म मोबाइल लिन्नँ किनकि यो जगजाहेर छ कि यसले दिमागमा असर गर्छ, अण्डकोष चाउरी पारेर वीर्य सुकाउँछ । त्यसैले म सम्पर्कको लागि अफिसमै बस्नुपर्छ । कुनै पनि बेला सङ्कट आउन सक्छ, कसलाई के थाहा ?

मलाई सबैले सङ्कटकै बेलामा खोज्छन्, अरु बेला होइन !

– – यो हराएको व्यक्तिको बारेमा कसैले केही जानकारी पाएमा सी.बी.आई.को वेभसाइट एचटीपीपी/सीबीआई–एनआईसीआईएन वा इमेलको (डी.आई.सी.सी.बी.२ सी.बी.आई.एन.आर.सी.आई.ई.ए.एन.) वा फ्याक्स नं. ०११–२३०१४०४६ वा सिधै ०११–२३०१५२१८ र २३०१५२१८ एक्स्टेन्सन मार्फत् नं. २१० मा तल लेखिएको ठेगाना वा टेलिफोन नम्बरमा खबर गरिदिनुहोला ।
डी.पी.३६८७/०५
एस.एच.ओ–धौला कुवा, दिल्ली
टेलिफोन नं. २८६५३२००/२७६४१०००

सूचनाकै छेउमा एउटा धमिलो कालोमैलो फोटो छ जुन पुलिसको पुरानो छाप्ने मसिनले छापेको हो । यो रेल्वे स्टेसनको भित्तामा देख्दा मुस्किलले चिनिन्थ्यो , तर अहिले कम्प्युटरको स्त्रिनमा सानो मानिस , प्वाक्क बाहिर निस्केको आँखा र छोटो जुँगामा देख्न सकिन्छ जुन एउटा अमूर्त अनुहार देखिन्छ । यस्तो अनुहार भारतमा आधा जति मानिसको छ ।

महामहिम,

आजको रात म भारतीय प्रहरीको कमजोरी औल्याउँदै बिदा माग्न चाहन्छु । यो एउटा सनसनी मच्चाउने घटना हुनाले एक बस प्रहरी खाकी बर्दीमा म बेपत्ता हुनुको कारणबारे अनुसन्धान गर्न लक्ष्मणगढ गए होलान् । पक्कै तिनीहरुले निदाएका हाम्रा शिक्षकलाई बिउँझाए होलान्, पसलेलाई सोधे होलान्, रिक्सावालालाई धम्क्याए होलान् । के त्यसले केटाकेटीजस्तै चोर्थ्यो ? के त्यो वेश्याहरुसँग सुत्थ्यो ? तिनले पक्कै एक दुईवटा किराना पसल तोडफोड गरेर एक दुई जना निर्दोषलाई साक्षी बकाए होलान् ।

तर म बाजी राख्न सक्छु तिनीहरुले आफ्नै अगाडिको सबैभन्दा महत्त्वपूर्ण प्रमाण देखेनन् । हो त, म त्यही कालो किल्लाको कुरा गर्दै छु । मैले कुसुमलाई धेरै पटक किल्लाको मुख्य द्वारको बाटो हुँदै त्यो पहाडको चुचुरोसम्म मलाई लैजान अनुरोध गरेको छु, तर उहाँ भन्नुहुन्थ्यो कि म जस्तो डरछेरुवा त्यहाँ जाँदा बाटैमा मर्न सक्छ किनकि संसारकै सबैभन्दा ठूलो छेपारो त्यही किल्लामा बस्छ ।

त्यसैले म परैबाट हेर्थें । यसको पर्खालका ठूला प्वालहरु सूर्योदयको बेला गुलाबी र सूर्यास्तको बेला सुनौलो रङ्गका हुन्थे । खस्रो, अग्लो पर्खालमा जून चम्किन्थ्यो र मृत योद्धाहरुको प्रेतात्मा पुनर्जन्म पाएर अन्तिम युद्ध लडेजस्तै बाँदरहरु चिच्याउँदै एकअर्कोमाथि आक्रमण गर्न दौडन्थे ।

म त्यहाँसम्म जान चाहन्थेँ ।

एकवाल जो दुनियाँको चार उत्कृष्ट कविमध्ये एक हुन् – अरु रुमी , मिर्जा गालिब र चोथो पनि मुस्लिम नै हुन् जसको नाम मैले बिसेँ– ले एउटा कविता दासहरुको बारेमा लेखेका छन्–

‘त्यो व्यक्ति दास हो जसले सौन्दर्य चिन्दैन ।’

यति साँचो कुरा आजसम्म कसैले गरेकै छैन ।

मुस्लिम नै भए पनि मित्र एकवाल ठूला कवि हुन् ।

(ए साँच्चै प्र.म.ज्यू, तपाईंलाई कत्तिको याद छ, यो दुनियाँको चारवटै ठूला कवि मुस्लिम हुन् ? तर सबै तपाईँले देखेका मुसलमान निरक्षर छन् टाउकोदेखि कुर्कुच्चासम्म कालो बुर्काले ढाक्छन्, र आत्मघाती बम हमलाका लागि तैयार छन्, हैन ? यो यौटा छक्क पार्ने कुरा हो होइन त ? यदि तपाईँले यस्तो कोही व्यक्ति थाहा पाउनुभो भने मलाई इमेल पठाउनुहोला ।)

म बच्चा छँदै दुनियाँको सौन्दर्य देख्थेँ, किनकि मेरो भाग्यमा दास हुन लेखेको थिएन ।

एक दिन कुसुमले म किल्लामा के गर्न जान्छु भन्ने थाहा पाइन् । मेरो पछिपछि लागेर गइन् र म त्यो ढुङगैढुङगाले भरिएको पोखरीमा के गर्दै थिएँ भन्ने थाहा पाइन् । त्यस राति मेरो बालाई भनिन्, त्यो वाल्ल परेर किल्ला हेर्दोरहेछ, आफ्नो आमाले जस्तै ! म तँलाई भन्छु अहिले नै कि यो केटोले जीवनमा केही पनि गर्दैन ।’

जब म १३ वर्षको थिएँ एक्लै किल्लामा जाने अठोट गरेँ । म पौडी खेल्दै पारि पुगेँ, पहाड चढेँ । जब म गेटबाट भित्र जानेवाला थिएँ, एउटा कालो वस्तु ढोकामै देखियो । म फरक्क फर्केर चिच्च्याउँदै, हामफाल्दै, सासै रोकेर तल झरेँ ।

तलबाट हेर्दा त त्यो गाई पो रैछ । तर म थरथरी कामेको फेरि जान सकिनँ ।

मैले धेरै पटक प्रयास गरेँ तर म यति डरपोक कि चढन खोज्यो सातो नै जाने र म फर्किन्थेँ ।

म चौबीस वर्षको छँदा अशोकजी ड्राइभर भएर धनबादमा काम गर्दा एकपटक मालिक र मालिक्नीलाई लिएर छोटो यात्रामा लक्ष्मणगढ गएको छु । समय मिलेनमा म यसलाई सविस्तार बताउँला, किनकि यो मेरा लागि अति महत्त्वपूर्ण यात्रा थियो ।अहिलेका लागि म यति मात्र भन्छु कि जब अशोकजी र पिङकी म्याडम खानापछि आराम गर्दै थिए ।

मेरो काम केही भएन र मैले फेरि त्यो किल्ला चढने प्रयास गरेँ । म पौडेर पारि पुगेँ , ढोकाबाट छिर्दै पहिलो पटक कालो किल्ला छिरेँ । वरिपरि खासै हेर्न लायक केही थिएन । भत्केका पर्खालबाट डराएका बाँदरका झुन्डले मलाई परबाट चिहाइरहेका थिए । पर्खालमाथि चढेर मैले तलको गाउँ हेरेँ । मेरो सानो लक्ष्मणगढ । मैले बजार, मन्दिर, टल्केको नालीको फोहोर, जमिन्दारको हवेली, मेरो घर र बाहिरपटिट् सानो कालो बादलको भूल्को जस्तै देखिने हाम्रो भैँसी सबै देखेँ । यो पृथ्वीकै एउटा अभूतपूर्व दृश्य देखिन्थ्यो ।

किल्लाको छेउबाट मैले मेरो घर भएपटिट् निहुँरेर हेरेँ र मैले तपाईंलाई भन्न पनि लाज हुने एउटा काम गरेँ ।

साँच्चै मैले पटकपटक थुकेँ । अनि सुसेल्दै, गुन्गुनाउँदै तल झरेँ । त्यसको आठ महिनापछि मैले अशोकको घाँटी रेटेँ ।

क्रमशः