२००७ सालको जनक्रान्तिपछि नेपाली जनताको सोचाइमा धेरै परिवर्तन आयो । पुराना मान्यता बदलिएर नयाँ मान्यता आए । यस अवस्थामा पनि महाकविको घरमा उही पुरानै रूढिवादले छोडेको थिएन । तर महाकविलाई यसले छुँदैनथ्यो । देवकोटा सात सालपहिले छुवाछूतसम्मलाई पनि धर्मको रूप मान्थे भने सात सालपछि उनलाई पनि नयाँ हावाले छोयो । म उनैको संगतले अघोर सम्प्रदायमा दीक्षित भएँ । देवकोटा–परिवार त्यस समय मासु खानमा नाम चलेको परिवार थियो । महाकविका दाजु लेखनाथलाई खानेकुरामा सोख थियो । उनका घरमा हरेक हप्ता एउटा खसी ढालिन्थ्यो र प्रत्येक भाइकहाँ भाग पुग्थ्यो । महाकविका भाइ मधुसूदनलाई त औँसी, एकादशीबाहेक मासु नभई भागै बसाउनु पर्दैनथ्यो । म उनैसित बस्थेँ र खान्थेँ उनैको भान्सामा । तर २००७ सालसम्म मेरो मुखमा मासु परेको थिएन । त्यसैकारण म उपहासको पात्र थिएँ मासु नखाने कुरामा ।
एक दिन महाकविले व्याख्या गर्दै भने, ‘मासु पौष्टिक पदार्थमा उत्तम हो भन्न करै लाग्छ । यदि तपाईंको धारणा मासु नखाने मात्र स्वर्ग जान्छ, अरू नर्कमा जान्छन् भन्ने छ भने हामी सबै नर्क जान्छौँ, तपाईं एक्लै स्वर्ग गएर के गर्नुहुन्छ ? त्यहाँ तपाईंसित गफ गर्ने कोही हुँदैन । एक्लो बस्नु पनि त नर्क नै हो । यदि यो कुरा सत्य मान्नुहुन्न भने पौष्टिक पदार्थबाट किन वञ्चित हुने ?’ देवकोटा–बन्धुका सामने मैले मासु खान स्वीकार गरेँ । एउटा मानिस मासु लिन गयो । मेरो दुर्भाग्य वा सौभाग्य जे भनौँ मासु पाइएन । जसरी भए पनि उनीहरू मलाई मासु खुवाउन तम्सिएका थिए कटिबद्ध भएर त्यस दिन । मासु खसीको साटो घडीचरो आयो । सर्वप्रथम मासु खान मैले घडीचरोबाट सुरु गरेँ । आज मासु नपाउने कारण रामनवमी परेछ । २००८ साल वैशाख २ गते आइतबार प्रथमपल्ट मासु श्रीगणेश गरेँ । त्यसपछि क्रमश: मेरा प्रगतिका पाइला अघि बढ्दै गए ।
यसको केही समयपछि बौद्धदर्शनका प्रकाण्ड विद्वान् एवं पुरातत्वविद् पण्डित गिपसेप्पे तुची इटालीबाट नेपाल आए । उनको सम्मानमा भूपू शिक्षामन्त्री नृपजंग राणाले आफ्नै निवासस्थान जाउलाखेलमा एउटा रात्रिभोजको आयोजना गरेका थिए । लक्ष्मीप्रसाद देवकोटाका साथ म पनि त्यहाँ गएको थिएँ । … प्रीतिभोजमा पहिले सुरापानको कार्यक्रम चल्यो । यहाँ पनि पहिलो ‘चषक’देवकोटाकै आग्रहमा लिएँ त्यसपछि त म पूरै अघोरी बनेँ
मुरम्बा–भक्षण
महाकवि लक्ष्मीप्रसाद देवकोटालाई हामी कुनै समय छुवाछूत मान्ने कट्टर अन्ध–विश्वासी देख्छौँ भने कहीँ रामनवमीमा घडीचरी उडाउने र चषक दिने–लिने पनि देख्छौँ । तर उनलाई त्यसैमा भूत लागेझैँ लागिरहने व्यक्ति पनि पाउँदैनौँ । ००७ सालपछि उनी कट्टर अन्धविश्वासी थिएनन् भन्न पनि गाह्रै पर्छ । एउटा उदाहरण त मलाई याद छ आजसम्म ।
००७ सालपछि देवकोटा जीवित हुँदै महापण्डित राहुल सांकृत्यायन अनेक बार नेपाल आए । यस्तै अवसरमा कवि चित्तधर उपासकको आयोजनामा राहुलको सम्मानार्थ एउटा प्रीतिभोजको व्यवस्था भयो । यो भोज भोगेन्द्रमान स्मारक पुस्तकालय, रक्तकालीको माथिल्लो तलामा भयो । यसमा प्राय: सबैजसो नाम चलेका साहित्यिक र साहित्यप्रेमी व्यक्ति आमन्त्रित थिए । भोजन पूर्णतया नेवारी परम्पराअनुसार बनेको र खाने ठाउँ पनि पलँेटी कसेर बस्ने पाराको थियो । टेबुल–कुर्सीको गन्धसम्म पनि थिएन त्यहाँ । मानिसहरू क्रमैसँग दुई पंक्तिमा पलेटी कसेर बसेका थिए । थप्ने र पस्किने मान्छे पंक्तिको बीचबाट हिँडेर सबैलाई इच्छाभोजन गराइरहेको थियो । भोजनमा अरू वस्तु त मलाई चिन्न त्यति गाह्रो परेन तर एउटा वस्तुमा म पनि एकछिन अलमल्ल परेँ । किन्तु मेरो अलमल धेरै बेर रहेन र एउटा निष्कर्षमा पुगेँ– ‘यो कुभिण्डाको मुरब्बा हो ।’कसैले यहाँ जिज्ञासा गर्ला त्यो कस्तो थियो भनेर, म पूरा भन्न लागिरहेछु । मैले खाएको कुभिण्डाको मुरब्बा पारदर्शक, ठूलाठूला चाना थिए । तर अलि बढ्ता गलेका, हातमा लिँदा भाग्न खोज्ने । हामी कुभिण्डाको मुरब्बामा चिनी हाल्छौँ भने यसमा नुन हालिएको थियो ।
हामी कुभिण्डाको मुरब्बा गर्मी मौसममा रुचाउँछौँ भने यहाँ जाडो महिनामा प्रयोग भएको थियो । यो त आफ्नो–आफ्नो समाजको रीतिअनुसार हुन्छ । मुरब्बा मैले २–३ चोटि थपिसकेको थिएँ । मेरो छेउमा बस्ने महाकवि देवकोटाले पनि अनेक बार थपिसकेका थिए । पस्किनेले पुन: थप्न ल्यायो । मानिस अघाएपछि घरका डाँडाभाटा गन्न थाल्छ भन्छन्, हामीलाई पनि त्यस्तै भयो यहाँ । महाकविले सोधे– ‘हन भान्जा यो के हो ?’ मैले उत्तरमा भन्नैपर्यो– ‘कुभिण्डोको मुरब्बा, अलि बढ्ता पाकेको र नुन हालेको ।’ मैले भनेका कुरामा विश्वास नहोला भन्ने मलाई लागेको थिएन । देवकोटाले चन्द्रमान मास्केज्यूलाई सोध्न पुगे यो के हो भनेर । तर त्यसको सही उत्तर मास्केबाट मिलेन उनलाई । मास्केज्यूले उत्तरमा हे हे हे हे मात्र गरेर टार्नुभयो ।
हाम्रो भोज खान बसाइको क्रम थियो– एउटा पंक्तिमा सबभन्दा माथि महापण्डित राहुल सांकृत्यायन, लक्ष्मीप्रसाद देवकोटा, लेखक चन्द्रमान मास्के इत्यादि इत्यादि र अर्को पंक्तिमा कथाकार विश्वेश्वर कोइराला, इतिहासकार बालचन्द्र शर्मा, सुन्दरराज चालिसे इत्यादि इत्यादि । मास्केको उत्तरबाट निराश भएका देवकोटाले कथाकार र इतिहासकारबाट मुस्कुराहटबाहेक अरू केही पाएनन् र सुन्दरराज चालिसेलाई सोध्न पुगे उनी । बल्ल देवकोटाले सही उत्तर पाए– ‘ठूलो खसीको थलथले भनेको त्यै हो भिनाजु !’ बल्ल मेरा पनि घैँटामा घाम लागे । सबै गललल हाँसे ।
एकछिन भोजन समाप्त भयो, सबै आफ्ना–आफ्ना घरतिर लागे । देवकोटा र म पनि बाटो लाग्यौँ । डिल्लीबजारमा पुगेर महाकविले मलाई एउटा मिठाइ पसलमा पुर्याए । हामी भित्र पस्यौँ । देवकोटाले दुई ठाउँमा मिठाइ ल्याउने अर्डर दिए । अहिले मात्र त्यत्रो पेटभर भोजन खाएर आएको एक घुड्को पानी अटाउने ठाउँ थिएन पेटमा । त्यसकारण पनि मैले मिठाइ लिन प्रतिवाद गरेँ तर मेरो केही लागेन । उनले उत्तरमा ‘धत् खानुहोस् मिठाइ । राँगाको मासुलाई मिठाइले छोपेर बिर्को लाउनुपर्छ र सम्पुटित पार्नुपर्छ ।’ मैले पनि ठट्टाको उत्तर ठट्टैमा दिए– ‘बुद्धिमा त बिर्को लाग्दैन ?’ हामी खुब हास्यौँ ।
यसबाट हामी विचार गर्न सक्दछौँ महाकवि देवकोटा आस्तिक हुन् वा नास्तिक । वास्तवमा भन्ने हो भने उनको लौकिक जीवन अध्ययन गरेर सिङपुच्छर केही हात लाग्दैन । उनी कहिले कांग्रेसको विधिविधान तयार पार्ने प्रमुख व्यक्ति देखिन्छन् भने गोरखादलको मेनिफेस्टो पनि बनाउन थाल्छन् । अर्कातिर पोखरामा केआई सिंहको पार्टीको महाधिवेशनको उद्घाटन गर्न पनि उनै पुग्छन् । यसबाट यो कुरा सिद्ध हुन्छ– उनको न कुनै कुरामा आसक्ति छ, न विरक्ति नै । त्यसकारण पनि देवकोटालाई कमलको पातमा अडेको निर्मल जलकणको समूह सम्झनुपर्छ ।
दुर्वासा देवकोटा
… त्यस समय दिल्लीबाट आजकल नामक हिन्दी मासिक पत्रिका निस्कथ्यो । यसमा विश्वदर्शन नामक पत्रिका पनि गाभेर संयुक्त रूपमा आउँथ्यो । हाम्रो सामने भएको आजकल मई १९५३ को कविता–अंक थियो । यो अंक रवीन्द्रनाथको जन्मदिवसमा निकालिएको हुँदा आवरणपृष्ठमा रवीन्द्रनाथ ठाकुरको आकर्षक चित्र पनि दिइएको थियो । अत : यसमा सबैको ध्यान जानु स्वाभाविक कुरा हो । पल्टाउँदै जाँदा विश्वदर्शन भागमा ‘नेपाली महकवि देवकोटा’भन्ने ठूलो अक्षरमा शीर्षक देखियो र त्यसभन्दा तल लेखकमा राहुल सांकृत्यायन लेखिएको थियो । सबैका आँखा उत्सुकतापूर्वक त्यतै लागे । देवकोटालाई यसमा अरू चाख भयो र लेख पढ्दै गए ।
… यसैप्रकार महाकवि देवकोटा महापण्डित राहुल सांकृत्यायनले आफ्नु विषयमा लेखेका लेखका पंक्ति पढ्दै गए र एकठाउँमा गएर उनी एकाएक रोकिए । त्यहाँ यस्तो लेखिएको थियो, ‘देवकोटा नेपाली के पन्त–प्रसाद–निराला तीनों हैं, इसमें अतिशयोक्ति नहीँ है । निराला के कुछ दूसरे गुण भी उनमे मौजूद है, यद्यपि उतनी मात्रा में नही । निरालाको राँची ले जाने की बात ही कितनी ही बार उठी, किन्तु जब देवकोटा को घरबालों ने विक्षिप्त समझ राँची ले चलने के लिए कहा, तो उन्हो ने जरा भि आपत्ती नहीं की और राँची के पागलखाने में कुछ दिन रह भी आये ।’
यो पंक्ति पढिसकेपछि देवकोटा रिसले अग्नि शर्मा, के भनौँ दुर्वासा भए । उनका गाला फुलेर राताराता भए । आँखा रगत चुहुन लागेझैँ देखिए । देवकोटालाई रिस उठेपछि काम्न थाल्थे । त्यो मैले एकदुईपल्ट देखेको थिएँ । उनी मतिर फर्केर औँलो ठड्याउँदै भन्न थाले, ‘त्यस मूर्खलाई गलत सूचना दिने तैँ होस् अर्को मूर्ख ।’ मैले कति अनुनय विनय गरेँ, मेरो केही लागेन । उनी होटेलबाट बाहिर आए । साइकिलको साँचो मैसित थियो– साँचो खोलेँ । मलाई एक धक्का दिएर साइकिल लिए । उनी साइकिल लिएर अघि लागे, १० पाइला पर गएपछि म पनि पछिपछि दगुरेँ ‘मामा मामा’भन्दै । उनी म दगुरेको देखेर पुन: साइकिलबाट ओर्लिए । हामी मैतिदेवीको पीपलको रुखमा पुग्यौँ । सधैँ त्यहाँ पुगेपछि आफ्नो घर जान आग्रह गर्थे मसित तर आज त्यसो नगरी लुरुलुरु घरतिर लागे ।
साइकिलको साँचो झिकेर उनको खल्तीमा हालिदिएँ, तैपनि केही भनेनन् । र म आफ्नो डेरातिर लागेँ । त्यो दिन साहै्र खल्लो लाग्यो मलाई ।
‘पागल’ को रचना र व्यक्तिगत आक्षेप
बिहान उठेर हातमु्ख धुन के लागेको थिएँ, एउटा मानिस मकहाँ आयो र भन्यो, ‘साहिँला मामाले बोलाउनुभएको छ तपाईंलाई । अहिले नै उतै खाने गरी जानु अरे ।’ यो खबर पठाउने उनै महाकवि देवकोटा थिए । मनमनमा हाँसो उठ्यो, ‘त्यसै रिसाए कुरै नबुझी । उनको बारेमा के गलत सूचना दिएको थिएँ र मैले । उनी राँची गएको कुरा उनैले भनेका हुन्, पूरै फाइल पनि हेरेको छु मैले ।’ मनमा लाग्यो ‘मानिस त सनकी नै हुन् । आज के काण्ड गर्ने हुन् ।’
मेरो डेराबाट उनको घर पुग्न १० मिनेटको बाटो थियो, पुगेँ हस्याङफस्याङ गर्दै । म त्यहाँ पुग्दा उनी अनेक पत्र तह लगाउँदै थिए । मैले नमस्ते गरेपछि बडो आदरसाथ आफ्नु छेउमा बसाए । हिजोको दुर्वासा आज करुणाका मूर्ति थिए । मैले हिजोको घटनामा माफी मागेँ । उनले उत्तरमा भने, ‘होइन भान्जा, माफी त मैले पो माग्नुपर्ने, कहाँ तपाईं अघि सर्नुभो । त्यसैकारण त तपाईलाई दु:ख दिएको एकाबिहानै, एउटा कविता सुनाऊँ भनेर ।’ कविताको नामले म अरू उत्सुक भएँर भनेँ, ‘सुनौ न मामा, कविता ! के लेख्नुभएको ?’ उनले तिनै अघि बटुल्तै गरेका कागज देखाउँदै भने, ‘आजै राति लेखेको ।’ म अझै उत्सुक भएँ कविता सुन्न । कविताको शीर्षक थियो ‘पागल’ । पूरै कविता सुनेपछि म अवाक् भएँ ।
(महाकवि देवकोटा : एक व्यक्तित्व दुई रचना)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।