जेठ, उसैपनि उखर्माउलो,किसानका  हृदयलाई शितल तुल्याउने फुस्रा बादल आकाशैभरि देखिएता पनि त्यो दिन, घामले बादलका पत्रपत्र क्षतविक्षत बनाउँदै, रुखबिरुवाका पालुवामाथि आफ्नो सुखानुभूति प्रिय, पोखिरहेथ्यो । काभ्रोको त्यो तन्नेरी रुख नजिक पुगी, अग्लो आलीमाथि  टेकेर तनक्क छाती तन्काउँदै, डिल मुनिका तरेली फाँटमाथि मैले, बडो गाम्भीर्यका साथ आँखा दौडाएको थिएँ । महिनाको यतिखेरसम्म त यी फाँटले सम्पूर्ण रुपमा, मेलो मेसो पाइसक्नु पर्ने थियो  । निर्जन र एकलास, अनि अत्याशमय बिम्बको यस्तो  खाले प्रकृति मैले आजसम्म देखेको थिइनँ। साँच्चै, सुन्दर मुखमण्डल भएकी तरुणीले, आफ्नो शिरमाथि को केशविन्यासमा किञ्चित ध्यान नदिएर असरल्ल छोडेजस्तै, बैरागले तम्तम्याइलो बनाएको थियो मेरो मुटु।

मलाई थाहा थियो, ती परिश्रमी कृषकहरुलाई यतिखेर कहीँ भेटिन्थ्यो भने, यिनै विशाल फाँटका गरातिर भेटिन्थ्यो । हो, यतै कतै फ़गटाहरुमाथि ती निहुरिरहेका हुने थिए अथवा यतै कतै कान्ला छेउछाउ, ती सुस्ताइरहेका हुने थिए । तर यतिखेर दृश्य बिल्कुल अलग थियो । वर्षभरि मानो मुरीको भरथेग गरिदिने यी लमतन्ने फाँटहरु, जेठको मध्य घाममुनि दुरुस्त काकाकुल देखिन्थे । अनि कत्तै  देखिँदैन थिए, यिनलाई खनी खोस्री जीवन्त तुल्याउने, परिश्रमी हात पाखुरी बोकेका, ती अद्भूत कृषकहरु, जसका बुतामा सिंचित भएर यस धर्तीले, पृथिवी हुनुको घमण्ड गर्थेन ।

काभ्रोको त्यो शितल छायामुनि केहीबेर उभिएर मैले बाटो मोडेको थिए। अवस्था, त्यो विशाल, लमतन्ने फाँटको मात्र  थिएन, मेरो आखाँअघि उठ्दो, त्यो मनवबस्ती उपर पनि विडम्बनाको विडम्बना उही भयले जरो गाडेको प्रस्ट देखिन्थ्यो । हो, उसैगरी निर्जन र विराना थिए गाउँ, बस्ती अनि सहरहरु । देउता  हराएको मन्दिरजस्तै, भिड हराएको मेलाजस्तै । बाटोको कुना काप्चा, दुई चार दुखियारी मजदुरीका  बाहेक, मेरो आखाँले अर्को कुनै वर्गलाई, झुक्किएर पनि भेटेको थिएन । अनायासै मैले आफूलाई  पसिनामा चुर्लुम्म डुबेको पाएको थिएँ । पैतालाको पानी मरेर आएजस्तै । म जहाँको त्यहीँ रोकिएको थिएँ । अघिपछि सदैब सवारीको डर रहने मुख्य सडक, यतिखेर सम्पूर्ण रुपमा खाली र च्याउतो देखिन्थ्यो । घामको रापले बाफ़िएको अलकत्रे सडकको त्यो तापले थियो,  मलाई असिनपसिन बनाएको। हातमा आइपुगेको रुमालले पसिनाको चिप्लो पुछ्दै, एकफेर पुनः म अघि बढेको थिएँ ।

तैजस शर्मा

विरक्तिएर हिँडेको बटुवासरह, चुरचुर, चौरास्तामा आइपुगेको थिएँ म । त्यसै क्षण मेरो चेत खुलेको थियो । पक्कै, हरेक मन्चनको आफ्नो परिधि हुने थियो, यहाँको टोलबासीले निकाल्ने ‘मिथकीय ‘ नाटक एवं जात्राहरुजस्तै । बादल जतिसुकै घनिभूत किन नहोस्, पुञ्जका ती लप्काहरु छोप्ने सामर्थ्य कहाँ राख्न सक्थ्यो  र ?  मैले आफ्नो विक्षत छातीमा अवरोधका हजारौँ बाँध किन नबाँधौँ, अन्तस्करणका ज्वारभाटले अन्तत: कदाचित रोक्न सक्दैन थियो । तब त,  सङ्कक्रमणको यो चुलिँदो पर्खाल पनि भत्काइदिने उत्प्रेरणा, मभित्र उफानसरह उठेर आएको थियो । परिणाम, समाजको परहेज एवं  कानुनी बन्देज समेतको किञ्चित वास्ता नगरी सहसा, एउटा  आँटको आँधी बोकेर, हो, नगरको मुख्य सडकलाई समेत पछि छोड्दै, अनि म, सुकिला घरहरुको अग्र भागमा आइपुगिसकेको थिएँ ।

फलामको ठूलो ढोका अर्ध खुलै थियो । मेरो सोच उतिन्खेरै परिवर्तन उन्मुख भएथ्यो,  ‘तेस्तो के हतारो आइपरेको हुन सक्थ्यो ?’  आँगनमा पाइलो राख्ने बित्तिक्कै सधैँझैँ मेरो आँखा, दोस्रो तल्लाको सेतो झ्यालतर्फ पुगेको थियो, तर अचम्म, तिन्का पर्दासमेत खुलेको थिएनन् । वगन-विलासको लहरोले पिंढीमा उही परिचित बास छोडिरहेको थियो । मेरो पाइला अभ्यस्त, घरमालिक सरह अगाडि बढेको थियो । पिँढीमा, उही स्थानमा, यथावत्, चोयाको त्यो ढल्के कुर्सी, दुई मत थिएन, मेरै प्रतीक्षामा रहेको थियो  ।

गुनकेसरी र गुलबहारको बास्नामा कुनै कमी थिएन, न त थियो तिन्का आकर्षणमा रत्ति कमजोरी । गमलाको बाह्रमासे  फूलहरु  र आँगन छेउको दुबोहरुमा भर्खर पानि दिएजस्तो लाग्दथ्यो । हरेक पल्ट, जब म त्यस घरको प्रांगणमा आइपुग्थे, मलाई लाग्दथ्यो, यी फूलहरु मलाई तनमनका साथ स्वागत गर्दथे । जब म ती सुकिला फूलहरुसित उभिएरै साउती गरिरहेको हुने थिए, अनि मलाई महसुस गराउँदै एक जोडी अंकमाल सुटुक्क मेरो पिठ्युँमा बेरिन आइपुग्ने थिए, पछाडिबाट । म फर्कनुअगावै अनि त्यो ‘चन्द्रवदन’ मुहार मेरो सामुन्ने आइपुग्ने थियो । बिस्तारै मेरो रक्त सञ्चार गरम हुन थाल्नेथियो, सम्पूर्ण मेरा अवयव अनि यन्त्र समान, अधिनमा पर्दै जाने  थिए । म, एउटा निर्दोष बालकसमान डोहोरिँदै जाने थिए, ती सुडौल हातका इशारामा, अनि बसाईने थिए, जोडी कुर्सीको, उही एक छेउमा ।

तर यस पटक के हुँदै थियो, म बडो आतुरीका साथ तुल्बुलाउन थालेको थिए । कतै समयभन्दा अघि पो आइपुगेको थिए कि ? तर, होइन, उतिन्खेरै निहुरिएको मेरो दृष्टिले, नाडीमा बाँधेको समयको सही एकाई पढेको थियो । संयम बाँध्न गाह्रो हुँदैथियो र पनि मैले संयम अपनाएको थिए । मैले आफूलाई तत्काल सम्झाएको थिएँ, मुख्य ढोका पनि त खुलै थियो, पक्कै, काम विशेष परेको हुनु पर्दथ्यो । अनि म आफैँ बढेको थिएँ, पिँढीको ती जोडी कुर्सीतर्फ ।

अँ, बडो करुणाको साथ तिनले मलाई कुर्सीमा बसाइदिने थिइन । म उनका ती पिउरी समान कोमल अनि  चाँदनी समान सुकिला हातहरुलाई आफ्नो हातहरुमा लिएर छुटाउन नचाहेजस्तै गर्ने थिए । उनि, बतासभन्दा पनि हलुको शित मेरो उपर झुक्ने थिइन् र हलुको भन्दा पनि हलुको शित मेरो कानमा सुसाउने थिइन्, ‘बस, आइहाले ।’ उनी गएपछि व्यग्र समान म अंकका उल्टो छेउबाट गणना सुरु गर्न थाल्थेँ । मलाई, आँगनका ती फूलहरुदेखि बहुत लाज लागेर आउने थियो ।

गन्तीले बिट पनि मार्न भ्याउने थिएन, मैले तिनको सुवासलाई झनै नजिक पाइसक्ने थिए । हो, मेरो सम्मुख आएर उनी बसी मात्र सक्ने  थिइनन्, किस्तीमा, आफ्ना र मेरो निम्ति ल्याएकी पेय पदार्थ अघि इसारा गर्दै अनि, मलाई  रोज्नसमेत लगाउने थिइनँ । म, निर्धक्क संगले सुन्तलाको रस भएको गिलास समाउने थिए । त्यतिखेर, थोरै बेरको  निमित्त उनका आखाँले तर्के जस्तैगरी मलाई हेर्ने थिए । मैले पनि तिनलाई तिनकै हेराइले  उल्य्याउने थिए ।

”दिवेश, मलाई तिम्रा घत नलाग्ने कुनै बातहरु छैनन् तर जब तिमी पिउनको निम्ति, सुन्तलाको उही अमिलो रस माग्छौ, अनि मात्र मलाई…’ईयु नो इट्स टोटल्ली बोरिङ’, थाहा छ नि, सम्मूर्ण संसार कतै बेसुरो हुँदै त जानेछैन, किन दिवेश ?”

म, बस्, उही  परिचित थेचरो मुस्कान फ्याँकी नियालिरहने थिए । त्यतिखेरसम्म तिनले, गुलाबी रङले झैँ  मन्त्रले मोहोरिएका आफ्नो ओठ अलिकत खोली ‘ब्लसम हिल’को पहिलो घुट्कोले आफ्नो प्यास मेटाइसक्ने थिइन । म वशिभूतमा परेझैँ आफ्नो काबु हराउँदै जाने थिए । ‘वाइनको’ रङले झनै गाढा बनाइदिने थिए उनको मुग्ध ओठहरुलाई । त्यसपछि, एक्कासि, बादल फाटेजस्तै  खुलेर उनी मतर्फ ढल्कन आउने  थिइनँ ।  हत्केलाहरु मेरो काखमाथि आइपुग्ने  थिए, केशराशी, मेरो मुहार वरिपरि जेलिने थिए । म भित्रभित्रै फड्फडाउन थाल्ने थिए । मेरो नाथ्रीउपर उनको वाश्ले तपकझैँ लगाउने थियो । ‘वाइनको’ उनको तातो गन्ध, मैले ठान्ने थिएँ, म आफैँले पिएर पछारिएको  छु । अनि बल्ल उनी खित्खिताउने थिइन्, एउटा उन्मुक्त हाँसो, जसको प्रत्यक्ष साँच्ची, म लगायत बगैँचाका सम्पूर्ण पुष्प कलेवर हुने थिए ।

म एकपटक फेरि, अधीर बालखले, झैँ चल्मलाउन थालेको थिए । एकपटक फेरि बगैँचाको कुना कुनामा मेरो दृष्टि दौडिएको  थियो। भएभरको एकाग्रतालाई  मैले घरभित्र कुनै आवाज सुन्न खिचेको थिए । निकैबेरसम्म मैले घरभित्र कान थापेको थिए । अन्तमा फेरि एकपटक, मुख्य ढोकाको वस्तुस्थिति सम्झेर, मैले आफूलाई मनाएको थिए ।

”सियोन, होत्त नि, एकै रंगले भन्दा पनि, हजारौ रंगका मिश्रणले, हेर त, यी सौन्दर्यलाई, अनि यसरी नै बाँधी राख्छन् नि, मजबुत, सुंगठित, वर्षौंसम्म ।”

मैले यति भने सँगै तिनी, प्राणमा नयाँ संचार भएजस्तै गरी उठ्ने थिइन् । पिँढीमा झुण्ड्याइएका गमलाका नजिक पुगेर, अबोध बालिकाले झैँ उत्सुकतापूर्वक हेर्न थाल्ने थिइन् । ती गमला प्रत्योक्मा ‘स्ट्रबेरी’ उमारिएको हुने थियो । तिन्ले, प्रत्येक गमलाको अघि उभिएर, गमलाभित्रका बोटहरुलाई, मिहिन निरीक्षण गर्ने थिइन् । खुद आफ्नो औँलाहरुले, ढकमक्क फलेका, प्रत्येक बोटका ‘स्ट्रबेरीहरुलाई’ स्पर्श गर्दै ।

”हेर त दिवेश, आज भने लौ, मैले  मेरो ‘क्रिम’मा  मज्जाले ‘स्ट्रबेरीको ‘मिक्स’ गर्न पाउने भए ।”

बालसखाजस्तै फुरुङ्ग हुने थिइन्, उनी । त्यसपछि, बडो जतनसँग, हातभर ‘स्ट्रबेरी’ टिप्ने थिइन् । म, आँखा नझिम्काई हेरिरहने थिएँ, त्यो लाडप्यारमा, एक्कासि उनी खै कसोरी बदलिने थिइन् ?

‘के, अघि खित्खिताउने, उन्मुक्त तरुणी, उही हुन् सक्लिन् त ?” अनि मैले आफैँलाई रनभुल्लमा पुर्याउने  थिएँ ।

मुठ्ठीभर स्ट्रबेरी लिएर उनी फेरि मेरै काखमा आइबस्ने थिइन् । मैले सोच्ने थिएँ, दया र करुणाको उनी सांख्य, रक्षिता हुँदिहुन्, जो स्नेहले ओतप्रोत भएर मलाई, ती ताजा स्ट्रबेरी खुवाउँदै थिइन् । म मुर्छा परिसक्ने थिएँ, त्यो उनको मर्म सामुन्ने । अनि, थाहा हुने थिएन, कति बेरसम्म हामी, एक अर्कोले टोकेको स्ट्रबेरी, एक अर्कोलाई खुवाई बसी राख्ने थियौँ, बिल्कुलै, कालको प्रत्योक इकाईलाई  इत्ति पनि मतलब नगरी, ढुक्ढुकीको चरम कुइनेटोमा पुगेर ।

‘तिनको आज बाहिर बेसी नै पो काम थियो कि ? यसरि, नत्र त तिन्ले मलाई कहिल्यै कुराएकी थिइनन्  ..’  म  निरन्तर,  फलामको मूलढोकातिरै नियाली बसेको थिएँ, उनको, आगमनको प्रतीक्षामा, बस्, मेरो छेउ उनको रित्तो कुर्सी थियो, जसमाथि मात्र मैले उनलाई कल्पी राखेको थिएँ । समग्रमा, हामी दुवै उनको न्यानो स्पर्शको पर्खाइमा थियौँ । फलामको मूलढोका, अझैसम्म पनि कसैको हातले ठेलेको थिएन । कता कता, उदिग्नताले अँचेट्न थालेजस्तै लाग्न थालेको थियो मलाई  । यति अबेरसम्म बाहिर,,,,,संक्रमण र महामारीको यो त्रासदिमा ? संयम राख्दाराख्दै पनि अधीर अन्तस्करणले मलाई झिझोड्न थालेको थियो ।

” दिवेश, कसोरी बुझाउँछ होला नि, हृदयको छट्पटीलाई ति निर्जीव चित्रहरुले अनि, लेखिएका असंख्य ती, थिर शब्दहरुले, किन, मैले बुझ्न नसकेको होला नि ?” अनि उनीमा अनायासै विचलन आउने थियो । एकाएकै, मैले उनलाई संसारको सबैभन्दा दुःखी पाउने थिएँ । म आफैँ  धुन्मुनिदै, रन्थनिँदै, हात पाखुरी  बटार्न थाल्ने थिएँ ।

उनी उठेर फरक्क मोहोडिने थिइन् र पिँढीको अर्को छेउमा पुग्ने थिइन् । उनका शून्य आखाँहरु, दुरआकाश मुनिको  बेसमान थुम्काहरुमाथि अटल, बज्रन पुग्ने थिए । म भित्रको असह्य झन् बढ्न थाल्ने थियो । जब सहनभन्दा बाहिर पुग्ने थिएँ म, अनि छेउ पुगेर उनको, एउटा अनुशासित अंकमालको जनाउ उनलाई बिस्तारै दिने थिएँ । मेरो छातीमा अनि उनले त्यतिखेर, असंख्य अश्रुको  शालीन बिलौना पोख्ने थिइन् । फेरि एकपटक हामी उसरी नै रहने थियौँ, थाहा पटक्कै हुने थिएन, कति अबेरसम्म ?

”भैगो दिवेश, बरु हिँड, उही तिम्रो रुचिको संसारतर्फ जाउँ, कमसेकम, मेरो भावनासँग अन्ध मौन यी सारहरु, तिम्रो सामीप्य बोल्दछन्, तिम्रो स्पर्शमा अनि तिम्रो दृष्टिमा ब्युँझनेछन्, जाउँ हिँड दिवेश ।” अनि म उनको कसिलो पक्कड्मा डोहोरिँदै जाने थिएँ, एउटा यस्तो खोपीभित्र, जहाँका भित्ताहरुमा असंख्य चित्रहरु झुण्डिएका हुने थिए र, दराज अनि रयाकहरु, प्राचीनतम अनि प्राचीन कविताका ठेलीहरुले भरिएको हुने थियो ।

त्यो एकाङ्गी अनि रहस्यमय खोपीभित्र, उनले, ती चित्रको  छेउ मलाई पुर्याउने थिइन्, आफ्नो हत्केला बीचबाट मेरो हत्केलालाई ,एकपल पनि छुट्न अवसर नदिई । उनी भन्दै जाने थिइन्, कि उनको पतिले कुन देशबाट अनि कुन मितिमा ती चित्रहरु किनेका थिए। यति मात्र होइन, विश्वप्रसिद्ध ती कलाकारको चित्रलाई तिनको पतिले कति मूल्यसम्म हालेका थिए, उनि निर्धक्क, बताउँदै जाने थिइन् । अनि फेरि पालो हुन्थ्यो, कविताका ती आलेखहरुको । हो, उनलाई  प्रत्योक कविताको हरफ थाहा हुने थियो र, प्रत्योक कविको जीवनी । अझ , तिनले बडो कुशलतापूर्वक मलाई भन्दै जाने थिइन्, कविज्युहरुबाट ती अमर काव्यहरू  लेखिनुभन्दा अघि, उठेका भावोउत्तेजक संवेगहरुमा वशिभूत भएर कविज्युहरुले के केसम्म  गरेका थिएनन् । यसरी नै, उनको मुखारबिन्दबाट निस्किरहने थिए, ताज्जुबलाग्दा कथाहरु, जसभित्र म, बस्, विमूढ हुँदै जाने थिएँ ।

अनि फेरि, अपरान्हको उही समय, कर्णेल साहेबले  खोपीको  ढोका उघार्ने थिए । कर्णेल साहेब अर्थात् उनका पति, बडो अदबका साथ, छाती तन्काएर तिनले मेरो कुशलक्षेम सोध्ने थिए । मैले  पनि सतर्कतापूर्वक, विनयै भावले तिनलाई सम्मान टक्र्याउने थिएँ । कर्णेल साहेबलाई निर्धक्क बात मार्ने मेरो बानीले प्रभावित तुल्याउने थियो । उनि, आराम कुर्सीमा अर्ध ढल्को परेर, अंग्रेजी ‘पाएप’मा ‘क्युबियन’ सुर्ती भर्दै, गहकिलो आवाजमा आफ्नो विश्व भ्रमणको कथा सुनाउन थाल्ने थिए ।

अवश्य, मेरो ध्यान, कर्णेल साहेबको कुरामा तन्मय हुनेथियो तर, हो, केवल उनलाई थाहा हुने थियो, मेरो आँखाले  मात्र उन्लाई नै, त्यो खोपीभित्र कतै खोजिरहने थियो । कर्णेल साहेब र मेरो बीचको वार्तालापले सुखद् क्षण लिएर अगाडि बढिरहेको बखत, मलाई महसुस हुन थाल्ने थियो, उनले भने एउटा लामो सर्को पीडा खेप्दै गैरहेको हुने थिइन्, जसको, प्रत्यक्षदर्शी, मेरो यी चोर आँखा, रहने  थिए । कर्णेल साहेबको अघि भने, हामी मात्र पात्र बनिरहने थियौँ, सधैँको जसो । कर्णेल साहेब, आफूले बटुलेका तस्बिर र काव्यको लामा लामा फेहेरिहस्त सुनाउन थाल्ने थिए, हामी भने, भावनाको त्यही पुरानो संवेगलाई, निःशब्द साटिरहने थियौँ।

जब बातचितको तादात्मयताले खोपीको हावालाई बोझिलो बनाउँदै लैजान थाल्ने थियो, उनी अप्रत्यासित उठेर, बाहिर निक्लने थिइन्, एउटा हतासिँदोझैँ वेग लिएर । त्यसपछि मलाई कर्णेल साहेबको रहस्यमय अध्यायहरुले छुन छाड्ने थिए । म टोलाउन थाल्ने थिएँ, अन्योलग्रस्त बादलको भित्र, अभिशप्त भएर एकोहोरो बगिरहेजस्तै । म बिट मार्ने  चाहना राखेर कर्णेल साहेबलाई मानसिक छट्पटी देखाउन थाल्ने थिए । तर हामीबीच सुर्तीको बाक्लो धुँवा व्याप्त भैसक्ने थियो । अन्तत: कुरोको चुरो समातेर कर्णेल साहेबको कथ्यलाई मैले  बिटसम्म पुर्याउने थिएँ । अनि, एउटा भद्र बिदाइको अभिवादन प्रस्तुत गर्दै, कर्णेल साहेबको समीपबाट मैले आफूलाई छुटकारा दिलाउने थिएँ ।

खोपीबाट ठूलो बैठकमा आइपुग्दासम्म म सँगसँगै निस्किएको सुर्तीको धुँवाले  बैठकको हावालाई समेत सुर्तीजन्य बनाइसक्ने थियो। अनि मेरो कानमा ठोक्किने थियो, सियोनको उही, परिचित आवाज । उनी, बैठक कोठाको माथिल्लो मटानमा  उभिराखेकी हुने थिइन् । जसोरी उनको आँखामा छचल्किएको आसुँलाई मैले स्पस्ट देखिराख्ने थिएँ, उसरी नै, मभित्रको, निको नभएको एउटा घाउलाई उनले पनि,पढिराख्ने थिइन् । हामीबीच यसरी मौन संवाद हुन थाल्ने थियो, मानौँ, हामीले छेडेको त्यो प्रेमिल युद्धलाई, अब बिस्तारै हामी, स्खलनतर्फ उन्मुख गराउँदै हुनेथियौँ । निकै बेर…..।

”लौ ..फेरि कहिल्यै बाटो मोड्नु होला दिवेश बाबु ….? ”

”…………” म नाजवाफ टाउको मोड्ने थिए ।

” आउँदै गरेस्नी…. यो घरलाई पनि, आफ्नै सम्झिएर ….कि कतै हामीले, चित दुखाउने काम,…गरेका त छैनौँ नि… !”

अनि मैले मुटुभरि रोदन र गहभरि आँसु लिएर आफ्नो पाइलो अघि बढाउने थिएँ । मलाई फर्केर एकपटक फेरि हेर्नुपर्ने आवश्यक थिएन, मलाई थाहा  हुने थियो, ‘ब्लसम हिल ‘को त्यो सिंगो बोतल’, उनको हातमा आइपुगिसकेको हुने थियो ।

झिल्का राम्रैसँग चड्किएको थियो, म नराम्रोसँग तर्सिएँ । मैले आफू छेवैको त्यो रित्तो कुर्सीलाई निकै बेरसम्म नियालिरहेँ । अचानक, पानीको मोटा मोटा थोपाले ‘स्ट्रबेरी’का गमलामाथि प्रहार गर्न थालेको थियो । मैले त्यो रित्तो घरलाई शिघ्र छोड्नु पर्ने थियो  । एक अन्तिम पटक मैले बगैँचाको फूलहरुलाई नियालेको थिएँ, पश्चात, मैले कुर्सी छोडेको थिएँ ।

……

रातभर झरीको स्याँठले हानिरह्यो । श्वास फेर्न समस्या भएजस्तै घाँटीतिर ख्यार्र ख्यार्र भैरह्यो । स्वादले छोडेजस्तै, तागतले छोडेजस्तै, सम्पूर्ण शरीर चहराइरह्यो । बिहान हुनेबित्तिकै कर्णेल साहेबको माली ढोकामा आइपुगेको थियो । बिना शब्द उसले एउटा खामबन्दी मेरो हातमा हालिदिएको थियो । ऊ फर्कनेबित्तिकै अर्को एउटा पत्र हुलाकीमार्फत मेरो ढोकामा आइपुगेको थियो । दोस्रो कुनै पनि सोच नराखीकनै उत्तिनखेरै मैले पहिलो पत्र खोलेको थिएँ –

” प्रिय दिवेश, सायद तिमि आउँदै थियौ, तब त मैले मुख्य ढोका खुल्लै छाडेकी थिएँ र, कुर्सीहरुलाई,यथावत् पिँढीमा राखेकी  थिएँ ।….. मैले कहिल्यै ती मूर्त अमूर्त चित्रहरुलाई बुझ्न सकिनँ, तर, तिमीले नै सधैँ भन्ने गर्यौ ‘सियोन, ती मात्र चित्रहरु हुन्, तर,  तिनको जीवन्त रङ मात्र तिमी हौ, हो, बुझ्यौ नि, तिमी नभैदिएको भए… के थाहा, ती चित्रहरु पनि हुने थिए भनेर ? मैले कहिल्यै ती काव्यहरूका लामा लामा अन्तराहरुलाई बुझिनँ तर, तिमीले नै हरपल बुझाइरह्यौ, सियोन, तिमी नै त यी अंतराहरुको मिठास हौ, के थाहा, तिमी नभैदिएको भए, यी अन्तराहरुले लयमा उनिएर संगीतमा जीवन्त पाउने थिएँ भनेर ?

तर, यो कस्तो अभागीपना दिवेश, तिर्खाले भौतारिएको एउटा बटुवालाई कमसेकम मैले पानीसमेत सोध्नु पर्ने थिएन र ? हो दिवेश, मबाट जन्म भरकै अनर्थ पाप भयो ।

हो, दिवेश, अस्पतालको  एकाङ्गी कोठाबाट म यो पत्र तिमीलाई लेखिरहेकी छु । म छिन छिनमै क्षीण हुँदै गैरहेको छु । एउटा अन्तिम प्रयास ममाथि गरिने जनाउ भर्खरै मला’ दिएको छ । कर्णेल साहेबले मलाई छाडी जानु भैसक्यो, त्यो पनि मलाई बताइसकिएको छ । तर मेरो आँखामा पट्टक्कै आँशु छैन दिवेश ….।

परिचारिकाले मलाई अब रोकिनुस् भनिसकेकी छिन । मलाई इत्ति पनि थाहा छैन मैले ऐलेसम्म के लेखिरहेकी छु । अनि, हो , यो अन्त्यमा दिवेश, त्यो के अमूल्य हुन सक्थ्यो, तिम्रालागि, मेरो वशले कहिल्यै तिमीसँग वचन सोधेन, एउटा सानो ‘स्ट्रबेरी’को बोट पठाइदिएको छु, गमलासहित, विश्वास छ, ओइलिसकेको मेरो जीवनमा मिठो प्यार, यसले तिमीबाट पाउनेछ, सदा सर्वदा ।

तिम्रो अभागिनी सियोन ।”

…….

दोस्रो पत्र –

 

Government Of Nepal

Ministry of Health and Population

Department of Health services

National Public Health Laboratory

Teku,Ktahmandu

Name: Diwes Nepal Age: 31
Test Date: 2076-3-29 Ref By Doctor: Self
Provisional Diagnosis: Patient No: 1620

 

HAEMATOLOGY REPORT:

TEST:                                                  RESULT:                                                    NORMAL VALUE:

Total WBC COunt 5500 4000-11000/cumm
Neutrophils 68 40-70%
Lymphocytes 30 20-35%
Eosinophils 02 2-4%
Monocytes 00 2-6%
Basophils 00 0-1%
Heamoglobin 8.2 12-16%
Blood Grp and Rh Type ‘’A’’ Negative

 

मैले सम्पूर्ण रुपमा चेतना गुमाएको थिएँ । कुर्सीमा ढल्नु र मेरो मुख बाट छुट्नु एकै भएको थियो –

”हो नि सियोन , कसोरी सक्थे र एक्लै छोड्न म तिमीलाई, पछ्याउदै तिमीलाई नै,  मात्र तिमीलाई नै, आउँदैछु म पनि,  प्राण प्यारी सियोन  ।”