लेखक महासम्मेलनको निम्तो मलाई मीठो लाग्यो । सम्मिलन र सहयोगको आग्रह गरेर श्री राममणि आ.दी.जीले विशेष चिठ्ठी पनि पठाउनुभएकोले मिठास झन् बढेको थियो । त्यसैले ढलमलिरहेको स्वास्थ्यको कारण कमजोरीले पछाडि तानिरहे तापनि आ.दी.जीको आग्रहले मलाई हिँड्ने हौसला दिइरहेको थियो । आफ्नो घरबाट आ.दी.जीको घर झन्डै एक कोसको टाढा छ । आखिर श्री ‘व्यथित’ जीको साथ सकी–नसकी उचित समयमा पुगेर सन्तुष्ट भइहालें ।

राममणि आचार्य दीक्षित पुग्नासाथ स्वागतको रुपमा आ.दी.जीले सस्नेह दुई अँगालो दिनुभयो । मेरो पुड्को, निर्धो र करङ कटुवा खिप्टे आङमाथि उहाँको भीमसेनी शरीर लादिँदा पनि अँगालोको रुपमा भएको हुनाले मलाई कति गह्रौं अनुभव भएन । स्वागत–सत्कार–स्नेह भनेको बस्तु साँच्चि नै मीठो रहेछ । अँगालो नत्र गह्रौं पनि हुने थिएन, म पुड्को र उहाँ भीमसेन जस्ता मोटा र अग्लो हुनुभएकोले मलाई अँगाल्दा नियन्त्रणमा राख्न अलि सक्नुभएन, त्यसैले अँगालो जस्तो प्यारो पदार्थले पनि म अलि थिचिएँ, र सास्तिएँ ।

सभास्थल निकै रवाफिलो देखिन्थ्यो । मञ्च पनि खुबै शानदार थियो । सामन्ती अँगालोमा हुर्केका र राजसी भर्‍याङ उक्लिरहेका मानिस आफ्ना काम–कारबाइमा रौनक चढाउन स्वभावैसित जान्दछन् । त्यसैले रोवरवाफ पुगेर फुर्तिलो भएकोमा सभास्थलको म बढ्ता तारीफ नगरुँ । वास्तवमा सभा उति महत्वपूर्ण नभएता पनि सभास्थल र मञ्च आदि वाह्य पृष्ठभूमिको सजावट त वर्णननीय नै छ । हुन पनि सभाको वास्तविक उद्देश्य सभाको कुनै महत्वपूर्ण आदान–प्रदान वा छलफल वा निष्कर्षको निम्ति पनि त होइन, आफूले साहित्यको उत्थान गरेको पचास वर्ष भइसकेको र त्यो पचास वर्षलाई आफूले गरेको कामको रजत–जयन्ती मानी त्यसभित्र आफूले गरेको सेवा सबैमा विदित गराउनु हो ।

महासम्मेलनमा देवकोटाजी बाहेक प्रायः गन्यमान्य कवि लेखक सबै सम्मिलित हुनुहुन्थ्यो । लेखकहरूको अतिरिक्त माननीय प्रधानमन्त्री र अरू पनि धेरै प्रतिष्ठित र महा मानिसहरू पनि उपस्थित हुनुहुन्थ्यो । सभा हुनुभन्दा अगि लावा, फूल, अबीरले सबै अभ्यागतलाई पूजा गरी खुब स्वागत गर्नुभो । त्यसमा पचन्नीहरु पनि राखिएका थिए । नेपालमा भएका आजसम्मका कुनै सम्मेलनमा लेखकहरुले त्यति पूजा र स्वागत कहिल्यै पाएका होओइनन् । अनि सभा शुरु हुनलाग्यो । सभापतिको आसन माननीय प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई ग्रहण गर्न राममणिजीले अनुरोध गर्नुभो । अरु धेरै योग्यता र प्रतिष्ठाको साथसाथै उहाँ ब्राह्मणमा पनि शुद्ध ब्राह्मण हुनुभएकोले मातृकाजीलाई रोज्नुभएको रहेछ । सभापतित्वका प्रस्तावमा यही वाक्य थियो । यही यहाँ वाक्य थियो । तर राममणिजीको दाँजोमा मातृकाजी पनि शुद्ध ब्राह्मण हुनु होओइन भन्ने मलाई विश्वास छ । त्यसैले शुद्ध ब्राह्मणको नातामा आफै सभापति पनि बन्नुभएको भए सभा झन् चोखो हुने थियो । यस्तो बिटुलो संसारमा अझ पनि शुद्ध ब्राह्मण बाँकी रहेकोले नै संसार अडिरहेको हो कि कुन्नि !

सभापतिको आसनबाट मातृकाजीले बोल्नुभएको वक्तव्य सुनेर लेखकहरु सन्तुष्ट भएको देखें । किनभने लेखकहरुले योजना दिएमा नेपाली भाषा, साहित्य र लेखकहरुको राम्रो कदर गर्ने आश्वासन दिइएको थियो । आफ्नो भनाइमा मातृकाजी बाँचिरहनुहोला भन्ने म आशा गर्दछु ।

मैले सम्झें, शायद फलफूलमा पनि भेदभाव रहेको होला । अर्काको भागतिर आँखा दौडाउन पनि मलाई लाज लाग्यो, आफुलाई सबै सरह बराबर गरिएको होला भन्ने विश्वास केही गरे पनि भएन । नखाईकन फ्याँकिदिनु पनि मैले भद्दा अशिष्टता देखें । वास्तवमा फलफूलको वितरणमा पनि भेदभाव राखिएकै रहेछ ।

सभापतिजीको भाषणपछि सभाका संयोजक सर्वश्री राममणिजी, कविशिरोमणि लेखनाथजी, पं. मुरलीजी आदिको वक्तव्य दिइनलागे । भाषणको चालमा नै पुस्तक वितरण गर्ने काम पनि चालु भइरहेको थियो । पुस्तकको चाङमा दुईथरीका पुस्तक थिए : एक अजिल्द र एक सजिल्द । मैले ठानेको थिएँ आज दुई किसिमका पुस्तकको दान पाउन लागें । तर पुस्तक बाँड्दा प्रत्येकलाई २/२ पुस्तक दिइएको देखिनँ । कसैलाई अजिल्द चाहिँ, कसैलाई सजिल्द चाहिँ एउटा–एउटा मात्र दिइयो । सबभन्दा पहिले श्री केदारकान ‘व्यथित’जीलाई दिइयो । कुन आधारको निम्नोच्च स्तरमा अजिल्द र सजिल्द पुस्तक बाँडिएका हुन्, त्यस बेला झट्टै मैले बुझ्न सकिनँ । सिद्धिचरण, व्यथित, भिक्षु, भीमनिधि आदि बडे–बडे कविहरुलाई पनि अजिल्द पुस्तक दिइएको देखें, फेरि बालकृष्ण सम र लेखनाथलाई भने सजिल्द । जब जनार्दन समलाई पनि सजिल्द दिइयो, अनि मलाई थाहा भयो, राणा बाबुसाहेब र ब्राह्मण देवतालाई उच्च स्तरमा गन्नुभएको रहेछ । बालचन्द्र शर्मा, बाबु्राम आचार्य पनि ब्राह्मण भएको हुनाले नै सजिल्दका भाग्यमानी हुनुभएको रहेछ । तर भीमनिधि, गोपाल पाँडे पनि ब्राह्मणै हुनुहुन्छ, उहाँहरुलाई भने आजिल्द नै दिइए । धेरै विचार गरिसकेपछि मलाई अनुमान भयो, उहाँहरु कुमाई हुनुभएकोले राममणिजीको दृष्टिमा शायद शुद्ध ब्राह्मण भएन कि ? पूर्वी मात्र उहाँको आँखामा शुद्ध ब्राह्मण ठहरिएको जस्तो मलाई लाग्यो । दर्जाको विचार गरेर बाँड्नुभएको हो भनूँ भने पनि उपमन्त्री जस्तो भइसकेका धर्मरत्न ‘यमि’ पनि अजिल्द, फेरि काजी मीनबहादुरलाई भने सजिल्द । शायद प्रजातन्त्रको दर्जा र मर्यादा उहाँलाई तीतो लाग्यो कि कुन्नि ? मीनबहादुर काजी राणाशाहीको जमानाका काजीसाहेव हुनुहुन्छ । त्यसैले उहाँले सजिल्द पाउनुभएको होला ।

एउटा मानिस त हाएमोपहाँ पनि देखाए, अर्थात् बिना निमन्त्रणामा आएका । उनको निम्ति त ‘लेखक महा सम्मेलन’ एउटा कलेज जस्तो भयो होला, किनभने “तपाईंको नाम त मेरो लिस्टमा छैन” भन्ने बेइज्जत मात्र पाए, कितापको दाम र फलफूलको टपरी–सपरी केही पनि पाएनन् । हाएमोपहाँ भएर जानेहरुलाई यो सानो शिक्षा होइन । उनको लोभी बानीलाई राममणिजीले लोप्पा ख्वाएर ठुलो उपकार गर्नुभयो । किनकि अब उनी कहिल्यै त्यस्ता लोभी हुनेछैनन् ।

पुस्तक वितरणको साथसाथै सभाको चालमा नै टपरीमा राखी फलफूल पनि बाँड्न लगाउनुभएको थियो । मलाई त पुस्तकभन्दा अगि फलफूलको टपरीले मिजास गर्न आयो । मैले संझें, शायद फलफूलमा पनि भेदभाव रहेको होला । अर्काको भागतिर आँखा दौडाउन पनि मलाई लाज लाग्यो, आफुलाई सबै सरह बराबर गरिएको होला भन्ने विश्वास केही गरे पनि भएन । नखाईकन फ्याँकिदिनु पनि मैले भद्दा अशिष्टता देखें । वास्तवमा फलफूलको वितरणमा पनि भेदभाव राखिएकै रहेछ । फलफूल मीठो कुरो भएर पनि मैले मीठो स्वादले खान सकिनँ ।

वक्तव्य दिनेहरुमा पं. मुरलीको पालो आउँदा फलफूल बाँडिन लागेको थियो । मुरलीजीको आग्रह थियो, खाना छोडेर मेरो वक्तव्य नै सुनून् तर उहाँको भनाइमा प्रभाव र कला नभईकन आदेश र उपदेश श्रोताहरुमा लदाउन लागेको जस्तो मानिसहरुलई लाग्यो । उहिले असनमा पुराण भन्दा त्यत्रो प्रभावशाली व्यक्ति, आज किन हो कुन्नि मानिसहरुलाई प्रभावहीन लागेको होला भन्ने उहाँप्रति मलाई माया लाग्यो । हुन त श्रोताहरुले फलफूल खाँदै गरेर पनि उहाँको वक्तव्यमा ध्यान दिनलागिरहेका थिए । त्यसको वास्तै नगरीकन आफ्नो वक्तव्यले लठ्ठ पार्नुसक्नुभएको भए खान रोकेर मानिसले ध्यान बिछ्याउने थिए । खाना पनि राम्रो मानिने, भनिने कुरा पनि राम्रो भएको खण्डमा म त मुख र कान दुवैले उतिकै काम लिनसक्छु । आखिरमा मुरलीजी रिसाएर वक्तव्यै नदिईकन मञ्चबाट वर्लनुभो । उहाँको वक्तव्य सुन्न नपाएकोमा मलाई त अफसोस लाग्यो तर समय किफायत भो भनेर धेरै मानिस खुशी भएको देखें ।

मेरो साथमा आउनुभएको श्री ‘व्यथित’जी त अगावै हिंडिसक्नुभएछ । मैले अड्कल गरें कि पुस्तक–वितरणमा भेदभाव गरिएकोले उहाँ ‘वाक्–आउट्’ रुपमा जानुभएको होला । ‘ठिक हो’ भन्ने विचार गरी म पनि पुस्तक दिन नपाउँदैमा त्यहाँबाट निस्कन खोजें । “कसलाई सजिल्द दिने, कसलाई अजिल्द” भन्ने नामावलीको सूची सभा–बीचमा उभिएर हेरिरहेको जुद्धशमशेरी सिंहदरबारी दृश्य देखेर मलाई बान्ता हुनलागिरहेको थियो, त्यसैले निस्कनु भनी म उठें । तर पुस्तक नलिईकन मैले निस्कन पाइनँ । मलाई पनि अजिल्द पुस्तक दिइयो । पुस्तक हातमा पर्दा मलाई पोइल गएकी आमाको साथमा उनको दाइजो माल बोकी झड्किलो बाबुकहाँ पुर्‍याउन जाने नादान मानिसलाई केही बोल्न नसकेकोले झन् भारी गह्रौं भएजस्तो त्यो पुस्तक अपठ्यारो र गह्रौं भयो । घर आइपुगिसकेपछि केही बोल्न र फ्याँकेर आउन नसकेको आफ्नो कमजोरी देखी घृणा भयो । जुवामा हज्जार हारेर दश जिताउरी लिएर आएको रुपियाँमा जस्तो त्यो पुस्तक लिएर आएकोमा मलाई पछुताउ, बेमज्जा र अपमान अनुभव भयो ।

त्यो वितरणको पुस्तक हातमा लिएदेखि अगाडि पुग्नासाथ स्वागतमा दिनुभएको फूल जस्तो हलुङ्गो, राम्रो र मीठो राममणिजीको अँगालो त राक्षसले थिचेको जस्तो पो गह्रौं अनुभव भयो । गह्रौं अनुभव मात्र होइन, उहाँका ती दुई अँगालो अहिलेसम्म पनि राक्षस बोकिराखेकै जस्तो भइरहेका छन् । स्वस्थानीको ७ वर्षकी गोमा ब्राम्हिणीलाई ७० वर्षको शिवशर्मा ब्राह्मणले अँगाल्दाको तीतो अनुमान कहाँ–कहाँबाट एक्कासी अनुभूत भएर राममणिजीको अँगालोले झन् मलाई राक्षसी धावा गर्‍यो । घर फर्कंदा त कहिले पुगूं जस्तो भयो । बाटो झन् लामो लाग्यो । आउँदा मेटिसकेको थकाइ पनि फेरि फर्केर आयो । तर २/४ सय कदम के आइसकेको थिएँ, प्रधानमन्त्री मातृकाबाबु पनि फर्कनुभएको भेटियो । उहाँले मोटर रोकी आरामसित राखेर घर (काठमाडौं) पुर्‍याइदिनुभो । उहाँको त्यो अनुग्रहको निम्ति कृतार्थ छु ।

त्यहाँ त किताबको नाउँसमेत पनि हेरेको थिइनँ, घर आएर हेर्छु त पुस्तकको नाम रहेछ “भलो कुराको नमूना ।” भलो कुराको नाउँले दिल अलि ठंडा भयो । बाँड्दा भेदभाव भएरै पनि के भो, किताब त भलो कुरा सिकाउने रहेछ भनेर संतुष्टै भएँ । अगाडिको असंतुष्टि बिर्साएर पुस्तक पल्टाउन थालेँ । पुस्तक पल्टाउनासाथै देखें :

नेपालीको भात नै छ नेपालीत्व जगाउने ।
हाम्रो कट्टरतामा छ प्रभाव त्यहि भातको ।।८०।।
प्रभावले भातको नै हाम्रो, रगत शुद्ध छ ।
यत्रो विज्ञान–महिमा त्यो जावो भातबाट छ ।।८१०
भातैले हाम्रो रक्त बगेको शुद्ध देख्छु ।
ठीमाहा बरु पोपेर दींदैनौं भात बिग्रन ।।८११
भोटे, पोडे, अनी सार्की, दमाई र कसाईमा ।
सरोबरी गरी हाम्रो धज्जी फ्याकल्यान् विचार है ।।८१२
मठयाहा वेग नै पारी सद्देको मान राख्छौ्र ।
यसको अर्थ हो, प्यूरी, फीकेसन् ब्लड स्पष्टमा ।।३१३

यी कुराहरु देखें । त्यो दिन एक निम्तामा भात खाएर आएको थिएँ । निम्तावाल थिए, भात नमिल्दा, एक किसिमका ठिमाहा, मध्याहा न थिए । तर भात खाने निम्त्याहाहरु भने बाहुन पनि थिए, क्षत्री पनि, अझ झण्डै एक दर्जन जातिका मानिस थिए । “जावो भातमा पनि केको नेपालीत्व, यो त झन् नरक पठाउने कुरा पो हो, केको भलो ?” भन्ने मलाइ खट्क्यो । तर एउटा–दुइटा खट्कने कुरा त प्रायः कितापहरुमा हुन्छन् भन्ठानेर कितापहरुलाई नफ्याँकीकन मैले फेरि पल्टाउन थालें, यस्सो पल्टाउँछु त देख्नथालें–

जंगली, पर्वते काँठे, भूसतिघ्रे गँवारको ।
यो देश हो हे भगवान् ! राखी द्यौ यो त्यसै गरी ।।४३६
जंगली हामीमा ऊँचो शिक्षा चाहिन्न क्यै पनि ।
शिक्षाले पेट भर्दैन पेट भर्दछ काम नै ।।४३८
× × ×
तिघ्रे र पर्वते स्वाठे जुन् हाम्रा दाज्यु–भाइ छन् ।
ती तेही रहि बाचून, हुनु पर्दैन सभ्य ती ।। ९०१
× × ×
हरे ! शहर हो खोक्रो पाखँडीहरुको गड ।।९०५
बरु पर्वतकै बासी राम्रो आर्यत्व पालछन ।

यस्तै सरसरी पुस्तक हेर्न थालेको त प्रजातन्त्रको निन्दा (ठीक छैन प्रजातन्त्र पक्षपात जगाऊँछ ।।१०४४) र हुकुमी शासनको समर्थन (राजतन्त्रै छ एऊटा हितसाधक आर्यको । आर्य रैती हामीहरु चाहन्नौं लोक–तन्त्र यो ।।११४४), अनि आर्य जातिको तारीफ र आर्यवाहेक अरु गैह्र जातिको अवहेलना (अरु जातहरुको झैं, पुख्र्यौली आर्यहरुको । डाँका मारी लुटेरा झैं, बसेका पाउँछौ कहीं ? ।।१२९), आर्यमा पनि ब्राह्मणको एकछत्र अधिकार (बाहुन क्षत्रियैवाट मन्त्रिमण्डल जोरनू ।।१२९२ बाहुन क्षत्रियहरुमा पनि उच्च कोटिको ।।१२९३), राणशाहीको फेरि गुन आह्वान (प्रतापयुक्तका धीर, वीर, चन्द्र समानका । अन्यर्थ रैती हूँदा नै यो देश यसरी चढ्यो ।।४४२) इत्यादि मात्रै देखेँ ।

किताप त साँच्चिकै ‘भलो कुराको नमूनै’ रहेछ, यो हो “२०१० साल अर्थात् बिसौं शताब्दीमा निस्केको किताप” भनेर बन्दमात्र के गरेको थिएँ कानमा जनै बेह्री निदारभरि टीका लगाएका लमटुप्पी एउटा बाहुनबाजे टुप्लुक्क आइपुगे । उनी ‘चोखो चना चमेना भण्डार’ का मालिक पनि हुन्, चाकर पनि । पात महंगो भएर उनी वडो दिकदार थिए, किनभने कागज पनि उनी जे पायो त्यो व्यवहार गर्दैनथे, केही नलागीकन चोखोमात्र भएर पुग्ने होइन, चोखो कुरा लेखिएको पनि हुनुपर्ने भएकोले चना पोको पार्नको लागि सधैं चोखो लेखोट भएको कागज खोजेर हिँड्थे । झोलीमा गरमागरम चना बोकिएको पनि थियो । उनलाई देख्नासाथै मेरा केटाकेटीहरु झुम्मिन थाले । मलाई पनि खाउँ–खाउँ लाग्यो । ‘भलो कुराको नमूना’ लाई देख्नासाथै उनले बडो रुचाए । किनभने त्यसमा शीर्षकको निदारमा “आचारः परमो धर्मः” लेखिएको थियो । एकमाना चना दिने कुरा गरे । मैले पनि विचरा भन्ठानेर ३ रुपियाँ मूल्य लेखिएको किताप भएपनि, ‘लौ’ भनिदिएँ । त्यस्ता मानिसलाई प्रोत्साहन नदिऊँ भने पनि चोखो कागज नपाएर चना बेच्न नै छोडिदिन पनि बेर छैन । अनि श्री राममणिजी जस्ता चोखो भएका, तर गरिब आर्य ब्राह्मणहरुको भोक कहिलेकाहिं चना चमेनाले टरिरहेको पनि एकातिर जानसक्छ । खाली कागजमा पोका पार्नलाई कति पनि त पर्दैन ।

मलाई पनि लाग्यो, एक माना चनामा ३ रुपियाँ जाने ‘भलो कुराको नमूना’ बेचेको भलो कुरा अर्थात् भलो कामै गरेको मानें ।

(‘कुरा साँचो हो’ निबन्धसंग्रहबाट)