साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

यसअघिका कृति जोशमा लेखेँ, ‘करिया’ होसमा लेखेको छु

अविरलको उपन्यास 'करिया' अजम्बरी पब्लिकेसनबाट यसै साता बजारमा आउँदैछ ।

“म सानो छँदा पूर्व एक नम्बर घर भएका एक जना हवल्दार हाम्रो घरमा डेरा बस्थे । उनकी लक्ष्मा नामकी किशोरी छोरी भीम समसेरको टंगाल दरबारमा सुसारे थिई । ऊ पद्म समसेर आदि गरिएका राणाजीहरुकी उपभोग्या थिई । एकपटक बिदामा बाबुआमा भेट्न आएका बेला मेरी माताले उसलाई आफ्ना पतिको कामवासना पूरा गरिदिन भन्नुभयो । तर उसले मानिन । त्यसपछि मेरी माताले रिसाएर उसका जगल्टामा समाती एक थप्पड लगाइदिनु भयो ।….”

२०७४ को फागुनतिर श्रद्धेय स्रष्टा मदनमणि दीक्षितको कृति ‘मेरी माता’को पाण्डुलिपि पढ्दै थिएँ म । माथि उल्लेखित अंश पढेपछि निकै दिनसम्म मेरो माथिङ्गल बिथोलिएको थियो । ‘मेरी माता’मा भाषा केही फरक छ, आशय उही हो ।

दासदासी प्रथा अर्थात् मान्छेले मान्छेलाई पशुलाई जस्तै गरी किनबेच गर्ने प्रथाका बारेमा स्कुलेजीवनमै सुनेको थिएँ मैले, गुरू मोहन खड्काका मुखबाट । फाटफुट रुपमा त्यस प्रथाबारेका केही कुरा पढ्न पाउँदा मात्रै पनि मन बेचैन हुन्थ्यो । अब्राहम लिङ्कन, महात्मा गान्धी, जर्ज वासिंगटनका जीवनी पढ्दा जबजब साङ्लोले बाँधिएर बेचिने दासदासीहरुको विवरण आउँथ्यो, मेरो आङ जिरिङ हुन्थ्यो । किशोर दिमागमा अनेक प्रश्नका झटारा लाग्थे– कसरी सक्छ होला मान्छेले आफूजस्तै अर्को मान्छेलाई बेच्न ?, बाउआमाबाट छुटाएर नाबालकहरु बेच्दा तिनले पापधर्म सोच्दैनन् ?, साङ्लोले बाँधेर बेचिनेहरुले किन विद्रोह गर्न नसकेका होलान् ?

कृष्ण अविरल

त्यो भेटमा दीक्षितले आफ्ना पूर्वजहरुका घरमा भएका दासदासीहरुका बारेमा अनेक किस्सा बताउनु भएपछि मभित्रको हुटहुटी अरु तीब्र भयो । त्यसपछि इतिहास विषयका पुस्तकहरु पल्टाउँदै करियाहरुबारेका जानकारी खोज्न थालेको थिएँ ।

२०७६ को अन्त्यतिर ‘रैतीको इतिहास’ लेख्ने सिलसिलामा झापाको सुरूङ्गा निवासी ८६ वर्षीय हजुरबुबा गणेशप्रसाद पोखरेलसँग झन्डै डेढ महिनासँगै बस्ने संयोग जुर्यो । उहाँ वि.सं. १८२९ मा पृथ्वीनारायण शाहलाई पूर्व विजय गर्न तन, मन र दस हजार ५१ रूपियाँ धन दिएर सहयोग गर्ने तत्कालीन खार्पाली ब्राह्मण हरिनन्द पोखरेलका वंशज । उहाँले पनि करियाहरुबारेका केही रोचक र केही मार्मिक कुरा सुनाउनु भएपछि मेरो दिमागमा मृत हुन लागेको करियाहरुको कथाले पुनर्जीवन पायो । दृढ निश्चय गरेँ– अहिलेसम्म नलेखिएको त्यो कालखण्डको सामाजिक इतिहास त लेख्नै पर्छ ।

कोरोनाको कहरकै बीचमा काठमाडौं आएँ । र, राणाकालीन पुस्तकहरुको अध्ययन सुरू गरेँ । अचम्म ! चन्द्र समसेरलाई करियामोचन गर्न उत्प्रेरित गर्ने त उनै मदनमणिका पितृव्य सुब्बा राममणि पो रहेछन् । केशवमणि आ.दी.द्वारा लिखित ‘तडपन या राममणिको आर्यत्व’ पुस्तकभित्र चन्द्र समसेरसँग गरेका करिया अमलेखको अनुरोधका सन्दर्भ र चढाएको करियाहरुबारेको हस्तलिखित विवरण फेला परेपछि मेरो उत्साह चौबर भयो । इतिहासका तथ्य र कल्पनाको मिश्रण गर्दै करियाहरुबारेका कुरालाई आख्यानीकरण गर्न कम्मर कसेँ ।

यो उपन्यास लेख्नुअघि ‘करियाको अमलेख गर्ने बारेमा’ नामक पुस्तकमा रहेको ‘श्री ३ महाराज चन्द्र सम्शेर जङ्ग बहादुर राणाको स्पीच’का केस्राकेस्रा केलाएको छु । त्यसै पुस्तकभित्रको डा. राजेश गौतमको ‘पुस्तक परिचय’ खण्ड र इतिहासकार सूर्यविक्रम ज्ञवालीकृत ‘नेपाली वीरहरु’भित्रको चन्द्र समसेरबारेको खण्डले पनि मलाई ठूलो राह्रत प्रदान गरे । तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानद्वारा प्रकाशित ‘नेपालको राजनीतिका विविध पक्ष’ पुस्तकमा समेटिएको चित्तरञ्जन नेपालीको ‘नेपालमा करियामोचनको इतिहास’ शीर्षकको लेख पनि बलियो सन्दर्भस्रोत रह्यो ।

त्यो समयको बोलचालको भाषाशैली पहिल्याउन सुब्बा कृष्णलाल अधिकारीले जेलमा छँदा लेखेको कृति ‘धर्मकुमारी शिक्षा’, राममणि आ.दी.को ‘पुराना सम्झना’, पण्डितद्वय जगन्नाथ वैजनाथ सेढाञी रचित ‘चन्द्रमयुख’ र भूचन्द्रचन्द्रिका’, सूर्यविक्रम ज्ञवालीद्वारा लिखित ‘पृथ्वीनारायण शाह’, रोचक घिमिरेद्वारा सम्पादित ‘साम्बभक्त सुवेदीः सृजना र सम्झना’भित्र समेटिएका सुवेदीका रचनाहरुको सहारा लिएको छु । यसैभित्र रहेको करिया मोचनबारेको सुवेदीको लेख र ‘चन्द्रमयुख’ पनि मेरो सूचना–स्रोत बन्यो ।

पुस्तकमा समेटिएका ज्योतिष चुनिलाल, पं. पद्मप्रसाद भट्टराई आदि बारेका जानकारीका लागि भूपहरि पौडेलकृत ‘नेपालको विद्वत परम्परा’को सहारा लिएको छु । पण्डित श्रीकान्त घिमिरेबारेको जानकारीको स्रोतचाहिँ शारदा उच्च मावि, ठोसेबजार, रामेछापले निकालेको ‘स्वर्णजयन्ती स्मारिका’ हो ।

त्यस कालखण्डको सामाजिक इतिहास थाहा पाउन सरदार भीमबहादुर पाँडेको ‘त्यस बखतको नेपाल’, टुकराज मिश्रको उपन्यास ‘रिडी र राँची (हाँस्दै–रूँदै)’, राममणि आ.दी.को संस्मरण ‘प्राचीन संस्मरण’, बालकृष्ण समको आत्मकथा ‘मेरो कविताको आराधन’, केशवराज पिडालीको ‘एकादेशकी महारानी’, इतिहासकार पुरूषोत्तमसमसेर जबराको ‘श्री ३ हरुको तथ्य वृत्तान्त’, प्रा.डा. माधवप्रसाद पोखरेल र डा. सुमन ढकालद्वारा सम्पादित ‘जनकलाल शर्माका संस्मरणहरु’, जगदीश घिमिरेको ‘सकस’, नारायण ढकालको ‘प्रेतकल्प’, रूद्रराज पाँडेको ‘रूपमती’ आदिका पाना पटकपटक पल्टाएको छु । काठमाडौंको कुरियागाउँ परिवेशमा लिखित हृदयचन्द्रसिंह प्रधानको उपन्यास ‘एक चिहान’ले पनि मलाई ठूलो सहयोग गर्यो । अग्रज सबै स्रष्टाहरुप्रति श्रद्धानत छु ।

भौगोलिक अवस्थिति र बढीभन्दा बढी तथ्यहरुलाई समावेश गर्न अग्रज स्रष्टाहरु रोचक घिमिरे, नगेन्द्रराज शर्मा, रामेछापका पूर्वसांसद देवशङ्कर पौडेल र रामेछाप निवासी स्रष्टा माधव सयपत्रीको सहयोग लिएको छु । केही तथ्यहरुको पुष्ट्याइँमा इतिहासकार प्रकाश ए. राज तथा श्री ३ प्रधानमन्त्री वीर सम्शेरका वंशज मेरा मित्र महेश राणाले पनि सहयोग गर्नुभयो । प्रा.डा. दयाराम श्रेष्ठले पनि करियाहरुबारेका रोचक जानकारी दिएर ऋणी बनाउनुभयो । उहाँहरु सबैप्रति आभारी छु ।
इतिहासका तथ्यगत कुराहरुको जगमा बसेर लेखिएको यस आख्यानमा १९७० देखि १९८० सम्म अर्थात् एक दशकको कालखण्ड समेटिएको छ । त्यसअघिका सन्दर्भहरु कहीँकहीँ पृष्ठभूमिका रूपमा आएका छन् । यसभित्र परेका सुनचाँदी, जग्गाजमिन तथा करियाको मूल्य तथ्यपरक बनाउन सक्दो कोसिस गरेको छु ।

चन्द्र समसेरले गरेको करिया अमलेखको भाषणका सन्दर्भमा भने मतान्तर देखिएको छ । केशवमणि आ.दी.को पुस्तक ‘तडपन या राममणिको आर्यत्व’मा बङ्गाली मूलका हरिबाबू नामका त्रिचन्द्र कलेजमा पढाउने प्रोफेसरले अङ्ग्रेजीमा लेखेको र त्यसको नेपाली अनुवाद यज्ञमणिले गरेको भनेर लेखिएको छ (पृष्ठ १२) । तर “चन्द्रिका व्याकरण अनुशरण गरेर लेखिएकाले त्यो आफ्ना हजुरबुबा हेमराज पाण्डे (तत्कालीन नायब बडागुरूज्यू) को भाषा हो” भन्ने तर्क प्रकाश ए. राजको छ । यसको निक्र्योल इच्छुक अन्वेषकहरुले नै गरून् ।

भूत आतङ्क, लुटपाट, पुराण लगाएका आदि घटना आख्यानिक हुन् । तीबाहेक यसमा समेटिएका अधिकांश घटना तथ्यका नजिक छन् । करियाहरु भागेको र जिम्वालले मालमत्ता लुटेको घटना खार्पाको हो । धर्मकचरीमा भएको अत्याचार रूम्जाटारको हो । आफूलाई किन्न आउनेलाई कमारीले उल्टै थर्काएको घटना लामिडाँडाको हो । टर्चलाइट मलखादमा गाडेको घटना गाम्नाङटारको हो । अबोध किशोरीहरुलाई इनारमा हालिएको घटना काठमाडौंको हो, प्रवृत्ति चित्रणका लागि सिन्धुलीगढीको बनाइएको हो । यसभित्रका कुनै एउटा मात्रै सन्दर्भ पनि पाठकलाई अस्वाभाविक लागेको भए क्षमाप्रार्थी छु ।

पात्रका संवादमा आञ्चलिक स्वाद भर्ने सक्दो कोसिस गरेको छु । पात्रका पृष्ठभूमिपिच्छे एउटै शब्द फरकफरक रूपमा प्रयोग हुनुलाई अस्वाभाविक मानिदिनु हुनेछैन भन्ने विश्वास लिएको छु ।

नेपाली साहित्यमा पहिल्यै स्थापित भइसकेका उपन्यासहरुलाई यस उपन्यासमा उपशीर्षक दिनु विशुद्ध मेरो सनक हो । यसो गरेर नयाँ पुस्ताले थाहै नपाएका अग्रज स्रष्टाहरुका कतिपय बहुमूल्य कृतिरत्नहरुलाई परिचित गराउने धृष्टता मात्रै गरेको हुँ । ती उपशीर्षकसँग मेरो उपन्यासको खण्डबीच तालमेल नहुन सक्छ । त्यसका लागि क्षमाप्रार्थी छु ।

पहिलो खाका पढेर सुझाव दिने ठूलोबुबा डा. तुलसी भट्टराई, काकाहरु लक्ष्मण गाम्नागे र प्रेमप्रसाद भट्टराई (विराटचोक, मोरङ) र स्रष्टा दाजु बद्री भिखारीप्रति विशेष आभारी छु । बहिनीहरु विनिता विन्दु ढकाल, अंकिता भट्टराई र जानुका खतिवडा बराल अनि रामेछापकी रैथाने भतिजी व्यञ्जना भण्डारीलाई मुरीमुरी धन्यवाद । स्रष्टा मित्रहरु प्रतीक घिमिरे (काठमाडौं) र दीपक सुवेदी (झापा) तथा साहित्यानुरागी मित्र जीवन शर्मा र भाञ्जेज्वाइँ शङ्कर पौडेल (मोरङ)ले मिहीन रूपमा पढेर दिनुभएका सुझाव पनि अनुकरणीय रहे । कुशल भाषासम्पादक शरच्चन्द्र वस्ती, अग्रज स्रष्टा राजेन्द्र पराजुली, आत्मीय मित्र शिव सङ्कल्प (पोखरा) ले अक्षरअक्षर केलाएर परिमार्जनको सल्लाह नदिनु भएको भए यो कृति यस रूपमा तयार हुने नै थिएन । अमूल्य सल्लाह, सुझावका लागि सबैप्रति यसको हिस्सेदारी हक प्रदान गर्न चाहन्छु ।

त्यसपछि प्राप्त सुझावलाई समेट्दै अर्का भाषासम्पादक देवेन्द्र नेपालीको जिम्मा लगाएँ । चोटिला सुझाव र भित्री सज्जाको भार लिइदिनु भएकोमा उहाँप्रति हार्दिक आभार । सुन्दर आवरणका लागि मित्र राजन काफ्लेलाई मुरीमुरी धन्यवाद ।

नाम करिया भए पनि यो करियाहरुको कहरको कथा मात्रै होइन, त्यो कालखण्डको सामाजिक दस्तावेज पनि हो । यसलाई त्यही रुपमा प्रस्तुत गर्न आफ्नो बुताले भ्याएसम्मको कोसिस गरेको छु । तपाईंले केही कमजोरी भेट्नु भयो भने मेरो क्षमताको सीमा सम्झेर स्वीकार गरिदिनु हुनेछ भन्ने अपेक्षा छ ।

प्रतिक्रिया
Loading...