साशा स्मिर्नोफ्, आमाको एउटै छोरा, पत्रिकामा बेरिएको कुनै चीज काखीमुनि च्यापेर अमिलो मुख पार्दै डाक्टर कशिलकोफको अफिस-कोठाभित्र पस्यो ।

– अनि, बाबु ! – यसरी स्वागत गरे किशोरलाई डाक्टरले । अनि कस्तो छ नि हामीलाई ? नयाँ-नौलो के सुनाउनुहुन्छ त ?

डा. बलराम अर्याल

– साशाले यसो आँखा झिम्क्यायो, आफ्नो हात मुटुमाथि राख्यो, अनि केही अत्तालिएको स्वरमा बोल्यो:  इभान निकालायेभिछ् ! माँले मलाई धन्यवाद दिन अह्राउनुभएको छ हजुरलाई .. आमाको म एक्लो छोरा हुँ, अनि हजुरले मेरो जीवन बचाइदिनुभयो … डर लाग्दो रोगबाट मलाई निको पार्नुभयो, र … हामी दुवैलाई थाहा छैन, कसरी हजुरप्रति कृतज्ञता जनाउने भनेर ।

भो, बाबु ! पर्दैन ! – डक्टरले बीचैमा रोके अत्यन्त सन्तुष्ट भएर । मैले त्यो मात्र गरेको हुँ, जुन जो-कोहीले मेरो ठाउँमा गर्थ्यो होला ।

मेरी आमाको म एक मात्र छोरा … । हामी मान्छे गरीब हौँ अनि, हजुरको परिश्रमको अनुसार तिर्न पनि सक्दैनौँ, र … हामीलाई एकदम लाज लागेको छ, डाक्टर साहेब; म एक मात्र छोरा हुँ मेरी आमाको; एकदम अनुरोध गर्छौँ हाम्रो कृतज्ञतास्वरूप लिनको लागि … यो चीज, जुन … चीज निकै महँगो छ, पुरानो काँसबाट बनेको … कलाको दूर्लभ कृति ।

– किन यसो गर्नु पर्थ्यो ! – डाक्टरले निधार कुम्च्याउँदै भने, ‘अँ, यो केको लागि ?’

– होइन, हजुर चाहिँ, कृपया, नाइँ नभन्नुहोस्, – साशा बर-बर गर्दै गयो बेरिएको चीज उघार्दै । इन्कार गरेर हजुरले मलाई पनि, आमाको पनि चित्त दुखाउनुहने छ … । चीज एकदम राम्रो … पुरानो काँशको । हामीलाई स्वर्गवासी पिताजीबाट प्राप्त भएको हो, हामीले सुरक्षित राखेका थियौँ अमूल्य चिनो जस्तो गरेर … । मेरा पिताजी पुराना काँशका चीजहरू किन्नुहुन्थ्यो अनि पारखीहरूलाई बेच्नुहुन्थ्यो । यता आएर नि आमा र म यो काम गर्दैनौँ ।

साशाले सामान खोल्यो, अनि गर्वसाथ यसलाई ढ्याक्क टेबुलमाथि राख्यो । यो सामान थियो पुरानो काँशको होचो-होचो कदको एउटा दीपाधार/क्यान्डल्ब्रम, कलाको एक कृति । यसले एउटा समूह देखाउँथ्यो: पेडेस्टल/कुर्सी मा नारी आकृतिहरू उभिएका थिए, ईभको मुद्रामा, जसको व्याख्या गर्नको लागि न ममा आँट नै पर्याप्त छ, न त त्यस्तो गरम भाव नै छ मसँग । यी आकृतिहरू हाउभाउसाथ मुस्काइरहेका थिए, अनि वास्तबमा उनीहरूको यस्तो दृश्य थियो, कि, लाग्छ, यदि मैनबत्ती बोक्नु पर्ने दायित्व नभएको भए उनीहरू पेडेस्टल/कुर्सी बाट उफ्रेर झर्थे र कोठामा यस्तो अशोभनीय कार्यहरू गर्थे, जसको बारेमा, पाठक महोदय, विचार गर्नुसमेत अशोभनीय हुने छ ।

यसो उपहार हेरेर डाक्टरले विस्तारै कानको पछाडि कन्याए, अनि हिचकिचाहटसाथ सिंगान पुछे ।

– अँ, चीज त साँच्चै सुन्दर रहेछ, – बर्-बर् गरे उनले, परन्तु … कसरी भन्ने होला, त्यस्तो होइन … साहित्यिक भने होइन त्यति साह्रो । यो नाङ्गो होइन, ईश्वरलाई थाहा होला के … ।

– मतलब, किन नि ?

– नागीन-प्रलोभक आफैँलाई यो भन्दा अरू नराम्रो सोच्न सक्थेनन् होला । टेबुलमा यस्तो छायाचित्र/फ्यानट्यास्मगोरिया राख्नु भनेको त पूरा कोठालाई फोहर बनाउनु हो ।

– कस्तो अचम्म डाक्टर साहेब, यसको कला हेर्नुहोस् त ! – साशाको चित्त दुख्यो । – यो त कलाको चीज हो नि, तपाईँ यसो हेर्नुहोस् न ! यति सुन्दरता र लालित्य छ कि अलौकिक अनुभूतिले मन भरिन्छ, अनि घाँटीसम्म आँशूले भरिन्छ ! यस्तो सुन्दरता जब देख्छौँ, पूरापूर भुल्छौँ सान्सारिक जीवहरू सबलाई … । तपाईँ हेर्नुहोस् त अलिकति, कति गति छ, हावा, अभिव्यक्तिको लागि ठाउँ कति छ !

– यी सब म राम्रोसँग बुझ्छु, बाबु ! – डाक्टरले रोके बीचैमा, – तर म पारिवारिक मान्छे हुँ नि, बाल-बच्चाहरू यता-उता गर्छन्, दौडन्छन्, खेल्छन्; महिलाहरू आउ-जाउ गर्छन् यहाँ ।

– पक्का, भीडको दृष्टिबाट हेर्ने हो भने, – साशाले भन्यो, – तब, निश्चय नै, यो उच्च कलात्मक कृति अन्य प्रकाशको ठानिन्छ … । तर डाक्टर साहेब ! भीड भन्दा माथि हुनुहोस्, त्यसमा पनि, आफ्नो इन्कारीबाट मलाई र मेरी आमालाई ठूलो दु:ख पुर्‍याउनुहुने छ हजुरले । म मेरी आमाको एक्लो छोरा हुँ नि … हजुरले मेरो जीवन बचाउनुभयो … । हामी हजुरलाई हाम्रो लागि सबभन्दा प्रिय चीज दिँदै छौँ, अनि … अनि म अपसोच् मान्दै छु यो दीपाधार को लागि जोडा छैन भनेर ।

– धन्यवाद, बाबु ! म एकदम कृतज्ञ छु … मकहाँ यहाँ केटाकेटी खेल्छन्, महिलाहरु हुन्छन् … । अँ, साँच्ची, हुन्छ रहोस् न त ! तपाईँलाई अर्थ्याउन सकिँदैन नि ।

– अर्थ्याउनु नै केही छैन, – साशा खुशी भयो । यो दीपाधार यी यहाँ राख्नुहोस्, गमलानिर ! जोडी पो छैन, अपसोच् ! कस्तो अपसोच् ! ल त, डाक्टर साप, बिदा पाऊँ !

साशा निस्केपछि निकै वेरसम्म डाक्टरले दीपाधारलाई हेरिरहे, आफ्नो कान पछाडि कन्याउँदै चिन्तन गर्दै रहे । ‘सर्वोत्तम छ नि, विवादै हुन सक्दैन, -उनले सोचे, “- यसलाई फाल्नु दुखद हो … आफूकहाँ राख्नु असंभव … । हुँ ! यी काम आइलाग्यो ! कसलाई पो उपहार गर्ने होला वा बलि चढाउने होला ?”

धेरे बेरको गौरपछि उनले आफ्ना एक जना असल मित्र, वकील ऊखफलाई संझे, जसप्रति व्यबसाय हेरिदिएवापत ऋणी थिए उनी ।
– उत्तम भयो, -डाक्टरले निश्चय गरे । साथीको रूपमा मसँग पैसा लिनु पनि त्यति सजिलो छैन उसलाई, अति राम्रो हुने छ मैले यो चीज उसलाई पुर्‍याइदिएँ भने । सन्दर्भवश, ऊ एक्लो छ, अनि अलि हल्का स्वभावको पनि … । डाक्टरले लुगा लगाए, दीपाधार लिए, अनि लागे ऊखफकहाँ ।

– नमस्ते, मित्र ! – उनले भने, वकीललाई घरैमा फेला पारेर । म तिमीकहाँ … ।

तिम्रा परिश्रमहरूको लागि धन्यवाद दिन आएँ म त … । पैसा लिन चाहँदैनौ, ल लेऊ यो सानो चीज भए पनि … । चीज – मज-मस्त ! चीज देखेपछि वकील अवर्णनीय रूपले प्रसन्न भए ।

– यी, चीज भनेको ! मरी-मरी हाँसे उनी । – ओहो, यस्तो चीज पनि उब्जाउँछन् ! सुन्दरता ! अति प्रफुल्ल पार्ने कुरा ! यस्तो सौन्दर्य कहाँ फेला पार्‍यौ ?

– आफ्ना खुशीहरू पोखिसकेर वकीलले एउटा भयसाथ ढोकातिर हेरे,अनि भने:

– मात्र तिमी लैजाऊ आफ्नो उपहार । म लिन्नँ … ।

– किन ? – डाक्टर भयभित देखिए ।

– अनि किनभने … । यहाँ मकहाँ आमा आउनुहुन्छ, ग्राहकहरू हुन्छन् … अँ चाकर्नीसँग लाज मर्दो हुन्छ ।

– हैन-हैन-हैन ! इन्कार गर्ने आँटसमेत गर्न सक्दैनौ ! – डाक्टरले आफ्ना हात इन्कारजनक रूपले हल्लाए ।

– यो तिम्रो तर्फबाट फोहरी खेल हुने छ ! यो त कला … कति गति, … अभिव्यक्ति छ … । र, म बोल्नै पनि लाग्दिनँ ! मन दुखाउने छौ !

– रङ्ले यसो पोतिएको भए पनि वा पात-सात टाँस्नु पनि … ।

– डाक्टरले अरू बढी हात हल्लाए, ऊखफको घर-कोठाबाट फुत्त बाहिरिए, अनि लागे घरतिर एउटा खुशीसाथ … ।

उनी गएपछि वकीलले दीपाधार वल्टाई-पल्टाई गरेर हेरे, सवैतिरबाट छोए आफ्ना औँलाले, अनि यो प्रश्नमाथि धेरै बेरसम्म दिमाग खियाइरहे: यो उपहारसँग के गर्ने ?

‘चीज त असल हो, – उनले निष्कर्ष निकाले, – अनि फालिदिनु, माया लाग्छ, आफूकहाँ राख्नु अशोभनीय भो । सबभन्दा उत्तम् – कसैलाई उपहार दिनु … । अँ, यो दीपाधार आज बेलुकै हाँस्यकार शाश्कीनलाई लगेर दिन्छु बरू । त्यो ल्वाँगेले यस्ता चीजहरू मन पराउँछ, अँ छ नि, सन्दर्भवश, आज उसको नाफा प्रस्तुति पनि त हो … ‘ । भनियो – गरियो । बेलुकीतिर राम्रोसँग कागजले बेरिएको दीपाधार हाँस्यकलाकार शाश्कीनसमक्ष पुर्‍याइयो । साँझभरि हाँस्यकलाकारको ड्रेशिङ् रूम पुरुषहरूको आँधि-बेहरी जस्तो भो, जो आउँथ्यो त्यहाँ, उपहारको भरपूर आनन्द लिन्थ्यो: ड्रेशिङ् रूमभरि उत्कर्षको आनन्दको हुँहुँ-हाँहाँ र हाँसो सुनिन्थ्यो घोडाको हुनहुनाहट जस्तै । कुनै अभिनेतृ त्यहाँ आइन् र ‘म भित्र आऊँ भनेर सोधिन् भनेदेखि चाहिँ तत्कालै हाँस्यकलाकारको धोद्रो स्वर सुनिन्थ्यो:

– अहँ, हुँदैन, मेरी माँ ! मैले लुगा लाको छैनँ ।

नाटक सिद्धिएपछि हाँस्यकारले कुम हल्लाए, हात यता-उता गरे अनि बोले:

– अँ, मैले यो गंदा कहाँ राख्ने होला ? त्यसो त म कसैको निजी घर-कोठामा बस्छु ! मकहाँ महिला कलाकारहरूको आउ-जाउ हुन्छ । यो तस्वीर होइन, टेबुलभित्र लुकाउनु मिल्दैन !

– अनि, तपाईँ, मालिक, बेचिदिनुस्, – हजामले यो सल्लाह दियो ।

– यहाँ काँठतिर एक जना बूढिया बस्छिन्, उनी पुराना काँशका सामानहरू किन्ने गर्छिन् … । जानुहोस्, अनि सोध्नुहोस् स्मिर्नोभा को हुन् … । उनलाई जो-कोही चिन्छ ।

– हाँस्यकारले सल्लाह मान्यो … । कोही दुई दिन जति पछि डाक्टर कशिल्कोफ् आफ्नो अफिसमा बसिरहेका थिए । अचानक ढोका खुल्यो, अफिसभित्र साशा स्मिर्नोफ् ह्वात्तै पस्यो उँडेसरी । ऊ मुस्कुराउँदै थियो, चमक्क चम्केको थियो उसको अनुहार, अनि उसको पूरा शरीरले फेर्दै थियो खुशीको सास । हातमा उसले केही बोकेको थियो पत्रिकामा बेर-बार पारेको ।

– डाक्टर साप ! – उसले भन्न थाल्यो, एउटा गहिरो सास फेरेर । – मेरो खुशीको अन्दाज गर्नुहोस् त ! तपाईँको खुशीको लागि, हामी तपाईँको दीपाधारको लागि जोडा फेला पार्न सफल भयौँ ! आमा यस्तो खुशी हुनुहुन्छ कि … । मेरी आमाको म एक्लो छोरा … तपाईँले मेरो ज्यान बचाउनु भाको हो … । अनि कृतज्ञताको भावबाट थर्र काम्दै डाक्टरको सामु दीपाधार राखिदियो साशाले । डाक्टर आश्चर्य-भएर मुख बाए, केही भन्न चाहन्थे उनी, तर उनले भनेनन् केही पनि: उनको जिब्रै चुँडियो ।

(प्रथम पटक बि. सं. २०७० मा आन्तोन छेखफका १५ छोटा कथाहरूमा प्रकाशित)