स्विट्जरल्यान्डमा जेनेभा ताल अवस्थित छ । यो ताल उल्लेखनीय रुपको नीलो छ । स्विट्जरल्यान्ड भ्रमणमा आउने पर्यटकले यसलाई निकै मन पराउँछन् । यसको किनारमा भेभेई सहर (जेनेभा तालको किनारमा अवस्थित बिदाका दिन बिताउनका लागि प्रशस्त होटल तथा अतिथिगृह भएको त्यतिबेलाको प्रसिद्ध सहर) रहेको छ । यो सहर सानो छ । यो सहरको मुख्य व्यवसाय पर्यटकलाई मनोरञ्जन दिनु हो । धेरै पर्यटकले यस सहरको भ्रमण गर्न मन पराउँछन् । यहाँ धेरै होटल भए तापनि एउटा विशेष प्रकारको सुविधासम्पन्न होटल पनि छ । तालको परिपरि धेरै होटल छन् । यो होटलको निर्माण एकदमै आधुनिक शैलीमा भएको छ । यो विशाल छ । यसको अगाडिको मोहडा चाँदीजस्तो सेतो छ । यसका अगाडि बरन्डा छन् । यसको धुरीबाट दर्जनौँ झण्डा ‘स्विस पेन्सन’ होटलतिर फर्फराएका देखिन्छन् । जेनेभा तालको किनार ज्यादै मनमोहक छ । यसले निरन्तर रुपमा विशेष प्रकारको आनन्द दिइरहेको छ । यो आनन्द हरेक वर्गका मानिसले लिइरहेका छन् । यस होटलका केही भित्तामा गुलाबी वा पहेँलो रङ पनि लगाइएको छ । ती भित्तामा यस होटलको नाम लेखिएको छ । त्यो नाम प्रस्टसँग देख्न सकिन्छ । ती अक्षर जर्मनेलीजस्ता देखिन्छन् । यो होटलको आफ्नै बगैँचा छ । यहाँ एउटा बगैँचेगृह पनि छ । यो गर्मीको बेला बस्नका लागि प्रयोग गरिन्छ । यसले आफ्नो अनुहार उदाङ्ग पारेको देख्न सकिन्छ । यो बस्नका लागि अप्ठ्यारो जस्तो देखिन्छ । यस होटलमा परम्परागत खालका परिकार मात्र पाइन्छन् । भेभेईमा भएका अरु धेरै होटलमध्ये यो प्रसिद्ध छ । यो होटल हवाईमार्गबाट आउने विलासी र अधबैंसे धनी ग्राहकका लागि प्रतिष्ठित छ । जुन महिना शुरु हुनासाथ अमेरिकी यात्रु आराम गर्नका लागि यस सहरमा आउँछन् । साँच्ची नै यस समयमा तालमा जलविहार गर्नका लागि विशेष प्रतिष्ठित अमेरिकी मानिसको आगमन हुन्छ । यस तालमा देखिएका दृश्य र सुनिएका आवाजले रोड आइल्यान्डको सानदार बिदाका दिन बिताउने न्युपोट गृह (जहाँ हेनरी जेइम्जले आफ्नो बाल्यकालका केही दिन बिताएका थिए) र न्युयोर्कमा भएको प्रसिद्ध साराटोगा झरनाको झझल्को प्रतिविम्बित गर्छ । यस होटलमा प्रायः सधैँ मधुर गीत गुञ्जिरहन्छ । यहाँ काम गर्ने युवती चञ्चल स्वभावका देखिन्छन् । यी परम्परागत पोशाकमा सजिएका देखिन्छन् । यिनीहरुले फ्रक लगाएको देखिन्छ । यी फ्रक पातलो सुती कपडाले बनेको छ । यी सुती कपडा उच्चस्तरीया आधुनिक खालको जस्तो देखिन्छ । यिनीहरु बिहानीपखको गीतको धुनसँगै आफ्नो शरीरलार्य नृत्यमा ढाल्न अभ्यस्त हुन्छन् । यिनीहरु होटलको एक कोठाबाट अर्को कोठामा गएको दृश्य यहाँ प्रस्टरुपमा देख्न सकिन्छ । यस्ता प्रकारका प्रभाव पाइने यो त्रोइस कुरोन्ज होटल (तीन वटा श्रीपेचयुक्त भन्ने अर्थ । यो ताल नजिकै भएको प्रथम श्रेणीको आरामदायी होटल हो, जहाँ ग्राहकको सधैँ भिडभाड हुने गर्दछ । भेभेईमा भएका अन्य होटलहरु यो जत्तिकै राम्रा छैनन् ।) ज्यादै राम्रो होटल कहलिन्छ । यस होटलमा न्युपोटको ओसन हाउस (न्युपोटको बेल्लेयुमी एभन्युमा अवस्थित सबैभन्दा राम्रो होटल, जसको पहिलो पटक बनाइएको भवन सन् १९९८ मा जलेको थियो) र साराटोग झरना नजिक अवस्थित कंग्रेस हल (त्यो बेलाको एक हजार बेडयुक्त सबैभन्दा पुरानो होटल) होटलबाट आयातित आकर्षण पनि पाइन्छन् । यस होटलमा अन्य भिन्न प्रकारका विशेषता पनि पाइन्छन् । राजदूतका सचिवजस्ता देखिने होटलमा काम गर्ने सफा पोसाकमा सजिएका जर्मन केटा, रुसका राजकुमारीजस्ता देखिने होटलको बगैँचामा बसेका सुसारे केटीहरु र आफ्ना प्रान्त सरकार प्रमुखसँग् हात समाई हिँडेजस्ता देखिने होटल सेवामा समर्पित पोल्यान्डका केटा यस होटलका आकर्षण बनेका छन् । यस होटलको परिसरबाट हिउँले ढाकिएको डेन्ट डु मिडि पर्वत (१०,७७८ फिट उचाइ भएको प्रसिद्ध पर्वत)का साथै तालको किनारको कडा चट्टानमा अवस्थित कासल अफ चिलोन (सन् १२३८ मा बनेको राम्रो दृश्य देखिने भवन, जसलाई तालको पानीले घेरेको छ र यहाँ जानका लागि काठको पुल निर्माण गरिएको छ)का धरहराको मनोरम दृश्य पनि देख्न सकिन्छ ।

म अलमल्ल भएको थिएँ । होटल त्रोइस कुरोन्जको बगैँचामा एउटा अमेरिकी युवक बसेजस्तो मलाई लाग्थ्यो । यो दुई तीन वर्षजति अगाडिको कुरा थियो । मैले उक्त मानिसलाई सम्झने प्रयास गरिरहेको थिएँ । त्यतिबेला उनी शोचमग्न भएर बसिरहेका थिए । उनले उक्त होटलको आकर्षणको वा अर्कै कुराका बारेमा सोचिरहेका थिए, मैले जान्नै सकिनँ । त्यो समय वर्षा ऋतुको एउटा सुन्दर बिहानी थियो । त्यतिबेला अमेरिकी युवतीहरु जुनसुकै भषभूषामा सजिएका भए पनि उनलाई आकर्षक लाग्दथे । उनी लामो समयदेखि जेनेभा सहरमा बस्दै आइरहेका थिए । उनी हिजो मात्रै आफ्नी काकीलाई त्रोइस कुरोन्ज होटलमा भेट्न आएका थिए । उनी यहाँ सानो पानीजहाजबाट आएका थिए । उनकी काकी सधैँभरि टाउको दुख्ने व्यथाले पीडित थिइन् । उनकी काकी कोठामा चुपचाप क्याम्फ (निश्चित प्रकारको विरुवालाई पकाएर निस्केको बाफबाट बनाइएको एक प्रकारको कडा गन्ध आउने औषधि जुन नाकसम्बन्धी रोगका लागि उपयुक्त मानिन्छ) सुँघ्दै बसिरहेकी थिइन् । उनले तत्कालै काकीलाई भेट्न सकिरहेका थिएनन् । उनलाई आफ्नी काकीलाई भेट्नका लागि एकछिन पर्खन परिरहेको थियो । त्यसै कारणले उनले होटल परिसरका विभिन्न भागको अवलोकन गरिरहेका थिए । उनी सत्ताइस वर्ष जतिका युवक थिए । उनका साथीले उनी प्रायः जेनेभा सहरमा अध्ययनमा व्यस्त भइरहेका छन् भन्दथे । उनका विरोधीले यस कुरामा विश्वास गर्दैनथे । वास्तवमा यतिबेला उनका कोही विरोधी थिएनन् । उनी ज्यादै सुशील मानिस थिए । सबैले उनलाई रुचाउँथे । निश्चित केही मानिसलाई मात्र उनी लामो समयसम्म जेनेभा सहरमा बस्नुको कारण थाहा थियो । तिनीहरुले उनी एउटी आफूभन्दा जेठी विदेशी युवतीसँग प्रेममा समर्पित भइरहेका थिए भन्थे । तिनी पनि लामो समयदेखि त्यस शहरमा बस्दै आइरहेकी थिइन् । कुनै पनि अमेरिकीले ती युवतीलाई देखेकै थिएनन् । ती युवतीका बारेमा एउटा रहस्य थिाये । विन्टरबोर्नको क्याल्भिनिज्म नगरपालिकामा बसेकी ती युवतीसँग पुरानो सम्बन्ध थियो । उनले त्यस नगरपालिकाबाट विद्यालय तथा महाविद्यालयको शिक्षा लिएका थिए । त्यतिबेला उनलाई धेरै युवतीसँगमित्रता गाँस्ने अवसर प्राप्त भएको थियो । ती युवतीमध्ये धेरैजसोसँग उनको मित्रता कायम थियो । तिनीहरु उनका लागि ठूलो सन्तुष्टिका स्रोत बनिरहेका थिए ।

विन्टरबोर्नले काकीको कोठाको ढोका ढक्ढक्याए तर कुनै प्रतिउत्तर आएन । उनले महसुस गरे, काकीलाई अझै सञ्चो भएको छैन । उनी सहरतिर घुम्न गए । घुमेर फर्केपछि उनले बिहानको नास्ता खाएका थिए । त्यसपछि उनी होटलको बगैँचामा गइरहेका थिए । उनले त्यहाँ एउटा सानो टेबल देखे । यसमा सानो कपमा कफी ल्याएर राखिएको थियो । यो कफी होटलमा काम गर्ने एउटा केटोले ल्याएर राखिदिएको थियो । ऊ विदेशी राजदूतावासको तल्लो स्तरको कर्मचारीजस्तो देखिन्थ्यो । उनले कफी पिइसकेर चुरोट सल्काउँदै थिए । त्यतिबेला एउटा दुष्ट र खराबजस्तो देखिने नौ वा दस वर्षको केटो उनीतिर आइरहेको थियो । ऊ आफ्नो उमेरको तुलनामा ज्यादै सानो देखिन्थ्यो । उसको अनुहारमा परिपक्वताका लक्षण प्रस्ट रुपमा देखिन्थे । ऊ पहेँलो वर्णको थियो । ऊ कडा स्वभावको देखिन्थ्यो । उसले घुँडासम्म आउने खुकुलो हाफप्यान्ट र राता मोजा लगाएको थियो । ती राता मोजाले उसका पातला, दुब्ला र निरीह खुट्टालाई ढाकिरहेका थिए । उसले गाढा रातो रङको सानो टाई पनि लगाएको थियो । उसले पर्वतारोहीले प्रयोग गर्नेजस्तो टुप्पो तिखो भएको लामो फलामको लौरो लिएको थियो । उसले त्यस लौरोलार्य फूल लगाइएको ठाउँ, बगैँचाको बेन्च, नारी हिँड्दा उनीहरुको लत्रेको लुगा र आफू गएका प्रायःजसो ठाउँमा घुसार्दथ्यो । ऊ बिन्टरबोर्नको अगाडि आएर आफ्ना एकजोडी ससाना चतुर आँखा घुमाउँदै त्यहीँ रोकियो ।

उसले कडा र अपरिपक्व आवाजमा विन्टरबोर्नसँग अनुरोध ग¥यो, ‘तपाईं मलाई एक टुक्रा चिनी (ठूला टुक्रा भएका चिनी, जनु अठारौँ शताब्दीमा स्विट्जरल्यान्डमा उत्पादन हुन्थ्यो) दिनुहुन्छ ?’ विन्टरबोर्नले आफूनजिकै भएको टेबलमा झट्ट हेरे । त्यहाँ कफीका लागि ल्याइएका धेरै चिनीका टुक्रा बचेका थिए ।

‘हुन्छ, तिमीले एउटा लिन सक्छौ,’ उनले उत्तरसहित त्यस केटालाई केही चिनीका टुक्रा दिएर भने, ‘साना केटाका लागि चिनी राम्रो हो जस्तो लाग्दैन मलाई ता ।’

त्यो केटाले तीन वटा लोभलाग्दा चिनीका टुक्रा होसियारपूर्वक छानेर खाँदै अगाडि पाइला बढायो । दुई वटा टुक्रा अर्को ठाउँमा खानका लागि हाफप्यान्टको गोजीमा फुर्तीसाथ राख्यो । उसले आफ्नो भालाजस्तो लौरो विन्टठरबोर्न बसेको बेन्चमा घुसार्‍यो र चिनीका टुक्रा दाँतले फोर्ने प्रयास गर्‍यो ।

‘ओहो ! कस्तरी फुट्यो, यो त एकदम कडा छ,’ ऊ करायो । उसको स्वरमा ‘फुट्यो’ भन्ने शब्दको उच्चारणमा विशेष जोड पाइन्थ्यो ।

उसमा आफू गाउँले हुँ भन्ने गर्व थियो । यो कुरा विन्टरबोर्नले तत्कालै बुझे । उनले कमजोर स्वरमा उसलाई भने, ‘होश गर, तिमीले आफ्ना दाँतमा चोट पुर्‍याउन हुन्न ।’

‘मसँग चोट पुर्‍याउनका लागि कुनै दाँत छैनन् । ती सबै दाँत झरिसके । मसँग सात वटा मात्रै दाँत छन् । मेरी आमाले गएराति यी दाँत गन्नु भएको थियो । त्यसपछि एउटा दाँत झर्‍यो । मैले यसभन्दा बढी दाँत झारेँ भने आमाले थप्पड हान्छु भन्नुभएको थियो । म दाँत झार्नबाट रोक्न सक्तिनँ । यो पुरानो युरोप हो । यहाँको हावापानीले दाँत झर्ने बनाइदिन्छ । अमेरिकामा हुँदा यी दाँत झरेका थिएनन् तर यी होटलमा यस्तै हुन्छ,’ केटाले भन्यो ।

यो सुनेर विन्टरबोर्नलाई रमाइलो लाग्यो । उनले भने, ‘तिमीले चिनीका तीन वटै टुक्रा खायौ भने आमाले अवश्य थप्पड हान्नुहुनेछ ।’

‘त्यसो भए आमाले मलाई मिठाई दिनुपर्छ,’ बच्चा वार्ताकारले कुरा थप्यो । ‘मसँग यहाँ कुनै मिठाई छैनन् । कुनै पनि अमेरिकी मिठाई छैनन् । अमेरिकी मिठाई सबैभन्दा राम्रा हुन्छन् ।’

‘ससाना अमेरिकी केटाकेटी सबैभन्दा राम्रा केटाकेटी हुन् त ?’ विन्टरबोर्नले सोधे ।

‘मलार्य थाहा छैन । म अमेरिकी केटो हुँ,’ बच्चाले भन्यो ।

‘मैले बुझेँ, तिमी राम्रोमध्येका एउटा हौ,’ विन्टरबोर्नले हाँस्दै भने ।

‘तपाईं पनि अमेरिकी हो ?’ वार्तामा अगाडि बढ्यो त्यो प्रफुल्ल बच्चा । विन्टरबोर्नले यो प्रश्नको सकारात्मक उत्तर दिएपछि फेरि कुरा थप्यो, ‘अमेरिकी सबैभन्दा राम्रा हुन्छन् ।’

विन्टरबोर्नसँग उसले निकैबेर वार्तालाप गरेको थियो । उसले विन्टरबोर्नका सकारात्मक उत्तरहरुलाई धन्यवाद दियो । उसले आफ्नो लौरोलाई टाङमुनिबाट छिराएर घोडाचढी गर्दै विन्टरबोर्नलाई हेरिरहेको थियो । ऊ विन्टरबोर्नका बारेमा केही समय सोच्दै ठिङ्ग उभिइरहेको थियो । उसले सानैदेखि चिनी वा मिठाई मन पराउँथ्यो वा युरोपमा ल्याइएपछि मन पराउन थालेको हो भनी विन्टरबोर्नले आश्चर्य व्यक्त गरेका थिए ।

एकछिनपछि बच्चा करायो, ‘ऊ ! मेरी दिदी आउँदै हुनुहुन्छ । उहाँ पनि अमेरिकी हुनुहुन्छ ।’

विन्टरबोर्नले बाटातिर हेरे । एउटी सुन्दर युवती अगाडि बढिरहेकी देखे । विन्टरबोर्नले उसलाई प्रशन्न मुद्रामा भने, ‘अमेरिकी युवतीहरु सबैभन्दा राम्रा हुन्छन् ।’

‘मेरी दिदी राम्री हुनुहुन्न । उहाँले मलाई सधैँ थप्पड हान्नुहुन्छ,’ बच्चाले भन्यो ।

‘यो तिम्रो दोष हो, उहाँको होइन,’ विन्टरबोर्नले भने । यसैबीचमा ती युवती तिनीहरु नजिकै आइपुगिन् । उनी सेतो मेलमलको कपडामा सजिएकी थिइन् । उनको कपडाको किनारामा सयौँ आभूषण जडिएका थिए । उनको फ्रकको किनारामा पनि थुप्रै लेस झुण्ड्याइएका थिए । उनले हल्का पहेँलो रङको रिबन लगाएकी थिइन् । उनले टोप नलगाएर हातमा झुण्डाएकी थिइन् साथै हातमा घामका लागि प्रयोग गरिने हल्का र ठूलो छाता पनि झुण्डाएकी थिइन् । यसको कनिारामा सियो प्रयोग गरी विभिन्न बुट्टा भरिएका थिए । ती युवती प्रशंसनीय आकर्षक थिइन् ।

‘उनी कति राम्री हुन् !’ आफ्नो आसनबाट उठ्ने बहाना बनाउँदै विन्टरबोर्नले शोचमग्न भएर बोले ।

विन्टरबोर्न होटल परिसरको बगैँचाको पर्खाल नजिकैको बेन्चमा बसिरहेका थिए । यहाँबाट जेनेभा तालको दृश्य देखिन्थ्यो । ती युवती विन्टरबोर्न बसिरहेको बेन्च अगाडि पारेर रोकिइन् । सानो बच्चाले अझै पनि लौरोलाई टाङमुनिबाट छिराएर घोडाचढी गरिरहेको थियो । उसले त्यो लौरोलाई दह्रो तरिकाले जमिनमा गाडेर समाइरहेको थियो । ऊ सानासाना ढुंगा भएको कडा जमिनमा उफ्रँदै लौरालाई बेसरी लात्ती हानिरहेको थियो ।

‘¥यान्डोलफ, के गरिरहेको तिमीले ?’ युवती बोलिन् ।

‘म आल्प्स पर्वत (स्विट्जरल्यान्डको उच्च पर्वत शृंखला) चढ्दैछु,’ बच्चाले उत्तर दियो, ‘यस तरिकाले चढ्ने हो पवर्त ।’ पुनः अर्को पटक लौरोमा समात्दै, उफ्रँदै र विन्टरबोर्नको कानतिर साना साना ढुंगा फाल्दै उसले भन्यो ।

‘उहाँ अमेरिकी हुनुहुन्छ,’ र्‍यान्डोल्फले कडा स्वरमा भन्यो । ती युवतीले उसको भयो भनाइतर्फ ध्यान दिइरहेकी थिइनन् । उनले आफ्नो भाइलाई सोझै हेरिन् र भनिन्, ‘अँ, तिमी चुप लाग्नु नै राम्रो हुन्छ ।’

विन्टरबोर्नले आफू ती युवतीका अगाडि राम्ररी प्रस्तुत हुनुपर्छ भन्ने सोचे । उनी आफ्ना हातमा भएको चुरोट फाल्दै उठे । उनले बिस्तारै युवतीतर्फ पाइला बढाए । ‘त्यो बच्चा र मैले एकआपसमा चिनजान गर्‍यौँ,’ उनले ज्यादै सभ्य तरिकाले भने । जेनेभा नगरीमा एउटा युवकलाई एउटी अविवाहित युवतीसँग बोल्ने स्वतन्त्रता हुँदैनथ्यो तर निश्चित अप्ठ्यारोमा भने तिनीहरु एकआपसमा कुराकानी गर्न दसक्थे । यसैले उनी एकदम सतर्क भइरहका थिए तर भेभेई सहरमा योभन्दा राम्रो अरु के हुनसक्दछ र ? एउटी सुन्दर युवती बगैँचामा छिन् । ठीक उनको अगाडि उभिरहेकी छिन् । ती युवतीले विन्टरबोर्नका सबै कुरा सुने पनि उनलाई सामान्य हेरिरहिन् मात्र । त्यसपछि उनले मुन्टो उता फर्काइन् । उनले बगैँचाको पर्खालमाथिबाट तालमा हेरिन् अनि बगैँचाको विपरीत दिशामा भएका पहाडतिर हेरिन् । ती युवती विन्टरबोर्नसँग कुरा नगरेका कारण चाहिँ आफू अलिक टाढा भएर पो हो कि भन्ने उनलार्य लाग्यो तर युवकले पछि फर्केर ती युवतीको नजिक जानुभनदा उनीबाट अलि टाढा रहनु नै राम्रो हुनछ भन्ने कुरा सोचे ।

विन्टरबोर्नले युवतीलाई केही भन्नका लागि सोचिरहेका बेला उनी सानो बच्चातिर फर्किइन् र भनिन्, ‘तिमीले यो लौरो कहाँ पायौ ? मैले जान्न चाहिरहेकी छु ।’

‘मैले यसलाई किनेको हुँ,’ र्‍यान्डोल्फले उत्तर दियो ।

‘यसको मतलब, तिमीले यसलाई इटाली लैजाँदै छौ ?’ युवतीले भनिन् ।

‘हो, मैले यसलाई इटाली लैजाँदैछु,’ बच्चाले भन्यो । ती युवतीले आफ्नो लुगामा हेरिन् । लुगाको एउटा दोब्रिएको भाग र दुई वटा रिबनका फेरलाई हातले मुसारिन् । उनले फेरि बगैँचा वरिपरिको दृश्यमा आँखा डुलाइन् । ‘अँ, मलाई लाग्दछ, तिमीले यो लौरोलाई कहीँ छाड्नु राम्रो हुन्छ,’ युवतीले केहीबेरपछि भनिन् ।

‘तपाईं इटाली जाँदै हुनुहुन्छ ?’ विन्टरबोर्नले युवतीलाई ज्यादै सम्मानपूर्वक प्रश्न गरे ।

तिनले विन्टरबोर्नलाई फेरि झुलुक्क हेरिन् । ‘हो, महाशय,’ उनले उत्तर दिइन् । यसपछि उनले बढी कुरा गरिनन् ।

‘तपाईं…अँ… सिम्पलोन पर्वत (स्विट्जरल्यान्ड र इटाली बीचमा भएका धेरै पर्वतमध्येको एउटा मुख्य पर्वत) चढ्दै हुनुहुन्छ ?’ विन्टरबोर्नले केही अप्ठ्यारो मान्दै भने ।

‘मलाई थाहा छैन । मलाई लाग्छ, यो कुनै पर्वत होला । र्‍यान्डोल्फ, हामी कुन पर्वत चढ्न गइरहेका छौँ ?’ उनले सोधिन् ।

‘कहाँ जाने ?’ बच्चाले सोध्यो ।

‘इटाली,’ विन्टरबोर्नले भने ।

‘मलाई थाहा छैन । म इटाली जान चाहन्नँ । म अमेरिका जान चाहन्छु,’ र्‍यान्डोल्फले भन्यो ।

‘ए ! इटाली ता एउटा सुन्दर ठाउँ हो,’ युवकले वार्तालापमा कुरा थपे ।

‘तपाईंले त्यहाँ मिठाई पाउन सक्नुहुन्छ ?’ र्‍यान्डोल्फले चर्को स्वरमा सोध्यो ।

‘मलाई थाहा छैन,’ उसकी दिदीले भनिन् । ‘तिमीसँग प्रशस्त मात्रामा मिठाई छन् । तिम्री आमा पनि तिमीसँग प्रशस्त मात्रामा मिठाई छन् भन्नुहुन्छ,’ पुनः उसकी दिदीले थपिन् ।
क्रमशः