लकडाउनको तेस्रो दिन

२०७६ चैत्र १३ बिहीबार (२६ मार्च २०२०)

विलम्वित वसन्त अझै ब्यूँझेको छैन जस्तो छ । आरु फुलिसक्यो बैजनी थुँगा, पैयूँ पनि फुलेर झरिसक्यो, गुलाबी थुँगा, नस्पातीका सेता चन्दन टीकाले हाँगा छोेडेर धर्तीमा हाम फाल्दैछन् । उतातिर आल्चा फुलेर दूधका थोपा हजारौँ सिलाएर टाँसेजस्तो हाँगाभरि देखिन्छन् । ती पनि झरिसके । तर पक्षी गान छैन अझै ।

वरिपरिका वृक्ष वनस्पतिले वस्त्र फेरे, आभूषण फेरे तर वसन्त ओर्लेको छैन यहाँ । मन तत्पर छ एक नवागन्तुकको स्वागत गर्न तर त्यो आउला जस्तो छैन यहाँ । किनभने शिशिरयाममा सुतेका कुनै पनि पक्षी ब्यूँझेका छैनन्, कुनै वासन्ती चिरविर छैन । कागको रुक्षता सधैँ हुन्छ, कुखुराको नियमित स्वर सधैँ हुन्छ ।

कुनै अपशकुन यो धर्तीमा ओर्लिने संकेत दिएको पो हो कि— ऋतु परिवर्तन चक्र नै स्रष्टाले कहीँ रोक्तै पो छ कि, प्रकृति स्वयम् आफ्नै लय भंग गरी कुनै विपरीत मार्ग निर्माण गर्दैछिन् कि— यसपालिको वसन्त ज्यादा विलम्वित लाग्दैछ ।

यस्तो हुनुको पछि कोरोनाको संक्रमण हो कि— कोरोना नामको महाव्याधि प्रत्येकघरको छानामा बसौँला जस्तो गर्दैछ, प्रत्येक व्यक्तिको शिरमा चढेर ठुङ्ला जस्तो गर्दैछ । त्यसैले अब यसबारे आजदेखि एउटा कोरोना–पञ्जी नियमित गर्ने निश्चय गरेको छु ।

कोरोना कसरी आयो त निश्चय छैन । शुरुमा धेरै टाढा डाँडापारिको जस्तो हल्ला आयो । पत्रपत्रिकाले लेख्यो । फेसबुकले टिप्यो । तर हामीले यस्ता भोग्दै आएका हौँ जस्तो पनि भयो । बाढी पहिरो मात्र होइन, ज्वालामुखी, भूकम्प मात्र होइन, विश्व खरानी बनाउने दावानल अनि प्रत्येकपल्ट टाढा कतै सुनिने इबोला, सार्स, एड्स जस्ता कति हो कति हामीमाथि सधैँ खन्निएका छन्, नित्य बर्षिएका छन् । मानवजाति सुख चयनले बस्न नपाओस् भन्ने छ होला कुनै सञ्चालकको मनमा । कति निम्छरो छ यो मानव । त्यसैले ती कुरा नित्य खनिइरहन्छन् उस माथि ।

हामी आफैँलाई पनि शान्ति मन पर्दैन नत्र बेलाबेलै कुरुक्षेत्र रचेर कहिल्यै निको नहोलान् जस्ता घाउ र चोटहरु बनाउँछौँ अनि त्यसपछि शान्ति खाज्छौँ, आयो भन्दै हिँड्छौँ । प्रकृति पनि एक प्रहार मानिसले हानेपछि चित्त बुझाउँदो रहेछ । ठूलो प्रहारक तत्व, मृत्युको तरबार ता सधैँ प्रत्येकको शिरमाथि झुण्डिएकै छ । त्यसो भए फेरि अन्य संकट किन थपिदिनु । त्यो अवश्यम्भावी कृष्णविवरलाई स्वीकारेकै छ मानिसले, ऊ त्यतै कुधिरहेकै छ । त्यसो भए किन समय समाप्त भयो बीचै बाटोमा रोकिएर यहीँबाट हामफाल् भन्नु ? प्रकृतिले त्यसो भन्दैछिन् मानिसलाई यतिबेला ।

यी त हाम्रा चिन्ता मात्र हुन् । आफैँलाई निरुत्तर प्रश्नहरु मात्रै । तै पनि अज्ञातलाई यस्ता प्रश्न सोधेर हामी अलिकति क्रोधमुक्त जस्ता हुन खोज्छाँै । महान् योद्धा डन क्विक्सटले हावामा आफ्ना कल्पित वैरीसित तरबार युद्ध गरेर सारा ढुट्याउन खोजेको कथा जस्तै हो रहेछ हाम्रो जीवन ।

लकडाउनको चौथो दिन

१४ चैत्र २०७६ शुक्रबार (२१ मार्च २०७६)

हिजोदेखि साँच्चै कुनै संकटापन्न स्थितिले घेर्न थालेछ भन्ने बोध हुँदैछ । सरकारले बोध गराउँदैछ । काठमाडौँका बाटाहरु गाडी–शून्य भए, दोकान पसल बन्द भए । बिहानै जाँदा कुनै शब्जी तरकारी कतै थिएन । हिजोसम्ममा ६ दिन छुट्टी भइसक्यो, स्कूल कलेज विश्वविद्यालय बन्द भैसक्यो तर आफूमात्रै सुरक्षित गएर आउँछु भन्दै ठाउँठाउँ पुग्ने ससाना भीड चल्दै थिए; गर्ने कर्म निरन्तर थिए । घुम्दै नयाँबजार गयौँ त्यहाँ केही गाडी थिए, बजारमा सामान थिए, डोके, नाम्ले, भरिया ट्याक्सीवाला सबै सबै थिए ।

तर मान्छेका वार्ता कोरोना केन्द्रित थिए र फेसबुक भाइबर मेसेन्जर भरिएर पोखिएला जस्तो । त्यसो त टेलिफोनको रिङटोनमै सरकारले चारबुँदे मन्त्र फिट ग¥यो ः नमस्कार, कोरोना भाइरसबाट जोगिन साबुन पानीले राम्ररी हात धुन होला, खोक्दा हाछ्युँ गर्दा रुमालले वा टिस्यु पेपरले नाक र मुख छोप्नुहोला, हात नमिलाउनु होला, भीडभाडमा नजानु होला ।
सुन्दा सुन्दा कण्ठ भएका छन् । झर्काे लाग्न थालेको छ । यत्ति मात्र नियम हो भने सहजै पालना गरिदिउँला जस्तो भएको मानिसलाई । मानिसहरु स्वार्थी कर्ममा व्यस्त थिए; सामान किन्ने लुकाउने कार्यमा केही दिनदेखि व्यस्त थिए ।

अब फेसबुक/ मेसेन्जरमा अर्ति उपदेश दिनसक्ने कोरोनाबारे जान्ने मानिसहरु निस्कन थालेका छन् । यो महामारी अघि आएको थिएन तर प्रत्येक त्यस्तो व्यक्ति दश वर्ष त्यसैमा बसेर आए जस्तो गरी उपदेश दिन लाग्यो । गर्दागर्दा दिनका दशपन्ध्र उपाय सुझाब र तरिका आउन थाले । कोही विज्ञ डाक्टर पनि थिए तर तिनमा आयुर्वेदिक, एलोपेथिक, झारफुके, धामी झाँक्री, गुरु पुरेत, ज्योतिषी, विभिन्न प्रकारका धर्म गुरु, नेताहरु अब चाहिँ खपिनसक्नु होला जस्तो हुन थाल्यो । चीनको भयावह खबर दिन्छन् अनि इटालीको, अनि अमेरिकाको, खाडी, बेलायतको— व्याधि उठ्ने देशको खबर दिन्छन् । घरमा बसेका छौँ, एक महीनाको सौदापात (होर्डिङ) जम्मा भइसकेको छ । कतै आइजाइ बन्द गर्नु भन्ने हल्ला छ तर मास्क लगाएर आउनेहरु दिनको दुई चार जना भन्दा पनि घट्तै छन् ।

पत्रपत्रिकाले लेख्न थाले, सरकारी सूचना आउन थाले, रेडियो एफएम त्यसैले भरिए । चोकमा घरमा बाटामा त्यही मात्र कुरा छ । मास्क भिरेकाहरु परिचितहरु नमस्कार गर्दै पार हुन्छन् । यहाँ यस्तो भएछ, त्यहाँ त्यस्तो । यसरी कोरोना लागेका भेटिए र यति भागे भन्ने पनि खबर हल्ला व्याप्त हुन्छ । हामी घरैमा छौँ । सेवा छोरी निगरानी गर्छिन्, कान्तिपुर जाने भाइको चिन्ता छ, ऋचा धेरै टाढा उसित पनि निरन्तर सम्पर्क हुन्छ, होशियार बस्नू, बाहिर ननिस्कनू यस्तै कुरा हुन्छ । अरु दाजु भाइ स्वजनसित एकपल्ट कोरोना वार्ता एक्स्चेन्ज हुन्छ । कसैलाई भइहालेको छैन तर हुनसक्छ भन्ने त्रास छ । त्यसै ता सँच्चै त्रास उठेको छैन मान्छेको मनमा अलिकति रमाइलो अलिकति रोमान्स अलिकति हास्य भाव अलिकति व्यंग्य अनि धेरै ता जिज्ञाषा पनि उत्पन्न हुँदैछ जस्तो लाग्छ ।

हिजो गुवाहाटीकी डा. इन्दुप्रभा देवीले एउटा छोटो भिडियो क्लिप शेयर गरेर पठाइन् । यो हेरेँ, सुनेँ र अलिकति उल्लेख नगरी रहन सकिनँ । एउटी आमा आफ्ना कोठामा बसेकी छन्, छेउमा सानो छोरा पनि छ । देशका लागि यी माताले गरेको प्रार्थना सुन्न लायक छ ः हे कोरोना माताज्यू, तिमी देवी हौ कि देउता हौ कि, भूत भयार हौ कि, लोग्ने मान्छे हौ कि स्वास्नी मान्छे हौ कि के माग्छ्यौ के दिनु तिमीले कस्तो ग¥या छ ! यो सुन्दर नेपाललाई कुनै रोगले नछोओस् ! कोरोना तिमी लोग्ने मान्छे भए पनि स्वास्नी मान्छे भए पनि तिमलाई भएको भागभोग सबै पानी खाने लोटा, नूनको पोका, तेलको पोका सबै तिमीलाई चढाई दिएको छु । जे खाने भए पनि छ । मेरो नाबालग बच्चाबच्चीलाई यस्तो हत्ते नगर, तिनको पेटमा लात नमार हामी गरीब हौ, रोजीरोटी गरिखाने गरीबहरु घरभित्र बसेर कोरोना आयो भन्दैछन् भित्र सुतेका छन्, हाम्रा गरीब दिदी बहिनी डोका बोकेर खोलामा गिटी कुट्न गइरहेका छन् । तिमी देवी हौ कि देउता— खानेकुरा सम्पूर्ण कुरा दिएकी छु । तिमीलाई खानुपर्ने सबै सम्पूर्ण चिज दिएको छु । यहाँदेखि दूर भइजाऊ हाम्रो नेपालमा बाटामा तिमीलाई उल्टै कुरा, बैरा काँडा, पिप्लो, गुर्जाको लहरोले डामिकन तिमीलाई पत्तासुर पारेर ढलाउने कि तिमीलाई सबै भागभोग दिएर राम्रोसँग नूनको पोकोसुद्ध, पाउडर, किरिम र जिरा मसला सबै भाग भोग पु¥याइदिन्छु । हाम्रो नेपालमा कुनै कुराले दुःख नदिउन हामीलाई पाप हत्या नदेखाऊ, हाम्रो यस्तो विजोग छ । नाबालक छोराछोरी छन्, हाम्रो नेपालमा कुनै पाप अपराध गरेकोछैन । कुनै हत्या गरेको छैन । माथिमाथि रुखको टुप्पामा बस्नू रुखकै टुप्पाबाट उडेर जानू अनि हाम्रो नेपाललाई केही नहोस् । हे कोरोना माता, तिमी माता हौ कि भूत भयार… छोरा हौ कि छोरी हौ, ऐलेसम्म तिम्रो नाम खुल्न सकेको छैन । तिमी जहाँबाट आएकी हौ त्यतै जाइदेऊ । हाम्रोमा नेपालको कुना कुनामा कति दाजुभाइ दुःखी छन् कति सुखी छन्, सुखी भइदिए ता इण्डियामा अरुको मजदूर गर्न किन जान्थे होला कति दुःख पाएका छन् हाम्रा नेपाली दाजु भाइहरुले । हे कोरोना माता ! तिमी जहाँबाट आयौ त्यहीँ जाऊ तिमीलाई मैले पूरै दिनुपर्ने पानीखाने लोटा समेत दान दिएकी छु, खोर्सानीको धूलो समेत नूनको धूलो केही बाँकी छैन । परेमा तिमीलाई थपी भागभोग पनि दिनेछु । तिमी कहाँ छौ, कहाँबाट आयौ, त्यहीँ जाऊ भन्दै एक छुट्टै धरम गर्दछु भन्दै तिमी कोरोना माता तिमी कहाँबाट आउँथेउ उहीँ जाऊ भन्दै यस्तो दुःख नदेऊ हामीलाई कति आपत परेको भन्दै यस्तो मेरो बालक बच्चालाई दुःख नदेऊ भन्दै हामीलाई कति आपत दुःख परेको छ भन्दै तिमीलाई एउटा फूलको थुँगाले सौकात गर्नेछु, जाऊ है जाऊ ।

यसरी सम्पूर्ण सर्सामान फूलफलेदो नैबेद्य चढाएर एउटी आमा र सानो छोराले अनुष्ठान पूरा गरे । आसन्न विपत्ले गर्दा माताको अनुहार मलीन थियो । कोरोना माता, पुरुष वा नारी, देवी वा देउता, भूत कि भमरलाई सन्तुष्ट बनाएर पठाउन् भन्ने उनको प्रयत्न थियो ।
आज धेरै बिहान उठेको छु । एक प्रकारले बिहानै नभई । चिया उमाले, पान गरेँ । उनै कुखुरा र काग कराउन थाले । यहाँदेखि टाढा पारिसम्म, कतै अरु कुनै आवाज छैन । गाडी चल्दैन । महासुनसान छ । आकाश सफा छ, ताराले जडित सबै ।

हेर्छु, चितवनका भाइ गोपी २४ घण्टै अनलाइन् छन्, भाइ लक्ष्मी, खगेन्द्र—आदि गन्दा मान्छे सुतेका छैनन् जस्तो छ । त्यसो त दिनमा सुत्ता हुन् । बाहिर बजार बन्द छ । नेपाल भारत सबै । हिजो पंजाबमा पुलिसले मानिसलाई डण्ठा लगाएको देखायो । ज्ञानजीले भन्नु भो, उता आसाममा पनि लगायो । बेलुका खगेन्द्रको एक भिडियो शेयर ग¥यौँ पूर्व (इटहरी) को मेयरले यात्रीलाई भाटा लगाएको ।

कहीँ कतै केही चलेका छैनन् । फुपाको काम शुरु भएको आज चौथो दिन — दमक गौरादहबाट मानो–चामल पु¥याउन केर्खासम्म कोही नजाने भो अरु । सिटिका चाबी पुलिसका हातमा छन् अरे; मोटरबाइक हावा खुस्केका, गाडी तालाबन्दी । लक्ट डाउन यस्तो हुने रहेछ ।

नेपाली हिन्दी अंग्रेजी— त्रै–भाषिक सूचना जानकारी होहल्लाको प्रवाह निरन्तर छ । दुई दिन अघि कान्तिपुरले अफबाहको महामारी शीर्षकमा एउटा राम्रो लेख छाप्यो । प्रत्येक घरमा अथवा प्रत्येक व्यक्तिमा भिडियो क्लिपहरु टिकटक आदि बनाउने पोष्ट गर्ने सुविधा र स्वतन्त्रता भएकाले प्रत्येक दिन सयौँ होइन हजारौँ त्यस्ता कुरा निस्किन्छन् । विद्युतीय छापामासाच्चै नै अति जरुरी कुरा आएछ भन्नु जसरी । मूल कुरा त उही छ तर त्यसमा फूलबुट्टा भर्दै, गम्भीर वा सरल पार्दै केही थप्तै केही, घटाउँदै एक मौलिकलाई हजारौँ लाखौँ प्रतिलिपि जस्ता निकाल्ने कला रहेछ अनुरुपणको । साइबर संस्कृतिको (फोटोग्राफीको ) मूल तागत भन्नु नै फोटाका अनेक प्रकार बनाउनु रहेछ ।

विश्व नै अनुरुपण (सिम्युलेशन) ले हल्लिएको काल छ । तर लाग्छ परोक्ष सत्यताले खिचेर ल्याएका यी चित्र र तस्वीरको सुविधा कति नेपालीले उपभोग गर्दा हुन् । कति वञ्चित होलान् । मलाई लाग्छ ८० % यसबाट वञ्चित होलान् । निरक्षरको लागि अझ एउटा संसार छ, साक्षरको लागि अर्काे, पठित शिक्षितको लागि झन् अर्काे, बौद्धिकको लागि अर्काे । यो विश्वरुप अनेक तहमा प्रकट छ ।

यता केही तथ्यपरक कुराहरु बताउनु पर्ने आफ्नो कर्तव्य ठान्ने डाक्टरहरु पनि आए । तर नेपाली डा. दीक्षितले ठूलै आतङ्क फैलिने गरी सरकारको अर्कमण्यताको निन्दा गर्दै क्लिप निकाले । रवीन्द्र समिरले सकेसम्म सत्य तथ्य खोजेर जनतालाई आश्वस्त पार्दै ल्याएका छन् ।

यसै क्रममा कालेबुङ निवासी डा. पी.डी. भुटियाले आज एउटा प्रवचन दिए ः नमस्कार म पी.डी. भूटिया । म आज तपाईंहरुसमक्ष एउटा जल्दोबल्दो विषय भनौ या यस्तो विषय जसले पूरा विश्व नै आतङ्क फैलाइरहेछ त्यस विषयलाई लिएर दुईटा कुरा भन्न चाहन्छु । त्यो विषय हो करोना भाइरस । यो करुना भाइरस के हो ? यसको सत्यता के हो साइन्सले के भन्छ, अफबाहले के भन्छ, साँच्चै अफबाहलाई पछि हटाएर, साइन्सले के भन्छ त्यस विषयमा डिस्कस गर्न आइरहेका छौँ ।

एउटा विमार आयो चाइनामा । सेन्ट्रल चाइनाको हुआन सिटीमा एउटा मार्केट रहेछ त्यहाँ चैँ तपाईंले यु ट्युबमा हेर्नु भयो होला । त्यहाँ धेरै जंगली जनावरको मासु अरु कतिवटा कुकुर, बिरालो सिंगैको मासु पाउँदो रहेछ । त्यहाँ पहिला सोचेका थिए अचानक मान्छेलाई यसरी हाइ पूरा ज्वरो आएर त्यहाँबाट खोकी र सास बढेर धेरै जनाको ज्यान गयो । अनि त्यहाँ एउटा स्पेक्युलेशन (अनुमान) थियो के चाहिँ भएको होला त्यहाँ चैँ किन चैँ यसरी अचानक विमार धेरै जनतालाई ज्वरो आयो भन्दा चाहिँ त्यो एउटा कोरोना भाइरस हो । युजुअलि (सामान्यतया) कोरोना भाइरस चाहिँ एनिमल किङ्डम (प्राणी जगत्) मा मात्र हुन्छ । तर कुनै प्रकारले एनिमलबाट जम्प गरेर यता ह्युमनपट्टि आयो । ऐले डरलाग्दो कुरा चाहिँ ह्युमनका ह्युमनमा अर्थात् मान्छेबाट मान्छेमा फैलिँदै गयो। त्यस विषयलाई लिएर विश्वमा सबैलाई चिन्ताको विषय छ ।

कोरोना भाइरस अहिले जुन चाहिँ कोभिड १९ भनेर नाम दिइएको छ, नोभल कोरोना भाइरस, नयाँ भएर नोभल भनेको हो र त्यो भाइरस चाहिँ आर एन ए भाइरस भन्छ । भाइरस दुई खालको हुन्छ आरएनए भाइरस र डिएनए भाइरस । यो चाहिँ आर एन ए भाइरस हो । भाइरसको यस्तो एउटा सानो कथा छ । भाइरस चै हाम्रै पूरै इन्भाइरोन्मेन्ट (वातावरण) बाट, एटमोस्फेयरमा छ । तर यो भाइरसले जबसम्म कुनै लिभिङ्ग टिस्यू पाउँदैन तबसम्म कडा शक्तिशाली हुँदैन । जब यसले एउटा लिभिङ सेल पाउँछ तब एकदम कडा भएर जान्छ । अब यो कोरोना भाइरस । यो नयाँ भाइरस होइन, पुरानो भाइरस हो । पहिला विमार फैलाइसकेछ, तर अहिले जुन चाहियो यो आयो यो चाहिँ जेनेटिकल्लि म्युटान्ट भेराइटि जेनेटिकली कोरोना भाइरसमा उउटा म्यूटेशन भएर नयाँ भाइरस भयो । मेडिकल साइन्समा पनि एउटा नयाँ झड्का दिएर आयो । अब यसको लक्षण के हो ? कोरोना भाइरसका कतिले भन्छ यो हुन्छ त्यो हुन्छ रे । यसको लक्षण सिम्पल छ, सर्दी खोकी नाकबाट पानी चुहिनु जोरो आउनु सप्पैलाई यही हुन्छ तर जति विमार भएको छ तीमध्ये १५ % चाहिँ निमोनिया हुन्छ, निमोनिया भनेको चाहिँ फोक्सोमा घाउ । फोक्सोमा घाउ भएपछि सास बढ्छ ।

त्यो फोक्सोमा घाउ भएको मानिसहरुमा पाँच पर्सेन्टलाई भेन्टिलेटर चाहिन्छ र बाँकी ८० पर्सेन्ट निको भएर घर जान्छ … ।

दिनभरि लकडाउन बस्यौँ । लकडाउन पनि नयाँ शब्द हो । ताला मारेर घरभित्रै बस्नु भन्ने अर्थको । इन्द्रबहादुर राईको कथामा छ एउटा शब्दावली ब्ल्याक आउट काजु बदाम बेग्लै अर्थको हो, लकडाउन कि ‘लक्ड डाउन’ नयाँ बेग्लै, थुनिएर बस्ने भन्ने । जब नयाँ केही आउँछ, विश्व संस्कृतिमा तरंग चल्छ । राष्ट्र संचालकहरु त्यस नयाँ शब्दलाई विनाविवेक प्रवेश गराएर केही नयाँ कुरा ल्याएको भएको, हुनै लागेको भ्रान्ति दिन चाहन्छन् । यसपालि आएका मध्ये ‘लकडाउन’, स्यानिटाइजर, टिस्यू पेपर, मुख्य भए । नेपालीपनाको बेसार भयो । त्यसपछि अर्काे छ, नोटलाई भाइरस डिस्इफेक्टयान्ट छर्केर प्रयोग गर्नु होला भन्ने ।

मूर्खताको पराकाष्ठा छ । स्यानिटाइजर नेपाली जनमानसमा पहिलोपल्ट सुनिँदैछ प्रयोगको कुरा परै छाडौँ । सरकारी विज्ञापनले भन्छ— राम्रो स्यानिटाइजर प्रयोग गर्नु होला । इत्यादि ।
आज कोही घरमा आएन । कोही घरबाट गएन । दुई सयभन्दा बढी मेसेन्जर आए । सबै व्यक्तिगत । सबै छन् जान्ने, सबै अरुलाई उपदेश दिन सक्ने। कोही भारतमा लकडाउनमा पुलिसले जनता पिटेको, कुनै यता नेपालमै, त्यसबाट सिकेर भाटे कार्वाही गरेका । बाटा सुनसान छन्, सारा महासुनसान छ । अमेरिका सम्पर्क गर्छाैं, फेरि बेलायत, भारत दिन र रातको समय भेद छैन । दिनमा दश–बाह्र फोन चल्छन् सबै मेसेन्जरमा । आज ता लकडाउनको प्रभाव बताउँदै लीलबहादुर छेत्री सरले पनि गुवाहाटीबाट गर्नु भो— यहाँ यस्तो छ, सारा चौपट भो । मोदीको कफ्र्यू छ अब घरबाट निस्कनै नमिल्ने भो, उता दिल्लीमा अप्रिल २–३ थियो पद्मश्री सम्मानको त्यो पनि केन्सिल ग¥यो, अब त्यो अन्तर्वार्ताको पेकेट ठिक पारेको थिएँ, कोही मान्छे भएन, पछि जोगाजोग गरौँला । म तपाईंलाई पठाइदिउँला ।
मैले पनि यताको सर्वशान्ति बताएँ । बजार सारा सुनसान छ, कारखाना उद्यम बन्द छन्, बाटामा ठेलागाडा छैन; नाम्ले, डोके देखिँदैनन्, सूचना सबै मोबाइल टु मोबाइल छ कि मानिस घरघरमा टीभीमा टाँसिएको छ ।

अघि माओवादी कालमा अथवा भूकम्प कालमा देशै ब्ल्याकआउटमा डुबेको हुन्थ्यो । त्यसमाथि अज्ञातशत्रुले घेरिएर बाँचेको जस्तो लाग्थ्यो । चन्दा माग्नेले छुरी रोप्ने हो कि, कोही आरोपी द्वेषीले आँखा छोपेर बेपत्तातिर लाने हो कि, चौबीसै घण्टा भयको दशवर्ष सानो कुरा होइन । त्यसपछि भूकम्पको त्रास एक वर्षे । त्यसको तीव्रता भोग्नेलाई थाहा छ, यसले पनि कतिबेला समाप्त पार्छ थाहा छैन ।

ती भोगेकालाई कोरोना सरल छ, सामान्य छ । अस्तिदेखि सरकारले गरिरहेको छ गरेको पुकारा घरैमा बसिदिनोस् घरैमा भन्ने छ । तर पहिलोपल्ट आउने तयारीमा छ, उताको देखेर चाइना अमेरिका इटालीको मृत्युदर पढेर मान्छे डराए हुन्थ्यो जस्तो लाग्छ तर आफ्नै मनले भन्छ, म होसियारले त्यहाँसम्म पुगेर आउला, के पो भइजाला ? म अरु जस्तो लापर्वाही हुइनँ ।

घरमा बसाइ भएकाले सेवाले त्यसलाई उपयुक्त हुने खालको अति हल्का खानामा बानी पार्दैछिन् । अञ्जनाको पेट सहज वश्य छ, मेरा र आन्द्रामा लाग्छ भोकले गाँठा पार्दैछन् । बेलाबेला बटारिएझै गर्छन । खाद्यान्न नभएर होइन आहार व्यवहारको अर्काे तालिका प्रयोग हुन थालेको एक हप्ता भो । एउटा उदाहरण छ नास्ताको । बिहान सात बजे आधी माना ओट खाने चलन थियो, सेवाले दुई डाडू (एक कचौरा) पातलो झोलमा झारेकी छन् ।

आज बिहानभरि कोरोना डायरी लेखेँ र ११ मा खाना खायौँ तीन जनाका खानाका सागसब्जी घट्तै छन् । दिनभरि सेवाले आधि घाममा बसेर अँजुलीभरि सगुन पोल्टाभरि फाग
(प्रा. जयराज आचार्यको कृति) पढिन् । ठूलो पुस्तक । मैले भित्रै बसेर आज नेत्र शर्माको पीएचडी थिसिस पढेँ । टेस्टिङबारेको राम्रो छ अनि अञ्जना तलै बसेर आफ्नो लेख्ने र पढ्ने गरिन् ।

आन्टी मिलनलाई कति दिनको छुट्टी छ, अब टाइपहरु चल्दैनन् ।

अबेला चारबजेपछि तीनै जना बाहिर निस्केर डाँडैडाँडा तल झर्‍यौँ । बल्खु नदी सफा भएछ । भाटभटेनीवारिसम्म । बीच बाटामा दुई पुलिस थिए । सारा बाटो सुनसान थियो । निर्वाध यो सडकमा गाडी साइकल केही कुदाउनु जस्तो । अलिक वरैबाट बाटो काट्तै थियौँ, पुलिसले आदेश दियो त्यहाँबाट होइन बा, उता ठाउँबट काट्नु होस् । हामीले ठानेका थियौँ— यत्रो सुनसानमा जहाँबाट काटे पनि के फरक पर्ला तर शायद पुलिस भोक र तिर्खाले गलेको थियो । उसका हातको काँडे लाठी व्यर्थ हल्लिरहेको थियो ।

पारि पुगेर भाटभटेनी (मल) छिर्न खोज्यौँ, त्यहाँ पनि पूरै लकडाउन थियो । दुईटा डण्ठे पुलिस उता छेलिएर बसेका थिए, ‘बन्द छ’ भन्ने इशासामा ‘नो नो’ हात हल्लाए अनि फर्कियौँ । सीता पेट्रोलको मुखैमा अर्ध खुलेको एक दोकानमा केही किन्यौँ र उकालो चढ्यौँ । चाँदनी चोकमा केही महीना अघि माात्र खुलेको एक फलफुलवाला छ, ‘फ्रुटरर’ । निराश भइसकेको उसकहाँ पसेर स्याउ अंगूर मात्र होइन दुईटा नौला फल पनि किन्यौँ ‘ड्रागन फ्रुट’ र ‘किवी’ । यो संकटमा यति चाख्न पाउनु सौभाग्य हो भन्ने लाग्यो साथै दोकानेले अब सामान उठाउँछु, दोकान थाप्तिनँ पुलिसले साह्रै तङ ग¥यो भन्ने गुनासो व्यक्त ग¥यो । माथ्लो चोकमा आयौँ । अर्यालको दोकान (आर्यन डेरी) मा एकछिन पर्खेर गाईको दूध लिएर घरतिर फर्कियौँ । पल्लो चोकमा पुग्दा घुम्तीको भाइले राखेको फैचाको साग पनि किन्यौँ सातदिनको व्यवस्था गरी आयौँ ।

ठाउँठाउँमा यस्ता स्टोर, भण्डार, दोकान खुला छन् । खाद्यान्न वा अन्य वस्तु पाइने रहेछ त्यस्तो हाहाकार छैन । तर आजदेखि सरकारले भन्यो— ग्यासको सिलिण्डरमा आधी (सात केजी मात्र) भरिनेछ, त्यसको अभाव हुँदैछन् ।

बेलुका आएर सल्लाह गर्‍यौँ— हाम्रा विधाता कुलमान घिसिङ रहेछन् । यो सम्भाव्य ग्यास संकटबाट उनले बचाउनेछन् । अब आजदेखि यो इन्भर्टरमा पकाउने गरौँ— ग्यास बचिरहन्छ अलिकति भए पनि आपत्कालमा काम गर्छ ।

हाम्रो वर्गलाई केही छैन । केही सामान्य अभाव मात्रै । रोजेको खान गर्न नपाइने मात्रै । तर ती समस्त गरीब गुर्वा, कुल्ली, श्रमिकवर्गसित, परनिर्भर दिनभरि कामएर राति खानेलाई के भयो होला । रातिसम्म तिनको चिन्ताले छोप्यो । अझ भारतको त्यो विशाल जनसंख्या, करोडौँको कति एउटा पोको बोकेर यसै हिडिरहेको देखाउँछ बाटामा, तिनको के होला । के गरी बाँच्ला दुनियाँ !

बेलुकीसम्म थिसिस पढिरहेँ निकै राम्रो छ, प्राज्ञिक स्तर पुगेको, प्राविधिक नियम पालना गरेको । अनि एकपल्ट फेरि आएका म्यासेन्जर हेरेँ । कोही इटालीका रोदनपूर्ण छन्, कुनै अमेरिकी अरु चिनियाँ । तर हिजैदेखि भारतीय सामाजिक सञ्जाल कति सक्रिय र प्रभावकारी भएका छन्, जनजीवनले सरकारको आदेश पालना गरोस् भन्नेमा ठूलो प्रयत्न छ ।

नारीवादको विषयमा अन्तिम कुरा लेख्तै थिएँ, लिखत पाण्डेहरुले प्रकाशित गर्ने विशेषाङ्कको लागि तर अब केही दिन रोक्नु पर्ला । तीनवटा स्मृतिलेख अस्ति नै तयार गर्नु पर्ने अर्थाेकले छोपेर भ्याइएन तर ती मनमा लेखिएकै छन् । दार्जीलिङका नाटककार द्वय लक्ष्मण श्रीमल र इन्द्रमणि दर्नाल अनि आफ्नै गुरु प्रा डिपी भण्डारीबारे पनि लेख्नु छ । अब यो लकडाउन कालमै तीनैजनाको बारेमा केही लेखौँला भन्ने छ ।

आज यसरी गर्दागर्दै रात पर्‍यो । अब तीनवटा भिडियो क्लिप हेरेर सुतौँला भन्ने आठोट गरेँ— नेपालको १, भारतको १ र इटालीको १ । सबै ता भिडियो क्लिप नै हुन् । यो अवस्थामा कति पात्रलाई आत्मप्रकाशनको धेरै तिर्खा आग्दोरहेछ । ती कल्पनाशील बन्दा रहेछन् । सबैभन्दा थामिनसक्नु चाहिँ ता कवि कलाकार हुँदा रहेछन् । उनीहरुको भावना उत्पन्न भएपछि त्यो कलामा प्रकट हुने इच्छा ठूलो हुँदोरहेछ । यहाँका हिरा भट्टले लेखेको कोरोना विषयक एक कविता आयो जसलाई सरु बस्नेतले अत्यन्तै सुन्दर गलामा प्रस्तुत गरेकी छन् ।

सार्दूलविक्रिडित छन्दमा गाएको यस कवितामा सारतत्व केही नयाँ छैन तर रच्ने र गाउनेको कला प्रस्तुति मात्रै सुनिरहूँ लाग्दछ ।

 

बिन्ती छ भित्रै बस

हिरा भट्ट

वाचिकाः सरु बस्नेत

एकातर्फ मनुष्य वीर बलिया छन् युद्ध सेनातिर,
अर्काे तर्फ अदृश्य जीवहरू छन् संग्राममा हाजिर
मायावी रणमा चराचर हुँदै पृथ्वी छ युद्धस्तर,
चल्दा युद्ध मडारियो गगनमा नैरास्यको बादल ।१।

कैयौँ जीव उजाडिए भुवनमा मान्छे बनी कारक,
झन् लोपोन्मुख जीव आज कति छन् भै जीर्ण बाँच्ने हक ।
गोली बारुद अस्त्र छन् जहरिला बढ्दा विषादी भुमा,
एकाएक धरा असन्तुलित भई खस्क्यो इको सिस्टम ।२।

संख्या मानिसको नियन्त्रण हुने गर्थे कुरा माल्थस,
भन्थे डार्बिन बाँच्नको मन भए संघर्ष गर्दै बस
बन्दा क्रुद्ध बसुन्धरा प्रलयको आगो जसै बाल्दछ,
कैयौँ नूतन पाइला भुवनमा विज्ञानले चाल्दछ ।।३ ।।

चल्दा तीव्र हुरी ढलेछ विचरी भन्ज्याङकी लाकुरी,
ढल्दैनन् सती सालका रुखहरू आँधी चलोस् वा हुरी ।
जित्ला युद्ध अवश्य आत्म बलले बढ्दै गरे साहस,
प्यारा दाजु दिदी र भाइ बहिनी बिन्ती छ भित्रै बस ।।४ ।।

त्यसपछि आयो एक भिडियो जसको शीर्षक छ, इटालीको एक चिठी यसमा एक पात्र बोल्छः
म आज जोडले रुन मात्र सक्छु । आज म तपाईंहरुलाई एक पश्न सोध्छु । मेरो देश इटालीमा मेरो घरका अवस्था हेर्नुहोस् । बिगत २४ घण्टामा ८०० मानिसको मृत्यु भइसकेको छ (सुँकसुँकाउँदै) । फ्रान्समा यस्तरी कति बिते होलान् । म प्रार्थना गर्दछु, तपाईंहरुसँमक्ष एक निवेदन गर्दछु— कृपया यसलाई गम्भीर रूपले लिनुहोला । घरै बस्नुहोस्, घर भित्रै (फेरि रुँदै) । यसले कुनै राष्ट्रियता चिन्दैन, यसले कुनै रोग, कुनै भाषा, कुनै छाला चिन्दैन । यसले तपाईंहरुको प्राण लिन्छ । यस्तो बेलामा कृपया बर्थ डे र अरु कुरा मनाउन छोड्नुहोस्, घर बस्नोस् । (रुँदै) घर बस्नुहोस् । मेरो परिवारै यहाँ छैन, के भयो होला । ज्यलादारी मजदुर भोकसँग जोगिने कि कोरोनासँग— हिमालखबर ।