माघ १ गते धनुषाधाममा मुसहर समुदायका अगुआहरुले आफ्ना अराध्यदेव दीनाभद्रीको सम्मानमा अन्तर्राष्ट्रिय भुँइयाँ दिवस बडो धुमधामका साथ मनाएका छन् । श्रद्धा र भक्तिसाथ मनाएको यस पूजनोत्सवमा विभिन्न जातीय देवी–देवताहरुको पूजा आजासाथ गर्मदूधबाट नुहाउने जस्ता अद्भुत कार्यहरु गरेका थिए । मैथिली लोकगाथामा बडो विशिष्ट स्थान बनाउन सफल रहेका यी दीनाभद्री नेपाली भूमिका सन्तान थिए ।

लोकसाहित्यमा लोकगाथाको आफ्नो विशिष्ट छाप हुन्छ । यसले तत्कालीन सामाजिक, राजनीतिक अवस्थाको लेखाजोखा प्रस्तुत गरेको हुन्छ । यसका रचयीताहरू अज्ञात हुन्छन् । यो अलिखित भएकोले मौखिक रूपमा एकअर्काबाट सयौँ वर्षदेखि प्रसारित हुँदै आएको हुन्छ । मूल कथानकमा समसामयिक थपघट पनि हुँदै जाँदा यिनीहरूमा निकै लामो र थप घटनाक्रम समेटिएका हुन पुगेका छन् ।

मिथिलाञ्चलमा प्रचलित लोकगाथाहरू मुख्यतः जातीय देउताहरूको वीरगाथाले भरिएका छन् । प्रेम, विरह, कपट, युद्ध र विजयका अनेकौँ प्रसङ्गले स्रोतालाई घन्टौँ मात्र हैन, दिनहुँसम्म मन्त्रमुग्ध पारिरहेका हुन्छन् । यस्ता जातीय लोकदेउताहरूका गाथागीतहरूमा लोरिकाइन (यादव), सलहेस (दुसाध), कारिख पजियार (दुसाध), ज्योति (दुसाध), नैकाबनिजारा (तेली), फेकुदायाराम (हलुवाइ), गनीनाथ गोविन्द (कानू), दुलरा दयाल (मलाह), दीना–भदरी (मुसहर), बसावन–बखतौर (यादव), अमरसिंह–जयसिंह (मल्लाह), रइया रणपाल, धनपाल (पालक्षत्रिय), रन्नू सरदार (मुसहर), गरीवन भुइञा (धोबी), महकार (कोइरी), श्याम सिंह (डोम), लालवन बाबा (चमार), बेनीराम (हजाम), चुहरमल (दुसाध), विजयमल (मलयवंशीय क्षेत्रिय), कुँवर वृजमान, वंशीधर वाभन, हंसराज–वंशराज, लवहरि–कुशहरि, सारंगा–सदावृक्ष, गोपीचन्द आदि गाथाहरू प्रमुख छन् । यी गाथाहरूले तत्कालीन मिथिलाञ्चलको भौगोलिक–सामाजिक ऐतिहासिक स्थितिको सशक्त विवरण प्रस्तुत गरेका छन् ।

यिनै गाथाहरूमध्ये नेपाली परिवेशमा घटित घटना र तत्कालीन सामाजिक–राजनीतिक परिस्थितिको उपजको रूपमा ‘दीना–भद्री’ गाथा पनि पर्दछ, जसको आफ्नो विशिष्टता छ ।

दीना–भद्रीको समय

अन्य लोकगाथाजस्तै दीना–भद्रीको समय पनि यकिन गर्न सकिएको छैन । दीना–भद्रीको समय सलहेसकै समय रहेकाले लोकगाथाका मर्मज्ञ विद्वान् मणिपद्मले यसलाई पाँचौँ–छैटौँ शताब्दीतिरको ठम्याएका छन् । तर यो पनि सर्वमान्य हुन सकेको छैन । केहीले यसलाई मध्यकालपूर्वको मानेका छन् ।

लोकसाहित्यका अनुसन्धाता सर जी. ए. ग्रियर्सनले सन् १८८१ मा ‘मैथिली क्रेस्टोमेथी’ मा सर्वप्रथम दीना–भद्रीका केही गीतहरू सङ्कलन गरेका थिए । त्यसपछि नै यसबारेमा अध्ययन, अनुसन्धान प्रारम्भ भयो । आजसम्म पनि दीना–भद्रीको पूर्ण पाठ उपलब्ध हुन सकेको छैन । डा. महेन्द्रनारायण राम सङ्कलनको प्रयास गरेका छन् । त्यसपछि नेपाल प्रज्ञा प्रतिष्ठानमा परिषद् सदस्य हुँदा संस्कृति विभाग प्रमुखको हैसियतले सलहेसका साथै दीनाभद्रीको लोकगाथाको पनि अडियो संकलन गरेको थिएँ । जनकपुरधाममा दीनाभद्री सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी गरी विभिन्न विद्वानहरुलाई जुटाएर कार्यपत्र प्रस्तुत गर्न लगाएको र पछि थप अनुसन्धानात्मक आलेखहरु साथ एउटा संकलन पनि प्रकाशित गरियो ।मेरो सम्पादनमा नेपाल प्रज्ञा प्रतिष्टानबाट २०७० सालमा उक्त प्रकाशित प्रकाशित भएको थियो । त्यसपछि नेपाल संगीत तथा नाट्य प्रतिष्ठानबाट रमेश रंजन झाको सम्पादकत्वमा दीनाभद्री गाथा नामक संकलन प्रकाशित भएको छ ।

राम भरोस कापडि भ्रमर

विंसं. २०३५ सालमा साझा प्रकाशनबाट दीना भद्री र सलहेस नामक ऋषभ देव शर्मा रेग्मीद्वारा लिखित उपन्यास पनि प्राप्त हुन्छ । यद्यपि यसमा आफ्रनो दुई शब्द लेख्दा लेखकले कथालाई काल्पनिक भनेका छन् । तर उपन्यास पढ्दा तत्कालीन समयका अनेको पात्र,स्थान र प्रसंग राख्ने प्रयास गर्दा गर्दै लेखक काल्पनिक प्रसंग पनि जोडेका छन् । तर पनि लोकगाथामा आधारित यो उपन्यास आजभन्दा चार दशकपूर्व प्रकाशित भएकोले यसकोे आफ्नो बेग्लै महत्व छ । साझा प्रकाशनमा छंदा मैले यो उपन्यास एउटा निजि पुस्तकालय बाट काम भए पछि फिर्ता गर्ने शर्तमा मगाएको थिएँ, यो अब अप्राप्य छ ।

को थिए दीना–भद्री ?

दीना र भद्री दुई मुसहर दाजुभाइ थिए । पिताको नाम कालु सादा र माताको नाम निरसो थियो । दुवै अत्यन्त शक्तिशाली थिए । समान्य परिवारका भए पनि उनीहरू जङ्गलमा सिकार खेल्न जाने गरेको प्रसङ्ग पनि छ । गाथामा भनिएअनुसार दुवैको काँधमा ‘असी मनको धनुष र चौरासी मनको तीर’ सधैँ झुन्डिरहन्थ्यो । उनीहरू नेपाल राज्यअन्तर्गत सप्तरी जिल्लाको योगियानगर निवासी थिए । आफ्नो नगर वा क्षेत्रमा हुने कुनै पनि अत्याचार र शोषणका विरुद्ध आवाज उठाउने, त्यसलाई तह लगाउने काममा निरन्तर अगाडि रहन्थे दुवै दाजुभाइ ।

तत्कालीन समाज सामन्तवादी पद्धतिमा चल्ने गरेको अनेकौँ कथाक्रमले पुष्टि गरेको छ । आफूलाई शबरीको वंशज मान्ने मुसहर जातिले त्यतिबेला पनि अरूको घरखेतमा काम गर्ने गरेका थिए । तर दीना–भद्री मेहनत–मजदुरीमा विश्वास गर्ने भएकाले उनीहरू बेगारी खटाउने सामन्ती आग्रहको निरन्तर डटेर मुकाबिला गर्दथे ।

योगियानगरका राजा कनक धामी थिए । क्रूर आततायी ती सामन्तले बेगारमा प्रजालाई जबर्जस्ती काम लगाउँथे । प्रजा पनि भयले गर्दा सित्तैमा काम गर्न विवश हुन्थे । कहिलेकाहीँ कसैलाई केही दिए पनि सधैँ दिइँदैनथ्यो ।

एक दिन राजा कनकसिंह दीना–भद्रीको आँगनमा बिहानै आए । दुवै भाइ घरमा सुतिरहेका थिए । पत्नी र अन्य महिला घरको कामकाज गर्दै थिए । बिहानीपख घरमा अस्वाभाविक अवस्थामा रहेका परिवारका महिलाहरूलाई देखेकोमा आपत्ति र दुःख व्यक्त गर्दै दुवै भाइले कनकसिंहलाई आउनुको कारण सोधे । राजाले भने— “पूरा गाउँ मेरो खेतमा बेगार खटिरहेका छन् । तिमी दुई भाइले मात्र त्यसो नगरेपछि अब गाउँमा पनि विद्रोहको सम्भावना छ । म बरु तिमीहरूलाई थप ज्याला दिन्छु, हिँड काममा आऊ ।” राजाको कुरा सुनेर दुवै भाइ रिसले चूर भएर कनकसिंहको कठालो समातेछन् र बेस्सरी गोदेछन् ।

कहियो ने कएल हम खुरपी कोदारी बोनी,
कहियो ने जानिओ हौ धामी पैंच हो उधार

(म कहिले पनि बेगार खटिनँ, कसैको पैँचो–उधार पनि जानेको छुइनँ ।)

अन्ततः राजा कनकसिंह धामी रिसाउँदै घर फर्केछन् ।

यो घटनाले धामीलाई मर्माहत पार्यो । उनकी बहिनी बचिया जादुगर्नी थिइन् । दीना–भद्रीसँग बदला लिन उनले जादुले खनाएको एउटा पोखरीमा ‘पनियाँ दराद’ साँप छोडिदिइन् । त्यो जादुयी साँपले त्यहाँ पानी खान जाने पशु, नुहाउन जाने मानिस सबैलाई डसेर मार्न थाल्यो । लासको थुप्रो लाग्यो, गाउँमा हाहाकार मच्चियो । तब दीना–भद्री यो दुर्घटनाबाट बचाउन अगाडि सरे । उनीहरूले आफ्नो बलिष्ठ हातले पोखरीको पानी बाहिर फ्याँकेर पोखरी सुकाइदिएर साँपलाई समाती कुशले नाथेर वशमा पारे । लोकगाथाको त्यो प्रसङ्ग यसरी गीतमा व्यक्त भएको छ—

गामक पछिम कोरौलनि
एगो नव पोखरिया
… … … …
ओही जन पैसिंह’ हो दीनाराम
धरतं’ तोरा पनिया दराध
ओही जन पैसिंह’ हो भदरी
धरतं’ तोरा पनियादराध ।
धुरमी सहैते जे धमिआइन
तोरा हम सधबौ—
कुशक डेफसं नथबौ गे धमिआइन
तोरो पनियादराध,
अस्सी मनके पत्थल हो दीनाराम
छाती पर बैसैबो
अस्सी मन के पत्थल छेदिक’
हेबौ गे बहार ।

अर्थात् जादुको बलमा खनाइएको पोखरीमा तिमी (दीना–भद्री) पस्छौ भने त्यसमा रहेका पनिया दराद साँपले तिमीलाई समातेर खाइहाल्ने छन् ।

दुवै भाइ भन्छन्— “हेर धामिनी (बोक्सी), तिम्रो जादु मैले सहेर तिमीलाई पनि साँध्नेछु । तिम्रो पनिया दरादलाई कुशले नाथ्नेछौँ ।”

जादुगरनी बचिया भन्छिन्— “असी मनको ढुङ्गा छातीमा राखौँला ।”

दीना–भद्री जवाफ दिन्छन्— “त्यो ढुङ्गा फोडेर पनि हामी बाहिर आउँला ।”

पछि कनकसिंह र उनकी पत्नीलाई पनि दीना–भद्रीले मारेका थिए ।

यो मीठो तर सौर्यपूर्ण संवादले दीना–भद्रीको साहस, शक्ति र अन्यायविरुद्ध लड्ने सङ्कल्पको उद्घाटन गर्दछ । गाथामा केही अतिरञ्जित प्रसङ्गहरू पनि नआएका होइनन् । तर ती प्रसङ्ग लोकश्रुतिबाट विकसित भएकाले गाथागीत र प्रसङ्गको रोचकताका लागि थपिने गरिएको हुन सक्तछ । तत्कालीन राजतन्त्रका विरुद्ध दीना–भद्रीको विद्रोह र अन्ततः शोषणको विरुद्ध जनमानस समेतलाई उद्वेलित पारेर जनजागृति र जनक्रान्तिको सूत्रपातको नेतृत्व उनीहरूबाट गरिएको यो कथा अत्यन्त घतलाग्दो रहेको छ । दीना–भद्रीको चरित्रमा सामाजिक विषमतालाई समाप्त पार्न र असमानताविरुद्ध सङ्घर्षको थालनी गर्न जुर्मुराएको एउटा क्रान्तिद्रष्टाको चरित्र देखिएको छ ।

कुनौली बजारमा जोरावरसिंह सामन्त अत्यन्त क्रूर शासक थिए । त्यस गाउँमा नयाँ दुलहीको सिल भङ्ग गर्ने उनको आदत थियो । उनी गाउँमा सामान्यजनलाई सताउने काम गर्दथे । दीना–भद्रीलाई त्यहाँका पीडित नागरिकले गुहारे—

“ताहि दिन ओकरा नाम से आइ
खसी चढादेबै कुनौली बजरियामे
करैछै अराधना सहोदरा
अपना तऽ जतिया से
करैछै अराधना भैया
अपना तऽ जतिया से ने हय ।”

अर्थात् यो दुष्टसँग हामीलाई बचाऊ ! हे जातीय वीर (दीना–भद्री), हामी तिम्रो नाउँमा खसी चढाइदिन्छौँ ।

जीवित देउतासरह सम्मान पाउँथे दीना–भद्री आफ्नो जातीय समाजमा ।

उनीहरू कुनौली गएर जोरावरसिंहलाई धिक्कार्दै रणभूमिमा भिडेँ । घनघोर युद्ध भयो । को हार्ने, को जित्ने ठेगान भइरहेको हुँदैन ।

“पडि गेलै युद्ध हौ दादा
उलड्डी पहाड पर
आ पडि गेलै युद्ध हौ दादा
उलड्डी पहाड पर ने हय ।
प्रेमी हौ प्रेमी
ओकरा जे डरने से ओहो ने डेराइ छै
ककरो ने डरने कोइ नै डराइ छै हौ ।”
(सबै गीत ‘दीना–भद्री लोकगाथा’ बाट)

अन्तमा उनीहरूले आफ्नो सौर्यको प्रदर्शन गर्दै अन्यायी सामन्त जोरावरसिंहको गर्धन काटेर उसको आँगनमा फ्याँकिदिए ।

मैथिली लोकगाथाका नायकहरू दीना–भद्री जातीय लोकव्यवहारको सीमा नाघेर पनि आफ्नो वीरताको प्रदर्शन र सामन्तवाद, शोषण र उत्पीडनको विरुद्ध लडेर एउटा आदर्श स्थापित गर्न सफल भए । वास्तवमा शोषण र अत्याचारविरुद्ध आजको समयका सबै सङ्घर्ष र क्रान्तिका आदिप्रणेताको रूपमा योद्धा दीना–भद्री देखिएका छन्  ।

=====

सन्दर्भग्रन्थ
१. मैथिली लोकसाहित्यका अध्ययन, डा. ताराकान्त मिश्र, नेशनल पब्लिसिङ्ग हाउस, नयाँ दिल्ली, प्रथम संस्करण : २००८ ।
२. दीनाभद्री : सम्पादक : महेन्द नारायण राम, पूmलो पासवान, साहित्य अकादमी, नई दिल्ली, प्रथम संस्करण : २००७ ।
३. विहारकी नाटकीय लोकविधायें, डा. महेशकुमार सिन्हा, विहार हिन्दी ग्रन्थ अकादमी, पटना, प्रथम संस्करण : २००१
४. मैथिली लोकसाहित्य, सम्पादक : चन्द्रनाथ मिश्र ‘अमर’, साहित्य अकादमी, नई दिल्ली, प्रथम संस्करण : २००१ ।
५. मैथिली लोकगाथा, स्वरूप विवेचन एवं प्रस्तुति, सम्पादक : महेन्द्रनारायण राम, साहित्य अकादमी, नई दिल्ली, २००७ ।
६. पञ्चलोकदेवता, श्री महेन्द्रनारायण राम, विहार हिन्दी ग्रन्थ अकादमी, पटना, प्रथम संस्करण : २००३ ।
७. मिथिलाका लोकगाता नायकःदीनाभद्री (संकलन)। संः राम भरोस कापडि भ्रमर ।प्र.नेपाल प्रज्ञा प्रतिष्ठान,काठमाण्डू ।
८. दीनाभद्री गाथा (संकलन) । सं. रमेशरंजन झा । प्र. नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान,काठमाण्डौ ।
९. मिथिलाको पहिलो उपन्यास दीना,भद्री र सलहेश(आलेख) ,–राम भरोस कापडि भ्रमर, (वि.सं. २०६६, अखाढ अंक, मधुपर्कमा प्रकाशित )