु म ठीक ठान्दछु किनकि हामी अंग्रेजीका सबै खाले नाम-पदहरू पनि त्यसैगरी रूपान्तर गर्छौं । रूसीका चाहिँ किन यसो गर्न नहुने ? अर्थात् रूसीको ताल्स्तोइलाई हामीले टाल्स्टाय किन भन्नु पर्ने ? आलोचना स्वीकार्छु, त्यो पनि सहर्ष ।

यसअघि मैले शिसम प्रकाशन बालाजुबाट २०७५ मा ‘बसिबियाँलो’ किताब निकालेको थिएँ । त्यही बसिबियाँलोका कथाहरू नियमित रूपमा साहित्यपोस्टमा प्रकाशन हुनेछन् । कथा पढेर प्रतिक्रिया पाउनेछु भन्ने आशा गरेको छु ।

प्रा. बलराम अर्याल

डा. बलराम अर्याल

कुरा कुनै एउटा सुन्दर साँझको हो; इभान द्मित्रिछ् छिर्भिकोफ्, एकजना बहिदार; एउटा थिएटरको दोश्रो लहरमा बसेर बाइनोकुलरबाट “कर्नेभिलका घण्टी” हेर्दै थियो । जसै दृश्य अघि बढ्थ्यो, ऊ आफूमा पनि चरम आनन्दको अनुभूति गर्थ्यो नाटकबाट ।

तर एक्कासी … । उसले आफ्ना आँखाबाट बाइनोकुलर हटायो, यसो निहुरियो र … हाच्छ्यूँ !!! गर्‍यो । देखिहाल्नुभो: कारिन्दाले हाच्छियुँ गर्‍यो । हाच्छियुँ गर्न कहीँ कसैलाई बन्देज छैन । किसानहरू पनि हाच्छियुँ गर्छन्, पुलिसहरू हाच्छ्यूँ गर्छन्, कहीँ – कहीँ त गोप्य सल्लाहकारहरू पनि हाच्छियुँ गर्छन् । अर्थात् जो कोही हाच्छियुँ गर्छन् । छिर्भिकोफ् कत्ति पनि भ्रममा परेन । एउटा सज्जन मानिसले जस्तै आफ्नो यताउता हेर्‍यो कसैलाई कुनै तकलिफ त दिइनँ आफ्नो हाच्छ्यूँले भनेर ? अब उसले ठ्याक्कै आफ्नो अगिलतिर थिएटरको पहिलो लहरमा देख्यो एकजना बूढा मान्छेलाई, जो आफ्नो चिण्डे टाउको र तालु पुछ्दै केही भूत-भूत गर्दै थिए । यी बृद्ध मान्छेमा उपल्लो दर्जाको जनरल बृज्झालफ् भएको कुरा पनि छिर्भिकोफले स्पष्ट थाहा पायो ।

– “मैले उनलाई सिँगान पो छर्किदिएँ कि ? – छिर्भिकोफले सोच्यो ।

– उनी मेरा हाकिम् त होइनन्, अर्कैका हाकिम हुन्, यद्यपि यो राम्रो भएन नि ! माफी माग्नु पर्छ” ।

छिर्भिकोफले यसो खोक्यो, आफ्नो जीउ केही तन्कायो अघिलतिर, अनि जनरललाई कानमा खुसुक्क भन्यो, ‘हजूर, माफ गरिसेला ! मैले हजुरलाई सिँगान पो छर्किदिएँ … जानी-जानी होइन, प्रभो … !

– केही छैन, केही छैन … !

– भगवानको लागि, माफ गर्नुहोस् । मैले त … मैले चाहेको होइनँ, हजूर !

– एहे, कृपया बस्नुस् ! मलाई सुन्न दिनुस् !

– छिर्भीकोफ् अलमल्ल पर्‍यो, एउटा मूर्ख हाँसो हाँस्यो र रङ्गमञ्च तर्फ हेर्न थाल्यो । ऊ नाटक त हेर्थ्यो, तर पूर्ववत् चरम आनन्द भने पाउन सकिरहेको थिएन उसले । बेचैनीले सास्ती दिइरहेको थियो उसलाई । मध्यान्तर भो । यही मौका छोपी ऊ बृज्झालफनिर टुप्लुकियो, उनी वरिपरि एकाध चक्कर लगायो अनि थर-थर काम्दै के हो त बर्-बर् गर्न थाल्यो:

– मैले हजुरमा हाच्छियुँ गरेँ, प्रभो ! … क्षमा पाऊँ, मैले त … त्यसो गर्छु भनेर … ।

– ओहो, भैगो नि … ! मैले त बिर्सि पनि सकेँ । तपाईँ चाहिँ फेरि उही कुरा !

– जनरलले भने ।

– “बिर्सेँ त भने, तर उनको आँखामा दुष्टता देखिन्छ स्पष्ट ।  -छिर्भिकोफले

सोच्यो ।

– अँ, बोल्न पनि त चाहेनन् उनी । स्पष्ट पार्न पाए हुन्थ्यो उनलाई राम्रोसँग मैले कत्ति पनि चाहेको होइनँ त्यो गर्न भनेर … । यो त प्रकृतिको नियम नै हो नि, अन्यथा उनले ठान्ने छन् मैले उनलाई थुक्नै चाहेको हुँ भनेर । अहिले त्यसो नठानेर के भो र ! पछि ठानिहाल्लान् ! …”

घरमा आएपछि आफ्नो अशिष्टताबारे छिर्भिकोफले आफ्नी घर-बूढीलाई बेलिबिस्तार लगायो । श्रीमतीले चाहिँ, छिर्भिकोफलाई यस्तो भान भयो, यी सब जो भएको थियो, हल्का रूपमा लिइन् । उनी अलि डराइन् पहिला, तर पछि, जब उनलाई यो थाहा भो कि बृज्झालफ नचिनेको मान्छे हो, निश्चिन्त भइन् ।

– तर जे होस्, जाऊ तिमी, माफी माग, – श्रीमतीले भनिन् ।

– समाजमा तिमी सामान्य व्यबहार गर्न समेत जान्दैनौ भनेर सोच्लान् नि

जनरलले !

– अँ, कुरा यही हो त ! क्षमा पाऊँ, मैले भनेको हुँ ! उनीले चाहिँ अचम्म …भनेनन् एउटै पनि राम्रो कुरा ! त्यसो त थियो नै कहाँ र गफ गर्ने फुर्सद !

कुरा भोलि पल्टको हो, छिर्भिकोफले नयाँ युनिफर्म् – कोट लगायो, अनि हिँड्यो जनरलकहाँ आफ्ना कुरा स्पष्ट पार्न । ऊ जनरलको चाकडी-कक्षमा प्रवेश गर्‍यो । त्यहाँ उसले देख्यो थुप्रै चाकडीवालहरूलाई । अनि देख्यो उसले ती नै चाकडीवाजहरू माझ जनरल बृज्झालफलाई पनि । जनरलले उनका आँखा छिर्भिकोफतिर पनि उठाए, चाकडीवाजहरूसँग केही सोधपूछ गरेपछि ।

– हिजो “आर्कादीमा, केही संझना रहेको छ भने, प्रभु, – कारिन्दाले विन्ती गर्‍यो,

– मैले हाच्छियुँ गरेँ, हजूर र … पत्तै नपाई हजुरलाई सिँगान पर्न गयो, मबाट … मा… माफ … ।

– कस्तो वाहियात् कुरा … ईश्वर नै जानून् ! तिमीलाई के चाहना छ ? जनरलले

अर्को चाकडीवालालाई सोधे ।

– “चाहेनन् बोल्नै ! – छिर्भिकोफले सोच्यो केही मलीन भएर ।

मतलब, रिसाएका छन् … । अहँ, यसलाई छोड्नुहुन्न यसै …, म स्पष्ट पार्छु उनलाई सबै कुरा” ।

जनरलले अन्तिम चाकडीवालसँग कुराकानी सिद्ध्याएर आफ्नो भित्री कोठातिर लाग्दै के थिए छिर्भिकोफले उनलाई पछ्याइहाल्यो, अनि थाल्यो गर्न उही

भुत-भुत:

– प्रभु ! यहाँलाई मैले दु:ख दिनु मेरो पश्चातापको अनुभूतिले हो, भन्न सक्छु: होइन,  हजुर मैले जानी-जानी गरेको ।

जनरलको मुख शोकको घडीमा जस्तै भो । हातले उनले आफ्नो बेवास्ताको जनाउ दिए ।

– अँ, हजुर त यस्तै हँसी-मजाक गरिसिन्छ ! – ढोकाको पछाडिपट्टी लुकेर उसले आफ्नो कुरा राख्यो । यहाँ के-को हँसी-मजाक नि ? छिर्भिकोफले ठान्यो । कुनै हँसी-मजाक छैन यहाँ ! जनरल ! उनी कुरा बुझ्नै चाहँदैनन् । लाग्दिनँ अब म पनि माफी-साफी माग्नतिर ! बरू लेख्छु अब उनलाई एउटा पत्र, लाग्दिनँ धाउने-साउनेतिर ! सत्ते-सत्ते, लाग्दिनँ अब धाउनेतिर ।

यस्तै विचार गर्‍यो छीर्भिकोफले घर जाँदा बाटोभरि । उसले जनरललाई पत्र चाहिँ लेखेन । भोलि पल्ट पनि आफ्ना कुरा खुलस्त पार्न उसलाई जानै मन लाग्यो जनरलकहाँ ।

– हिजो म, आएको थिएँ प्रभुलाई दु:ख दिन । जनरलले उसको प्रश्नबोधक अनुहारमा छ्वास्स आफ्नो दृष्टि पारेपछि, – यहाँले मर्जी भा जस्तै, म … हँसी-मजाकको लागि थिएन, – उसले बर-बर गर्‍यो । मैले हजुरसँग माफी मागेको हुँ, यसकारण कि मैले हाच्छ्यूँ गर्दा हजुरलाई सिँगान पर्न गो … । मैले मजाक गर्ने त सोचेको समेत होइनँ । हँसी-मजाक गर्न सक्छु र म ?

– गेट आउट ! जनरल गर्जिए एक्कासी ।

– हजूर, के मर्जी भा, प्रभु ? अचम्म मानेर सोध्यो छिर्भिकोफले ।

– बाहिर गैहाल् ! खुट्टा डम-डम गर्दै दोहर्‍याए जनरलले । छिर्भिकोफको पेटमा केही चुँडेको जस्तै भयो । केही पनि नदेखेरै केही पनि नसुनेरै ऊ ढोकासम्म पछि-पछि हट्दै गयो अनि बाहिर बाटोमा निस्कियो । यन्त्रवत् ढङ्गले ऊ घरमा पुग्यो । उसले आफ्नो युनिफर्म्-कोट नफुकालीकनै ड्वाङ्ग सोफामा पल्ट्यो र … मर्‍यो ।

(प्रथम पटक बि. सं. २०७० मा आन्तोन छेखफका १५ छोटा कथारूमा प्रकाशित्)