नेपाल प्रज्ञा प्रतिष्ठानले कविता महोत्सव गर्न थालेको ५५ वर्ष पूरा भइसकेको छ । राजा महेन्द्रले २०१४ सालमा रोयल नेपाल एकेडेमी स्थापना गरेका केही वर्षपछि कविता उत्सव गर्न थालिएको हो । २०२२ सालमा प्रथम पटक थालिएको उत्सवमा त्यस बेला राजा स्वयंले नै कविताको विषय दिने गर्थे ।

यस पटक हामीले दोस्रो कविता उत्सवमा पुरस्कृत कविताहरू पेस गरेका छाैँ । त्यस एतिहासिक क्षणलाई साहित्यपोस्ट डटकम र नेपाल प्रज्ञा प्रतिष्ठानले पुनः स्मरण गराउने प्रयास गरेको हो । आउनुहोस्, इतिहास बनेको त्यस क्षणको साक्षी बन्दै पुरस्कृत कविताहरूको आश्वाद लिऔँः

प्रथम कविताः

आ इमानदारी देशभक्ति हे युगका माग !
कुलमणि देवकोटा

आओ निर्गुण सौन्दर्य देशको आत्मामा
दृढ इच्छा–बलमा विराजमान भासोज्वल !
जन–जनको श्वास–श्वासमा आकृति धर
प्रति–धुकधुकमा स्पन्दित, ऊर्जित, अमल, धवल !

ए मानव–भूषण, हिमवत्–समान, सनातन
हे सूर्य–चन्द्रवत् करार जस्तै अतन्द्रित !
आ इमानदारी, देशभक्ति हे युगको माग !
स्वस्थ सर्प झैँ सरण–अर्थमा आमन्त्रित !

हे ज्वालजिह्व ‘बलवर्धन’–नामक अग्निदेव,
यो पौष्टिक देशोत्थान–यज्ञमा आई
बल, व्यक्ति–व्यक्तिमा इमानदारी खाई आज्य
देशोन्नति–चरु–प्रतिदाना–तरु लावा–फूल फुटाई !

हुन् नेपाली दिगन्त सुरभित यो यज्ञोत्थित धूमले
हून् विश्व–क्षितिजहरु अखण्ड रुपले धूमायित
सब जलून् स्वार्थका कोमल सुन्दर कुसुमहरु
होस् यो धरा नवाङ्कुरा, नव–जीवनले आप्यायित !

यो गंगा ममता प्रवलधार–‘यो मेरो जगती’
आओ वृद्ध युवकहरु हो, स्नान गर
इमानदारी, देशभक्ति दुई हातले
तन–मन माडी मयल पखाली स्नान गर

यो यज्ञ विराट्–‘इमानदारी+देशभक्ति’
यो ताम्र–तन्तु–आत्मामा सन्देश दिव्य होस् धावित
यो तपन–ज्वलन–साध्य हो युवा–कर्म
अवभृथ–स्नान छ टाढा, ‘कर्मण्येवाधिकार’ होस् प्राणित !

यो नशा बनोस्– ‘इमानदारी+देशभक्ति’
जसमा होश, होश केवल होश रहोस् !
‘नान्यः पन्था’ यो चिर–अवनति–जागरण निमित्त
हाम्फाल युवा हो, जीवन यसमा अर्पित होस् !

 

द्वितीय कविताः

इमानदारी र देशभक्तिः प्रियलाई आह्वान
मेघराज मञ्जुल

म मटुका दुई पानामा दुई गीत लेख्न चाहन्छु–
एउटा इमानदारी, एउटा देशभक्ति
म आँखाका दुई नानीमा दुई चित्र कोर्न चाहन्छु–
एउटा इमानदारी, एउटा देशभक्ति
आऊ आधा तिमीलाई आधा मलाई
म एउटा उदाहरण पेश गर्न चाहन्छु

म यो देशको बाह्रै मासे फूल
मासुले म गुराँस भएर फुलेको छु
आङभरि, आङभरि रगत पोखेर लालपातीको
म बगैँचाभरि गुलाफ भएर फक्रेको छु

त्यसैले सयपत्रीका सय पातहरुमा
बासहरु बोकेर आऊ
म बाबु भएर पर्खेको छु
तिमी आउनेहरुका पाइलामा हेरेर

हो, त्यो दिन म अवश्य मर्नेछु
जुन दिन म मेरी बहिनीमा साटिन सकेको हुनेछैन
हो, त्यो दिन म अवश्य हराउनेछु
जुन दिन म मेरा भाइका आँखाबाट भेटिन सक्नेछैन
मलाई मेरो मृत्यु आउने युगमा आफलिदिएर बाँच्न मन लागेको छ
म देशको माटो मेरो माटो देश हुन चाहिरहेको छ

त्यसैले लाग्छ, उडूँउडूँ भने म बादलजस्तै उडूँ
जमूँ जमूँ भने म हिमालजस्तै जमूँ
पवित्र गीतहरु बोकेर खोलाका
बगूँ तर म क्षितिजजस्तै बगूँ

म प्रत्येक बिहान यो देशलाई सूर्य बोकेर आउन चाहन्छु
म प्रत्येक बेलुकी यो देशलाई चन्द्र साटेर आउन चाहन्छु
म, म केवल तारा र बतास मात्र होइन
आकाश बोकेर आउन चाहन्छु
त्यसैले मेरो बैंस एउटा डाँफेको जस्तै रित्तियोस्
त्यसैले मेरो जिन्दगी एउटा कोइलीको जस्तै सकियोस्
म मेरो देशको पालुवा फेर्न चाहन्छु
मलाई सल्लाका हाँगाहरुबाट फुक र छरिदेऊ
मलाई बाँसका पातहरुबाट सुसेल र फुकाइदेऊ

मेरी प्रिये ! म सधैँभरि तिम्रो भएर बाँच्न चाहन्छु
म कहिल्यै पनि नमर्ने भएर बाँच्न चाहन्छु
आऊ लामा हातहरु फैलाएर आऊ आऊ…

 

तृतीय कविताहरूः

इमानदारी र देशभक्ति
कञ्चन पुडासैनी

म बालीको महाने हुँ, रखवाला हुँ फाँटको
एउटा हकवाला हुँ गाउँलेका जमातको ।
जहाँ दुःख सही आफ्नो किसानी गर्छ निर्धनी,
जसको धैर्य देखेर मुटुमा हुन्छ रन्थनी ।

चारु बालाहरुलाई स्नेहले सुम्सुम्याउँदै
म बालीबीचको आलीबाट हिँड्थेँ रमाउँदै ।
म मेरो बाँसुरी साथ पहरा बस्न आउँथेँ,
जुनेली रातमा खेतै–खेत डुल्दै बजाउँथेँ ।

तर निर्जन बस्तीझैँ लाग्छ बालीबिना अब,
मानौँ संगीत धर्तीको हुन्छ एक्कासि नीरव ।
खालि देखेर ती खेत उदासी उठ्छ सुस्तरी
बाँसुरी नबनाएरै मौन रोइरहूँसरि !

देश तिम्रो बसेको छ गाउँलेको निवासमा,
यहाँ लौ हेर, नेपाली ! कलेटी छन् गुराँसमा ।
किन रित्ता भकारी यी ? किन यस्तो दुःखीपन ?
सोच, निर्माणका योद्धाहरुलाई गई भन ।

फाँटमा एउटा कुलो कल्कलाओस् निरन्तर,
प्राप्त होऊन् यहाँ नाना बीज–दाना मनोहर ।
जनको धन माटाको आत्मामै नगुमाइयोस्,
झन् अरु बीज–जादूले ऋतु–रंग जगाइयोस् ।

सोच रक्ताम्य छातीले यी अभागीहरुकन,
देशको दुःख भक्कानो परोस् हे भाइ सज्जन !
पर शैल–कुनासम्म घुसेका खेतका गरा,
बाँसुरीमा उठोस् ज्वार–अन्नपूर्ण वसुन्धरा !

अन्त्यमा टेकुँला लट्ठी तैपनि धर्मराउँला,
म सानो नाति डो¥याई पहरा बस्न आउँला ।
घाममा मञ्जु बालीको छहारीमा बिसाउँला,
त्यहाँ त्यो नातिलाई म देशभक्ति पढाउँला ।

मरी शायद यहीँ माटोसँगै ज्यूँदो कहीँ हुँला,
ममाथि लहलहाएको गहूँको स्वपन देखुँला ।
मेरो ईमानको चर्चा उठ्ला केही किसानमा
तब आभारको आँसु रुँला म अनजानमा ।

 

देशभक्ति र इमानदारी
पुरु रिसाल

विवेकका बोटैपिच्छे इमानका बाला
यिनै बाला टिपी गाँस्छु तिम्रो भक्तिमाला

आमा ! तिम्रै दुधका हौँ कोटी धारा हामी
हामीभरि तिमी नै छ्यौ तिमीभरि हामी
तन मन धन जे छ तिम्रै हो यो सारा
मेरो भन्नु भावना र भक्ति दुई धारा
दुई आँखाका आच्मनीले अचाएर जल
तिम्रो पूजा गर्न सकौँ हामी अविरल

मुहारमा समस्याका पारी मुजैमुजा
के हेर्दछ्यौ आमा तिमी आज हाम्रो भुजा
यो भुजामा अमरसिंहको रक्त बाँकी नै छ
यो मुटुमा इमान्दारी अझ बाँकी नै छ
इमानले जगाएर स्वाभिमान ज्योति
यै ज्योतिमा टल्काउँछौँ प्रगतिको मोति

शोषणको सतपत्रे झार उखेलेर
सर्वहित निम्ति आफ्नो हित पखालेर
एक एक अर्पिइन्छौँ अनेकको निम्ति
कर्मवीर हामी बढ्छौँ आमा ! तिम्रै निम्ति
नजरका नानीपिच्छे इमानको कान्ति
यै कान्तिमा चम्किनेछ भोलि विश्वशान्ति

 

साँचेर राख सम्झना
रामबहादुर राई (मलेसिया)

प्रदेश पालने लाहुरे दाइ साँचेर राख सम्झना
रुवाझैँ सेतो हिमालको देख्छौ के कहिले सपना ?

घाम पानीको छायामा इन्द्रेणी कता झुल्दो हो
मनको वह लुकाई हाँसोमा कसरी भुल्दो हो
चिथ्रा चिथ्रा टोपीमा मकैको ठेट्ना बोकेर
मुलाको साग र खोर्सानी महीको घुट्को पिएर
कोदाली उठाई रातोदिन माटोलाई माया गरेको
कसरी भुल्न सक्ने दाइ ! आँतको पसीना पुछेको

नभुलिदिऊँ लाहुरे भई त्यही माटोको सम्झना
रुवाझैँ सेतो हिमालको देखौँला हामी सपना

अघि नेपालको आँगनमा कन्धनी तिमीले बाँधेथ्यौ
आमाको छातीमा मुख लुकाई दूध पनि त्यहीँ मागेथ्यौँ
मकैको च्याँख्ला निफनी अलग्गै पीठो ओडाल्यौ
सपना सजाई कतिका गुन्द्रुकको भुल्का उमाल्यौ
अँगेनाको मुखभरि चिरुवा दाउरा जोतेको
कर्मलाई आज दोष नदेऊ आफूले यस्तै रोजेको

बन्धन नै रोजी बाँधियौँ बिरानो नहोस् सम्झना
रुवाझैँ सेतो हिमालको देखौँला हामी सपना

शिरलाई हाम्रो शृंगार्ने एउटा मुकुट आफ्नो छ
सबैले बोल्ने एक भाषा पोशाक पहिरन आफ्नो छ
युग युगको गुनासो बोकेको इतिहास आफ्नो छ
आफ्नै रीति रिवाजमा टीका र दक्षिणा आफ्नो छ
गोर्खालीको घरबारी दूबो मौले झैँ मौलेको
छैन नि यसको साँध कहीँ कुना कोप्चा उब्रेको

अँगालेर उठौँ दाइ ! बाँडेर लैजाऊँ सम्झना
रुवाझैँ सेतो हिमालको देखौँला हामी सपना

चौबन्दीको चोलीमा तुनाले फूल बाँधेर
मुटु नै चुँडाई लाँदथ्यो मुसुक्क मुस्काइदिए
रम रम बजाउँदा बिनायो तरतर आँसु पोखिन्थ्यो
त्यसैलाई सँगाली राखेमा किन पो खुशी खोसिन्थ्यो
हामीले राख्न जानेनौँ यो मन आफ्नै आमाको
आमालाई रुवाई पुछ्दैछौँ आँसु यो कान्छी आमाको

विदेश पसी नभुलौँ है स्वर्गझैँ स्वदेश सम्झना
रुवाझैँ सेतो हिमालको देखौँला हामी सपना

पञ्चमीको जूनजस्तो खुर्पे र हँसिया उधाई
हाँसी खेली जंगललाई स्वर्ग जस्तै सजाई
बैरागी चैतको हुरीले उडाई लान नसक्ने
साउन भदौको झरीले बगाई लान नसक्ने
त्यस्तो माया बिर्सेर खोला र डाँडा तरेको
लाग्छ होला पाप लौ ती प्राणदायिनी माटोको

प्रवासमा नभुलौँ है सँगाली राखौँ सम्झना
रुवाझैँ सेतो हिमालको देखौँला हामी सपना