शङ्कर लामिछाने

म रञ्जना सिनेमा हलअगाडि रहेको आरसी मःमबाट नयाँसडकमा फुत्त निस्किएको मात्र थिएँ, भूगोलपार्क अगाडि यसै उभिइरहेका शंकर दाइले मलाई बोलाइहाले, ‘ए शैलेन्द्र भाइ ? ’ म सडक पार गरेर दाइ (शंकर लामिछाने) को अगाडि उभ्भिएर नमस्कार गरेँ। नमस्कार फर्काउँदै उनले मलाई सुनाइहाले, ‘मैले यो वर्षको मदन पुरस्कार पाएको खबर त तिमीलाई पनि थाहा भयो, होइन ? ’ मैले भने, ‘थाहा भयो दाइ, खुसी पनि लाग्यो, लौ बधाई।’ अगाडि अलिकति अर्घेलो गरेर उछिट्टिएका दुई ठूला दाँत देखाएर खिस्स हाँसे उनी। अधिक मादक पदार्थ सेवनका कारण कालो हुँदै गएको अनुहार, झन्डैझन्डै मजत्रै अग्लो, तर सुट र टाईमा सजिएका थिए– शंकर दाइ। धेरैजसो बाहिरतिर भेट्दा खैरो–खैरो रङको सुट, सेतो कमिज र कालो टाइमा भेटिन्थे उनी।

नयाँसडक पीपलको बोटनेर उनी असाध्यै मिल्ने साथी तुलसीनाथ ढुंगेललाई पर्खेर बसेका रहेछन्। तुलसीनाथ ढुंगेल अंग्रेजी पत्रिकाका सौखिन भएकाले उनी त्यतै ‘टाइम्स अफ इन्डिया’, ‘स्टेट्स म्यान’ किन्न अल्मलिएका रहेछन् र यसो पर्खेजस्तो गरेर शंकर दाइ त्यहाँ उभ्भिएका। एकै छिनमा पातला, अग्ला दौरा सुरुवाल र भव्य बुट्टे कोटमा काखीमुनि एक थाक पत्रिका घुसारेर तुलसीनाथ ढुंगेल आइपुगे। वास्तवमा उनीहरू सबैजना अरू दुईजना भूपी र भीमदर्शन रोकालाई पर्खन त्यहाँ आएका थिए। सायद त्यही पुरस्कार घोषणाको उत्सव मनाउन खोज्दै थियो त्यो जमात। म अलि फुच्चे र केटाकेटी भएकाले उनीहरूले मलाई सामेल गर्न चाहेनन्। म छुट्टिएर हिँड्नै लागेको थिएँ, शंकर दाइले हात समातेर मलाई तानेर भने, ‘यो मदन पुरस्कारको रकम जम्मा चार हजार रहेछ। यति पैसाले मेरो मृत्यु हुँदा दाउरा त किन्न पुग्छ हगि, जलाउनलाई !’ म हतप्रभ भएँ।

अघिको सम्पूर्ण उत्साह सेलायो। तैपनि ढाढस दिँदै भने, ‘दाइ जे भए पनि लेखनाथ, देवकोटा, सम, व्यथित, सिद्धिचरणहरू कसैलाई नदिएको पुरस्कार कमल दीक्षितले हजुरलाई दिएका छन्, खुसी नै मान्नुपर्छ।’ उनीभन्दा अगाडि नै पारिजातलाई यो पुरस्कार दिइएको थियो। पारिजातको ‘शिरीषको फूल’ उपन्यासमाथि निकै चर्चित र लामो भूमिका थियो शंकर दाइको। त्यसमा उनले जापानी उपन्यासकार ओसामु दाजाईको ‘द सेटिङ सन’ र बुद्धका शिष्य नागार्जुनको शून्यवादको विशद व्याख्या गरेका थिए। त्यसबेलाको साहित्य जगत्मा पारिजातको ‘शिरीषको फूल’ र शंकर लामिछानेको भूमिकाको व्यापक चर्चा थियो। केही साहित्यकारहरू यही भूमिकाका कारण पारिजातलाई मदन पुरस्कार दिइएको हो भनेर ठोकुवा गर्थे। पीपलको बोटमा उभ्भिन हुँदैनथियो, त्यही कुरा उठिहाल्थ्यो। कसैले कुरा नउठाए भैरव अर्याल र रोचक घिमिरे यस्ता कुरा उठाउन खप्पिस थिए।

शंकर लामिछानेकी पत्नी रत्ना राई भोजपुरका २००७ सालका योद्धा र पछि वन तथा स्थानीय स्वायत्त शासनमन्त्री भएका नारदमुनि थुलुङकी भाञ्जी थिइन्। यो नाताले हामी शंकर लामिछानेका ससुराली गाउँका र रत्ना दिदीका माइतीका थियौं। ताहाचलको शंकर दाइको घरमा हामी जहिले पनि रत्ना दिदीको स्वागत/सत्कार र माया नै पाउँथ्यौं। तर, दिदीलाई धेरैपल्ट शंकर दाइको मद्यपानको आदतबारे केही न केही फत्फताइरहेकै भेट्थ्यौं। रत्ना दिदीको मनमा शंकर दाइ पारिजाततिर लागेको कताकता शंकाको बिउ पनि टुसाएको थियो। किनभने रत्ना दिदी पारिजात दिदीसँग दार्जिलिङदेखि नै परिचित थिइन्। मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा (२०१० साल) नारदमुनि थुलुङ वन तथा स्थानीय स्वायत्त शासन मन्त्री थिए। थुलुङ त्यसबेला ताहाचलमै भाडामा घर लिएर, त्यस घरलाई मन्त्री आवास बनाएर बसेका थिए। अहिलेको जस्तो मन्त्रीहरू मात्र बस्न पाइने पुल्चोक हरिहर भवनको जस्तो मन्त्री निवासको व्यवस्था थिएन।

मन्त्री नारदमुनि ब्याडमिन्टनका सौखिन थिए र आफ्नै आवासमा उनले ब्याडमिन्टन कोर्ट पनि बनाएका थिए। त्यही ब्याडमिन्टन खेल्न मन्त्रीकी दार्जिलिङे भाञ्जी रत्ना राई पनि ओर्लन्थिन् र शंकर दाइ पनि खेलमा लहसिएका थिए। खेल्दाखेल्दै त्यो खेल प्रेमको खेलमा रूपान्तरित हुन पुग्यो र दुवैजनाको गान्धर्व विवाह भएको थियो। यसरी सभ्य, सुसंस्कृृत काठमाडौंको बाहुनले एउटी जनजाति कन्यासित विवाह गरेका थिए। मेरो जानकारीमा भएअनुसार अन्तरजातीय विवाह गर्ने पहिलो नेपाली साहित्यकार शंकर लामिछाने नै हुन् र दोस्रो हुन्– कथाकार परशु प्रधान। दुवैजना एकेडेमीका सदस्य नहुनु पनि विडम्बना नै मान्नुपर्छ।

एकदिन निबन्धहरू पुस्तकका रूपमा छाप्न नपाएर भुट्भुटिएर बसेका थिए उनी। उनका निबन्धहरू अत्यन्त प्रशंसित भए पनि छाप्ने प्रकाशक थिएनन्। परशु दाइको विराटनगरका पाठ्यपुस्तकका प्रकाशक पुस्तक संसारका देवीप्रसाद काफ्ले र कृष्णप्रसाद काफ्लेसित राम्रो सम्पर्क थियो। परशु दाइकै अनुरोध र प्रयत्नबाट शंकर दाइका दुइवटा निबन्ध किताब तुरुन्तै छापिए– ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ र ‘गोधूली संसार’। शंकर दाइको एउटा निबन्ध छ– ५०० पाइला। उनले किन ५०० पाइला भनेका हुन् भने ताहाचलको उकालोबाट गोरखापत्र संस्थान आइपुग्न शंकर दाइलाई ५०० पाइला हिँड्नु पर्दोरहेछ। यसरी पाइला गन्दै हिँड्ने कुनै साहित्यकार विश्वकै इतिहासमा तपाईंलाई थाहा छ ?

‘म भोलि जन्मनेछु’, ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’जस्ता दार्शनिक चिन्तनप्रदान, विसंगतिबोधक अविस्मरणीय निबन्ध विश्व साहित्यमै लेखिएको मलाई थाहा छैन। प्रत्येक शब्दसँग खेलिरहन सक्ने शब्दशिल्पी शंकर दाइ अविस्मरणीय र स्तुत्य छन्। यद्यपि औपचारिक शिक्षा आईएसम्म मात्र भए पनि एकपल्ट मसँग उनले भने, ‘मैले आफैंले आफूलाई एम. ए. (अंग्रेजी) बराबरको मानेर प्रमाणपत्र दिएको छु। अरूसँग किन मागिरहनु पर्‍यो सर्टिफिकेट ? ’

नेपाली साहित्यका अत्यन्त प्रभावशाली साधकहरूमा शंकर लामिछाने एकजना मेरा लागि अत्यन्त सम्मानीय अग्रज हुन्। उनको नाम हटाइदिने हो भने नेपाली साहित्यको इतिहासमा एउटा गहिरो खाडल पर्नेछ र सायद त्यो खाडल कहिल्यै पूरा गर्न सकिने छैन। नेपालका पहिलो हाइकु लेख्ने कवि (जो २०२२ को रूपरेखा मा छ) शंकर दाइका बारे जति लेखे पनि कमै हुन्छ।

४८ वर्षकै अल्पायुमा ‘म्यानेजाइटिस’ रोगबाट शंकर दाइको निधन भएको बेला वीर अस्पताल अगाडि उभ्भिएर हामी केही साहित्यकारले एक अर्कालाई सोधेका थियौं, ‘के हो यो रोग ? हाम्रा परिचित मायालु र श्रद्धेय दाइलाई एक्कासि यसरी चुँडेर लैजाने अधिकार यस्तो अपरिचित रोगलाई छ ?’