Chovar Blues Mobile Size

‘चन्द्रप्रसाद’ उनका लागि नामभन्दा बढी निधारमा लगाइदिएको चिनो थियो । आफ्नो सामर्थ्यले उनले आफूले आफैंलाई बनाए र एउटा अलग्गै नाम दिए- हृदयचन्द्रसिंह ।

त्यो नै उनको खास नाम बन्यो । हृदयचन्द्रसिंह प्रधान, यो त्यही नाम हो जसले उनको सम्पूर्ण जीवन र लेखनलाई बयान गर्न खोज्छ ।
जीवनको ४४ वसन्त मात्र भोगेका हृदयचन्द्रसिंहको जीवन जेरीजस्तै जेलिएको थियो तर जेरीजस्तो गुलियोचाहिँ थिएन ।

आधुनिक नेपाली साहित्यमा दरिलो दख्खल दिएका साहित्यकार हृदयचन्द्रसिंहको जन्म १९७२ माघ १२ गतेका दिन काठमाडौँको मरुहिटीस्थित एक मध्यमवर्गीय परिवारमा भएको थियो । बाल्यकाल औपचारिक शिक्षाको रेखाबाट बाहिरै बिताएका उनलाई पाँच वर्षको उमेरदेखि नै दमले ङयाकेको थियो । रोगी भएकै कारणले पनि यिनमा पढाइको कर परेन । १७ वर्षको उमेरमा बल्ल दमबाट केही राहत पाएपछि मात्रै यिनी पढाइतिर लागे । साधारण शिक्षा उनले घरमै लिए । एक वर्षको स्कुले शिक्षाको अवधिमा उनले नेपाली स्रेस्ताको चार पास मात्रै गरे । त्यसपछि उनले जे जति शिक्षा पाए त्यो स्वतन्त्र अध्ययन र अभ्यासबाटै पाए ।

हृदयचन्द्रसिंह स्वयंले निरीक्षण गरेको र भोगेको यथार्थलाई आफ्नो लेखनमा कलात्मक सौन्दर्यसाथ बान्किला पारामा अभिव्यक्त गरेका छन् । काव्यात्मक शैलीका उनका निबन्ध, आख्यान तथा नाटकहरू पनि पढ्नयोग्य छन् । आफ्ना कुरालाई कस्तो शब्द र वाक्यमा भन्नुपर्छ भन्नेमा उनी सिपालु लेखक हुन् । उनी कसैको पछि नलागी आफैंले बेग्लै बाटो बनाएर हिँडेका थिए । हृदयचन्द्रसिंह सहानुभूतिका लागि पढ्नुपर्ने लेखक पनि होइनन् । तथापि केही नेपाली आलोचकहरू उनीप्रति सहानुभूति राख्छन् भने केही आलोचक उनीप्रति उदासीन देखिन्छन् । केहीले उनको विशिष्टतालाई खोज्नुको साटो उनका सीमित रचनालाई ध्यानमा राखेर समालोचना गरिदिँदा पनि उनका केही विशेषता छायामा पनि परेका छन् ।

ईश्वर बुढाथोकी

हृदयचन्द्रसिंहले पनि साहित्य लेखनको प्रारम्भ कविताबाटै गरेका थिए । एउटा कविता लेखर हौसिँदै उनी कहलिएका कवि लेखनाथ पौडेललाई देखाउन गएका थिए । तर लेखनाथले उनको झाँको यसरी झारिदिए कि कविता लेखेर उनले ठूलो गल्ती गरेका छन् । अझ हृदयचन्द्रसिंहमा अल्पशिक्षा मात्र भएको थाहा पाएर लेखनाथले कविता लेख्नु उनका निम्ति असम्भव भएको भनेर फर्काइदिए । कविवर लेखनाथको तिरस्कारले हृदयचन्द्रसिंहको जीवनमा इन्धनको काम गर्‍यो । त्यसपछि उनी अजेय निश्चयका साथ स्वतन्त्र अध्ययन र लेखनमा जुटेका थिए ।

हृदयचन्द्रसिंहले हौसला र धैर्यको सहाराले शब्दकोशलाई अगाडि राखेर शब्द ज्ञान बढाउँदै लगे । महिनौंको प्रयासपछि उनले लेख्न सिके । उनको प्रकाशित भएको पहिलो रचना ‘मातृस्नेह’ शीर्षकको प्रबन्ध थियो । त्यसलाई लेख्न उनले तीन महिना लगाए । एकजना पढेका साथीले छ/सात पटक संशोधन गरिदिएपछि बल्ल त्यो तयार भएको थियो । त्यति बेला उनी १८ वर्षका थिए र त्यही रचनाबाट उनले आफ्नो नाम चन्द्रप्रसादलाई फेरेर हृदयचन्द्रसिंह राखेका थिए ।

केही नेपाली आलोचकहरू उनीप्रति सहानुभूति राख्छन् भने केही आलोचक उनीप्रति उदासीन देखिन्छन् । केहीले उनको विशिष्टतालाई खोज्नुको साटो उनका सीमित रचनालाई ध्यानमा राखेर समालोचना गरिदिँदा पनि उनका केही विशेषता छायामा पनि परेका छन् ।

हृदयचन्द्रसिंहको साहित्यिक पत्रकारितामा पनि उल्लेखनीय योगदान छ । उनैको सम्पादनमा प्रकाशित भएको मासिक पत्रिका ‘साहित्य–स्रोत’ त्यति बेलाको उत्कृष्ट साहित्यिक पत्रिकामध्येको एक थियो । त्यही पत्रिकामा पहिलोपल्ट उनले शंकर लामिछानेको लेख ‘हाम्रो समाजमा नारीको मूल्य’ लाई प्रशंसा गर्दै छापिदिएका थिए । तिनै शंकर लामिछानेले आफ्नो पुस्तक ‘बिम्ब प्रतिबिम्ब’ मा हृदयचन्द्रसिंहका बारेमा लेखेका छन्, ‘उहाँमा के छ त्यस्तो, जो लेख्ने विषय बनाऊँ । उहाँमा जे पनि छैन छ । पढ्न सकेको छैन, लेख्न सकेको छैन,पैसा बटुल्न सकेको छैन, नाउँ कमाउन सकेको छैन । उहाँ न हृदयचन्द्र हो न सिंह । हृदयका कुरा भनूँ भने क्षयरोगले ग्रहण लगाएको छ । सिंहको कुरा हो भने उहाँमा सिंहझैं झम्टेर हातमा सिकार लिन सक्ने क्षमता पनि छैन । …मैले नहिले पनि उहाँको बारेमा सोचेँ मेरो मनमा एउटा विचार अनायास आयो— यस मान्छेमा यस्तो चीज छैन, छैन जसलाई पाउन यो मान्छे सधैँ अटुट परिश्रम गरिरहेछ । अनुहारमा थकाइको स्पष्ट झलक लिएर ऊ अझ परिश्रम गर्नु दुस्साहस गर्दछ ।’
फर्मासी अड्डामा नौसिन्दाको जागिर खाएका हृदयचन्द्रसिंहले पछि नेपाली भाषा प्रकाशन समितिमा ग्रन्थकार भई काम पनि गरे । दरबार हाइस्कुल र स्रेस्ता पाठशालामा केही समय पढाए पनि । २००४ मा ‘नेपाल साहित्य परिषद्’ ले गरेको निबन्ध प्रतियोगितामा उनको ‘जुँगा’ शीर्षकको निबन्ध प्रथम भयो । त्यसैताका शब्द–शुद्धि विज्ञानका लागि केशरशमशेरले पनि उनलाई नगदसहित पुरस्कृत गरेका थिए । २००५ सालमा विराट साहित्य सम्मेलनमा उनले सुनाएको निबन्ध ‘मूसालाई वेद पढाउने धुनमा’ का कारण भने उनले निकै तनाव झेल्नुपरेको थियो । तत्कालीन सरकारले उनीमाथि अनेक आरोप लगाई त्यो निबन्धमाथि आपत्ति जनाएको थियो । ६ महिनाको रस्साकस्सीपछि उनले सुखको श्वास फेरेका थिए ।

२००७ को क्रान्तिमा सहभागी उनलाई कार्यालयबाटै गिरफ्तार गरियो । क्रान्ति सफल भएपछि अढाई महिनादेखि काराबासमा रहेका उनी मुक्त भए । जेलमुक्त भएपछि उनले राजनीतिक पत्रिका ‘जागरण साप्ताहिक’ मा सम्पादक भएर काम गरे । काठमाडौं नगरपालिकाको मुखपत्र ‘जनचेतना’ को पनि सम्पादन गरे । आफ्नो कलमलाई उज्यालोको मसीमा चोपेर जीवनको अध्यारोमा खनाइरहेका उनले चेतनाको अन्तर्यात्रामा भने भीषण मानसिक यातना भोगिरहेका थिए । उनी बिना स्याहारका त्यो जंगली बिरुवाजस्तै थिए जसको पात आँधीहुरी र असिनापानीले झारिदिएको छ र पनि सकीनसकी उभिरहेको छ ।

विपन्नताकै कारण उचित औषधोपचार गर्न नसकिरहेका उनलाई २००७ पछि तत्कालीन राजा त्रिभुवनले दरबारमै बोलाएका थिए । दम र क्षयरोगको उपचारसँगै बस्नलाई राम्रो आवासको व्यवस्था मिलाइदिने त्रिभुवनको प्रस्तावलाई उनले स्विकारेनन् । सट्टामा उनले त्रिभुवनसित ‘जागरण साप्ताहिक’ का लागि अन्तर्वार्ता मागे र उनी अन्तर्वार्ता लिएर फर्के । भनिन्छ, त्रिभुवन हृदयचन्द्रसिंहका किताब दरबारमा मगाएर पढ्ने गर्थे । लेखकका रूपमा हृदयचन्द्रसिंह त्रिभुवनका प्रिय थिए । तथापि त्रिभुवनबाट फाइदा लिन उनले पटक्कै चाहेनन् ।

बरु, हृदयचन्द्रसिंहले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री (साहित्यकार पनि) बीपी कोइरालासित भने औषधोपचारका लागि सहयोगको अपेक्षा गर्दै भेट गर्न खोजेका थिए । तर उनको अपेक्षामाथि उपेक्षा भयो । यद्यपि विश्वेश्वर हृदयचन्द्रसिंहका लागि गोठाले र विजय मल्लजस्तै प्रिय कथाकार रूपमा रहिरहे । हृदयचन्द्रसिंहको जीवनको पहिलो र अन्तिम शत्रु भनेकै क्षयरोग थियो । क्षयरोगले पछारेपछि उनले केही समय टोखास्थित ‘टोखा स्वास्थ्य निवास’ मा उपचार गराए । त्यहाँ उनको स्वास्थमा अपेक्षाकृत सुधार नभएकाले उनी भारतको मद्रास स्थानिटोरियममा उपचारका लागि गए । जहाँ उपचारका क्रममा उनको ७ वटा करङ काटियो, त्यसपछि उनी रोगमुक्त भई नेपाल फर्किए ।
शारीरिक स्वास्थ्य खराब भए पनि हृदयचन्द्रसिंह मानसिक रूपमा सदैव स्वस्थ रहे । उनले रोगी मानसिकता र जीर्ण चिन्तनको कहिल्यै प्रदर्शन गरेनन् । न रुन्चे साहित्य नै लेखे । जनमुखी साहित्य नै उनको लेखनको केन्द्रीयतामा रहयो । समाजको वस्तुस्थिति र अन्तरविरोधलाई नै उनले केलाइरहे । तत्कालीन समाजको अहंमा भने उनले निरन्तर प्रहार गरिरहे ।

हृदयचन्द्रसिंहको दुर्भाग्य कि उनकोनिको भइसक्यो भनिएको व्यथा फेरि बल्झिदियो । तत्कालीन भारतीय राजदूत भगवान सहायको पहलमा २०१४ सालमा उनलाई उपचारका लागि भारतको भोपाल पठाइयो । हृदयचन्द्रसिंह उपचारको क्रममा भोपालमा अढाई वर्ष बसे । केही सुधार आएपछि उनी नेपाल फर्कन चाहे, सायद न्यास्रिएका थिए । डाक्टरहरूले अझै केही समय भोपालमै बस्नुपर्छ भनेका थिए तर उनले मानेनन् । फर्किने नै भएपछि डाक्टरहरूले दैनिक नियम, औषधि सेवन तथा परहेजका बारेमा एउटा तालिका लेखेर पठाए । यदि त्यस तालिकालाई पालना गर्ने हो भने हृदयचन्द्रसिंहको अरू १४/१५ वर्षसम्म आयु लम्बिने पनि डाक्टरहरूले बताएका थिए ।

भोपालका डाक्टरले उनको स्वास्थ्यस्थिति र आगामी दिनमा उनले पालन गर्नुपर्ने नियमहरूबारे सूचना राजदूत सहायलाई पनि दिएका थिए । राजदूत सहायले पनि थापाथलीमा उनका लागि सुहाउँदो बगैंचासहितको घर किनेर दिन चाहेका थिए । सहायले पटक–पटक प्रस्ताव स्विकार्न अनुरोध गरे तर हृदयचन्द्रसिंहले मानेनन् । अन्तमा सहायले ‘केही त गर्न दिनुस्’ भने । त्यसपछि हृदयचन्द्रसिंहले भोपालमा बस्दा हिन्दीमा लेखेको आत्मपरक निबन्धका किताब ‘ऐसा मै सोचता हुँ’ लाई छापिदिनुस् भने । केही समयपछि सहायको कार्यकाल पूरा भयो । उनी भारत फर्किने भए । फर्कंदा हृदयचन्द्रसिंहको त्यो निबन्ध किताब छाप्ने सम्पूर्ण व्यवस्था मिलाइदिए । त्यसको केही समयपछि हृदयचन्द्रसिंह पनि नफर्कने बाटो लागे । २०१६ साल माघ १० गते हृदयचन्द्रसिंह सधैंका लागि धर्ती छाडे । पुस्तक छापिएर आउँदा ढिलो भइसकेको थियो । उनले त्यो पुस्तकको मुख पनि हेर्न पाएनन् ।

निबन्धकारका रूपमा हृदयचन्द्रसिंह कतै उत्तेजित छैनन् । पेचिलो टिप्पणी र सन्दर्भहरूले उनका निबन्धहरूलाई अत्यन्तै चोटिलो बनाएको छ । प्रारम्भमा छन्द कविता लेखेका उनले पछि छन्दलाई छोडेर गद्यतिर लागे । उनले थोरै गद्य कविता लेखेका छन् । ‘एउटा गरिब’, ‘छोरोसित’ लगायत आठ दसवटा कविता नेपाली साहित्यकै उपलब्धि मान्न सकिने खालका छन् । कथा, उपन्यास, नाटकमा पनि उनले स्तुत्य प्रयास गरेका छन् । ‘समालोचना’, ‘शब्द–शुद्धि विज्ञान’, ‘चिन्ह परिचय’ जस्ता पुस्तकमा गरेको काम पनि उल्लेखनीय र विशिष्ट छ । नेपालभाषामा पनि उनका थुप्रै सिर्जनाहरू छन् ।

हृदयचन्द्रसिंह लेखन मानिसको अन्तरवेदनालाई आम मानव जगत्मा प्रस्तुत गर्ने कुरामा अब्बल छ । उनका उपन्यासहरू ‘एक चिहान’ र ‘स्वास्नीमान्छे’, निबन्धहरू ‘जुँगा’ र ‘तीस रुपियाँको नोट’, समालोचनाहरू ‘भानुभक्त एक समीक्षा’, ‘नेपाली काव्य’ र ‘प्रतिनिधि कवि’ छन् । साथै ‘गंगालालको चिता’ सहित थुप्रै एकांकी नाटक तथा कविताहरूले साहित्यले शासन सत्ता र राजनीतिक वादहरूमा रुमल्लिएको समाजलाई ब्युँझाउने कोसिस गरेका छन् उनले । समाजको दु:ख बोल्ने, मानिसका गरिबी, अभाव, दु:ख र पीडाको मल्हम बन्ने साहित्य नै हृदयचन्द्रसिंह दिएका छन् ।

(कृष्णप्रसाद पराजुलीको ‘पन्ध्र तारा र नेपाली साहित्य’, शंकर लामिछानेको ‘बिम्ब प्रतिबिम्ब’ लगायतका हृदयचन्द्रसिंहबारे लेखिएका विभिन्न लेखहरूमा आधारित ।)