कविता/ सोच

(२०५० सालको शुरूवाती समयमा नेपालका समकालीन कवि, तिनका विचार र कविता समेट्ने सोचका साथ एउटा कार्यक्रम आयोजना गरियो । सो कार्यक्रमको उद्देश्य थियो, त्यस बखतका चर्चित कविहरू मञ्चमा उभियून्, कविताबारेका आफ्ना धारणा राखून् र त्यस बेलाको आफ्नो उत्कृष्ट वा आफूलाई उत्कृष्ट लागेका कविता वाचन गरून् ।

यसका लागि केही कविहरू छानिए, तिनका विचार सुनियो र कविता वाचन पनि भयो । कार्यक्रम सकिएपछि त्यो त्यत्तिकै नहराओस् भनी किताबी रूप दिइयो । कार्यक्रमका संयोजक राजेन्द्र पराजुली कविता/सोचका सम्पादक भए र तयार भयाो, कविता/सोचः समकालीन नेपाली कवि, विचार र कविता । नेपाल साहित्य गुठीको स्थापना साहित्यको उन्नयनका लागि भएको थियो र यस्ता केही सिर्जनशील कार्य पनि गरेको थियो । तिनै अनेकन् कार्यक्रम वा पुस्तकमध्ये यो पनि एउटा हो ।)

कविता निश्चय नै अन्य विधाभन्दा बढी संवेदनशील विधा हो । जसमा सामाजिक, राजनीतिक विकृति तथा प्रेम-घृणाका पक्षाहरूलाई सूक्ष्मतासाथ शब्दमा उन्ने गरिन्छ । त्यसैले नै कविता लोकप्रियताको शिखर छुने गर्दछ । यसै सन्दर्भमा हामीले समकालीन कविका कविता र विचारलाई ‘कविता/सोच’का रूपमा प्रस्तुत गरेका छौँ ।

यस अभियानले नितान्त पृथक् परिचय स्थापना गर्ने चेष्टा गरेको छ र यो यस मानेमा कि कविका काव्य-मान्यतालाई पनि यहाँ प्रस्तुत गरिएको छ । यहाँ सोचको शाब्दिक अर्थ कविको चिन्तन वा विचारका रूपमा रहेको छ । वर्तमान पुस्ताका चर्चित कविहरूका वकिता स्वयं पनि ‘सोच’को परिभाषा दिन सक्षम छन् भने कविता तथा सोचलाई एकै ठाउँमा प्रस्तुत गरिँदा यसमा नौलोपन थपिन गएको छ । यसै कारण यस प्रकाशनले नेपाली कविता जगत्मा निजत्व बोकेको छ । नेपाली कविताका अध्येता तथा पाठकका निम्ति यो पुस्तक अवस्था पनि सहयोगी बन्नेछ भन्ने हामीले विश्वास गरेका छौँ । साथै, यसको स्वागत तमाम पाठक वर्गले गर्ने नै छन् भन्ने कुरामा हामी आशावादी छौँ ।

राजेन्द्र पराजुली
सम्पादक
कविता/सोच

मेरो कविताको अन्तरंग

विप्लव ढकाल

‘…कविताको सत्ता जीवनको सत्यबाट पृथक रहन सक्दैन । मानव सभ्यताको सीमान्त लक्ष्य र यसको सबैभन्दा पछिल्लो आदर्श अब कहीँ रहेन । जीवनको नैसर्गिक सम्प्रभुताबाट टाढिँदै आजको मान्छे एउटा अज्ञात भिडभित्र एक्लो र हृदयहीन अस्तित्व भोगिरहेको छ । मान्छेको सम्पूर्णता खण्डित र चोक्टा चोक्टामा विभाजित बनेको छ । वर्तमान जीवन र कविताको बीचमा उभिएको एउटा गम्भीर संकट हो यो । र, यो त्रासदी स्वयंमा एउटा ककहालिलाग्दो कविता पनि हो । कविताको अराजक भिडभित्र आफूलाई हराएर आजको कविता निर्धो र आतंकित बनेको छ । आतंकित हुनुको पीडाभित्र मान्छेको सौन्दर्य चेतना जीवित रहन सक्छ कि सक्तैन ? यही संकटको कारागारबाट म मेरो कवितामा त्रा र आतंकको सौन्दर्य खोजिरहेको छु । जब आफ्नै उपस्थितिले आफूलाई अत्यास लाग्न थाल्छ, म कविताका बेवारिस लार्भाहरुलाई जीवनले निचोरिरहेको छु र पिपजस्तो घिनलाग्दो पदार्थ मेरो सौन्दर्य चेतनाभरि च्यापच्यापी टाँसिइरहेको छ । यही टाँसिनुको बोध विभत्सता मेरो कविताको अन्तरंग हो…’

कालो रगत इतिहासमा फेरि बग्नेछ !

विप्लव ढकाल

१.
फेरि चिन्तनका हिमचुलीहरु भत्किने छन्
र खरानी रङका चिहानहरुमा
समयले आफ्नो नागरिकता हराउनेछ !
फेरि तर्कका साँझबत्तीहरु निभ्नेछन्
र यो आकाशभित्रै
मेरो आकाश गंगा नजरबन्द हुनेछ !
फेरि आस्थाका इन्द्रेणीहरु टुट्ने छन्
र भरखरै नथुनी तोडिएका
बलात्कृत बालिकाहरुको जाँघबाट
तप–तप
एउटा कलिलो राष्ट्र चुहिनेछ !
कविता हताहत भएको यो शहरमा

डा. विप्लव ढकाल

एउटा भयावह मृत्यु
रगतपच्छे हातहरु लिएर फर्किनेछ
र निर्बोध शिशुहरुलाई
अँगेनाको डिलमा सुताएर
सुत्केरी आमालाई बन्दीगृहमा लगिनेछ !
सरुमा रानी !
यो शरणार्थी शिविरबाट
मेरो बाबा फेरि गिरफ्तार हुनेछ !!

२.
हिउँदको मौसममा
आगोलाई ‘फ्रिज’मा राखेर
म निराशाका ‘आइसक्रिमहरु’ पिइरहेको छु !
फलामका लिंगहरुमा
विषको सिलिण्डर झुण्ड्याएर
फेरि एउटा क्रनिक आशंका
रातभरि मेरी प्रेयसीलाई आलिंगन गर्नेछ !
स्टेफेन ग्यासोन
र टामस पिककले हिर्काएका
कोर्राका डामहरु दुख्न नछोड्दै
फेरि मेरो कवितालाई
बौलाहा कुकुरले आक्रमण गर्नेछ
र कविता
रेबिजका घातक भाइरसहरु बोकेर
सडकमा ¥याल काट्दै हिँड्नेछ !
रगतका चिसा पहाडहरुबाट
आगोको पहेँलो मुस्लोजस्तो
यो आदिम साँझमा
सरुमा रानी !
फेरि आतंकै आतंकको बाक्लो कुहिरो लाग्नेछ !

३.
गिठ्ठा र भ्यागुरको जरामा
क्रोम्याग्ननका फोसिलहरु भेटिने छन्
र हामीले म्युजियम भत्काउनु पर्ने छैन !
तरुलको फेदमा
धृतराष्ट्रका अण्डकोषहरु फल्नेछन्
र हामीले इतिहासलाई विश्वास गर्नुपर्ने छैन !
ऊ त्यो पहाडको कापबाट–
घाम भैँसीझैँ लडेर मर्नेछ
र एउटा कालो बिरालो
जिन्दगीको लाशमाथि टेकेर अट्टाहास गर्नेछ !
छातीको इथर घोचेर
च्याहाँ ! च्याहाँ !
फेरि एउटा सुकोमल विश्वासको अन्त्य हुनेछ !
हामीले प्रेम गर्नुपर्ने छैन !
रातभरि बाघले लेखेटेका
टिठलाग्दा सपनाहरु देख्नुपर्ने छैन !
समुद्री आँधी चलिरहेको बेला
यो निर्जन बन्दरगाहमा
सरुमा रानी !
फेरि जीवनका राता पालहरु डुब्नेछन् !!

४.
मान्छेको लासमा टाउको फुटाएर
विज्ञानले तरुनी उमेरमै आत्महत्या गर्नेछ
र शित लहरले छपक्कै ढाकेर
कुनै अज्ञात बस्तीमा
घिन्ताङ ! घिन्ताङ !!
हाहाकार बजिरहेनछ !
एउटा निरव शून्यताको
शोकाकुल तारमा रेटिएर
क्षयग्रस्त सारंगीहरु
बेसुर बेसर मौनता अलाप्ने छन्
यो भूत बंगलाको कुनै कविता हुने छैन
चेरी फूलका कलिला पत्रजस्ता
रहरलाग्दा शिशुका ओठहरुमा
संगीतको कुनै सिम्फनी हुने छैन
र घाम मध्य दिनमै झ्वाप्प निभ्नेछ
मोनालिजाका नीला आँखाहरुमा
फेरि मिेन्टको आतंक जम्नेछ
हाम्रो विभत्स मृत्युअगाडि
सरुमा रानी !
शायद हामीसँग हामी नै हुने छैनौँ !

५.

बुद्धिमा तरबार झुण्ड्याएर
एउटा खुँखार शून्यताले
विश्वासको हरेक किल्लामा अनायास आक्रमण गर्नेछ
र, डिजेलका धुँवा फालेर आँखाबाट
हामीले कुरुम कुरुम ढुंगाहरु चपाउनुपर्नेछ
फेरि प्लेटो लगाएर मुर्खहरुले
मेरो कवितालाई राज्यबाट निष्कासन गर्नेछन्
र फलामका रडहरुले घोचिएर
एउटा अँध्यारो बलिवेदीमा
मसँगै मेरो कविता मुर्छा पर्नेछ
फेरि चेतनाका हिमनदीहरुमा
क्रुसेडका भालाहरु रोपिनेछन्
फेरि सभ्यताका सीमान्त ग्यालेक्सीहरु
अज्ञात धूमकेतु र उल्कापिण्डहरुले छोपिनेछन्
शायद कुनै विरुपाक्षको मूर्तिमा मलाई बलि चढाइनेछ
र कालो रगत इतिहासमा फेरि बग्नेछ
मेरो निहत्था अस्तित्वलाई क्षमा गर
सरुमा रानी !
जिन्दगीका यी थकित नदीहरुमा
फेरि एउटा भयंकर निस्सारता बग्नेछ !!