कलाकार पकबहादुर थापा थोरै चर्चित नेपाली युवा कलाकारहरु मध्येका एक हुन्। लामो समयदेखि कलाकारिता गरिरहेका थापा विविध समसामयिक विषयमा आफ्ना क्यानभासहरु रंग्याइरहेका छन्।
कला विषयमा उच्चशिक्षा हासिल गरेका थापाले विभिन्न समयमा मानसम्मान प्राप्त गरिसकेका छन्। सन् २०१४ मा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय ललितकला प्रदर्शनीमा उनले आधुनिक विधातर्फ राष्ट्रिय ललितकला पुरस्कार जितेका थिए।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामूहिक कला प्रदर्शनी तथा कला कार्यशालामा भाग लिइसकेका थापाले चित्रकला श्रृजनाको अलावा कला अध्यापनमा पनि रुचि राख्छन्। विश्वविधालय पढ्दै गर्दा विभिन्न विद्यालयमा उनले कला विषय पढाउँथे । हाल उनी ललितकला क्याम्पसमा कला विषय अध्यापन गराइरहेका छन्।
कलाकार थापाको चित्रण क्षमता गज्जबको छ। शुरुका दिनहरुमा उनले विविध विषयमा चित्र रचना गरे। ल्यान्डस्केप, जनजीवन र पोट्रेचर उनका प्रारम्भिक कला सृजनाका विषयवस्तु रहे। यिनै विषयवस्तु केन्द्रित कलाले उनलाई कलाकारितामा रहिरहन सहयोग गर्यो।
पश्चिम नेपालको विकट जिल्ला म्याग्दीमा जन्मेका थापा एस.एल.सी.पछि कला अध्ययन गर्ने उद्देश्य लिएर दुइ दशकअघि राजधानी छिरेका थिए। कला अध्ययन गर्न भोटाहिटीमा रहेको ललितकला क्याम्पसमा उनी भर्ना भए। शुरुका दिनमा विद्यार्थी जीवन राम्रै चलिरहेको थियो तर दिन बित्दै जाँदा काठमाडौँको महँगी र व्यस्त ठाउँमा टिक्न गाह्रो भयो। काठमाडौँको महँगीमा घरबाट अड्कलेर पठाउने पैसाले पढ्न, खाना र घरभाडा तिर्न सहजै पुग्दैनथ्यो। घरबाट पठाइदिने खर्चले पढाइ र जीवन धान्न गाह्रो परिरहेको बेला एक दिन उनी पेन्टिङ बोकेर ठमेलको एक ग्यालरीमा पुगे र आफ्ना केही पेन्टिङ देखाए। ग्यालरीका सञ्चालकले केही दिन पेन्टिङ राखेर हेरे । केही दिनमै लगभग सबै पेन्टिङ बिक्री भए । उनी हौसिए । त्यसपछि भने उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन। पेन्टिङ बेचेरै उनले राम्रो आम्दानी गरिरहेका छन्। यो क्रम आज पनि यसैगरी जारी छ।
पछिल्लो समय पकबहादुरले समसामयिक विषयवस्तुमा आफ्ना कुची र क्यानभास चलाइरहेका छन्। विश्वविधालयमा एमएफ पढ्दै गर्दा अंकुराएको उनको यो रुचि अहिले आएर समसामयिक नेपाली राजनैतिक परिदृश्य र त्यसबाट देशले भोग्नु परेको पीडा एवं सौन्दर्यको विरुप परिभाषामा केन्द्रित बनेको छ जस्लाई उनले “नेपथ्य” भनेर परिभाषित गरेका छन् ।
“नेपथ्य” वास्तवमा नेपाली राजनीतिको भित्री फोहोरी खेल हो । बाहिरबाट हेर्दा नेपाली राजनीतिले प्रजातन्त्रान्त्रिक आन्दोलनमा ठूलो संघर्ष गरेको देखिए पनि सधैँ सत्ताकै वरपर केन्द्रित रहेको उनको बुझाइ छ। राष्ट्र र जनजीवनका सवालमा जति ठूला र चर्का कुरा गरे पनि अन्ततः यस्ले नेपाली राष्ट्रियता र जनजीवनमाथि खेलबाड गर्ने काम गरिरहेको छ।
देशमा विकास र समृद्धिको यति ठूलो सम्भावना हुँदा पनि केही हुन नसकेको यथार्थ उनको कलामा देख्न सकिन्छ।
उदाहरणका लागि उनले एउटा चित्र सृजना गरेका छन्- सो चित्रमा सिंहासनमाथि निर्वस्त्र अजंगको मानव बसेको छ । तलपट्टि ढाकाटोपी र सारी लगाएका साधरण नेपाली जनता शिर निहुरिएर सिंहासन वरपर घुमिरहेका देखिन्छन्। वास्तवमा यो चित्रले समसामयिक नेपाली राजनीतिको विरुप चित्रण गरेको छ। शासकहरु सत्तामा पुग्नेबित्तिकै आफूलाई शक्तिशाली देख्ने र आफूलाई चुनेका त्यही जनताले केही पाउन सत्ताकै वरपर घुम्नु बाध्य पारिन्छन् भन्ने यथार्थ पस्केको छ यो चित्रले।
त्यसैगरी अर्को एउटा चित्र छ- बुद्धको ठूलो मुहार चित्र बनाइएको छ। ध्यान गरिरहेको बुद्धको मुहारचित्र वरपर महिलाका स-साना नग्न चित्रहरु कुँदिएका छन्। यसलाई उनले “कन्फ्लिक्टिङ ब्युटी” याने कि विवादित सौन्दर्य भनेर नामकरण गरेका छन्। आजको तथाकथित समाजले नग्न महिलालाई सौन्दर्यको मानक ठान्ने प्रवृत्तिलाई व्यंग्य गरिएको छ । साथै आध्यात्मिक सौन्दर्यको पाटोलाई नजर अन्दाज गरिएकोमा उनले दुखेसो पोखेका छन्।
यसका अलावा थापाका कलाकृतिहरुमा आधुनिक विषय र पारम्परिक कला शैली र विषयवस्तुलाई आधुनिक ढाँचामा फ्युजन गरिएका हुन्छन्। यथार्थपरक कला उनको अर्को रुचिको शैली र विषय हो।
आऔँ उनका केही कलाकृति अवलोकन गरौँः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।