(यस शृङ्खलामा शास्त्रीय छन्दका कविहरू डा. रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल, मनोज भण्डारी, मेनुका चापागाईँ र सुदेश सत्यालका एक श्लोकमा संरचित कविता रहेका छन् । पछिल्लो समयमा छन्दकवितामा नवीनता र मौलिकताको अवस्था के-कस्तो छ ? कि यो परम्पराकै पुनरावृत्तिमा सीमित छ ? आजका छन्दकविताको विषय र शिल्पमा निजीपन चाहिँ के हो ? थुप्रै प्रश्नहरू छन् । यी प्रश्नमा बहस गर्नु आवश्यक छ । तपाईँका प्रतिक्रिया र विचार पनि दिनुहोला । – डा. विप्लव ढकाल)

 

१. दुःखहरूको मृत्यु

(सिजन श्रेष्ठ)

मन धेरै दुखेपछि लाग्यो—
ठीक ठाउँमा छैनन्
अङ्गहरू शरीरमा !

त्यसपछि—
टाउकोलाई मोडेर हात बनाएँ
हातलाई बनाएँ मुटु
मुटुलाई बनाएँ पैताला
र, सबै दुःखहरूलाई
कुल्चिदिएँ !

 

२. आयु

(असीम सागर)

कुनै शान्त तलाउको छेउमा बसेर
हेर्नू ऐना

अनि चलाउनू पानी
फेरि हेर्नू ऐना

रातो, पहेँलो, नीलो, कालो
या अरू कुनै एक थोपा रङ झार्नू
र हेर्नू फेरि ऐना,
अनि सम्झनू— जीवन !

अझै हराएन भने सकसक
गर्न मन लाग्यो चकचक
धानको बोट जत्रै/जस्तै
मसिनु पाइप लिनू
एक छेउ डुबाएर पानीमा
अर्को छेउबाट फुक मार्नू
त्यहाँ उठ्नेछन् असङ्ख्य पानीका फोका
र हराउनेछन् जब एकाएक,
अनि सम्झनू— आयु !

३. प्रकृति

(सुनिता गिरी)

लुगा फेरिरहन्छे
शृङ्गार गरिरहन्छे
दिनभरि घामले नुहाउँछे
रातभरि जूनसित जिस्किन्छे
फूलको गहना
बतासको पछ्यौरी
नदीको पटुकी
हिमालको शिर !

प्रकृति !
तिमीबाट मैले
बाँच्नुको सौन्दर्य
प्राप्त गरेकी छु ।

४. अभागी

(सोझो गाउँले)

हिमालको सूर्योदय देखेर
जो दिनभरि रमाउन सक्दैन
समुद्रको सूर्यास्त हेरेर
जो आनन्दले निदाउन सक्दैन
त्यो जति अभागी मानिस
दुनियाँमा कोही हुँदैन !

 

५. दूरी

(रूपेश श्रेष्ठ)

तिमी र म बीचमा
जम्मा एकै सासको दूरी छ
जब मेटिनेछ यो दूरी
जब मेटिनेछ यो दूरी
तिमी म हुनेछौ
म तिमी हुनेछु

सही र गलतबीचमा पनि
ठीक एकै सासको मात्रै दूरी छ ।